एउटै जिल्लामा सडकका २ अर्ब ६६ करोडका २६ ठेक्का अलपत्र

कतिपय योजनामा ६ पटकसम्म म्याद थपिँदा पनि काम अधुरै, सडक र पुलको दुरवस्थाले सास्ती भोग्दै सप्तरीका सर्वसाधारण

चैत्र ५, २०८१

अवधेशकुमार झा

In one district, 26 road contracts worth 2.66 billion are pending

राजविराज — सडक डिभिजन कार्यालय लहानले सप्तरी जिल्लामा लगाएको विभिन्न सडक र पुलको २ अर्ब ६६ करोड रुपैयाँ बराबरका २६ वटा ठेक्का अलपत्र परेको छ । सम्झौता हुँदा तोकिएको म्याद सम्पन्न भइसके पनि कतिपयको भौतिक प्रगति एक प्रतिशत पनि छैन ।

सडक डिभिजन कार्यालय लहानका अनुसार आर्थिक वर्ष २०६६/६७ देखि ०८०/८१ सम्म १३ वटा पुल र १३ वटा सडकमा २ अर्ब ६६ करोड २४ लाख ५ हजार २८ पैसा बराबरको योजना कार्यान्वयनको चरणमा गएका थिए । यी २६ योजनामध्ये साह इन्जिनियरिङ प्रालिले सबैभन्दा बढी ठेक्का लिएको छ । 

सडक डिभिजनले २०७९ पुस ८ मा शम्भुनाथ नगरपालिका-२ स्थित खाँडो खोलामा पुल निर्माणका लागि अमर/सिवाको/पुष्पाञ्जली जेभीसँग १० करोड ६० लाख ६५ हजारमा सम्झौता गरेको थियो । सम्झौताअनुसार योजनको म्याद २०८० फागुन ८ मा सकिने थियो । तर म्याद सकिएको एक वर्ष बितिसक्दा पनि योजना अपुरो छ,  भौतिक प्रगति १ प्रतिशत मात्र छ । 

हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवा कोशी बाँधदेखि पश्चिम महेन्द्र राजमार्ग–हनुमान मन्दिर–पोर्ताहा–अर्जी–त्रिकौल–मैनाकरेडी हुँदै लोहजारा, घौनकी चौक–पानीटंकी सडकका लागि २०७९ असार १९ गते साह/दिवा जेभीसँग सम्झौता भएको थियो । १४ करोड ९ लाख ४७ हजारमा सम्झौता भएको यो सडक २०८१ असार १८ मा निर्माण हुनुपर्ने थियो । काम नभएपछि एकपटक म्याद थप गरी २०८२ असार १८ सम्म धकेलिएको छ । तर भौतिक प्रगति झन्डै १० प्रतिशत मात्र देखिन्छ ।

शम्भुनाथ नगरपालिका-९ स्थित बाबरा नदी पुलको ठेक्का सम्झौता दिवा/साह इन्जिनयरिङ जेभीसँग २०७७ पुस २६ मा भएको थियो । ५ करोड ९६ लाख ६८ हजारमा ठेक्का सम्झौता भएअनुसार २०७९ चैत २६ मा कार्य सम्पन्न भइसक्नुपर्नेमा यसको काम पनि पूर्ण हुन सकेको छैन । दुईपटकसम्म म्याद थपेर २०८१ चैत २८ सम्म तोकिए पनि यो पुलको भौतिक प्रगति ५४ दशमलव ८६ प्रतिशत मात्र छ । 

सखडा–फकिरा सडकखण्ड अन्तर्गत घोडदह नदीको पुल २०६६ साउन ६ गते प्रकाश/आश्रय जेभीसँग सडक डिभिजन कार्यालय लहानले सम्झौता गरेको थियो । अचम्म त, ६ पटकसम्म म्याद थपिँदा पनि काम पूरा हुन सकेको छैन । २०६७ साल माघ ५ गतेभित्र सम्पन्न हुने गरी १ करोड ९१ लाख ९२ हजारमा सम्झौता भएको थियो । ६ पटकसम्म म्याद थप गर्दे अवधि २०७९ चैतसम्म पुर्‍याइयो । म्याद सकिएको दुई वर्ष बित्दा पनि भौतिक प्रगति ९८ प्रतिशतमै अड्किएको छ ।

शम्भुनाथ-९ मा भावरा नदीपुल निर्माणका लागि पुष्पाञ्जली/जाल्पा/जिम्बा जेभीसँग २०७७ पुस ८ मा सम्झौता भएको थियो । २०८० वैशाख ७ गते नै निर्माण सक्नुपर्ने भए पनि निर्माण पूरा हुन सकेन । ४ करोड ७५ लाख ३१ हजारमा ठेक्का सम्झौता भएको यो योजनाको भौतिक प्रगति ८३ दशमलव ७२ प्रतिशत मात्रै छ ।

शम्भुनाथ-११ मा रहेको देवधारपुल निर्माणका लागि ६ करोड ५७ लाख ८२ हजारमा रमन/आईएसएनबी जेभी जनकपुरसँग सम्झौता भएको थियो । २०७६ साउन ८ मा भएको सम्झौता अनुसार यो पुल २०७८ साउन ३ भित्र सम्पन्न भइसक्नुपर्ने हो । तर दुई पटक म्याद थप गरेर २०७९ पुस २३ सम्म पुर्‍याइयो । सो मिति गुज्रिँदा पनि प्रगति ८५ प्रतिशत मात्र छ । 

भारदहदेखि महदेवा गाउँपालिका-४ डाढा र बथनाहा हुँदै वडा नम्बर १ मिलन चोक (पकरी) सम्मको सडक निर्माणका लागि साह/दिवा जेभीसँग २०७९ असार १९ मा सम्झौता भएको थियो । १४ करोड ४२ लाख ६९ हजारमा निर्माण हुने यो सडक सुरु सम्झौता अनुसार २०८१ असार १८ भित्र सक्नुपर्ने थियो । एकपटक म्याद थप गरेर २०८२ असार १८ सम्म अन्तिम म्याद तोकिएको छ । तर भौतिक प्रगति २४ दशमलव १७ प्रतिशत मात्र छ । 

कल्यापुर–फुलबडिया–बनौला–बनौली हुँदै कबिलासा-हरिराहा कुसहा भन्सारसम्मको सडक निर्माणको ठेक्का १३ करोड ३१ लाख ४८ हजारमा साह/दिवा जेभीले नै पाएको थियो । २०७९ असार १९ मा भएको सम्झौताअनुसार यो सडक २०८१ असार १८ मा बनिसक्नुपर्ने हो । एकपटक म्याद थप गरेर २०८२ असार १८ सम्म पुर्‍याइए पनि अहिलेसम्म भौतिक प्रगति २८ दशमलव ७८ प्रतिशत मात्र छ । In one district, 26 road contracts worth 2.66 billion are pending

साह/दिवा जेभीले नै अड्काएको अर्को सडक हो, रुपनी–राजविराज सडकको स्तरोन्नति । २०७९ असार १९ मा भएको सम्झौताअनुसार यो सडक २०८० असार १८ मै सम्पन्न भइसक्नुपर्ने हो । १० करोड ६ लाख ७१ हजारको यो ठेक्काको म्याद थप हुन सकेको छैन । भौतिक प्रगति २१ दशमलव ७३ प्रतिशतमै सीमित छ । 

रुपनी–राजविराज सडक स्तरोन्नतिकै अर्को खण्ड पनि साह इन्जिनियरिङ प्रालिले नै लिएको छ । २५ करोड ६९ लाख ९० हजारमा सम्झौता भएको यो सडक पनि २०८१ असार ३० मा सक्नुपर्ने थियो । तर तोकिएको म्यादभित्र काम हुन सकेन। एकपटक म्याद थप्दै २०८२ साल असार १५ सम्म पुर्‍याइएको छ । भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ । 

सोही सडक स्तरोन्नतिको तेस्रो खण्डको ठेक्का चौधरी निर्माण सेवा जनकपुरले २ करोड ५६ लाख ८१ हजारमा लिएको छ । २०८० असोज १० मा भएको सम्झौताअनुसार २०८१ जेठ ३० भित्र निर्माण हुनुपर्ने यो खण्ड तोकिएको समयमा बन्न नसकेकाले म्याद थप गरेर २०८१ मंसिर २९ सम्म पुर्‍याइयो । म्याद गुज्रिएको तीन महिना हुँदा पनि भौतिक प्रगति ४४ दशमलव ३४ प्रतिशत मात्र छ । 

यस्तै, चौथो खण्डको ठेक्का ८ करोड १४ लाख ७४ हजारमा धर्मा–सम्झना जेभीले २०८० असोज ७ मा सम्झौता गरी लिएको थियो । २०८१ जेठ ३० गते भित्रै बनिसक्नुपर्ने यो सडकको कार्य अहिलेसम्म १४ दसमलव ४० प्रतिसत मात्र छ । 

प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीसँग जोडने राजविराज–छिन्नमस्ता सडक निर्माणका लागि २०७९ असार २३ गते २५ करोड ८८ लाख २ हजारमा साह इन्जिनियरिङले नै ठेक्का लिएको थियो । बाटो खनेर छाडेका कारण छिन्नमस्ता भगवती मन्दिर नै जान सक्ने अवस्था बन्यो । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको नेतृत्वमा जनप्रतिनिधिले सडक संवाद कार्यक्रमसँगै सडक डिभिजन कार्यालय लहानमा धर्ना बसे । 

अध्यक्ष चौधरीले सडक विभागका महानिर्देशकदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म यो सडक निर्माण तोकिएको समयमा गराइदिन आग्रह गरे । तर समयमा काम भएन । एकपटक म्याद थप गरेर २०८२ असार १५ सम्म अन्तिम समय दिइएको छ । म्याद सकिन करिब तीन महिना मात्र बाँकी छँदा भौतिक प्रगति भने २७ प्रतिशत मात्र छ । 

साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले अलपत्र पारेको अर्को सडक हो, राजविराज–हनुमाननगर–भारदह सडक । खाल्टोका कारण सवारीसाधन चल्नै नसक्ने बनेको यो सडक निर्माणका लागि स्थानिय बासिन्दाले झल्ही, तोपा र मन्सापुरमा पटकपटक सडक अवरुद्ध गरे । सडक डिभिजन र ठेकेदारले पटकपटक स्थानीयसँग सहमति गरी अवरोध खुलाए । तर सडक भने उस्तै छ । २०७९ असार २३ मा भएको सम्झौताअनुसार २५ करोड ७१ लाख ४६ हजारमा यो सडक २०८० असार ३० भित्र सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न हुन सकेन। एकपटक म्याद थप गरी २०८२ वैशाख ३० सम्म पुर्‍याइएको छ । अहिलेसम्म भौतिक प्रगति भने १६ दशमलव २० प्रतिशत मात्र छ । 

कदमाहा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेवासम्मको सडक निर्माण २०७९ मंसिर १८ मा २७ करोड ८ लाख १६ हजारमा गौरी पार्वती/के एन्ड केजी/रमिता जेभीले ठेक्का लिएको छ । २०८१ मंसिर १७ मा पूरा हुनुपर्ने यो सडकको भौतिक प्रगति ३४ दशमलव ८८ प्रतिशत मात्र छ । 

राजविराज–कुनौली सडकको तिलाठी नजिक रहेको महुली घाडनखोला पुल निर्माण गर्न २०७१ असार ३१ गते पप्पु/मृत सञ्जीवनी जेभीले ६ करोड १३ लाख ५४ हजारमा ठेक्का लिएको थियो । सुरु सम्झौताअनुसार यो पुलको पूर्ण निर्माण कार्य २०७३ असार ३० सम्म सक्नुपर्ने थियो । काम नभएपछि चारपटकसम्म म्याद थप गरेर २०७९ असोज २९ सम्म पुर्‍याइयो तर यसको भौतिक प्रगति ९३ प्रतिशतमा सीमित छ ।

०७७ सालदेखि निर्माण सुरु भएको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलाको पुल पनि अधुरो छ । सडक डिभिजन कार्यालय लहानका अनुसार २०७७ पुस ८ गते अमर/सिवाको/पुष्पाञ्जली जेभीले ९ करोड ७५ लाख ९८ हजारमा ठेक्का लिएका थिए । २०८० माघ ८ मा सम्पन्न हुनुपर्नेमा एकपटक म्याद थप गरी २०८१ असार ३० सम्म तोकियो । सो अवधि बितेको एक वर्षभन्दा बढी भइसके पनि निर्माण सकिएको छैन । यसको भौतिक प्रगति ९२ प्रतिशत मात्र छ । 

यस्तै, फुकहा–बरदाहीबीच रहेको मुतनी नदी पुल, लालापटी-१ भुटनपोखरीस्थित भलुवाही पुल, बिसहरिया-१ स्थित भलुवाही पुल, कनकटा-९ र बेल्हा-५ जोड्ने सडक, राजविराज–छिन्नमस्तादेखि बेल्हा-६ र बेल्हा-५ जोड्ने सडकको घोडदह खोला पुल, हरिहरपुरस्थित अमसिता खोला पुलसमेत तोकिएको समय र थपिएको म्यादभित्र पनि निर्माण पूरा भएका छैनन् ।

बरमझियास्थित सशस्त्र प्रहरी बेस क्याम्पभन्दा पश्चिम बरमझिया–कुनौली सडकअन्तर्गत महुली खोला पुल, रुपनी-६ स्थित नयाँबस्तीको दुधैला खोला पुल र राजविराज छिन्नमस्ता सडकखण्डको कटटी खण्डदेखि बेल्हा पश्चिममा पर्ने खिरखोका नदी पुल पनि तोकिएको समयमा निर्माण हुन सकेको छैन । 

सडक डिभिजन कार्यालय लहानका प्रमुख अभिषेक कर्ण भने तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनीलाई ताकेता गरिए पनि अटेर गर्ने गरेको विवशता सुनाउँछन् । जिल्लामा एउटा सडक डिभिजनबाट मात्र २ अर्ब ६६ करोडभन्दा बढीका योजना अलपत्र पर्दा सडक र पुलको दुरवस्था देखिन्छ । लामो समयसम्म यस्ता भौतिक संरचना लथालिंग हुँदा सर्वसाधारण भने सास्ती बेहोरिरहेका छन् । 

अवधेशकुमार झा

Link copied successfully