आवाज बोल्ने बालेन,

आदेश दिने बालेन्द्र

धेरैलाई लाग्छ, बालेन अचानक र नाटकीय रूपमा राजनीतिमा आएका हुन् । तर, राजनीतिप्रति उनको सरोकार र सक्रियता संविधान निर्माणको संक्रमणकालमै थियो । उनका धेरैजसो र्‍यापमा राजनीतिक विषयवस्तु नै छन् । फरक यही हो, उनले परम्परागत शैलीको सट्टा युवाबीच लोकप्रिय माध्यम उपयोग गरे ।

०७० सालमा काठमाडौंमा अपराध र गुन्डागर्दी नियन्त्रण गर्न भन्दै प्रहरीले लामो कपाल काटिदिने अभियान चलाएको थियो । त्यसको प्रतिकारमा युवाले ‘मेरो लामो कपाल छ, म अपराधी होइन’ भन्ने अभियान चलाउँदै काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरेका थिए । त्यही बेला ‘प्रहरी प्रतिकार’ शीर्षकको र्‍याप सार्वजनिक भएको थियो ।

‘म नेपाल प्रहरी,
जनतालाई ठोक्छु म ।
बाटो बाटो हिँड्छु म,
मान्छेलाई टोक्छु म ।
म नेपाल प्रहरी, जनतालाई ढाँट्छु म ।
गर्न केही आउँदैन, कपाल काट्छु म ।
नेपाल प्रहरी अब कपालको सेवामा ।’

प्रशासनप्रति तिखो प्रश्न गर्ने यो र्‍याप त्यो बेला २४ वर्षका बालेनले लेखेका थिए । औपचारिक नाम बालेन्द्र शाह भए पनि उनी आफ्नो दुनियाँमा बालेनका नामले चिनिए । एकातिर दुई/दुईवटा संविधानसभा निर्वाचनपछि पनि संविधान बन्ने निश्चित थिएन, अर्कोतिर नेपाल प्रहरी भने देशमा कानुनी शासन स्थापना गर्ने भन्दै कपाल काट्ने अभियानमा सक्रिय थियो । त्यसैले प्रतिकारमा उभिएका युवाहरूले प्लेकार्डमा लेखेका थिए, ‘गुन्डा पाल्नेलाई समातौं, कपाल पाल्नेलाई होइन ।’

कपाल पाल्ने अधिकारका लागि मात्र होइन, संविधान निर्माणमा दबाबमूलक अभियान चलाइरहेका बेला पनि प्रहरीले गरेको हस्तक्षेपको पनि बालेनले खुलेरै विरोध गर्थे । प्रतिकार गीतमै उनले लेखेका छन्—

‘बिहान र साँझ, हिँड्न हाम्लाई गाह्रो भो ।
आफ्नो अधिकार खोज्नु पनि आज आरोप भो ।’

त्यही बेला सत्तारूढ एमालेको युवा संघले चर्को हर्नसहित मोटरसाइकल र्‍याली निकालेको थियो, उनीहरूलाई भने प्रहरीले केही नगरेकोप्रति बालेनको असन्तुष्टि थियो । तर, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै प्रदर्शनमा उत्रिएका युवालाई ७ माघ २०७१ मा प्रहरीले लाठीचार्ज गरेको थियो । त्यो बेला बालेनले फेसबुकमा आक्रोश पोखेका थिए, ‘नेता, डन र व्यापारीबाहेक अरू चाहिँ मान्छे होइनन् ? यो दुई प्रकारबाहेक अरूलाई पुलिसले कहिलेबाट इज्जत गर्ने ?’

त्यहीबेला नेपाल बन्दको शृंखला चलिरहेको थियो । उज्ज्वल थापाहरू भने ‘नेपाल खुल्ला छ, नेपाल बन्दै छ’ अभियान चलाइरहेका थिए । त्यतिबेला नेपाल बन्दमा ‘क्रस’ चिह्न दिएर नेपाल ‘बन्दै’ बनाइएको थियो, त्यसको पृष्ठभूमिमा संविधान निर्मार्णका लागि दबाब दिने शब्दहरू लेखिएका थिए । त्यस अभियानमा पनि बालेनले उपस्थिति जनाउँथे । २९ पुस २०७१ मा अभियानमा सरिक भएपछि उनले भनेका थिए, ‘अब नेपाल बन्द गर्न खोज्नेको स्थिति नाजुक पार्ने पालो हाम्रो, नेपाल खुल्ला छ, खुल्ला रहनेछ ।’

विवेकशीलका संस्थापक उज्ज्वल थापासहितको ‘नेपाल युनाइट्स’ समूहले संविधान निर्माणमा दबाब दिन ‘परिवर्तनका लागि हामी एक’ भन्दै अभियान चलाएको थियो । ‘नेपाल युनाइट्स’ अभियानसँग बालेन नजिक थिए ।

विद्यार्थी, पेसाकर्मी, अधिकारकर्मी र समाजमा प्रभाव पार्ने विभिन्न वर्गका व्यक्ति सरिक यो अभियानले सांसदहरूलाई लक्षित गर्दै नारा बनाएको थियो, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ।’

त्यसबेला अर्को एक समूहले संविधान निर्माणका लागि दबाब दिन ‘संविधानका लागि हामी’ अभियान चलाएको थियो । त्यो अभियानमा पनि बालेन नियमितजसो सहभागी हुन्थे, र्‍याप गाएरै विरोध जनाउँथे । यो त्यतिबेलाको कुरा हो, जतिबेला संविधान बनाउन नसकेपछि पहिलो संविधानसभा भंग भएको थियो ।

We for Constitution
संविधान निर्माणका लागि दबाब दिन चलेको संविधानका लागि हामी अभियानमा सहभागी हुँदै बालेन्द्र शाह । तस्वीरः बालेन शाहको फेसबुकबाट ।

संविधानसभाको दोस्रो निर्वाचन भए पनि दलहरूबीच असमझदारी भइरहँदा पनि ‘संविधानका लागि हामी’ अभियान निरन्तर थियो । २४ वर्षीय बालेनले आफ्नो बहुचर्चित गीत ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ त्यहीबेला सार्वजनिक गरेका थिए । कान्तिपुर पब्लिकेशसन्स्को साप्ताहिक म्यागेजिन नेपाललाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘विश्वभरि महत्त्वपूर्ण घटनाक्रममा संगीतको सहारा लिएर यस्तो अभियान चलाइन्छ । नेपालमा पनि त्यस्तै संस्कार बसाउन र्‍यापको सहारा लिएको हुँ ।’

धेरैलाई लाग्छ, बालेन अचानक र नाटकीय रूपमा राजनीतिमा आएका हुन् । तर, राजनीतिप्रति ऊनको सरोकार र सक्रियता संविधान निर्माणको संत्रमणकालमै पनि थियो । उनका धेरैजसो र्‍यापमा राजनीतिक विषयवस्तु नै छन् । फरक यही हो, उनले परम्परागत शैलीको सट्टा युवाबीच लोकप्रिय माध्यम उपयोग गरे । सन्दर्भहरू भन्छन्– र्‍यापर बालेन राजनीतिमा आएका होइनन्, राजनीतिप्रति चासो राख्ने बालेनले आफ्नो प्रतिक्रिया र्र्‍यापबाट व्यक्त गरेका हुन् ।

Listen to this story
0:00 / 0:00

राजनीतिक घटनात्रमसँग युवालाई जोड्न र्‍याप उपयोगी हुने उनको बुझाइ त्यही बेला थियो । ‘बाहिरी देशमा हेर्दा हाइटीको भूकम्पमा होस् वा गाजा स्ट्रिपमा तनाव बढ्दा गीतकै माध्यमले शान्ति र मानवताको पक्षमा उभिएका उदाहरणहरू छन्,’ नेपाल म्यागेजिनमा उनले भनेका छन् ।

बालेनको ‘नेपाल हाँसेको’ बोलको गीतको सुरुवातमै कलिला नानीबाबुहरूको एकमुष्ट आवाज सुनिन्छ । उनीहरूका कोमल आवाजले कोरस गाउँछ– ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ । हुर्कंदै गरेका बालबालिकाका एउटै चाहनाका रूपमा यी शब्द गुन्जिएपछि, बालेन बुलन्द आवाजमा भारी शब्दहरू बोल्न थाल्छन् । उनको ‘न्यारेसन’ मा त्यहाँ अत्याचार, अपराध, असमझदारीले देश विकल्पविहीन बन्दै गएको भाव छ । विदेशी बैंकले भिखारी बन्ने अवस्थामा देश पुगेको संज्ञा दिँदै नेतृत्वलाई व्यंग्य गर्दै बालेन गाउँछन्, ‘सिकारी नेता, अभिनेता बन्छ, क्रान्तिकारी ।

बलिदान’ शीर्षकको र्‍यापमा त नेतालाई ठाडै ‘चोर’ भन्दै देशलाई लुटेको आरोप लगाएका छन् । पञ्चायतकालको विद्रोही सांगीतिक समूह ‘राल्फा’ को सिर्जनालाई तुलसी घिमिरेको चलचित्र बलिदानमा पनि राखिएको थियो । २०२३ सालमा स्थापना भएको राल्फाले २०२८ सालतिर ‘गरिबको चमेली’ गीत सिर्जना गरेको थियो । रामेश र रायनले गाएको यो गीत विगतमा वामपन्थी दलहरूको ‘एन्थम’ जस्तै थियो । सत्तामा पुगेपछि वामपन्थीले यी गीत बिर्सिए, बालेनले फेरि उठाए । यही गीतलाई पृष्ठभूमिमा राखेर बालेनले आफ्नो र्‍याप गाएका छन् ।

पुरानो भो इतिहास केही फेरिएन
बाँकी हुँदा यति सास मोह मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन
मलाई बोल्न दे सरकार
मलाई बोल्न दे सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा
बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँगाउँबाट उठ युवा कलम थामी

र्‍यापर निर्णय श्रेष्ठ ‘एनएस्के’ का अनुसार पनि राजनीति विषयवस्तुले नै बालेनलाई बलियो बनाएको हो । ‘सिक्काको दुई पाटा भनेझैं बालेनका र्‍यापका पनि दुई पक्ष छन् । एउटा पक्षले हेर्दा उनको गीत हेडफोन नलाई सुन्नै सकिन्न । त्यसैले म उसका र्‍यापका ठूलो प्रशंसक त होइन, तर अर्को पक्षबाट मलाई मनै नपर्ने होइन,’ एनएस्केले कान्तिपुरसँग भने, ‘सामाजिक र राजनीतिक चेतना जगाउने र्‍यापरका रूपमा उसलाई सम्झिन्छु, जुन परिपक्वतासहित बालेन हुर्कियो, त्यो देख्दा खुसी लाग्छ ।’

देशका समस्या अभिलेख गर्न पनि राजनीतिक र सामाजिक विषयवस्तु समेटेको बालेनको भनाइ छ । ‘मलाई मेरो गीतमा सबै समस्या समेट्न मन लाग्छ । सबै पीडा समेटियोस् । देश राम्रो भइहाले पछिका पुस्ताका लागि यो दस्तावेजका रूपमा रहोस् भनेर समस्या समावेश गर्छु,’ बालेनले केही वर्षअघि कान्तिपुरलाई भनेका थिए ।

बालेनले राजनीतिक भाष्यलाई र्‍यापमा मिसाउनु कारण अहिले आएर खुलस्त भएको बताउँछन् र्‍यापर ओएमजी स्पार्क । भन्छन्, ‘खासमा राजनीतिमा आउन पो उनले गीतमा राजनीतिक विषय समेटेका रहेछन् ।’ बिम्बात्मक लेखन, कवितात्मक शब्द र राजनीतिक चेत मिसिएकै कारण पनि बालेनलाई युवाहरूले मन पराएको उनको भनाइ छ ।

र्‍याप ब्याटलबाट आफूले बालेनलाई चिनेको बताउने सुरज क्षेत्री ‘भ्योमा’ बालेनलाई राम्रो शब्द खेलाउन सक्ने र्‍यापरका रूपमा चित्रण गर्छन् । भन्छन्, ‘आवाज बोल्ड छ, गीत गाउने शैली, सोच्ने क्षमता परिपक्व देखिन्छ । उनका गीत सन्देशमूलक र कवितात्मक छन् ।’

राजनीतिक अभियन्ता नारायण कडरियाका अनुसार ‘संविधानका लागि हामी’ अभियानमा बालेनसहित निश्चल बस्नेत, केकी अधिकारी लगायतको ऐक्यबद्धता थियो । ‘त्यो बेला बालेनका गीत एकदमै चर्चामा थिए, मैले नै उनीसँग कुरा गरेर कार्यक्रममा आउन प्रस्ताव गरेको थिएँ,’ उनी भन्छन्, ‘पहिलो आग्रहपछि नै उनको सधैं सक्रिय सहभागिता रह्यो ।’ निश्चल जेन–जी आन्दोलनमा समेत सक्रिय थिए । अहिले बालेन जनकपुर, झापा जाँदा निश्चल पनि पुगेका थिए ।

बालेनले माया पिरतीका र्‍याप नगाएका पनि होइनन् । तर, ‘मार्फाको मदिरा’, ‘अतीतका सम्झना’, ‘मन यो उड्यो’ लगायतका गीतले भने खासै चर्चा पाएनन् । यम बुद्धले सुरु गरेका ‘रअ बार्ज’ बाट बालेन र्‍यापको दुनियाँमा चिनिएका हुन् । तर धेरै वयस्कहरूले भने काठमाडौंको मेयर बनिसकेपछि बालेन (बालेन्द्र) का गीत सुनेका हुन् ।

We for Constitution
यम बुद्धले सुरु गरेका ‘रअ बार्ज’ बाट बालेन र्‍यापको दुनियाँमा चिनिएका हुन् । तस्वीरः युट्युबमा अपलोड भएको भिडियो स्क्रीनसट ।
We for Constitution

‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीतको खास लोकप्रियता भने मेयरमा विजयी भएपछि बढेको हो । जेन–जी आन्दोलन र त्यसपछि सिर्जित देशको राजनीतिक उथलपुथलबीच यो गीत युवाहरूको ‘एन्थम’ जस्तै बनेको छ । संसदीय राजनीतिमा आउने घोषणासँगै रवि–कुलमानसँग सम्झौता गरेको तस्बिर सार्वजनिक गर्दा पनि बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’

कान्तिपुर टीभीको कार्यक्रम ‘कल कान्तिपुर’ मा १४ पुस २०७५ मा दिएको अन्तर्वार्तामा बताएअनुसार उनलाई बुबाले सरकारी कार्यालय र मन्त्रालयका बैठकमा लिएर जान्थे । बालेन सबै कुरा सुनेर बस्थे, कहिलेकाहीँ बीचमै आफ्नो धारणा राखिदिन्थे । बैठकमा बस्नेहरू उनलाई ध्यान दिएर हेर्थे, केही भन्थेनन् । हुन सक्छ, बाबुको त्यो भेटघाट र संवादले पनि उनमा राजनीतिक चेत ल्याउने काम गरेको थियो ।

संविधान निर्माणका लागि दबाबमूलक अभियानमा निरन्तर सहभागी बालेन संघीय लोकतान्त्रिक गणतन्त्रसहित नयाँ संविधान जारी भएपछि २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा बालेनले भोटै दिएनन् । काठमाडौंको गैरीगाउँका मतदाता बालेनलाई त्यसबेला उठेका उम्मेदवारप्रति भरासो थिएन । त्यसैले २१ वैशाख २०७४ मा फेसबुकमा लेखेका थिए, ‘म अर्को चोटि भोट हाल्छु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’

सिभिल इन्जिनियरिङमा स्नातक गरेको र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेकाले देश कसरी बनाउने आफूलाई थाहा भएको उनको दाबी थियो । बालेन्द्रले मतदान नगरेको त्यो निर्वाचनबाट काठमाडौंको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य निर्वाचित भए । कांग्रेसका राजुराज जोशी दोस्रो र विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो तथा साझा पार्टीका उम्मेदवार नेपाल सरकारका पूर्वसचिव इन्जिनियर किशोर थापा चौथो भए ।

त्यसपछि २०७९ सालसम्म आइपुग्दा विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा बनेको थियो । स्थानीय तह निर्वाचनमा बालेनले विवकेशील साझा पार्टीबाट नै उम्मेदवार बन्ने इच्छा देखाएका थिए । उनको बुझाइ थियो– २०७४ को निर्वाचनमा विवेकशील र साझा पार्टीले बेग्लाबेग्लै उम्मेदवारी नदिएको भए त्यतिबेलै वैकल्पिक शक्ति उदाउने रहेछ । रञ्जुले २३ हजार ४३९ र किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । एमालेका विद्यासुन्दर ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । वैकल्पिक उम्मेदवारको मत एकै ठाउँ भएको भए माहोल नै फरक हुन्थ्यो भनेर उनले विवेकशीलका नेताहरूलाई बुझाउने कोसिस गरेका थिए ।

२०७९ को निर्वाचनमा बालेकको अपेक्षा विवेकशील साझाका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रसहित शीर्ष तहका नेताहरूसम्म राखेका थिए । तर, त्यसको केही समयमै विवकेशील साझामा विवाद चर्कियो, दुई पक्षले समानान्तर गतिविधि अघि बढाए । ‘समयमै निर्णय गराउन सकिएन, पछि पार्टी आन्तरिक विवादमा अल्झियो, बालेनले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । मैले शुभकामना दिएँ,’ पाण्डे सम्झन्छन् ।

पाण्डे समूहलाई मिश्र समूहले कारबाही गरेपछि वैकल्पिक युवा संगठनले भने बालेनको पक्षमा विज्ञप्ति नै निकालेको थियो । संगठनका अध्यक्ष शिशिर बञ्जरा बालेनको चुनावी अभियानमा सुरुदेखि नै जोडिएका थिए । बालेनको टिमले अघिल्लो निर्वाचनमा रञ्जुको घोषणापत्रलाई पनि सन्दर्भ सामग्रीका रूपमा लिएको पाण्डे सम्झन्छन् ।

पाण्डेका अनुसार, बालेनले पछि समेत विवेकशील साझा पार्टीले आफूलाई समर्थन गरिदेओस् भन्ने चाहेका थिए । यद्यपि, त्यसबेलासम्म बालेन त्यति साह्रो चिनिएका थिएनन्, त्यसमाथि आफैं धरमराएको नेतृत्वपंक्तिले निर्णय गर्न सकेन ।

स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठ्दा उनको चुनावी अभियानमा विवकेशील पृष्ठभूमिका भूपदेव शाह, ‘टुडेज चाउ’ का नामबाट चिनिने सौरभ न्यौपाने, सस्मित पोखरेल, शिशिर बञ्जरालगायत जोडिएका थिए । उज्ज्वल थापाको सचिवालयमा काम गरेका भूपदेव पछि मेयर बालेनको स्वकीय सचिव नै बने । रास्वपासँग एकीकरण हुँदा उनी बालेनका तर्फबाट वार्तामा पनि थिए । भूपदेव अहिले अछाम–२ बाट र सस्मित काठमाडौं–५ बाट रास्वपा उम्मेदवार छन् ।

काठमाडौं महानगरको चुनावी अभियानमा सुरुदेखि नै खटिएका बञ्जराका अनुसार, उम्मेदवारी घोषणाको सुरुवाती समयमा बालेन आफ्ना दाइ कौशलसहित स्कुटरमा माइक र प्रचार सामग्री बोकेर आउँथे । ‘त्यतिबेला कुनै चोकमा जाँदा सुरुमा ५ जना मात्र हुन्थ्यौं, पछि चुनावी माहोल तात्दै जाँदा संख्या पनि बढ्दै गयो,’ बञ्जराले कान्तिपुरसँग सम्झिए, ‘सुरुमा मतदाताको घरघर जाँदा बालेनलाई इन्जिनियर मात्र भनेर चिनाउँथ्यौं, र्‍यापरभन्दा धेरैलाई बुझाउन कठिन हुन्थ्यो ।’

बालेनका दाइ कौशल यसपालि पनि चुनावी अभियानमा सहयोग गर्न दमक पुगेका छन् । उनले पनि चार वर्षअघिको चुनाव सम्झँदै भने, ‘चुनावी अभियानको समयमा म प्रायः आफैं स्कुटर चलाएर घरघर पुग्थें, प्रत्यक्ष भेट हुँदा जनताले निराशा, आशा र परिवर्तनप्रतिको चाहना खुलेर राख्थे । अभियानको हरेक दिन जनताबाट पाएको समर्थन र विश्वासले मलाई हरेक पटक जितिन्छ भन्ने अनुभूत गराउँथ्यो । यो बीचमा काठमाडौंमा गरेका कामका कारण अहिले सुरुदेखि नै राम्रो माहोल छ ।’

Balen's Brother
आफ्नो पुर्ख्यौली गाउँ महोत्तरीको एकडारामा बालेन्द्रका दाइ कौशल शाह ।तस्वीरः कौशलको फेसबुकबाट

जब चुनावी बहसहरूमा बालेनले राखेका स्पष्ट दृष्टिकोणका छोटा क्लिप सामाजिक सञ्जालमा भाइरल हुँदै गए, उनको पक्षमा माहोल बन्दै गएको बञ्जरा बताउँछन् । ‘भूपदेव त कुन कुन ठाउँ चुनावी अभियान चलाउने भन्ने निर्णय गर्ने कोअर्डिनेटर नै थिए, अरू साथीहरू समर्थन जुटाउन कलाकारहरूसँग पनि कुरा गर्थे,’ बञ्जराले भने, ‘चुनाव नजिकिँदै गर्दा ठमेलभित्र ४/५ सय मिटरको बाटो पूरै ढाकिने गरी मानिसहरू जम्मा हुन थालेका थिए ।’

बालेनको समग्र चुनावी रणनीति बनाउने जिम्मेवारी भने उनका साथी कुमार बेनले गरेका थिए । अहिले भावी प्रधानमन्त्रीका रूपमा बालेन संसदीय चुनावमा होमिँदा पनि उनी सँगै देखिन्छन् । कुमारलाई पनि रास्वपामा प्रवेश गरेर राजनीतिमा सक्रिय हुन प्रस्ताव आएको थियो । माघ ७ मा दमकमा बालेन्द्रसँगै भेटिएका उनले कान्तिपुरसँग भने, ‘म राजनीतिमा लाग्दिनँ, रास्वपामा प्रवेश पनि गरेको छैन । म सहयोग मात्र गरिरहेको छु ।’

युवामाझ लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द (आरओएनबी) ले पनि काठमाडौं महानगरको मेयरको उम्मेदवारका रूपमा बालेनको अभियानलाई साथ दियो । बालेनको चुनावी अभियान र आरओएनबीको कार्यालय सँगसँगै थिए । कांग्रेस नेतृ आरजु राणा देउवाले त एउटा ग्रुप परिचालन गरेर बालेन नेता बनेको टिप्पणी गरेकी थिइन् । नेपाल तरुण दल कास्कीले ६ असार २०७९ मा आयोजना गरेको कार्यक्रममा आरजुले भनेकी थिइन्, ‘बालेन शाहको तपाईंले हेर्नुभयो सोसल मिडिया ? रुटिन अफ नेपाल बन्द, अहिले म ओपन्ली भन्न चाहदिनँ, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो, एनालाइसिस गर्‍यो । राजनीति हो– एभ्रिथिङ इज फेयर भन्छ, अब हामीले के गर्ने ?’

पछि आरजु परराष्ट्रमन्त्री भएका बेला आरओएनबीका सञ्चालक भिक्टर पौडेलले उनलाई भेटेका थिए । त्यसबेला आफ्नो भनाइको मिडियाले गलत अर्थ लगाएको भन्दै आरजुले बचाउ गरेकी थिइन् । भिक्टरको भनाइ छ, ‘चुनावमा सबै पार्टीका उम्मेदवारसँग सम्बन्धित पोस्ट उत्तिकै सेयर गर्थ्यौं, तर बालेनसँग सम्बन्धित सामग्रीले धेरै इंगेजमेन्ट पाउँथे ।’

त्यसबेला बालेनको समर्थन गर्नेमा आरओएनबी मात्र थिएन, सामाजिक सञ्जालमा धेरै ‘फलोअर्स’ भएका पूर्वसचिव भीम उपाध्यायदेखि युवाको बाहुल्य रहेको फेसबुक समूह एमआरआर र डब्लूआरआरले पनि उनलाई साथ दिएका थिए । मेन्स रुम रिलोडेड (एमआरआर) मा पुरुष र वुमन्स रुम रिलोडेड (डब्लूआरआर) महिलाले खुलेर छलफल गर्ने भएकाले नयाँ पुस्ताबीच कुनै पनि भाष्य बनाउन सहज छ ।

पूर्वसचिव उपाध्याय अहिले पनि बालेन्द्रका शुभचिन्तक हुन् । ‘सबैले परिवर्तन खोजिरहेका बेला एउटा युवा अघि बढेकाले साथ दिनुपर्छ भन्ने लाग्यो, एजेन्डा पनि मन परेको थियो, उनी भेट्न पनि आए,’ उपाध्याय भन्छन्, ‘त्यसबेला उनी इन्जिनियर भन्ने थाहा थियो, र्‍यापर पनि हुन् भन्ने चाहिँ थाहा थिएन । पछि छोराछोरीले भनेपछि उनी राम्रो गायक पनि रहेछन् भन्ने भयो ।’

हालसम्म आफूले खुलेर समर्थन गरेको नेता बालेन मात्र भएको उपाध्याय बताउँछन् । ‘चुनाव जितिसकेपछि पनि दुई पटक भेट भयो, अस्ति लामो समयपछि ज्वागलमा कुराकानी भयो,’ उपाध्यायले थपे, ‘त्यतिबेला पनि काठमाडौंले युवा खोजेको थियो, अहिले देशले नै युवा खोजेको स्थिति छ ।’ आगामी निर्वाचनका लागि उम्मेदवार बन्न बालेनले प्रस्ताव गरे पनि उपाध्यायले भने बाहिरबाटै समर्थन गर्ने जवाफ दिएका थिए ।

काठमाडौंको मेयरमा लोकप्रिय बनेका उनी यहाँको क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने चर्चा थियो । त्यस्तै पुर्ख्यौली घर महोत्तरी झर्ने विषयमा पनि उनको समूहमा छलफल चलेको थियो ।

सन् १९९० अप्रिल २७ मा काठमाडौंको नरदेवीमा जन्मिएका बालेनका बुबा रामनारायण आयुर्वेदिक डाक्टर थिए । महोत्तरीको एकडारा पुर्ख्यौली घर भएका रामनारायण नरदेवी आयुर्वेदिक अस्पतालमा सेवा थालेपछि यतै बस्न थालेका हुन् ।

बालेनको पुर्ख्यौली घर
महोत्तरीको एकडारास्थित बालेन्द्रको पुर्ख्यौली घर । तस्वीरः गौरव पोखरेल/कान्तिपुर

बालेनका हजुरबुबाले ६३ वर्षअघि बनाएको घरमा अहिले महोत्तरीको एकडारा गाउँपालिकाको कार्यालय छ, त्यही घरमा बालेन्द्रले बाल्यकालको केही समय बिताएका थिए । यो घर नजिकै पान पसल चलाइरहेका ६६ वर्षीय जयसुन्दर ठाकुरका अनुसार, त्यसबेला घर बनाउन बालेनका हजुरबुबाले इँटाभट्टासमेत बनाएका थिए । ‘त्यो जमानामा यो सबैभन्दा ठूलो घर थियो, अहिले बंगला भन्छन् नि ! त्यस्तै हो,’ उनले सुनाए, ‘त्यतिबेला इँटा आफैं पोलेर बनाउने चलन थियो, त्यसरी बनाएकाले पनि नपुगेपछि मान्छेहरूले पारि गएर बोकेर ल्याएका थिए ।’ त्यसबेला बालेनका हजुरबुबाले भारतको परिहारबाट टाउकोमा इँट्टा ढुवानी गराएर घर बनाएको चर्चा अझै गाउँमा हुन्छ ।

स्थानीयले ‘हबेली’ भन्ने यो घर बालेनको हजुरबुबाको निधन र परिवारका सबै सदस्य बसाइँ सरेपछि अलपत्र जस्तै थियो । तर, २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि यो भवन गाउँपालिकाले भाडामा लिएको छ ।

बालेनको कार्यकालमा काठमाडौं महानगरले विभिन्न स्थानीय तहलाई एम्बुलेन्स अनुदान दिएको थियो । बालेनको पुर्ख्यौली गाउँलाई पनि महानगरपालिकाले एम्बुलेन्स दिएको थियो, तर डेढ वर्षदेखि कार्यालय अगाडि चौरमा त्रिपालले छोपेर राखिएको छ । फिल्ड रिपोर्टिङमा गएको कान्तिपुर टिमको जिज्ञासामा नगरपालिकाकी कर्मचारी निशा शाहले चालक नियुक्ति गर्न समय लागेको बताइन् । ‘सायद अब १०/१५ दिनपछि यो समस्या समाधान हुन्छ,’ उनले भनिन्, ‘बालेनले आफ्नो पुर्ख्यौली गाउँमा उहाँले एम्बुलेन्स पठाउनुभएको हो, यो सञ्चालनमा आउँछ ।’

We for Constitution
महोत्तरीस्थित एकडारा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले अनुदानमा दिएको एम्बुलेन्स, चालकको अभावमा डेढ वर्षदेखि अलपत्र छ । तस्वीरः सन्तोष सिंह र गौरव पोखरेल/कान्तिपुर
We for Constitution

१५ मंसिरमा बितेका रामनारायण यो घरमा आइराख्थे । बेलाबेला आउनकै लागि उनले पालिकालाई घर दिए पनि दुईवटा कोठा आफ्नै लागि राखेका थिए । ‘बालेन चाहिँ पछिल्लो पटक बसाइँसराइका कागजात बनाउन २०७३ सालमा आउनुभएको थियो,’ गाउँपालिकाका नायब सुब्बा गोनु मण्डल भन्छन्, ‘यहाँका अरू धेरैले नाम सुनिरहेका छौं, तर नजिकबाट भेट्न पाएका छैनौं ।’

नगरपालिकाका कर्मचारीहरूका अनुसार, पालिकाका अध्यक्ष दीपनारायण मण्डल एक पटक बालेनलाई भेट्न काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए । बालेनलाई गाउँमा आउन आग्रह गरिएको टोलीमा रहेका कार्यालय सहयोगी अजितकुमार मिश्रले सुनाए । बालेनले भने आफू बेलाबेला आउने गरेको तर प्रायः जनकपुरतिरै बास बस्ने सुनाएका थिए । त्यही भेटपछि उनले एम्बुलेन्स सहयोग गरेका थिए । ‘त्यतिबेला उहाँले मेयरको कार्यकाल सकिएपछि आउँछु भन्नुभएको थियो, राजनीति गर्नुछ, आफ्नो गाउँमा नगएर कहाँ जानु भन्नुहुन्थ्यो,’ दीपनारायणले सम्झिए, ‘त्यसैले उहाँ आउनुहुन्छ भन्नेमा आशावादी छौं ।’

अहिले बालेनलाई भेट्न नपाए पनि कतिपय स्थानीयवासी उनको घर अगाडि बसेर फोटो खिचाउँछन्, टिकटक बनाउँछन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । ‘बालेनको घर कहाँ हो भन्दै धेरै मान्छे आउँछन्, कोही कोही यहीँ टिकटक बनाउँछन्,’ जयसुन्दरले भने, ‘छिमेकी पनि भएकाले सोध्दै मकहाँ आइपुग्छन् ।’

बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएपछि यो गाउँको चर्चा त चुलिएको छ, तर यहाँका दुःख भने वर्णन गरिसाध्य छैन । गाउँमा रोजगारीका कुनै अवसर छैन । बेरोजगार युवा लागूऔषध दुर्व्यसनको दलदलमा छन्, विदेश जाने क्रममा कतिपय ठगिएका छन् । नजिक कुनै गतिलो अस्पताल छैन, गुणस्तरीय शिक्षाका लागि बालबालिकालाई जनकपुर पठाउनुको विकल्प छैन ।

स्थानीयका अनुसार, नजिकै रहेको सिमाना पार गर्दा लागूऔषध छ्यापछ्याप्ती बिक्री हुन्छ । सीमावारिका प्रयोगकर्तालाई प्रहरी समात्छ, सीमापारिका कारोबारीले धन्दा छाड्दैनन् । गाउँका अधिकांश खेतीकिसानी गर्छन्, तर सिँचाइका लागि सधैं समस्या छ ।

त्यही कारण बालेन यहीँबाट उम्मेदवार बनिदिए हुन्थ्यो भन्ने स्थानीयले चाहेको एकडारा–४ का शिवेन्द्र ठाकुर बताउँछन् । ‘पार्टीबाट होस् कि स्वतन्त्र, उहाँ सहजै जित्नुहुन्थ्यो,’ पालिकाको कार्यालयमा भेटिएका उनले भने, ‘बालेन यहाँ आएको भए गाउँ फेरिन्थ्यो कि भन्ने थियो, तर उहाँ झापा—५ पुग्नुभयो, त्यहाँबाट पनि जितेर त आइहाल्नुहुन्छ ।’

बालेन आफ्नो ठाउँबाट चुनाव नउठेकोमा एकडारा गाउँवासी केही बेखुस त छन्, तर उनी एक पटक गाउँ आइदिए हुन्थ्यो भन्ने स्थानीयलाई छ । ५ माघमा जनकपुरमा भएको सभामा बालेनलाई हेर्नसमेत धेरै गाउँले गए । त्यो सभामा उनले आफूलाई मधेशको छोरा भएर मात्र होइन, राम्रो मान्छे भएकाले मत दिन आग्रह गरे ।

‘काठमाडौंमा उठ्दा प्रभाव काठमाडौंमै सीमित हुन्छ, तर झापा–५ बाट उठ्दा तराई मधेश हुँदै देशभर सन्देश फैलिन्छ । नेसनल रिपल इफेक्ट सिर्जना हुन्छ ।’

काठमाडौंबाट महोत्तरीसमेत फड्किएर बालेन झापा–५ पुगेका छन् । उनी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा आफ्नो विशेष पहिचान बनाउन चाहन्छन् । झापा–५ रोज्नुको पाँच कारण उनले आफ्नो समूहलाई दिएका थिए । ‘काठमाडौंमा उठ्दा प्रभाव काठमाडौंमै सीमित हुन्छ, तर झापा–५ बाट उठ्दा तराई मधेश हुँदै देशभर सन्देश फैलिन्छ । नेसनल रिपल इफेक्ट सिर्जना हुन्छ ।’

त्यस्तै, ठूला नेताको प्रभाव रहेको क्षेत्रबाट लड्नु सहज बाटो होइन भन्ने सन्देशले परिवर्तनको बहस धारिलो हुने र वैकल्पिक विचारधारालाई राष्ट्रियस्तरमा परीक्षण गर्न सहज हुने उनको विश्लेषण छ । झापा, सुनसरी, मोरङसहितको क्षेत्र देशलाई धान्न सक्ने कृषि क्षमताको केन्द्र भएकाले त्यहीँबाट कृषि र रोजगारीको मुद्दा स्थापित गर्न पनि उतै जानुपर्ने उनको निष्कर्ष थियो । त्यहीअनुसार उनी झापा पुगेका छन् ।

बालेनको परिवार नरदेवीमा बस्दा उनको स्कुल ज्ञानेश्वरमा थियो, त्यतिबेला उनले बाटोमा आफ्नै उमेरका बालबालिकालाई झोला बोकेर बसिरहेको देख्थे । सधैं उस्तै दृश्य देखेपछि उनको मनमा कौतूहल जाग्यो, एक दिन उनीहरूको झोलामा के छ भनेर खोजी गरे । त्यसपछि उनले थाहा पाए, उनीहरू आफू जस्तो कहिल्यै स्कुल जान नपाएकाहरू थिए । ‘उनीहरूमध्ये कोही आफैं घर छाडेर आएका रहेछन्, कोहीका घरपरिवार थिएनन्,’ बालेनले भनेका थिए, ‘त्यसपछि मैले उनीहरूलाई समाजले बुझ्नुपर्छ भनेर सडक बालक बोलको गीत लेखेको थिएँ ।’

गीत भन्छ–

‘म सडकमा छु, म फरक देखिन्छु
त्यो उज्यालोमा पनि म अँध्यारोमै छु ...
दिन ढल्दै जान्छ, रात पनि आउँछ...
सुनौलो बिहानी जीवनमा कहिले आउँछ... ।’

र्‍यापमा एउटा सडक बालकको मनस्थिति शब्दमा उतारिएको छ । पछि बालेन काठमाडौंको मेयर बनेपछि सडक बालक र बालबालिकामा केन्द्रित भएर अभियान नै चलाए, बालश्रमविरुद्ध कार्यक्रम ल्याए । ‘काठमाडौंमा घरेलु श्रमिकका रूपमा काम गरिरहेका र सडक बालबालिका गरेर महानगरले ८२ जनाको उद्धार गर्‍यो,’ महानगरबाट बालअधिकारको क्षेत्रमा काम गरेका प्रवीण सिलवाल भन्छन्, ‘बालश्रमिक पत्ता लगाउन राजधानी क्षेत्रका ८० वटा स्कुलमा २५ जना इन्टर्न परिचालन गरेर अध्ययन भएको थियो ।’

१२ वैशाख २०७२ मा देशमा भूकम्प गयो, त्यतिबेला उनी पेसाले सिभिल इन्जिनियर भइसकेका थिए र कन्सल्ट्यान्टका रूपमा काम गर्न थालिसकेका थिए । सोल्टी सिटी प्रोजेक्टदेखि पद्म ग्रुप अफ कम्पनिजमा सहायक महाप्रबन्धकका रूपमा समेत काम गरे । पछि उनले बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि खोलेका थिए जसको प्रबन्ध निर्देशक आफैं थिए ।

भूकम्प गएपछि भने उनले काठमाडौंको मित्रपार्क, पशुपति क्षेत्रसहित १४ जिल्लामा २ हजारभन्दा बढी घरको क्षति मूल्यांकन गरेको दाबी गर्दै आएका छन् । यद्यपि, यो दाबीलाई पुष्टि गर्ने विवरण भने उपलब्ध छैनन् । काभ्रेको पाँचखालमा २५ सय घर, नेपालगन्जमा १५० घर, गोरखामा २८ घर निर्माणमा जोडिएको, यही कामका लागि देशका ६५ जिल्ला पुगेको उनको भनाइ छ ।

त्यही बेला उनले भारत बैंगलुरुको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए । ‘काभ्रेको पाँचखालमा गरेको काम चाहिँ मेरो स्नातकोत्तरको थेसिस पनि थियो, त्यतिबेला मैले देशभरिका नगरपालिकाले कसले किन राम्रो काम गर्‍यो, कसले राम्रो गरेन भन्ने सबै अध्ययन गर्ने मौका पाएँ,’ सञ्जय सिलवालको पडकास्टमा उनले भनेका छन्, ‘पछि लतिलपुरमा चिरिबाबु महर्जनले गरेको काम पनि हेरें, उहाँ अल्पमतमा हुनुहुन्थ्यो, तर राम्रो काम गर्न खोज्दा सहकार्य भइरहेको थियो ।’

बैंगलुरुबाट काठमाडौं फर्किएपछि समेत बालेन भारतका प्राध्यापकहरूसँग नियमित सम्पर्कमै थिए । ‘इन्डियन एक्सप्रेस’ सँग प्राध्यापक भारती गणेशले बालेन कलेजमा नियमित उपस्थित हुने आफ्नो विषयमा असाध्यै केन्द्रित हुने गरेको बताएकी छन् । ‘जब उनी काठमाडौंको मेयरमा निर्वाचित भए, मैले बधाई दिएकी थिएँ,’ उनले भनिन्, ‘पछि मैले उनलाई रमाइलो शैलीमा मेयर साब भन्दै सम्बोधन गर्न थालें ।’

पहिले बालेन राजनीतिप्रति चासो राख्दै सडकमा उभिन्थे, तर राजनीतिमै होमिने सोचेका थिएनन् । तर, जब २०७२ सालमा भूकम्प आएका बेला पुनर्निर्माणमा सरिक भए, त्यसपछि उनले राज्य प्रणाली र संरचनाका कमजोरी थाहा पाए । उनलाई लाग्यो– सम्बन्धित क्षेत्रमा ज्ञान भएका मानिस राज्य संयन्त्रमा रहेनछन् । डाक्टर स्वास्थ्यमन्त्री भइदिए ! इन्जिनियर भौतिक पूर्वाधारमन्त्री भइदिए ! विज्ञताको कमीले आइरहेको अड्चनबारे थाहा पाएपछि त्यसलाई सुधार गर्न भरपर्दो विकल्पको खाँचो देखे । त्यही कारण उनले कल कान्तिपुरमा घोषणा आफ्नो इच्छा व्यक्त गरेका थिए, ‘अब, मजस्तो व्यक्ति मेयर हुनुपर्छ ।’ २०७९ सालको निर्वाचनमा त मेयरको उम्मेदवार नै बने ।

सुरुमा उनलाई धेरैले विकल्प ठानेका थिएनन् । तर, एमालेले पहिल्यै परीक्षण भइसकेका केशव स्थापित र कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई अघि सारे । चुनावी कार्यक्रममा होमिँदा स्थापितका विवादास्पद अभिव्यक्तिसमेत सामाजिक सञ्जालमा भाइरल भइरहे । धुम्बाराहीस्थित नेसनल कलेजमा उम्मेदवारहरूबीच बहस चलिरहँदा सहभागी भावना राउतले स्थापितमाथि लागेको ‘मिटू’ आरोपबारे प्रश्न गरेकी थिइन् । जवाफमा उनले ‘यू आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर टिप्पणी गरे । स्थापितको भद्दा टिप्पणीको सर्वत्र आलोचना भयो । भावना राउत भने २४ भदौपछि जेन–जी आन्दोलनको एक अनुहारका रूपमा देखिएकी छन् ।

स्थापितले प्रश्नकर्ता राउतमाथि मात्र होइन, बालेन मधेशी भएको भन्दै आपत्तिजनक अभिव्यक्ति दिए, निर्वाचन आयोगले आचारसंहिता सम्झाउँदै उनलाई पत्रसमेत काट्यो । त्यसलाई न एमालेले पर्वाह गर्‍यो, न स्थापितले नै । बालेनले पनि आफ्नै शैलीमा चुनाव अभियान चलाइरहे, स्थापितको भनाइलाई खण्डन गरेनन्, बरु स्थापितलाई ‘बाबुसरह’ भन्दै ‘ब्रान्ड एम्बास्डर’ का रूपमा आफ्नो प्रचार गरिदिएको भन्दै व्यंग्य गरे ।

हुन त २०५४ सालको निर्वाचनमा मेयर निर्वाचित हुँदा स्थापित युवा र लोकप्रिय थिए । तर, २५ वर्षमा समाज फेरिएको थियो, स्थापित पनि फेरिएका थिए । मेयर भएको बेला बढुवा गराइदिने आश्वासन दिँदै कहिले नगरकोट त कहिले धुलिखेल जान दबाब दिएको आरोप एक महिला कर्मचारीले लगाएकी थिइन् । तर, यो गम्भीर विषयमा स्थापित र उनको दलले कुनै संवेदनशील प्रतिक्रिया दिएनन् ।

मतदाताले स्थापितजस्ता नेता चाहेका थिएनन् भन्ने उपमेयरमा एमालेकै उम्मेदवार सुनिता डंगोलको विजयले पनि पुष्टि गर्छ । स्वतन्त्र रूपमा मेयरमा उठ्ने तयारी गरेकी सुनितालाई एमालेले पार्टी सदस्य बनाएर उपमेयरको टिकट दिएको थियो । उपमेयरमा सुनिताले मेयर बालेनले भन्दा पनि ७ हजार बढी अर्थात् ६८ हजार ६१२ मत ल्याएकी थिइन् । स्थापित भने मेयरमा तेस्रो भए ।

बालेनले देशका दुई सबैभन्दा ठूला दलका उम्मेदवारहरूलाई पराजित मात्र गरेका थिएनन्, प्रतिद्वन्द्वीहरूसँगको मतान्तर पनि भयानक थियो । निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउँदा बालेनले ६१ हजार ७६७ मत प्राप्त गरेका थिए । राजधानी सहरको यो निर्वाचनले देश वैकल्पिक नेताहरूको खोजीमा छ भन्ने प्रस्ट सन्देश दियो ।

मेयरमा निर्वाचित भएपछि भने बालेन र बालेन्द्रको बाटो फेरियो । बालेन कोमल गायक सुनिन्थे भने बालेन्द्र कठोर प्रशासक देखिन थाले । नियम, मापदण्ड, कानुन हराएको देशमा बालेन्द्रजस्तै नडराउने नेता चाहिन्छ भनेर उनका प्रशंसकहरुको संख्या झन् झनै बढ्दै गयो । आलोचनालाई भने उनले बेवास्ता गर्दै आएका छन् । संवेदनशीलताका हिसाबले सबैभन्दा कमजोर र शक्ति आर्जनका हिसाबले सबैभन्दा बलियो पक्ष उनको यही हो ।

राजधानी सहरको मेयर भएपछि बालेन्द्रले मापदण्डविपरीत बनेका संरचना हटाउने अभियान सुरु गरे । ९ भदौ २०७९ मा काठमाडौंको बुद्धनगरमा रहेको अल्फाबिटा कम्प्लेक्समा डोजर लिएर पुगेका थिए । त्यतिबेला घरधनी र मेयर बालेन्द्रबीच सडकमै विवाद भएको थियो । घरधनीले नक्सा देखाउन माग गरे भने बालेन्द्रले नक्सा सम्बन्धित घरधनीसँग हुनुपर्ने होइन भन्दै प्रश्न गरेपछि भनाभन भएको थियो । पछि बालेन्द्र नक्सा र नगर प्रहरीसहित फेरि अल्फाबिटा पुगेका थिए । त्यसपछि उनले नक्सापासबिनै बनाइएको फार्मेसी हटाउन र पार्किङ खोल्न निर्देशन दिए ।

@ekantipur_official

'अनधिकृत संरचना भत्काइँदै छ भन्ने सूचना कसलाई थाहा छैन ?'

♬ original sound - eKantipur - KANTIPUR

@ekantipur_official: मेयर बनेपछि काठमाडौंको बुद्धनगरमा रहेको अल्फाबिटा कम्प्लेक्समा डोजर लिएर बालेन्द्र पुगेका थिए । कान्तिपुर टिकटक अर्काइभ ।

खासमा देशको राजधानीमा हिँडडुल गर्ने नागरिकले पैदलमार्ग र सवारीसाधन चलाउनेले पार्किङ गर्ने ठाउँ नपाएर हैरानी भोग्नुपरिरहेको थियो । त्यही समस्या समाधान गर्न २०५४ सालमै केशव स्थापित मेयर हुँदा ठूला भवनको बेसमेन्टमा पार्किङ राख्ने नीति अघि सारिएको थियो । त्यसबेला ठूला व्यावसायिक भवनहरूमा बेसमेन्ट बनाउन दिने र त्यसबापत घरधनीलाई करमा छुट दिने योजना बनाइएको थियो । कतिपय घरधनीले बेसमेन्ट बनाउँछु भनेर सुविधा लिए, पार्किङ भने बनाएनन् ।

महानगरपालिकाको सहरी विकास महाशाखाको तथ्यांकअनुसार काठमाडौंमा कम्तीमा पनि २०२ भवनका नक्सामा अन्डरग्राउन्ड पार्किङ भनेर छुट सुविधा लिइएको थियो । तर, त्यसमा व्यवसाय सञ्चालन भइरहेको थियो । तर यसअघिका जनप्रतिनिधिले कुनै कारबाही गरेका थिएनन् । पार्किङका लागि बेसमेन्ट बनाए पनि गोदाम, क्याफे, फेन्सी पसल, शैक्षिक परामर्श केन्द्र, दोहोरी साँझलगायत चलाइएकामा बालेन्द्रको नजर पर्‍यो ।

अन्डरग्राउन्ड पार्किङको नक्सापास गरेर अरू प्रयोजनमा भाडामा नलगाउन भन्दै महानगरले १ साउन २०७९ मा सार्वजनिक सूचना नै जारी गर्‍यो । ३५ दिनभित्र पसल, गोदाम वा अन्य व्यवसाय हटाउन घरधनीहरूलाई निर्देशन दिइएको थियो । तोकिएको अवधि पूरा भएपछि बालेन्द्रले डोजर लिएर जाने निर्णय लिए । त्यही अभियानका क्रममा उनी आफू नियमित गइरहने र साथीसमेत कार्यरत दरबारमार्गको लन्डन पबमा डोजर चलाएको भन्दै उनको प्रशंसासमेत भयो ।

पछि सञ्चालक विश्वास बस्न्यातले लन्डन पबलाई नजिकै अर्को स्थानमा सारेका थिए । त्यसपछि पत्नी सविना काफ्लेसहित बालेन्द्र त्यहाँ पुगेका थिए । नयाँ ठाउँमा सरेको लन्डन पबमा बालेन्द्र दम्पती नाचेको दृश्य पबले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । ‘उहाँको साथी हाम्रो अडिटर हुनुहुन्थ्यो, मापदण्डविपरीत पाइएपछि उहाँहरूले डोजर चलाउनुभयो, पछि अपोजिट साइडमा हामीले सुरु गर्‍यौं,’ बस्न्यातको भनाइ छ, ‘त्यसपछि मेयर साब आफैं त्यहाँ आउनुभयो, हामीले स्वागत गर्‍यौं ।’

मापदण्डविपरीतका संरचनाविरुद्धको अभियान तीव्र बनाउनुअघि बालेन्द्रले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई नियुक्त गरेका थिए । पाण्डेको पनि कम आलोचना भएन, तर उनी बालेन्द्रका सारथिका रूपमा निरन्तर खटिए, अहिले उनी काठमाडौं–३ मा कुलमान घिसिङसहितका नेताहरूसँग आमनेसामने छन् ।

मापदण्डविपरीतका संरचना भत्काउन खोज्दा हुन सक्ने तनावको स्थितिलाई मध्यनजर गरेर नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग पनि समन्वय गर्दै थिए । पार्किङको समस्याका कारण उपत्यका ट्राफिक प्रहरीले पनि हैरानी व्यहोरिरहेको थियो । त्यसैले तत्कालीन ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरी पनि मेयर बालेन्द्रसँगै अनुगमनमा उत्रिइन् । उनीहरूबीचको समझदारी यति बलियो भयो कि जेन–जी आन्दोलनपछि बनेको सरकारबाट ओमप्रकाश अर्याललाई हटाएर चौधरीलाई गृहमन्त्री बनाउनसमेत बालेन्द्रले पहल गरेका थिए । यद्यपि प्रधानमन्त्री सुशीला कार्कीका विश्वासपात्र अर्याललाई विस्थापन गर्न उनी असफल भए ।

मापदण्डविपरीतका संरचना हटाउने अभियानमा बालेन्द्र थापाथलीस्थित नर्भिक अस्पताल पनि पुगेका थिए । सरकारबाट भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नर्भिकले नक्सापासबिनै संरचना बनाएको भन्दै बालेन्द्रले त्यसलाई हटाउन भनेका थिए । अस्पतालले भने उक्त संरचनामा अक्सिजन प्लान्ट, एमआरआई कक्ष रहेकाले तत्काल हटाउन अस्वीकार गर्‍यो । अस्पताल व्यवस्थापनले रिट हालेपछि अदालतले तत्काल संरचना नभत्काउन भन्दै अल्पकालीन अन्तरिम आदेश दियो । आक्रोशित भएका बालेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा अदालतको आदेशको विरोध गरे । ‘नक्सापास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं’ उनले व्यंग्य गरेका थिए ।

काठमाडौंको मध्यभागबाट बग्ने टुकुचा खोलामाथि नारायणहिटी दरबारसहित बस्ती नै छ । मेयर बालेन्द्रले टुकुचा उत्खननको अभियान चलाए । जय नेपाल सिनेमा हलदेखि काठमाडौं प्लाजा (कमलादी) सम्म भूमिगत टुकुचालाई छोपेका संरचना भत्काएर खोलाको पानी बगेको देखाउने महानगरको योजना थियो ।

टुकुचाको बहाव देखाउन भन्दै व्यक्तिका घरजग्गामा डोजर परिचालन भएपछि ठूलै हल्लीखल्ली भयो । टुकुचालाई भूमिगत गराउने काम व्यक्तिविशेषले होइन, राणाकालमा राज्यले नै गरेको हो भन्दै तथ्यहरू बाहिर आए । अहिले व्यक्तिका घर भत्काएर घरबारविहीन बनाउन मिल्दैन भन्दै महानगरको विरोध भयो, पीडितका तर्फबाट अदालतमा मुद्दा पर्‍यो । उच्च अदालत पाटनले संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि महानगर पछि हट्यो ।

अदालतको आदेशपछि टुकुचा अभियान अलपत्र परेको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् । पहिले खनिएका ठाउँ पनि अहिले खुलै र जोखिमपूर्ण छन् ।

Balen's Brother
बालेन्द्रले टुकुचा खोलाको उत्खनन् गर्ने अभियान नै चलाएको थियो । तर, अदालतले त्यसलाई रोक्न अन्तरकालीन आदेश दिएको थियो । फाइल तस्वीर ।

केही ठाउँमा अदालतले रोक लगाए पनि मापदण्डविपरीतका संरचना हटाउने अभियानलाई भने बालेन्द्रले रोकेनन् । सम्बन्धित व्यक्तिलाई अदालत जाने समयसमेत नदिई रातारात डोजर लगाउन थाले, यसले सामाजिक सञ्जालमा बालेन्द्रको वाहवाही भयो । तर, कानुनी रूपमा भने उनीमाथि प्रश्न उठिरह्यो ।

महानगरबाटै नक्सापास गराएर बनेका घरले पनि सार्वजनिक जग्गा मिचेको भन्दै उनले डोजर लगाए । तर महानगरका तर्फबाट कसले, किन र केका आधारमा नक्सापास गरेको थियो भन्ने प्रमाण खोज्ने, महानगरका कर्मचारीलाई जवाफदेही बनाउने र अनुगमनको संरचना बनाउनेतर्फ भने बालेन्द्रले खासै काम गरेनन् ।

बालेन्द्रले चुनावी अभियान थाल्दा फोहोर व्यवस्थापनको सन्दर्भलाई महत्त्व दिएका थिए । हुन पनि काठमाडौं वरपरका १८ वटा नगरको फोहोर नुवाकोटको सिसडोलमा ‘डम्प’ गर्ने र त्यसले वातावरण र पानी दूषित गराएको, बाटो भत्काएको भन्दै स्थानीयले पटकपटक आन्दोलन गर्दै आएका थिए । सिसडोलवासीले फोहोर फाल्न अवरोध गर्दा काठमाडौंमा फोहोर उठाउन बन्द हुने र त्यसले उपत्यकामा हिँड्न भने गाह्रो हुने अवस्था दोहोरिन्थ्यो ।

उता, नुवाकोटकै बञ्चरेडाँडामा सहरी विकास मन्त्रालयले बनाउँदै गरेको ल्यान्डफिल साइटको निर्माण ढिलाइ भइरहेको थियो । संयोग हो, निर्माण सुरु भएको १७ वर्षपछि २०७८ भदौ १८ बाट काठमाडौंको फोहोर नयाँ ल्यान्डफिल साइटमा फाल्न थालिएको हो । यसरी २०७८ मा नयाँ ल्यान्डफिल साइट सुरु भयो भने २०७९ को सुरुमा काठमाडौंको मेयरमा बालेन्द्र निर्वाचित भए । यसरी उनलाई समयले पनि साथ दिएको हो ।

ल्यान्डफिल साइट करिब ४० वर्षका लागि बनाइएको हो । त्यसमा नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर मात्र त्यहाँ लग्ने, त्यो फोहोर ठोस र त्यसबाट निस्केको पानी दुवैलाई प्रशोधन गर्ने गरी ल्यान्डफिल साइट बनाइएको हो ।

तर महानगरले फोहोर छुट्याउने गरेको छैन, बरु ल्यान्डफिल साइटमा पनि फोहोर पहिलेजस्तै ‘डम्प’ हुने गरेकाले यो साइट पनि एक दशकमै भरिने र अर्को संकट आउनेतर्फ विज्ञहरू चिन्तित छन् ।

फोहोर र त्यसबाट निस्कने लिचडको प्रशोधन नभएको, स्थानीयलाई दिनुपर्ने अन्य सुविधा नदिएको भन्दै गएको मंसिरमा बञ्चरेडाँडावासीले फोहोर फ्याँक्न अवरोध गरेका थिए ।

अन्तरिम सरकारका तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा दुई दिनसम्म भएको वार्तापछि ४ मंसिरमा ११ बुँदे सहमति भएको थियो, जसमा जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने, घरटहरा र बालीको मुआब्जा दिन काठमाडौं महानगरलाई पत्राचार गर्ने, एक महिनाभित्र बञ्चरेडाँडाका अतिप्रभावित स्थानीयलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएका थिए । तर त्यसको पनि अनुगनम भएको छैन ।

बालेन्द्रले वसन्तपुर, थापाथली, बानेश्वर, कोटेश्वर र दरबारमार्गलगायतका क्षेत्रमा फुटपाथ खाली गराउने, फराकिलो बनाउने र व्यवस्थित गर्ने काम गरे, जसको प्रशंसा भइरहेको छ । तर, फुटपाथका व्यापारीविरुद्ध चालिएको कठोर कारबाहीको भने आलोचना भएको छ ।

बालेन्द्रमाथि सबैभन्दा मार्मिक प्रश्न उनको गीतबाटै सापटी लिएर गरिन्छ । सबैभन्दा प्रयोग हुने शब्द हुन्, ‘गरिबको चमेली’ । ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ गीतमार्फत चुनाव प्रचारप्रसार गरेका बालेन्द्रले आफू मेयर बनेपछि भने त्यही वर्गलाई अवहेलना गरेको आरोप लाग्छ । पहिले फुटपाथ हटाउने होइन, व्यवस्थापन गर्नुपर्छ भन्ने बालेन्द्र मेयर बनेपछि नगर प्रहरीले सडक व्यवसायीलाई लेखटी, लखेटी सामान खोसेका, महिला व्यापारीले रुवाबासी गरेका, सामान असरल्ल पोखिएका र मकै पोल्ने महिलाहरू भागदौड गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् ।

सडक व्यापारीमाथि महानगरले लिएको कठोर कारबाहीविरुद्ध सामाजिक अभियन्ता ईः ले महानगर अगाडि उभिएर विरोध प्रदर्शन नै गरे । ईः लगातार १९९ घण्टा उभिएपछि महानगरले उनीसँग चारबुँदे सहमति गर्दै जफत गरिएका सामान सम्बन्धितलाई फिर्ता गर्ने र अनौपचारिक क्षेत्रमा हुने व्यापारलाई व्यवस्थित गर्ने सहमति गरेको थियो । त्यो समझदारी कार्यान्वयन भएन ।

‘मेयर साबले चुनावअघि हामीलाई व्यवस्थापन गर्ने भन्नुहुन्थ्यो, तर पछि हामीलाई गरिखान देऊ भनेर आन्दोलन गर्दा मेरो टाउको नै फुट्यो,’ सडक व्यवसायी अर्जुन भट्टराई भन्छन्, ‘आखिर चुनाव जितेपछि भुइँमान्छेको हितमा काम नगर्ने रहेछन्, पहिलेको वाचा बिर्सिने रहेछन् ।’

यसरी सडकमा व्यवसाय गर्नेमा बालेन्द्रको पुर्ख्यौली घर महोत्तरी निवासी भट्टराई पनि छन् । उनी भन्छन्, ‘महानगर कठोर भएपछि धेरै सडक व्यवसायी पलायन भएर विदेश पुगे, अहिले पनि बेलुकी साढे ७ बजेपछि व्यवसाय गर्न पाउने भनिएको छ, सोच्नुस् त जाडोमा राति किनमेल गर्न को आउला ?’ जीविकोपार्जनका लागि अरू केही विकल्प नभएर सडकमा व्यवसाय गर्नुपरेकाहरूको पीडा बालेन्द्रले नसुनेको भट्टराईको गुनासो छ ।

उता, तीन वर्षअघि चुनावी अभियानको सुरुवात्मा दाइ कौशलसँगै स्कुटर चढेर अभियान चलाएका बालेन्द्र यसपालि ल्यान्डरोभर डिफेन्डर गाडीमा हुइँकिँदै गरेको देखिए। करिब ४ करोड २० लाख रुपैयाँ पर्ने यो गाडी कसको हो भनेर सार्वजनिक प्रश्न पनि उठ्यो । पछि यो गाडी रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित करेन्ट मसला र गुट्खा उत्पादन गर्ने कम्पनी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा रहेको खुल्यो । यसका लगानीकर्ता कमल मालपानीले उनलाई चुनावी अभियानका लागि गाडी दिएको कान्तिपुरसँग स्विकारे । कति दिनलाई दिइएको भन्ने खुलाएनन् । यद्यपि, विवाद भएपछि बालेन्द्र यो गाडीमा देखिएनन् । झापाबाट काठमाडौं फर्किंदा उनलाई लिन टेस्ला गाडी गएको थियो । त्यो गाडी पनि बालेन्द्रका साथी तथा व्यवसायी सुशील कडरियाको भएको खुलेको छ ।

Balen car
बालेन्द्रले चुनावी अभियानका क्रममा प्रयोग गरेको गाडीको विषयले पनि चर्चा पाएको छ। तस्वीरः गौरव पोखरेल/कान्तिपुर

बालेन्द्र आफूले राखेको अडानको परिणाम जे भए पनि लचिलो नहुने गरेको टिप्पणी पनि हुन्छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग विवाद चर्किंदा तीन महिनासम्म कर्मचारी तलबविहीन भए । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा गुरागाईंले कानुनी प्रक्रिया पूरा नगरी स्वीकृत गरिदिएको आरोप बालेन्द्रको थियो । महानगरले गुरागाईंविरुद्ध अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाएको थियो । तर उक्त भवनको नक्सापास दिने निर्णयमा नगर प्रमुख बालेन्द्र शाहले हस्ताक्षर गरेको विवरण सार्वजनिक भयो । तर बालेन्द्र पछि हटेनन् ।

मेयरले बिदा बस्न निर्देशन दिएपछि गुरागाईं कार्यालय जान छाडे भने वरिष्ठताका आधारमा शिक्षा विभागका प्रमुख गोविन्द शर्मा पौडेललाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, अवकाशको मुखमा रहेका शर्माले समेत केही समयमै राजीनामा दिए । त्यसपछि महानगरपालिका प्रशासनिक नेतृत्वविहीन भयो । काठमाडौं महानगरपालिकाले नयाँ प्रशासकीय अधिकृत पठाइदिन भन्दै संघीय सरकारलाई पत्राचार गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि हठ गरेर गुरागार्ईंलाई नै निरन्तरता दिने निर्णय गरेपछि तनाव चर्कियो, महानगरका आर्थिक गतिविधि तीन महिनासम्म ठप्प भए ।

तलब रोकिएका कर्मचारी र उपमेयर सुनिता डंगोलसहित अन्य जनप्रतिनिधि गुरागाईंलाई हाजिर गराउने अभियानमा लागे । गुरागाईं हाजिर हुन जाँदा राजु पाण्डे नेतृत्वको नगर प्रहरीले अवरोध गर्‍यो । कार्यालयमा उपमेयर डंगोलले अग्रसरता लिएर परिस्थिति साम्य बनाइन् । ‘मेयरले आदेश दिने हो भने कार्यालय आउनुपर्छ, कोठामा बसेर हुँदैन,’ यसो भन्दै उपपेयरले पाण्डेलाई मेयरप्रति होइन, महानगरप्रति उत्तरदायी हुन पनि स्मरण गराएकी थिइन् ।

Balen in office
मेयर बन्नुअघि कान्तिपुरको थापाथलीस्थित कार्यालयमा अन्तरर्वार्ता दिने क्रममा बालेन्द्र शाह। फाइल तस्वीर ।

मेयर र उपमेयर युवा भए पनि राजनीतिक पृष्ठभूमिले उनीहरूबीच निरन्तर दूरी बढाइरहेको थियो । गुरागाईंलाई हाजिर गराएकामा असन्तुष्ट मेयर र अरू जनप्रतिनिधिबीच संवाद नहुँदा चालु आर्थिक वर्षको बजेट ल्याउनसमेत ढिलाइ भएको थियो । दुवै जनप्रतिनिधिबीच सम्बन्ध चिसो भए पनि अरू दलका नेताहरूले जस्तो सार्वजनिक टीकाटिप्पणीबाट उनीहरू बच्दै आएका छन् । तर एमालेले यसै वर्ष ११ वैशाखमा गरेको सभामा सुनिताले ‘स्टन्टले देश चल्छ ?’ भनेर प्रश्न गरेपछि भने बालेन्द्रका समर्थकहरूले सुनितालाई ट्रोल गरे ।

जनप्रतिनिधिहरूबीच समन्वय नहुँदा काठमाडौं महानगर आफैंले विनियोजन गरेको विकास बजेट पनि फ्रिज हुँदै आएको छ । पुँजीगत भनिने विकास बजेट खर्चमा अन्य महानगरको तुलनामा सबैभन्दा कम काठमाडौंको छ । यसपालि पनि ६ महिनामा १३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । महानगरका प्रवक्ता नवीन मानन्धर अहिलेसम्म भएका कामको बिल पनि चैत–वैशाखपछि आउने भएकाले खर्च अहिले कम देखिएको बताउँछन् । ‘असारमा बजेट आउँछ, दसैतिहारपछि मात्र ठेक्का लाग्छन्, जुनसुकै काम सक्न ८/९ महिना लाग्छ, त्यसैले अहिले खर्च कम देखिन्छ,’ उनी भन्छन् ।

तर, अघिल्लो आर्थिक वर्षहरूमा समेत अन्य महानगरभन्दा कम खर्च गर्नेमा काठमाडौं नै छ । बालेन्द्र नेतृत्वको काठमाडौं महानगरले पहिलो वर्ष २५.९१, दोस्रो वर्ष ४२.३१ र तेस्रो वर्ष ४४.७३ प्रतिशत खर्च गर्न सकेको थियो । जबकि, गत निर्वाचनपछि पहिलो वर्ष ललितपुरले ४९.१७ प्रतिशत, विराटनगरले ५०.०१ प्रतिशत, भरतपुरले ५४.२२ प्रतिशत, पोखराले ५९.९८ प्रतिशत र वीरगन्जले ६७.४५ प्रतिशत पुँजीगत खर्च उपयोग गरेका थिए । त्यस्तै दोस्रो वर्ष भरतपुरले ५०.४३, वीरगन्जले ६३.६० प्रतिशत, पोखराले ६७.८२ प्रतिशत र ललितपुरले ८०.९६ पुँजीगत खर्च परिचालन गरेका थिए । काठमाडौंको भने यी अवधिमा कुनै पनि वर्ष ४५ प्रतिशत पनि छुन सकेन ।

महानगरपालिकाको पुँजीगत खर्च कम हुनु भनेको पर्याप्त पूर्वतयारी अभाव र सही परियोजनाको चयन नहुनुको परिणाम भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजक डिल्लीराज खनाल बताउँछन् । ‘यसले परियोजनाको सुरुवातपछि खरिद व्यवस्थापन भएन, राम्रो प्रोजेक्ट प्लानिङ भएन भन्ने देखाउँछ,’ उनले कान्तिपुरसँग भने, ‘ठेक्कापट्टाबाट हेर्ने हो भने योजना कहिलेदेखि सुरु भएर कहिले सम्पन्न गर्ने हो ? भन्नेमा यकिन विश्लेषण भएन । यसमा मेयरदेखि वडा तहको नेतृत्वसम्म सबै गम्भीर नभएको देखिन्छ ।’

उता, महानगरले मापदण्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड र फ्लेक्स हटाउनेदेखि प्रदूषण नियन्त्रणमा समेत महत्त्वपूर्ण काम गरेको दाबी गर्छन् महानगरको शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण र विपद् व्यवस्थापन शाखाका तत्कालीन सहायक विज्ञ सुरेन्द्र बजगाईं । भन्छन्, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा छात्रवृत्तिमा अपनाइएको पारदर्शिता, शुक्रबारको विशेष कक्षा पनि महत्त्वपूर्ण काम हो ।’

हुन पनि छात्रवृत्ति वितरणमा बालेन्द्र नेतृत्वको महानगरले गरेको हस्तक्षेप उदाहरणीय छ । पहिले काठमाडौंका निजी विद्यालयहरूमा पहुँचवालाका छोराछोरीले नै छात्रवृत्ति पाउँथे । तर, बालेन्द्रले जिम्मेवारी सम्हालेलगत्तै सामुदायिक विद्यालयमा अध्ययन गरेका जेहेन्दार, विपन्न विद्यार्थीलाई लक्षित गरेर एकीकृत प्रवेश परीक्षा नै सञ्चालन गरियो । त्यसपछि योग्यता र क्षमताका आधारमा छात्रवृत्ति उपलब्ध गराउने परम्परा सुरु भयो । पिछडिएका क्षेत्र भनेर अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला तोकिएका छन्, यी क्षेत्रका बालबालिकालाई अग्राधिकार दिने प्रबन्ध पनि भएको छ । काठमाडौं महानगरपालिकाले थालेको यो प्रयासलाई अरू स्थानीय तहले समेत अनुसरण गरेका छन् ।

Balen with students
बुक फ्रि फ्राइडे सुरु गरेपछि विद्यार्थीहरुसँग मेयर शाह । तस्वीरः बालेनको फेसबुक ।

त्यस्तै, बालबालिकाका लागि पार्क, चोक, सडकछेउमा वृक्षरोपण र सार्वजनिक स्थान सौन्दर्यीकरणमा पनि बालेन्द्रले काम गरेका छन् । ‘उपत्यकाबाहिरबाट बिरामी भएर आउने विपन्नलाई सहयोग गर्न विमानस्थलसहित अन्य स्थानमा एम्बुलेन्सहरू पनि राखिएको छ,’ बजगाईं भन्छन्, ‘काठमाडौंको ५३ वटा अस्पतालमा विपन्न विरामीलाई निःशुल्क उपचारको व्यवस्था पनि गरिएको छ ।’ यसले उनको लोकप्रियता बढाएको छ ।

युवा प्रशंसक मात्र होइन, नागरिक समाजका अगुवाहरू पनि नेपाली राजनीतिज्ञहरूमा असल आचरण र जनकल्याणकारी सोचको कमी भएकाले बालेन्द्र जस्ता युवा अगाडि आउनुपरेको बताउँछन् । ‘देश र जनताको भलोमा केन्द्रित हुनुपर्ने राजनीतिले बाटो बिराएकै कारण हामीले अहिलेको अवस्था भोगिरहेका छौं । यो अवस्थामा बालेन्द्र देश/विदेशमा रहेका लाखौं नेपालीलाई आशा दिन सफल छन्,’ रोमन म्यागासेसे पुरस्कार प्राप्त डा. सन्दुक रुइत भन्छन्, ‘अधिकांश पुरानो राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त भएकैले समग्र राजनीतिप्रति नै आममानिसको वितृष्णा बढ्दै गएको अवस्थामा यसलाई बदल्न बालेन्द्र शाहबाट सबै नेपालीले ठूलो आशा राखेका छन् ।’

भारतका लागि पूर्वनेपाली राजदूतसमेत रहेका राजनीतिशास्त्री डा. लोकराज बराल बालेन्द्रले प्रधानमन्त्रीको जिम्मेवारी पाए देश कसरी चलाउँछन् भन्ने अनुमान गर्न अप्ठ्यारो रहेको बताउँछन् । ‘अहिले जुनसुकै पार्टीले नीति वा तयारीबिना प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिरहेका छन्, रास्वपाले पनि बालेन्द्रलाई अघि सारेको छ,’ उनी भन्छन्, ‘तर, उनले जनतालाई सम्बोधन गरेकै अस्ति भर्खर जनकपुरमा हो, उनी बल्ल जनतामा जाँदैछन्, उनको पक्षमा जमात देखिन्छ । बाँकी भने हेरेर, भोगेर मात्र भन्न सकिन्छ ।’

त्यसो त राष्ट्रवादी भावनाको प्रतिनिधित्व गर्न पनि बालेन्द्र कुशल छन् । भारतको नयाँ संसद् भवनमा लुम्बिनी र कपिलवस्तु समावेश गरेर ‘मुरल’ राखिएपछि नेपालमा विरोध भएको थियो । प्रतिवादमा काठमाडौंका मेयर बालेन्द्रले जेठ २०८० मा आफ्नो कार्यकक्षको भित्तामा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका थिए । यसरी सन् १८१६ को सुगौली सन्धिअघिको नेपालको नक्सा राखेपछि उनले साहसी नेपाली नेताका रूपमा भव्य प्रशंसा पनि पाएका थिए ।

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा बालेन्द्रलाई प्रधानमन्त्री बन्ने अवसरसमेत आएको थियो । तर, उनी अघि सरेनन् बरु पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारे । उनले आफूनिकटहरूलाई भन्ने गरेका छन्, ‘म जनताबाटै निर्वाचित प्रधानमन्त्री हुने हो, मनोनीत होइन ।’

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा बालेन्द्रलाई प्रधानमन्त्री बन्ने अवसरसमेत आएको थियो । तर, उनी अघि सरेनन् बरु पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारे । उनले आफूनिकटहरूलाई भन्ने गरेका छन्, ‘म जनताबाटै निर्वाचित प्रधानमन्त्री हुने हो, मनोनीत होइन ।’

कतिपयले त्यहीबीचमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रसंगसमेत उठाइरहेका थिए, संविधानमाथि प्रश्न उठाइरहेका थिए । त्यस्तोमा संविधान, धर्मनिरपेक्षता, संघीयताप्रति उनको धारणा के हो ? जस्ता प्रश्न उठेका थिए । तर, बालेन्द्रले यही संविधान नै उत्कृष्ट रहेको भन्दै कतिपय विषय सुधार्दै जानुपर्ने बताउने गरेको उनीसँग भेट्नेहरू बताउँछन् ।

जेन–जी फ्रन्टकी अगुवा रक्षा बम भन्छिन्, ‘ललितपुरको ज्वागलमा भएको भेटमा मैले संविधानप्रति उहाँको स्पष्ट धारणा खोजेकी थिएँ, त्यसक्रममा उहाँले यही संविधान उत्कृष्ट रहेको भन्दै बरु सुधार्दै जाने बताउनुभयो ।’

बालेन्द्र यस्ता जनप्रतिनिधि हुन्, जसले मेयरमा निर्वाचित हुने वित्तिकै प्रधानसेनापतिसँग शिष्टाचार भेट गर्ने अवसर पाएका थिए । तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले उनलाई जंगीअड्डामा निमन्त्रणा दिएर भेटर्वार्ता गरेका थिए । २३ भदौको जेनजी आन्दोलन र २४ भदौको उत्पातबीच बालेन्द्रले जेनजीलाई सम्बोधन गर्दै सेनासँग वार्ता गर्न तयार रहन भनेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, 'सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।' सेनासँग उनको यो राजनीतिक आग्रह संयोग मात्र होइन भन्ने विश्लेषकहरुको टिप्पणी छ । हुन पनि यही मार्गचित्रमा राजनीतिक घटनाक्रमहरु अघि बढे ।

बालेन्द्र मेयरमा निर्वाचित भइसकेपछि भएको प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका थिएनन् । त्यसैले उनी संघीयताको पक्षमा नभएको अनुमान भएको थियो । यो विषयमा उनले स्पष्टीकरण दिएनन् । बरु, चुनावी अभियानका लागि ५ माघमा जनकपुर पुगेका उनले ‘काठमाडौं पशुपति घुम्न जानू, स्वयम्भू घुम्न जानू तर, अधिकार माग्न नजानू’ भन्दै बलियो प्रदेशको पक्षमा रहेको सन्देश दिएका छन् ।

Balen KP OLI Madal
काठमाडौंको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थिए । त्यसबेला उनलाई ओलीले तबला उपहार दिएका थिए । फाइल फोटो ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका बालेन्द्र वर्तमान सरकार र विशेषगरी आफ्ना पूर्वकानुनी सल्लाहकारसमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालसँग असन्तुष्ट छन् । गृहमन्त्री बन्ने बेला अर्यालले बालेन्द्रसँग सल्लाह गरेनन्, पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने/नगर्ने विषयमा पनि उनीहरूबीच मतभेद भयो ।

बालेन्द्र चाहन्थे– जेन–जी आन्दोलनमा युवाहरूमाथि भएको बर्बर दमनको अभियोगमा ओली र लेखकलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । तर, गृहमन्त्रीले भने जाँचबुझ प्रतिवेदनबिना पक्राउ गर्न नसकिने र गोली चलेकै भरमा पक्राउ गर्दा भविष्यमा आफैं वा जोसकुै प्रधानमन्त्री र मन्त्रीलाई पक्राउ गर्नुपर्ने नजिर बस्ने भन्दै बालेन्द्रको दबाब अस्वीकार गरे । गृहमन्त्री र सरकारले ओलीलाई सन्देश दिन नसकेको भन्दै बालेन्द्र आफैं झापा पुगेर ओलीलाई हराउन अग्रसर भएका हुन् ।

ओली र बालेन्द्रको सम्बन्ध सधैं यस्तो अप्रिय भने थिएन । मेयर बनेपछि बालकोट पुगेका बालेन्द्रलाई ओलीले तबला उपहार दिएका थिए । त्यसपछि ओलीले आन्तरिक छलफलमा भन्ने गरेका छन्, ‘मेरो घरमा आएको बेला बालेन्द्रले तबला देखे, यो त निकै राम्रो रहेछ भने । तपाईंसँग पनि होला नि भनेर मैले भन्दा यति राम्रो छैन भने । फेरि एकछिन पछि यो तबला त गजबको रहेछ भन्न थाले । मैले कुरा बुझें, हिँड्ने बेला दिएर पठाइदिएँ ।’ अहिले कतिपयले सामाजिक सञ्जालमा व्यंग्य लेख्छन्, ‘ओलीले तबला दिए, बालेनले बजाउन थाले ।’

screenshot of Balendra Shah's facebook post
बालेन्द्र शाहको फेसबुक पोष्टको स्क्रिनसट ।

तर पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले नेता रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बने भने मन्त्रालयले महानगरलाई सहयोग नगरेको भन्दै बालेन्द्र र एमाले पंक्तिको सम्बन्ध बिग्रियो । ओली आफैं प्रधानमन्त्री बनेपछि त सम्बन्ध तनावपूर्ण नै भयो । जेन–जी आन्दोलनमा बानेश्वरमा गोली चलेर युवाहरू मारिएको राति त बालेन्द्रले ‘केपी ओली इज टेरोरिस्ट’ भन्दै स्टाटस लेखे ।

उनी मेयरमा निर्वाचित भएपछि सार्वजनिक अन्तरक्रियाबाट टाढा रहँदै आएका छन् । नेपाली सञ्चारमाध्यमको प्रश्नको जवाफ दिनुको सट्टा उनले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत नै भन्न रुचाउँछन् । आवेगपूर्ण स्टाटसलाई उनका समर्थकले भने निकै मन पराएको देखिन्छ । १६ भदौ २०८० मा बेलुकी ९ः२१ बजे त्यस्तै स्टाटस आएको थियो । बालेन्द्रले लेखेका थिए, ‘सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार ।’

सुत्केरी श्रीमती चढेको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको जाँचमा परेपछि बालेन्द्रले यो अभिव्यक्ति दिएका थिए । ट्राफिक प्रहरीले शनिबारका दिन चल्ने सार्वजनिक गाडीसँग परमिट छ कि छैन भनेर जाँच हुने प्रस्टीकरण दिएको थियो भने बालेन्द्रका समर्थकहरूले गाडी जाँच गर्ने प्रहरीलाई व्यक्तिगत रूपमै गालीगलौज गरेका थिए ।

बालेन्द्रको अभिव्यक्तिले सिंहदरबार जलाउनेलाई उक्साएको भन्दै उनको आलोचना हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्व पंक्तिले त बालेन्द्रकै योजनामा सिंहदरबार जलाइएको भन्दै आरोप लगाउँदै आएका छन् । उता बालेन्द्रका समर्थक भने जेन–जी आन्दोलनमा भएको दमनको विषयमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूको भनाइ छ, ‘सिंहदरबार पछि जलेको हो, गोली पहिले चलेको हो ।’

जेन–जी आन्दोलनपछि पनि १५ कात्तिक २०८२ राति ११ः५६ मा उनले गरेको पोस्टले पनि ठूलै तरंग ल्याएको थियो । भारत, चीन र अमेरिकासँगै मुलुकका मुख्य राजनीतिक दल एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपालाई लक्षित गरेर उनले ‘तिमीहरू सबै मिले पनि केही गर्न सक्दैनौं’ भनेका थिए । उनले राति यो पोस्ट गरेको २२ मिनेटमै ३४ हजार लाइक, १२ हजार कमेन्ट र १७०० सेयर भएको थियो ।

बालेन्द्रनिकट नेताहरूका अनुसार, मध्यराति उनको यो स्टाटस आएपछि साथीहरू डिलिट गराउन सक्रिय भएका थिए । २२ मिनेटमा डिलिट गरुन्जेलसम्म धेरैले स्क्रिनसट लिइसकेका थिए ।

screenshot of Balendra Shah's facebook post
बालेन्द्र शाहको फेसबुक पोष्टको स्क्रिनसट ।

युवा अध्येता नवीन तिवारीका अनुसार, बालेन्द्र सबैभन्दा धेरै फ्यान फलोइङ भएका नेतासमेत भएकाले सामाजिक सञ्जालमा जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने हो ।

‘तर कहिलेकाहीं एकदमै संवेदनशील विषयमा स्टाटस आउँछ, त्यो चाहिँ नलेखेको भए हुन्थ्यो, नबोलेको भए हुन्थ्यो भन्ने लाग्छ,’ तिवारी भन्छन्, ‘झन् भूराजनीतिलाई समेत ख्याल नगरी जिम्मेवार पदमा बसेर त्यस्तो अभिव्यक्ति लेख्नुले उनी व्यक्तिलाई मात्र होइन, देशलाई पनि फाइदा गर्दैन ।’

भूराजनीतिक विश्लेषक डा. चन्द्रदेव भट्ट पनि देशको राजधानीको मेयरबाट त्यस किसिमको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताउँछन् । ‘उहाँले आफ्नो पदीय मर्यादालाई समेत ख्याल नगरी लेख्नुभयो, जिम्मेवार पदमा बसेको व्यक्तिबाट त्यस किसिमको अभिव्यक्ति आउँदा हामीले कस्तो मान्छेलाई निर्वाचित गरेछौं ? भन्ने प्रश्न पनि उठ्छ,’ भट्ट भन्छन् ।

निकटस्थहरूका अनुसार बालेन्द्रका सचिवालयका सदस्यहरू पनि राति पोस्ट हुने स्टाटसका कारण उनीहरू पनि तनावमा हुन्छन् । ‘उनका धेरै पोस्ट सल्लाह गरेरै आउँछन्, कतिपयमा मेडम (सविना काफ्ले) ले पनि सहयोग गरिरहनुभएको हुन्छ,’ एक जना साथीले कान्तिपुरसँग भने, ‘तर, राति एक्कासि आउने पोस्टले चाहिँ तनाव पार्छ ।’

बालेन्द्रका स्टाटस अहिलेसम्म उनका कमजोरीभन्दा शक्ति नै सावित भएका छन् । किनकि पुराना नेताहरूको उही अनुहार र उही शैलीले समाज निकै निराश र आक्रोशित छ । तर, अब प्रधानमन्त्रीको दाबेदारका रूपमा आफूलाई अघि सारेपछि उनले आफ्नो शक्ति सामाजिक सञ्जालका स्टाटसमा दिने प्रतिक्रियाबाट मात्र पुष्टि गर्न सक्ने छैनन्, किनकि मतदाताले अब उनीबाट दृष्टिकोण, डेलिभरी र जवाफदेहिता खोज्नेछन् ।