मधेशमा डुबेरै ३ वर्षमा ५४२ को मृत्यु, ५९ प्रतिशत बालबालिका

माटो वा ग्राभेल निकालिएका खाल्डामा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने घटना बर्सेनि थपिँदो

जेष्ठ ८, २०८२

अजित तिवारी र शिव पुरी

542 deaths in 3 years due to drowning in Madhesh, 59 percent children

जनकपुर/रौतहट — मंगलबार साँझको कुरा हो । धनुषाको पूर्वोत्तर कमला नगरपालिका–२ सराबेका रामबाबु साह र श्यामबाबु साह निकै छटपटीमा थिए । दिउँसो घरबाट सँगै खेल्न निस्किएका रामबाबुका ७ वर्षीय छोरा रितिक र श्यामबाबुका ५ वर्षीय छोरा रितिश घर नफर्किएपछि उनीहरूमा छटपटीसँगै चिन्ता थपियो ।

तर, एकछिनपछि आएको खबरले उनीहरुको चिन्ता शोकमा बदलियो । 

दुई बालक केही मिटर पर निर्माणाधीन सडकमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत भएको अवस्थामा भेटिए । 

१५ दिनअघि मात्रै सो कृषि सडकमा माटो निकालेपछि त्यहाँ गहिरो खाल्डो परेको थियो । जयबाबा कन्स्ट्रक्सनले सडक निर्माण क्रममा त्यहाँ खाल्डो खनेको थियो । लगातारको वर्षाले खाल्डो पानीले भरिएको थियो । खेल्दै त्यहाँ पुगेका रितिक र रितिश त्यही खाल्डोमा डुब्न पुगे । उक्त सडक निर्माणका ठेकदार राजेन्द्रकुमार मण्डल हुन् ।

सडक निर्माण, विस्तार वा स्तरोन्नतिका क्रममा छेउछाउबाट माटो निकालेपछि बनेका खाल्डामा डुबेर बालबालिकाको मृत्यु भएको यस्तो घटना मधेशका निम्ति भने नयाँ होइन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षमा धनुषामा मात्रै ३९ जनाको डुबेर मृत्यु भयो, जसमा बालबालिकाको संख्या मात्रै २३ छ । 

000

542 deaths in 3 years due to drowning in Madhesh, 59 percent children

गत वैशाख ७ गते । सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित जिङडवा गाउँमा दुःखको खबर फैलियो । जोश सोना इँटाभट्टाले माटो निकालेपछि बनेको खाल्डोमा पानी जमेको थियो । त्यही खाल्डोमा डुबेर ५ वर्षीय सुवजित माझीको मृत्यु भयो । थप दुःखको कुरा त सुवजित हराएको भनेर खोजी भएको तीन दिनपछि मात्रै परिवारले खाल्डोमा डुबिरहेको अवस्थामा उनको शव फेला पारेका थिए । 

भारत, विहार प्रान्तको गया जिल्लास्थित दिउरी गाउँका शिवम माझी इँटाभट्टामा काम गर्न यता आएका थिए । रोजगारीको खोजीमा आएका उनी छोराको मृत्युले दिएको चोट बोकेर फर्किएका छन् । 

यस्तै घटना असार १७ मा सिरहामा पनि भयो । नरहा गाउँपालिका-३ खोरियाका ७ वर्षीय राहुल मण्डल र ८ वर्षीय आशिष मण्डल घरबाट एकाएक हराए । खोजीनितीमा जुटेको सिंगो परिवारले दुई दिनपछि मात्र उनीहरुको शव फेला पार्‍यो । घरनजिकै ग्राभेल निकालिएको खाल्डोमा पानी जमेको थियो । त्यही खाल्डोमा डुबेर उनीहरूको मृत्यु भएको थियो । 

मृतक बालक राहुलका बुवा र आशिषका मामा पर्ने सुशील मण्डलका अनुसार ग्राभेल खनेर लगेको ठाउँमा गहिरो खाल्डो थियो । बर्खाले त्यहाँ पानी भरियो । भेउ नपाउँदा डुबेर उनीहरूले ज्यान गुमाए ।

मधेशमा वर्षाका बेला माटो वा ग्राभेल निकालिएका खाल्डामा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने घटना रोकिएको छैन । प्रदेश प्रहरी कार्यालयबाट प्राप्त १० महिनाको तथ्यांक हेर्दा हरेक महिना औसत ११ जना बालबालिकाको मृत्यु डुबेर हुने गरेको छ । चालु आर्थिक वर्ष ०८१/०८२ को जेठ ६ गतेसम्म मधेश प्रदेशका ८ जिल्लामा डुबेर २ सय २ जनाले ज्यान गुमाएका छन् ।

542 deaths in 3 years due to drowning in Madhesh, 59 percent children

प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा पानीका दह वा खाल्डोमा डुबेर सर्लाहीमा ३७ जनाको मृत्यु भयो । जसमा १५ जना बालबालिका छन् । सप्तरीमा डुबेर मृत्यु भएका २९ जनामा १५ जना बालबालिका छन् । महोत्तरीमा डुबेर २७ जनाको मृत्यु भएकामा २१ जना बालबालिका छन् । पर्सामा १८ मध्ये ९, बारामा १० मध्ये ६, सिरहामा १२ मध्ये ९ बालबालिकाको यही अवधिमा अनाहकमा ज्यान गयो । धनुषामा ३९ मध्ये २३ जना बालबालिका र रौतहटमा ३० मध्ये १८ जना बालबालिकाको डुबेर मृत्यु भयो । 

जोखिममा बालबालिका
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा मधेशमा डुबेर ५ सय ४२ जनाको मृत्यु भएको देखिन्छ । जसमा बालबालिकाको संख्या मात्रै ३ सय २१ जना छ । अर्थात् डुबेर हुने मृत्युमा बालबालिकाको हिस्सा ५९ प्रतिशत छ । 

हरेक वर्ष डुबेर बालबालिकाको मृत्यु हुने गरे पनि यसमा न स्थानीय तह न त प्रदेश सरकार वा संघको ध्यान देखिन्छ । यही हेलचेक्र्याइँले हरेक वर्ष डुबेर मृत्यु हुने संख्या बढ्दो छ । २०७९/०८० यताका तीन वर्षको तथ्यांकले यस्तो दृश्य देखाउँछ । 

२०७९/०८० मा १५५ जनाको डुबेर मृत्यु भयो । ०८०/०८१ मा यो दरमा १९ प्रतिशतभन्दा धेरैले वृद्धि भएर १८५ पुग्यो । ०८१/०८२ को १० महिनामा भने यो दर अघिल्लो वर्षभन्दा ९ प्रतिशतभन्दा धेरैले बढेर २०२ पुग्यो । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक विक्रम साहका अनुसार बाढीले बगाएका, खोलामा हाम फालेका घटना एकाध भए पनि धेरैजसो खाल्डाखुल्डीमा जमेको पानीमा र केही पोखरी वा जलाशयमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ । उनले भने, ‘डुबेर बालबालिकाको ज्यान जाने घटना मधेश प्रदेशमा ठूलै समस्या बनेको छ ।’

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले सडक विस्तार र निर्माणका लागि खनिएको खाल्डोका कारण धेरै बालबालिकाको ज्यान गएको बताए । ‘पानी वैशाख–असारतिर बढी पर्छ । सडक पनि यही अवधिमा खनिएको हुन्छ,’ तिवारीले भने, ‘त्यस्तै खाल्डामा डुबेर धेरै नानीबाबुको ज्यान गएको छ । घटनापछि खाल्डा त पुरिन्छ । तर, त्यो बदमासी बर्सेनि दोहोर्‍याउँदा क्षति बढ्दो छ ।’

बाढी, पहिरो, शीतलहर, गर्मी, आगलागी, हावाहुरी लगायतलाई विपद् भन्दै मधेशका १ सय ३६ वटै पालिका र प्रदेश सरकारले पूर्वतयारी गरेको देखिन्छ । तर, पोखरी, नदी, खोल्सा, ठेकेदारले जथाभावी खनेर अलपत्र छाडेका गहिरो खाल्डोमा डुबेर मृत्यु हुनेलाई क्षतिपूर्ति त के तिनै तहका सरकारले प्राथमिकतामा राखेको देखिन्न । 

542 deaths in 3 years due to drowning in Madhesh, 59 percent children

मधेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले डुबेर बालबालिकाको मृत्युको तथ्यांक स्तब्ध बनाउने खालको रहेको बताए । ‘डुबेर बालबालिकाको मृत्यु भएको खबर आउँछ । अहिलेसम्म केही गर्न सकिएको छैन,’ मन्त्री जयसवालले भने, ‘यो मामिलामा प्रदेश सरकारले प्रहरी र स्थानीय तहसँग परामर्श गर्नुपर्छ । यो ठूलो क्षति हो । यसलाई रोक्न प्रदेश सरकार अब अगाडि बढ्नुपर्छ ।’

जनकपुरका नागरिक अगुवा विष्णु कुँवरले डुबेर मृत्यु हुने घटनामा को जिम्मेवार हुन् भनेर पत्ता लगाउन नसकिएको बताए । उनले अभिभावकको कमजोरी र ठेकदारको लापरबाहीले हुने यस्ता घटना दोहोरिरहेको बताउँदै भने, ‘तर सुरक्षा र रोकथामका लागि फिटिक्कै काम भएको छैन ।’ 

डुबेर बालबालिकाको ठूलो संख्यामा मृत्यु हुन थालेपछि मधेश प्रदेशको बाल संरक्षण समितिको बैठकमा रोकथामका कार्यक्रम ल्याउने निर्णय गरिएको थियो । खेलकुद तथा समाजकल्याण मन्त्रालयको अगुवाइमा भएको बैठकमा डुबेर मृत्यु हुने घटना बालबालिका संरक्षणका लागि चुनौती भएकाले यस्तो घटना रोकथामका लागि नीति बनाउनुपर्ने सुझाव दिइएको थियो । तर पनि मधेशमा बालबालिकाको डुबेर मृत्यु हुने क्रम रोकिएको छैन । 

अजित

Link copied successfully