नेपाल उच्च शिक्षा मेला (स्टडी इन नेपाल) को आठौं संस्करण २०७९ भदौ १२ र १३ गते (२८-२९ अगस्ट) काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुने भएको छ । स्वदेशमै गुणस्तरीय उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई स्नातक तहका लागि उपयुक्त शैक्षिक संस्था र विभिन्न कोर्सबारे सम्पूर्ण जानकारी नि:शुल्करूपमा प्रदान गर्ने ध्येयका साथ एजुकेसन डटकमले दुई दिवसीय मेला आयोजना गर्न लागेको हो । मेलामा विशेषगरी व्यवस्थापन, आइटी र सामाजिक विज्ञानसँग सम्बद्ध ५० भन्दा बढी उत्कृष्ट कलेजहरूको सहभागिता रहनेछ ।
वर्तमान परिप्रेक्ष्यमा विश्वसँग प्रतिस्पर्धा गर्न र समयानुकूल अघि बढ्न विदेशी शिक्षा लिनुपर्छ र विदेशमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने संस्कारलाई तोड्दै विद्यार्थीहरूलाई स्वदेशमै विशिष्ट शिक्षा लिन मार्गप्रशस्त गर्न मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेला विद्यार्थी तथा अभिभावक दुवैका लागि फलदायी हुने आयोजकको दाबी छ ।
स्टडी इन नेपालको नारा : 'स्वदेशमै शिक्षा, सबैको इच्छा'

शिक्षाको गुणस्तरलाई सुधार गरे नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा दिन सक्ने शैक्षिक संस्थाहरू रहेको र विदेशमा महँगो शुल्क तिरेर शिक्षा लिनुभन्दा स्वदेशमै कम खर्चिलो, गुणस्तरीय, मौलिक, प्रयोगात्मक र व्यवहारिक शिक्षा लिन सकिन्छ भन्ने तथ्यलाई जोड दिई 'स्टडी इन नेपाल'को अवधारणा ल्याइएको हो । 'स्वदेशमा शिक्षा, सबैको इच्छा' भन्ने नारासहित आयोजना गरिने मेलाको मुख्य प्रयोजन अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको स्वदेशी गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्नु रहेको छ । विश्व प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नेपालमा नै लिन सकिन्छ र स्वदेशी शिक्षाबाट मौलिक ज्ञान र सीपलाई पनि जीवन्त राखिराख्न सकिन्छ भन्ने अभिप्राय लिई मेलाको आयोजना गरिएको हो ।
शैक्षिक मेलाको उद्देश्य

मेलामा नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरू र विभिन्न कोर्सहरूका बारेमा सम्पूर्ण तथ्यपरक जानकारी प्रदान गरिनेछ । कुन विषय पढ्ने भन्ने सामान्य योजना समेत नबनाइ उच्च शिक्षाका लागि विदेशिने जमातलाई रोक्नु, नेपालका शैक्षिक संस्थाले पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सक्षम छन् भन्ने सन्देश दिनु र कम खर्चिलो र गुणस्तरीय स्वदेशी शिक्षालाई बढावा दिनु यसको उद्देश्य रहेको छ । आयोजकका अनुसार कुन विषय पढ्ने ?, कहाँ पढ्ने ?, कति शुल्क तिर्नुपर्ने ? कति अवधिसम्म पढ्नुपर्ने ? छात्रवृत्ति कति पाइने ? जस्ता यावत सवालहरूलाई सरलीकरण गरी अन्योलमा परेका विद्यार्थीहरू र सक्षम शैक्षिक संस्थाहरूबीच सम्बन्धसेतुको भूमिका निर्वाह गर्ने लक्ष्य लिइएको छ । स्वदेशी शिक्षा नै सबै तवरले उत्कृष्ट रहेको छ भन्ने परिपाटी विकास गर्ने अभिष्टका साथ मेला आयोजना गरिएको हो ।
मेलाको इतिहास

सन् २०१५ देखि सुरु गरिएको यस मेलाको सातवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ । यस मेलाले सुरुवातदेखि नै अन्योलमा रहेका तथा जिज्ञासु विद्यार्थीहरूलाई विभिन्न विषय क्षेत्र, शुल्क, अध्ययन अवधि, छात्रवृत्तिजस्ता विविध विषयवस्तुबारे नि:शुल्क जानकारी दिँदै आइरहेको छ । विदेशका महँगा कलेजहरूमा मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्ने सोचलाई गलत साबित गर्दै प्रतिवर्ष हजारौं विद्यार्थीहरूलाई स्वदेशी शिक्षा लिन प्रेरणा र मार्गदर्शन प्रदान गर्न 'स्टडी इन नेपाल' सफल भएको छ । कोभिड-१९ र लकडाउनका बावजुद पनि सन् २०२० मा भर्चुअल माध्यमबाट मेला आयोजना गरिएको थियो । विगतका वर्षहरूमा जस्तै यस संस्करणले पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गराउन सक्नेछ भन्ने अपेक्षा लिइएको छ ।
विगतका वर्षहरूमा विद्यार्थीहरूको सहभागिता :

प्रत्येक वर्ष मेलामा सहभागी रहने विद्यार्थीहरूको अनुपात बढ्दो रहेको छ । सन् २०१५ देखि सातौं संस्करणसम्म आइपुग्दा लाभान्वित विद्यार्थीको संख्या निम्नबमोजिम रहेको छ :
सन् २०१५ : ५,००० विद्यार्थी
सन् २०१६ : ६,००० विद्यार्थी
सन् २०१७ : ९,००० विद्यार्थी
सन् २०१८ : १८,००० विद्यार्थी
सन् २०१९ : २०,००० विद्यार्थी
सन् २०२० : ८,००० विद्यार्थी (कोभिड-१९ का कारण भर्चुअल मेला)
सन् २०२१ : १०,०००+ विद्यार्थी
मेलामा सहभागी कलेजहरूको सामर्थ्य, क्षमता :

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सम्बद्ध ५० वटाभन्दा बढी ख्यातिप्राप्त कलेजहरूको सहभागिता मेलामा देख्न पाइनेछ । विद्यार्थीहरूले इन्जिनियरिङ, आइटी, सिए, हस्पिटालिटी, व्यवस्थापन, सामाजिक विज्ञानलगायत विविध विषय, क्षेत्रसँग सम्बन्धित बहुप्रतिष्ठित कलेजहरूबाट नि:शुल्क प्रत्यक्ष परामर्शको लाभ उठाउन सक्नेछ्न् । एउटै थलोमा पचासौं उत्कृष्ट कलेजहरूको कोर्स अफर, सुझाव र परामर्श यस मेलाको मुख्य आकर्षण रहनेछ ।
मेलाका आकर्षणहरू :

यस मेलामा विद्यार्थीहरूले छोटो समयमा सहज र प्रभावकारी ढंगले शिक्षासम्बन्धी विस्तृत जानकारी हासिल गर्न सक्नेछन् । एकै ठाउँमा धेरै प्रतिनिधि कलेजहरूसँग सम्पर्क हुने भएकोले विभिन्न स्थानका कलेजहरूमै पुगेर जानकारी लिनुपर्ने बाध्यकारी अवस्था रहँदैन । पचासौं कलेजबाट सयौं कोर्स अफरहरू प्राप्त हुने हुँदा विद्यार्थीहरूले सर्वोत्कृष्ट विकल्प छनोट गर्ने सुविधा प्राप्त गर्नेछन् । विद्यार्थीहरूले शैक्षिक क्षेत्रसम्बन्धी प्रत्येक प्रश्न निर्धक्क सोध्न सक्नेछन् र उचित जवाफ पाउनुका साथै अन्य विद्यार्थीहरूसँगको अन्तरक्रियाको समेत लाभ उठाउन सक्नेछन् । यसका साथै आफूलाई थाहा नभएका नयाँ कोर्सहरूको बारेमा जानकारी लिने, कलेजहरूबीचमा परस्पर तुलना गरी आफूलाई सुहाउँदो र सुलभ कलेज छान्ने सुविधा समेत पाउनेछन् । आयोजकका अनुसार सोही मेलामा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सम्बद्ध कलेजहरूका छात्रवृत्ति योजनाहरूबारे पनि जानकारी लिन सकिनेछ ।
मेलामा विद्यार्थीमात्र नभई अभिभावकहरूसमेत सहभागी भई लाभान्वित हुनसक्ने आयोजक एजुकेसन डटकमले जनाएको छ । सहभागी अभिभावकहरूले आफ्नो एउटै समयमा मितव्ययी तरिकाले विभिन्न जानकारीहरू लिन सक्नेछन् । उनीहरूलाई फरक-फरक कलेजहरूले निर्धारण गरेको शुल्कहरूबीच तुलना गर्दै समुचित निर्णय लिन सहयोग पुग्ने आयोजकको दाबी छ । मेलामा सहभागी विद्यार्थीहरूका लागि एउटा क्यूएफएक्स टिकटको व्यवस्थासमेत रहेको छ ।
