जेरार्ड पिके : क्याटलान स्वतन्त्रताका अडिग योद्धा

सुवास हुमागाईं

काठमाडौं — जेरार्ड पिके आधुनिक फुटबलका सर्वश्रेष्ठ डिफेन्डर मध्यमा गनिन्छन् । क्लब फुटबल होस् या राष्ट्रिय टोली, उनले जित्न बाँकी प्रमुख उपाधि सायदै होलान् । स्पेनको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रहेका पिके अहिले दुविधामा छन् । विश्वकप छनोटको अन्तिम चरणको खेलको तयारीमा रहेको स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षण सत्रमा करिब एक हजारको संख्यामा रहेका समर्थकले पिकेविरुद्ध नाराबाजी गरे ।

कारण थियो भर्खरै सम्पन्न क्याटलुनियाको स्वतन्त्रताको जनमत संग्रहलाई लिएर उनको अभिव्यक्ति ।

आइतबार बार्सिलोनाले लास पाल्मासलाई दर्शकबिनाको क्याम्प नोउमा हराउँदा पिकेको खेलपछि निकै कडा अभिव्यक्ति दिए । स्पेनिस फुटबल फेडेरेसनले मतदानका कारण खेल स्थगित गर्न अस्विकार गरेपछि बार्सिलोना खालि रंगशालामा खेल्न बाध्य भएको थियो । यता बार्सिलोना मैदानमा खेलिरहँदा मतदान गर्ने प्रयासमा रहेका क्याटलान जनतालाई भने स्पेनको सरकारले निर्मम व्यवहार गरिरहेको थियो । स्पेनिस सरकारले अवैध भनेको जनमत संग्रहलाई लिएर पिकेले प्रधानमन्त्री मरिआनो राजोईको आलोचना गरे ।

पिकेले भावुक हुँदै उक्त खेल आफ्नो करियरकै कठिन क्षण रहेको बताए । 'आजको दिन निकै खराब रह्यो । यो मेरो व्यावसायिक करियरकै कठिन समय मध्येको एक थियो। तर, मेरो भनाइको कदर यहाँ निकै कम हुन्छ , ' उनले थपे, 'स्पेनका प्रधानमन्त्री विश्वभर घुमिरहन्छन र उनलाई अंग्रेजी बोल्न समेत आउँदैन । उनको स्तर यहिँ खुलस्त हुन्छ ।' पिके आफैंले पनि जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेको बताए ।

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहमा मतदान गर्दै पिके । तस्विर : एजेन्सी ।  

सन् १७१४मा स्पेनका राजा फिलिप पाँचले स्पेनिस युद्धका क्रममा क्याटलोनियालाई आफ्नो दायरामा ल्याएका थिए । त्यसपछि १९३६ देखि १९७५ को बीचमा जर्नेल फ्रान्सिस्को फ्रान्कोको क्रुर तानाशाहमा फेरी क्याटालोनियालाई दबाइयो । मतदानको क्रममा भएको घटनाले विगतको समय फर्काउन खोजेको भन्ने प्रश्न पनि उठ्यो ।

मतदानका क्रममा भएको झडप निकै निराशाजनक रहेको पिकेको बुझाइ छ । 'पुलिस र अर्ध सैनिक दस्ताले मतदानका क्रममा गरेको व्यवहार आफैं बोल्छ । क्याटलान जनता खराब छैनन्, हामी केवल मतदान गर्न चाहन्छौं,' उनले थपे, 'फ्रान्कोका पालामा जनताले मतदान गर्न पाउँदैनथे, जुन हाम्रो नैसर्गिक अधिकार हो । अहिले हामी आफ्नो अधिकारको लागि लडिरहेका छौँ । म क्याटलान हुँ र अहिले पहिलेभन्दा बढी आफु क्याटलान भएकोमा गर्व गर्छु ।'

पिकेले यसअघिनै २०१८को विश्वकप पश्चात राष्ट्रिय टोलीबाट संन्यास लिने बताएका थिए । तर प्रशिक्षक जुले लोपेतेगुइलाई अहिलेको अवस्थालाई लिएर समस्या हुन्छ भने उनले तत्काल टोली छाड्ने बताएका छन् । 'राष्ट्रिय टोलीमा बोलाउनुलाई देशभक्ति मापन गर्ने सोच्नु हुँदैन । धेरै खेलाडीहरु अन्य देशमा जन्मिएर पछि स्पेनकै लागि खेलेका उदाहरण पनि छन् । राष्ट्रिय टोलीमा समावेश भएपछि समूहमा एकीकृत भएर खेल्ने हो र सक्दो राम्रो प्रदर्शन गरेर उपाधि जित्ने हो,' उनले आफ्नो बुझाइ प्रस्तुत गरे ।

'राष्ट्रिय टोलीमा अझै पनि म खेल्नेमा विश्वस्त छु किनकि मेरो कुरा समर्थन गर्ने जमात पनि ठुलै छ । तर यदि प्रशिक्षक र फेडेरेसनलाई समस्या हुन्छ भने म तत्काल टोली छाड्न तयार छु,' उनले प्रष्ट्याए ।

पिके एक साधारण फुटबल खेलाडी मात्र हैनन्, एक तीक्ष्ण दिमाग भएका विद्यार्थी पनि हुन् । उनले हर्भर्ड विश्वविद्यालयमा 'द बिजिनेस अफ इन्टरटेनमेन्ट, मिडिया एण्ड स्पोर्ट्स' नामक कोर्स पनि पुरा गरेका छन् । उनको १४० भन्दा माथिको आइक्यु स्कोरलाई अन्तर्राष्ट्रिय जगतमा 'जिनियस लेभल'मा गनिन्छ । उनको सामाजिक संजालमा आउने लेखले पनि उनको व्यक्तित्व झल्काउँछ । 

बार्सिलोनाको नयाँ प्रायोजक राकुटेनसँगको सहकार्यमा पनि पिकेको महत्त्वपूर्ण भूमिका रहेको बार्सिलोनाको उपाध्यक्ष म्यानुयल अर्रोयोले खुलाए । यसबाहेक पिकेले बार्सिलोना क्लबबारे गत महिना हर्भर्डमा प्रस्तुत गरेको अध्ययनमा पनि क्लवप्रतिको आफ्नो आस्था कति गहिरो छ भन्ने खुलाए  । उनले बार्सिलोना क्याटलान समर्थक माझ 'एक फुटबल क्लबभन्दा धेरै माथि' रहेको र क्लब आफैंमा समर्थकहरुको परिचयका रुपमा रहेको बताए ।

(एजेन्सीको सहयोगमा)