डिल्लीरमण पुस्तकालय पूर्वाधारहीन

कान्तिपुर संवाददाता

काठमाडौं — शिक्षा मन्त्रालयअन्तर्गत डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय भौतिक पूर्वाधारको अभावमा गुज्रिएको छ । लाजिम्पाटस्थित पुस्तकालयको मुख्य भवन भूकम्पले चर्किएपछि सेवा प्रभावित भएको हो ।

सरकारले पुस्तकालय भवन निर्माण योजना राखे पनि प्राविधिक कारणले ढिलाइ भएको जनाइएको छ । ‘भूकम्पले भवनमा क्षति पुगे पनि पुस्तकहरू र अन्य सम्पदाजन्य संग्रहहरू सुरक्षित छन्,’ पुस्तकालय प्रमुख भोला श्रेष्ठले भने, ‘ठाउँको अभावमा जसोतसो पाठकलाई सेवा दिँदैछौं । पाठकले चाहेका पुस्तकहरू बजारमा खोजेर तत्कालै उपलब्ध गराउने गरेका छौं ।’

राजनीतिज्ञ तथा इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नो शेषपछि उक्त सम्पत्ति आफ्नो र पत्नीको नाम रहने गरी सरकारलाई हस्तान्तरण गरेका हुन् । १ रोपनी १० आना क्षेत्रफलमा रहेको पुस्तकालयको चारवटा साना भवन छन् । रेग्मीले आफ्नो संग्रहमा रहेका २५ हजारभन्दा बढी पुस्तकसमेत हस्तान्तरण गरेका थिए । जसमा नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, संस्कृत भाषामा लेखिएका इतिहास, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, साहित्य विषयक पुस्तक छन् । त्यसमा रेग्मीकृत चर्चित इतिहास पुस्तकहरू ‘मोर्डन नेपाल’ भाग एक र दुई, ‘मेडिएभल नेपाल’ भाग एक र दुईलगायत छन् । 

आवासीय घरलाई पुस्तकालयका रूपमा सुचारु राखिएको छ । बाल पुस्तकालय, संग्रहालय, इतिहासकार रेग्मीको शयन कक्ष, पुस्तकालय हल, फोटो कक्षलगायत छन् । त्यसैगरी रेग्मीले आफ्नो जीवनकालमा पाएको मानसम्मान पत्रहरू, दुर्लभ हस्तलिखित ग्रन्थहरू, संग्रह गरेका पुरातात्त्विक मूर्तिकला, चित्रकलाहरूसमेत पुस्तकालय कक्षमै संग्रहालयका रूपमा राखिएका छन् । 

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय समिति, २०६०’ अन्तर्गत सुचारु पुस्तकालयको चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट छ । पुस्तकालयमा १० कर्मचारी कार्यरत छन् । भूकम्पबाट मुख्य भवन जरजर बनेपछि सीमित पाठकलाई मात्र सेवा दिने गरिएको छ । 

राजधानी सहरमै रहेको यो पुस्तकालयले चाहेजस्तो पाठक बढाउन सकेको छैन । दैनिक तीस–चालीस जनामात्र आउने गरेको जनाइएको छ । वाईफाई, नि:शुल्क फोटोकपीको व्यवस्था छ भने रेखदेखका निम्ति सीसी क्यामेरा जडान गरिएको छ । प्रमुख श्रेष्ठका अनुसार पुस्तकालयको नयाँ भवन निर्माणका निम्ति ७ करोड ५६ लाख रुपैयाँको प्रस्ताव गरिएको छ । उनले भने, ‘यी भवनमध्ये दुई वटा भत्काएर एउटै चारतले बनाउने प्रक्रिया अघि बढेको छ ।’  

रेग्मीको नाममा शान्ति पुरस्कार
इतिहासकार रेग्मीको इच्छाअनुसार नेपालमा शान्ति र विकासमा योगदान पुर्‍याउने व्यक्तिलाई एक लाख रुपैयाँ राशिको ‘डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार’ प्रदान गरिन्छ । त्यसैगरी एक जना विदेशीलाई ‘डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ प्रदान गरिँदै आएको छ । यो पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ । यो वर्ष पुरस्कार छनोटका निम्ति पूर्वगृहसचिव जनार्दन नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ ।