चीनमा चालकरहित उच्च गतिको रेल

चेतनाथ आचार्य

बेइजिङ — चीनले सन् २०२२ मा आयोजना हुने बेइजिङ हिउँदे ओलम्पिकसम्ममा चालकरहित उच्च गतिको रेल सञ्चालनमा ल्याउने भएको छ । चाइना रेलवे कर्पोरेसनको महाप्रवन्धकका विशेष प्राविधिक सल्लाहकार ह ह्वावुलाई उद्धृत गर्दै चाइना डेलीले यससम्बन्धी समाचार लेखेको छ ।

चीनले सन् २०२२ मा आयोजना हुने बेइजिङ हिउँदे ओलम्पिकसम्ममा चालकरहित उच्च गतिको रेल सञ्चालनमा ल्याउने भएको छ । चाइना रेलवे कर्पोरेसनको महाप्रवन्धकका विशेष प्राविधिक सल्लाहकार ह ह्वावुलाई उद्धृत गर्दै चाइना डेलीले यससम्बन्धी समाचार लेखेको छ ।
 
गत बिहीबार सांघाइमा आयोजित आधुनिक रेलवे सेवा प्रदर्शनीको उद्घाटन समारोहमा ह ह्वावुले उक्त जानकारी दिएका हुन् । अनुसन्धानकर्ताहरुले अहिले बेइजिङदेखि हपेइ प्रान्तको चाङचियाखौसम्म विना चालक उच्च गतिको रेल गुडाउने कार्यको परीक्षण गरिरहेका छन् । सन् २०२२ मा बेइजिङ र चाङचियाखौ सहरले संयुक्त रुपमा हिउँदे ओलम्पिकको आयोजना गर्दैछन् ।
 
चीनमा अहिले गुडिरहेका उच्च गतिको रेलसेवाको तुलनामा चालकरहित उच्च गतिको रेल बढी सुरक्षित र समयपालक हुने ह ह्वावुले बताएका छन् । उनले भनेका छन् ‘चीनले चिनियाँ नमुनामा तीव्र विकास गरेको छ ।’
 
सांघाइको तोङची विश्वविद्यालयअन्तर्गत रेलवे तथा सहरी रेल ट्रान्जिट इन्स्टिच्युटका प्रोफेसर सुन चाङले रेलमा जडान गरिएको सेन्सर र स्याटलाइट प्रणालीले नियन्त्रण कक्षलाई बढी भरपर्दो र सुरक्षित बनाउने बताएका छन् । चालक रहित रेलको गती प्रतिघण्टा ३५० किलोमिटर अथवा त्योभन्दा बढी हुने पनि उनले बताए ।
 
चीनले पहिलोपटक सन् २००८ मा उच्च गतिको रेलवे सेवा निर्माण गरेको हो । उच्च गतिको रेल ३५० किलोमिटर प्रति घण्टाको गतिमा दौडन्छ । अहिले चीनमा २२ हजार किलोमिटर उच्च गतिको रेल सञ्जाल बनिसकेको छ । उच्च गतिको रेलमार्ग संजालमा चीन विश्वको पहिलो स्थानमा छ । चीनमा हरेक दिन चार हजार दुई सय भन्दा बढी उच्च गतिका रेल गुड्ने गर्दछन् । उच्च गतिका रेलले मात्र चीनमा दैनिक पैंतालीस लाखभन्दा बढी यात्रु ओसारपसार गर्दछन् ।
 
चीनले सन् २०१६ मा मात्र ८ खर्ब चिनियाँ युआन रेलवे सञ्जाल निर्माणमा खर्च गरेको छ । सन् २०१५ मा ९ हजार किलोमिटर नयाँ रेलवे लाइन बनाएको चीनले सन् २०५० सम्ममा रेलवे सञ्जालको लम्बाइ २ लाख ७४ हजार किलोमिटर पुर्‍याउने लक्ष्य राखेको छ । सन् २०१६ मा चीनले ‘नयाँ मध्यम दीर्घकालीन रेलमार्ग संजाल योजना’ सार्वजनिक गरेको थियो । सो योजना अनुसार, सन् २०२० सम्म चीनको उच्च गति रेलमार्गको कूल लम्बाई तीस हजार किलोमिटर पुग्नेछ ।
 
रेलवे विकासमा विश्वलाई आश्चर्य पार्दै छलाङ मारेको चीनले चालक बिहीन उच्च गतिको रेल बनाएर नयाँ आयाम थप्दैछ । सन् २०२२ वर्तमान राष्ट्रपति सी चिन फिङको दोस्रो कार्यकालको अन्तिम वर्ष हो । चालकरहित उच्च गतिको रेल गुडाएर चीनले औद्योगिक तथा प्राविधिक विकासमा विश्वको नेतृत्व लिने महत्वाकांक्षा राखेको छ ।
 
उच्च गतिको रेलको भविष्य चालकरहित हुने बेइजिङ चियावोथोङ विश्वविद्यालयको ट्राफिक तथा यातायात इन्स्टिच्युटका प्रोफेसर याङ हावो बताउँछन् । तर, कतिपय आकस्मिक अवस्थामा जस्तो कि ट्रयाक परिवर्तन जस्ता कुरा चालकरहित रेलले कसरी काम गर्छ भन्ने कुरा अहिलेसम्मको सबैभन्दा ठूलो समस्या रहेको याङले बताए ।
 
चिनियाँ रेलवे विज्ञान प्रतिष्ठानको खोज तथा विकास निर्देशक वाङ लानले चीन र फ्रान्स संयुक्तरुपमा चालकरहित उच्च गतिको रेल सेवाका लागि स्वतन्त्र प्रविधिको विकास गर्न जुटिरहेको बताए । यसले यात्रीलाई सुरक्षित वातावरण दिने वाङले औँल्याए । फ्रान्सले सन् २०१९ देखि चालकरहित उच्च गतिको रेलको परीक्षण गर्ने र २०२३ देखि संचालनमा ल्याउने बताएको छ ।