कीर्तिपुरमा सातगाउँले जात्रा सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — कीर्तिपुर क्षेत्रमा आइतबारदेखि सातगाउँले जात्रा सुरु भएको छ। कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुंगल, पाँगा र नगाउँमा जात्रा सुरु भएको हो। जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ।

सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ (सातगाउँले) जात्रा भनिन्छ। जात्राका लागि शनिबार सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी ‘भेलु क्वा द्य: (भैरव) भित्र्याए। सतुंगल गाउँवासीले तीनथानास्थित विष्णुदेवी पीठमा राँगा र अन्य गाउँले बलि चढाए।

अष्टमीमा आइतबार कीर्तिपुर दरबार क्षेत्रस्थित इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पागाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका छन्। जात्राका लागि कीर्तिपुरवासीले कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुंगेधारा, टोल चोक सिंगारपटार गरी चिटिक्क बनाइएको छ। कीर्तिपुर प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा जात्रा अवलोकनमा आउनेहरूलाई स्वागतम लेखिएको बोर्ड राखेर लशकुश गरिएको छ।

‘कीर्तिपुरको पुरानो नाम पद्मकाष्ठपुरी हो। पछि कीर्ति लक्ष्मीको वीरता र योगदानले गर्दा उनकै नाममा कीर्तिपुर भनियो,’ स्थानीय सला गुठीका गुठियार होमबहादुर महर्जन भन्छन्, ‘कीर्तिलक्ष्मीले राजा पृथ्वीनारायण शाहसँग पुरुषको भेषमा लडाइँ गरेर दुईचोटि कीर्तिपुरलाई बचाएकी थिइन्।’ उनका अनुसार कीर्तिपुरवासी कीर्तिलक्ष्मीलाई भगवानको रूप मान्छन्। 

‘जात्राको अवसरमा कीर्तिलक्ष्मीको मन्दिरमा विशेष पूजा गर्ने चलन छ,’ उनले भने। जात्रामा वैदिक तान्त्रिक पूजा हुन्छ। कीर्तिपुरको जात्रामा देवढोका पीठमा इन्द्रायणी र गणेशको खट लैजाने गरिन्छ। सिन्दूर जात्रा गरी बाजागाजासहित टोलटोलमा घुमाइन्छ। कीर्तिपुर र पाँगाबीच अवस्थित सानो गाउँ नगाउँमा जात्राको मुख्य आकर्षण ‘नगांया धाल्चा खाकेग’ जात्रा मानिन्छ।