मधेशमा अपराध शृंखला : रिसिबी बन्दै छ हत्याको कारण

२०७७/७८ मा ९३ जनाको हत्या भएको थियो । यो संख्या बढेर २०७८/७९ मा ९६ पुग्यो । ०७९/०८० मा १ सय १७ हुँदै ०८०/०८१ मा १ सय २८ हत्याका घटना भए । 

जेष्ठ २९, २०८२

शिव पुरी र विनय आजाद

Crime series in Madhesh: The reason for the murder is becoming a recipe

रौतहट/सिरहा — रौतहटको वृन्दावन नगरपालिका–७ गढीटोलकी ४१ वर्षीया पुनमदेवी यादवले राम्ररी खान र सुत्न नपाएको एक महिनाभन्दा बढी भयो । १४ वर्षीय छोरा कृष्णप्रसादलाई छिमेकीले टिकटक बनाउन भन्दै घरबाट बोलाएर चाँदी नदीमा लगी गोली हानी हत्या गरेपछि यादव परिवार यतिखेर विक्षिप्त छ । घरै टाँसिएका छिमेकीले रिसिबी साँध्न गरिएको हत्याले उनीहरुलाई जीवनभर भुल्न नसक्ने पीडा दिएको छ । 

सोमबार यादव परिवारको घर पुग्दा पुनम खम्बामा निधार राखेर टोलाइरहेका थिइन् । आँखाभरि आँसु पारेर भक्कानिँदै थिइन् । ‘मर्दापर्दा काम लाग्ने छिमेकीले छोराको हत्या गरे । बेटा अब कहिल्यै फर्किनेछैन । तर, उसको यादले भने हाम्रो परिवारलाई सधैं सताइरहनेछ,’ उनले भनिन् ।

घरसँगैका छिमेकी नागेन्द्र सहनीले टिकटक बनाउन भनेर घरबाट बोलाएर लगेका थिए । कृष्ण गाउँमा टिकटकरको रुपमा परिचित थिए । यही कारण नागेन्द्रले टिकटकलाई हत्या गर्ने उपाय बनाए । कुनैबेला कृष्णका बुवा सुरजराय नागेन्द्रका माइलो भाइ धर्मेन्द्रविरुद्धको अहपरण मुद्दामा साक्षी बसेका थिए । यही रिसिबी साँध्न उनी कृष्णको हत्याको योजना बुन्न थाले । छिमेकी भएर एकले अर्कालाई आपत परेका बेला सघाउनुपर्नेमा सहनी परिवारले प्रतिसोध साँध्न छोरालाई मोहरा बनाएको पुनमले सुनाइन् । 

सहनी परिवारका सबै पक्राउ नपरेसम्म न्याय  नपाउने उनले बताइन् । ‘छोराको हत्याराहरु जेल त गए, तर उनीहरु सजाय काटेर बाहिर आउँछन् र परिवारसितै बस्छन् । मेरो त काख रित्तिएको छ, कहिल्यै नआउने गरी छोरा मारिएको छ ।’ 

गएको वैशाख ६ गते कृष्ण घरबाट दिउँसो बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर निस्किएका थिए । राति नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो । दुई दिनसम्म फेला नपरेपछि परिवारका सदस्यले ९ गते इलाका प्रहरी कार्यालय गरुडामा खोजतलासको निवेदन दिए । प्रहरीले ११ गते नदीमा मृत अवस्थामा कृष्णको शव फेला पार्‍यो । 

Crime series in Madhesh: The reason for the murder is becoming a recipe

कृष्णलाई छिमेकी नागेन्द्रले फोन गरी टिकटक बनाउनु छ भनेर गरुडा–८ स्थित चाँदी नदीमा बोलाएका थिए । गढीमाई मन्दिर नजिक पुगेपछि कृष्णलाई नागेन्द्र र अर्का ‘साधु’ भनेर चिनिने नागेन्द्र सहनी नै नाम गरेका व्यक्तिले रोकेर नियन्त्रणमा लिए । मोबाइल खोसेर मोटरसाइकलको बीचमा राखी नदीतर्फ लगे । नदीमा पुग्नासाथ साधुले कृष्णलाई धकेलेर लडाइदिए ।  नागेन्द्रले छाती र पेटमा २ राउन्ड गोली प्रहार गरे । कृष्ण त्यही ढलेँ । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए । 

‘साक्षी बसेको पुरानो रिसिबी साँध्न टिकटक बनाउने बहाना बनाएर कृष्णको हत्या गरिएको खुलेको छ,’ उनले भने, ‘बदलाको भावनाले मानिसलाई यतिसम्म क्रुर बनाउँदो रहेछ भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

प्रहरीका अनुसार कृष्णको हत्यापछि दुवैले मृतकको मोटरसाइकल प्रयोग गरी दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएका थिए । मोटरसाइकलको नम्बर प्लेट निकालेर अर्को दिन गौर नगरपालिका–४ का विकास पटेललाई ५ हजारमा बेचेका थिए । मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरुले गौरमा रहेको एक ग्यारेजमा पुर्‍याएका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा नागेन्द्र, ‘साधु’, मोटरसाइकल किनेर ग्यारेजमा लुकाउने गौर नगरपालिका–४ का विकास पटेल र वडा नम्बर ८ का ग्यारेज सञ्चालक अनिल साहलाई पक्राउ गरी मुद्दा चलाएको छ । हत्यमा प्रयोग भएको कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । पक्राउ परेका पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  

यादवका छिमेकी जयलाल, उनका छोरा धर्मेन्द्र, नागेन्द्र र शैलेन्द्र तीनै जनाको आचारण ठिक नरहेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार गाँजा तस्करी, चोरी डकैतीमा उनीहरूको नाम धेरैपटक मुछिएको थियो । जयलालका ४ छोरामध्ये जेठा मदन पोखरामा काम गर्छन् । उनीमाथि भने कुनै मुद्दा छैन । तर, बाबु जयलालसहित अन्य तीन जनामाथि अपहरण, हत्या र चोरी डकैती सम्बन्धी धेरै मुद्दा छ । यही कारण अहिले सहनीको घर सुनसान छ । उनीहरु सबै फरार छन् । 

०००

१२ वैशाख २०८१ । बिहानको पौने १० बजे सिरहा नगरपालिका–१८, लक्ष्मीनियाँजरुवा टोलकी सुविना यादव तीन वर्षीया छोरी रियाकुमारी यादवलाई घरमै छाडेर नजिकैको खेतमा काम गर्न हिँडिन् । खेतबाट फर्कंदा रियालाई कतै नदेखेपछि उनी अत्तालिइन् । आफन्तसमेत लागेर खोजी गर्दा पनि नभेटिएकी रिया दुई दिनपछि छिमेकीकै घरमा मृत भेटिइन् । 

प्रहरीका अनुसार १४  गते राति साढे ११ बजे धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै कालो रङको प्लास्टिकको बोरामा रियाको शव भेटियो । यो घटनामा प्रहरीले धनिकलालकी पत्नी ४७ वर्षीया सोनादेवी यादव र उनकी छोरी २५ वर्षीया पूजा यादवलाई तत्कालै नियन्त्रणमा लियो । धनिकलाल भने १२ गते साँझ नै घर छाडेर भागिसकेका थिए । 

दुवै परिवारबीच झगडा हुने गरेको र रिसिबी साँध्न उनीहरुले बिस्कुट दिई घरभित्र लगेर बालिकाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यो घटनाका मुख्य आरोपित पूजा अहिले पनि पुर्पक्षका लागि सिरहा कारागारमा छिन् । उनकी आमा सोनादेवी धरौटीमा रिहा भइसकेकी छन् । धनिकलाल पनि सिधै अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए । 

Crime series in Madhesh: The reason for the murder is becoming a recipe

सामान्य विवादको निहुँमा छिमेकीले नै यो तहको अपराध गर्लान् भन्ने आफूले कल्पना नगरेको सुविना बताउँछिन् । ‘छिमेकी हुन्, कुनै कुरामा कहिलेकाहीँ सामान्य विवाद हुन्थ्यो, तर त्यस्तो पनि थिएन,’ सुविनाले भक्कानिँदै भनिन्, ‘उनीहरुले छोरी नै मारिदिन्छन् भन्ने कुराको कल्पना गरेको थिइनँ । जीवनमा नसोचेको घटना भयो ।’ 

छोरीको हत्या हुँदा ३२ वर्षीय रमेश यादव भने वैदेशिक रोजगारीमा थिए । अहिले घरमै रहेका उनले प्रहरी, सरकारी वकिल र अदालतले मुद्दालाई कमजोर बनाएर धनिकलाल र उनकी पत्नीलाई धरौटीमा छाडिदिएको गुनासो गरे । मुख्य आरोपित पूजालाई निकाल्नका लागि चलखेल भइरहेको सुन्ने गरेको उनको भनाइ छ । ‘कतिपय कुरा रहस्यमय हुन्छन्, तर यसमा सबै कुरा स्पष्टै थियो, प्रहरी, सरकारी वकिल र अदालतले मुद्दालाई कमजोर बनाइदियो,’ रमेशले भने, ‘घटनाका बेला नै हामीलाई पाँच लाख रुपैयाँ लिएर मिल्न पनि प्रस्ताव आएको थियो । हाम्री छोरी संसारमा नरहे पनि दोषीहरुलाई कारबाही होस् र अब उप्रान्त गाउँसमाजमा यस्तो घटना नहोस् भनेर मानेनौं, हामी न्यायको आशामा अझै छौं ।’

०००

सिरहाको मिर्चैया–७ लिखटोलकी १९वर्षीया रञ्जना यादव दोस्रो वैवाहिक वर्षगाँठ मनाउने तयारीमा थिइन् । तर, उनको जीवनमा एकाएक बज्रपात आइलाग्यो । रञ्जनाको श्रीमान्‌मा आफन्तकै नजर लाग्यो । उनका श्रीमान् २५ वर्षीय शिवकुमार यादव मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा काम गर्थे । दिनमा खाना खाएर काम गर्न जाने उनी बेलुकी फर्किन्थे । कहिलेकाहीँ ढिलो पनि हुन्थ्यो । कहिले राति पनि काम गर्न जानुपर्थ्यो । ७ चैत २०७७ को साँझ ७ बजेतिर उनी राति काम गर्नुपर्छ भन्दै घरबाट १० हजार रुपैयाँ लिएर निस्किए । उद्योगमा काम सकाएर अबेर रातिसम्म फर्किने गरेका शिवकुमार बिहानसम्म आएनन् । 

रञ्जनाले ८ चैतको बिहान साढे ६ बजेतिर शिवकुमारलाई फोन गरिन् । फोन लागेन । उनीसहित घरका सबैले निरन्तर फोन लगाए । सम्पर्क हुन नसकेपछि खोजी सुरु भयो । खोजतलास गर्ने क्रममा चार दिनपछि चैत ११ गते प्रहरीले मिर्चैया नगरपालिका–१ स्थित राजमार्ग छेउको आँपको बगैंचामा बिहान शिवकुमारको शव बरामद भयो । प्रहरीका अनुसार, उनको सोही राति नै हत्या भएको थियो । 

शिवकुमारको हत्या आफ्नै काकाका छोरा २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया–९ काइन्द्रदेवले पारिवारिक रिसिबीका कारण गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यो घटनाभन्दा करिब २ वर्षअघि लागुऔषधसहित पक्राउ परेका विष्णु कारागारमा रहेका बेला उनको परिवार र शिवकुमारबीच घरायसी विवाद भएको थियो । प्रहरीका अनुसार, जेल सजाय भुक्तान गरेर घर आएपछि रिसिबी साँध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको उनीहरुको बयानबाट खुलेको थियो । 

उनीहरुले शिवकुमारको हत्या गरी ८ चैतको बिहान उनको घरमा फोन गरेर उनी आफूहरुसँग रहेको र ५० लाख रुपैयाँ लिएर आए मात्रै दिने भनेर फोन गरेका थिए । फोनका आधारमा अनुसन्धान थालेको प्रहरी उनीहरुसम्म पुगेको थियो । उनीहरुमाथि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको थियो । अदालतबाट विष्णुलाई पुर्पक्षको आदेश भएको छ । उनी अहिले कारागार छन् । इन्द्रदेव भने छुटेका छन् । 

०००

९ कात्तिक २०८० को साँझ ४ बजे महोत्तरीको पिपरा गाउँपालिका–५ का जगदीश साहको खेतमा रक्ताम्य अवस्थामा १९ वर्षे युवक मृत भेटिए । उनी पिपरा–५ हर्दिया टोलका आशिक भनिने वसन्त पासवान रहको प्रहरीले पत्ता लगायो । उनको हत्या भएको निष्कर्षमा प्रहरी पुग्यो र त्यसै रात महोत्तरी प्रहरीले भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगरका १९ वर्षीय दीपक मलिक र मधुवनी साहारघाट बसबरियाका १८ वर्षीय अमित मलिकलाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार वसन्तकै छिमेकमा मावली घर आएका दीपक र अमित गाउँमा लागेको दुर्गा मेला हेर्न सँगै निस्केका थिए ।

Crime series in Madhesh: The reason for the murder is becoming a recipe

मेलामा एक सय रुपैयाँमा सुनजस्तै टल्किने सिक्री अमित र दीपकले किने । सिक्री मागेर वसन्तले फोटो खिचाए । अन्तिममा वसन्तले फिर्ता नगर्दा विवाद भयो । प्रहरीको अनुसन्धानबाट वसन्तले सिक्री फिर्ता गर्न नमान्दा विवाद भएको र त्यसै क्रममा मेलाबाट थोरै पर चौरमा लगेर दुवै जनाले वसन्तको पेटमा छुरा प्रहार गरेर भागेको खुलेको थियो । सिक्रीको सामान्य विवादमा दुवैले हत्या गरेको महोत्तरी प्रहरीको निष्कर्ष छ । सामान्य विवादमा हत्या भएको घटनामा अमित बालसुधार गृह वीरगन्जमा छन् । दीपक भने अहिले पनि महोत्तरी कारागारमा छन् । 

०००

सर्लाहीको विष्णु गाउँपालिका–३ की ३६ वर्षीया रेनुदेवी पासवानको १४ वैशाख २०८२ को साँझ हत्या भयो । उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बिहान साढे १० बजेतिर रेनुमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो । घरायसी समान्य विवादमा रेनुदेवीका जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको ठम्याइ छ । रेनुको घटनास्थलमा मृत्यु भएको थियो । त्यहीँबाट हतियारसहित साहेबलाई नियन्त्रणमा लिइएको थियो । उनी अहिले पुर्पक्षका लागि कारागार छन् । जेठाजुसित केही समयदेखि सामान्य भनाभन हुँदै आएकमा त्यही रिस साँध्न हत्या भएको प्रहरीको भनाइ छ । 

०००

धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवकी २० वर्षीया श्रीमती अन्जलीदेवी यादवको शव सडेको अवस्थामा भेटियो । अन्जलीलाई उनका श्रीमान् हरिरामले नै हत्या गरेर घरको कुलपूजा हुने कोठामा माटोमुनि गाडेको निष्कर्षमा प्रहरी पुग्यो । अन्जलीलाई १० फागुन २०८१ मा हत्या गरेर घरमा गाडेको प्रहरी अनुसन्धानबट खुल्न आएको छ । घटनापछि हरिरामले श्रीमतीले आफूलाई छोडेर भागेको भनेर गाउँभरि हल्ला फैलाएका थिए । घटनाको केही समयअघि उनीहरुबीच झगडा भएको छिमेकीले सुनेको प्रहरीलाई बताएका छन् । 

अन्जलीका श्रीमान् लागुऔषध सेवन गर्थे । उनीहरुबीच झगडा परिरहन्थ्यो । अन्जलीको हत्यापछि हरिराम १० महिनाकी छोरी लिएर फरार भएका थिए । धनुषा प्रहरीका डीएसपी बरुण सिंहका अनुसार अन्जलीको हत्या भएको रहस्य आठ दिनपछि मात्रै खुलेको हो ।  हरिरामलाई पक्राउ परिसकेका छन् । 

०००

२०८१ फागुन ७ गते पर्साको वीरगन्ज–२७ का १९ वर्षीय इशालप्रसाद कुर्मी कामका लागि भन्दै घरबाट निस्किए । राति अबेरसम्म नफर्किएपछि खोजीका लागि भन्दै परिवारका सदस्यले जिल्ला प्रहरीमा निवेदन दिए । बेपत्ता भएको ४ दिनपछि फागुन ११ गते भेडाहा खोलामा तैरिरहेको अवस्थामा इशालको शव भेटियो । साथीहरु वीरगन्ज–२७ का अरुणकुमार यादव, मुकेशप्रसाद यादव र मुना तिवारीतिर हत्याको अनुसन्धान सोझियो । इशाल हत्यामा उनीहरु नै संलग्न रहेको खुल्यो । 

वीरगन्ज प्रहरीका अनुसार तास खेल्ने क्रममा ३ हजार ५ सय रुपैयाँलाई लिएर उनीहरुबीच झमेला भएको रहेछ । तास खेल्दा पैसामा विवाद बढे पछि आवेगमा आई इशाललाई तीनै जना साथी मिलेर हत्या गरेपछि खोलामा फालिदिएका थिए । घटनापछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । तीमध्ये मुकेशले अपराध स्विकारे । उमेर नपुगेकाले अदालतले उनलाई बालसुधार गृहमा राख्न आदेश गरेको छ । अरुण र मुना ५०/५० हजार धरौटीमा छुटेको पर्सा प्रहरीले जानकारी दिएको छ । 

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले सामान्य झगडामा पनि हत्या गर्न थालेपछि समाजमा अबको पाटो डरलाग्दो भएको सुनाए । ‘बेलैमा यस्ता घटना रोक्न हामीले केही न केही गर्नैपर्छ,’ उनले भने, ‘छिमेकी, साथीभाइ र आफन्तबीच सामान्य विवादमा हत्या हुनु दुखद हो ।’

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का सामान्य झगडा, प्रतिशोध, प्रेमसम्बन्ध, लेनदेन, बेरोजगारी लगायतका कारण हत्याकै तहसम्म पुग्ने गरेको बताउँछन् । ‘हामीले अबका युवालाई सचेत गराउन जरुरी छ । विद्यालय शिक्षामै अपराधका बारेमा पढाउनुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘आफन्त, परिवार, छिमेकीबीचको विवाद र असमझदारीले हत्यासम्मको अवस्था देखिनु समाजका लागि राम्रो होइन ।’

अपराधको बढ्दो ग्राफ

सामान्य विवाद, घरझगडा र छिमेकीसँगको कलहकै कारण मधेशमा हत्याको घटना बढेको पाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०७७/७८ मा ९३ जनाको हत्या भएको थियो । यो संख्या बढेर २०७८/७९ मा ९६ पुग्यो । 

०७९/०८० मा १ सय १७ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जसमा ७५ पुरुष र ४२ महिला छन् । यो अवधिमा सप्तरी र बारामा १४–१४, सिरहा र महोत्तरीमा १२–१२, धनुषा र सर्लाहीमा १५–१५, पर्सामा १६ तथा रौतहटमा १९ जनाको हत्या भएको थियो । यो अवधिमा हत्याका १ सय १४ वटा मुद्दा दर्ता गरेर १ सय ६० जनालाई पक्राउ गरिएको थियो ।

०८०/०८१ मा १ सय २८ जनाको हत्या भयो । जसमध्ये ८९ जना पुरुष र ३९ जना महिला छन् । धनुषामा २१ जना, सिरहामा २०, रौतहट र पर्सामा १८–१८, सप्तरीमा १७, बारामा १५, सर्लाहीमा १० र महोत्तरीमा ९ जनाको हत्या भएको थियो । गत आर्थिक वर्षमा प्रहरीले हत्याका १ सय १८ वटा घटनामा २ सय ६२ जनालाई पक्राउ गरेको उल्लेख छ । 

सामान्य विवादमा हत्या हुनुले समाजमा सन्त्रास फैलिएको नागरिक समाजका अगुवा अनन्त कोइरालाले बताए । ‘रिसलाई काबुमा राख्न नसक्दा यस्ता घटना भइरहेका छन् । सामान्य विवादपछि रिसिबी साध्दा ठूला अपराध भइरहेका हुन्,’ उनले भने, ‘समाज परिवर्तनका लागि हामीमा चेतनाको कमी भएको महसुस भएको छ ।’

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी मधेशमा भएका पछिल्ला हत्याका घटनाले मानिसमा नैतिकता हराइसकेको भान हुने बताउँछन् । ‘पछिल्लो समय आवेशमा आएर हत्या गर्ने प्रवृत्ति बढेको छ । मुख्यत: प्रतिशोध नै देखिन्छ ।'

शिव

Link copied successfully