गान्धी, बीपी र नेपाल

शंकर तिवारी, सञ्जय पन्थी

विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने। त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ। दोस्रो विश्वयुद्धको विभीषिकाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे।

विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने। त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ। दोस्रो विश्वयुद्धको विभीषिकाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे। 

सत्य, अहिंसा र सत्याग्रहको सहारामा उनले चलाएको आन्दोलनले भारतमा सन् १९४८ मा स्वतन्त्रता प्राप्त गर्‍यो। त्यो आन्दोलन भारतको मात्र थिएन भन्ने कुरा यतिबेला महसुस हुनथालेको छ। त्यो आन्दोलन दक्षिण एसियाकै थियो भन्ने आधार छन्। नेपालको ००७ सालको परिवर्तन होस् वा अफगानिस्तान, श्रीलंका र बर्माको आजादीको सूत्राधार त्यही आन्दोलन थियो। 

त्यस अहिंसात्मक आन्दोलनको नेतृत्व गान्धीले नै गरे। गान्धी दक्षिण अफ्रिकामा २१ वर्ष बसी सन् १९१५ मा स्वदेश फर्किए। अनिमात्र भारतमा गान्धी युग थालनी भएको हो। १९१७ देखि १९४७ सम्म भारतमा उनले चलाएको आन्दोलनले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय आन्दोलनको रूप लियो। 

गान्धीको आन्दोलनले भारतको राजनीतिक आन्दोलनलाई मात्र प्रभावित नगरी समाजिक, आर्थिक, शैक्षिक एवं धार्मिक क्षेत्रमा पनि प्रभाव पारेको थियो। गान्धीको नेतृत्वमा भएको त्यस आन्दोलनले समग्र दक्षिण एसियाली देशका लागि जागरणको अभियान बन्यो। त्यसको महत्त्व छिमेकी देशहरूले समेत बोध गरे। साथै भारतको स्वतन्त्रताविना आफ्ना देशमा परिवर्तन सम्भव छैन भन्ने छिमेकी देशका नागरिकमा आभाष भयो। साथै उक्त आन्दोलनमा छिमेकी देशका नागरिकले समेत सहभागिता जनाएको पाइन्छ। उक्त प्रसंगको उदाहरण नेपालका अग्रजहरूको सहभागिताबाट लिन सकिन्छ। नेपालबाट उक्त आन्दोलनमा सहभागी भएका यथेष्ठ प्रमाण छन्। उक्त आन्दोलनमा रचनात्मक कार्यसंँगै भाग लिने प्रथम नेपाली थिए, तुलसीमेहर श्रेष्ठ। उनले गान्धीलाई विदेशी समानको बहिस्कार गर्दा नेपालबाट हातेकागज उपलब्ध गराएर सहयोग गरेका थिए। उक्त कुराको पुष्टि सावरमती आश्रमस्थित म्युजियम पुग्दा हुन्छ। 

आन्दोलनमा सहभागी हुने अन्य नेपालीमा कृष्णमाया गिरी, महावीर गिरी र खड्गवीर गिरीको पनि नाम आउँछ। गिरीजनहरू सन् १९३० को दाण्डी यात्रामा समेत सहभागी भएका थिए। गान्धीको आन्दोलनमा सक्रिय सहभागी हुने नेपालीमा कृष्णप्रसाद कोइराला, बीपी कोइराला, बटुकप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी लगायत थिए। बीपी, भट्टराईका दाजुभाइ र मनमोहन भारत छोडो आन्दोलनमा सहभागी हुँदा जेलसमेत परेका थिए। 

गणेशमान सिंहका अनुसार बीपी २००५ सालमा जेल पर्दा रिहाइका लागि गान्धीले कलकत्ताबाट पत्र लेखिदिएका थिए। जेलमा बीपीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि रिहाइका लागि आग्रह गरिदिन गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई गान्धीसमक्ष कलकत्ता पुगेका थिए।

१९९७ सालका चार सहिद मध्येका शुक्रराज शास्त्रीले गान्धीलाई भेटेर आएको र त्यही विचार प्रवाह गरेको आरोपमा हत्या गरिएको हो। भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका कोइराला, भट्टराई दाजुभाइ नेपालमा पनि परिवर्तन सम्भव छ भन्ने कुरा आत्मसाथ गरी भारतको कारावासको जीवनपश्चात नेपाल आएका थिए। १९९७ साल काण्डले आक्रान्त भएको समाजलाई कोइराला र भट्टराईको आगमन आशातीत बन्न पुग्यो। अनि मात्र ००७ सालको आन्दोलनको पृष्ठभूमि तयार भएको हो।

नेपालको परिवर्तनमा गान्धी सत्याग्रहको प्रभाव छ। नेपाली कांग्रेसको पहिलो सम्मेलनको दस्तावेज अध्ययन गर्दा त्यो तथ्य फेला पर्छ। गान्धीको सत्याग्रह र राजनीतिक चेतनाको जगमा नेपालमा ००७ सालको परिवर्तन भएको हो। अहिले नेपाल–भारतको सम्बन्ध जेजस्तो आरोह–अवरोहयुक्त अवस्थामा रहे पनि गान्धी युगमा नागरिक स्तरको सम्बन्ध भने प्रगाढ र समधुर नै रहेको पाइन्छ। उक्त तथ्य बीपी कोइरालाको आत्मकथाबाट पनि जानकारी हुन्छ। गान्धीको हत्या हुनु २ दिन अघिमात्र कोइराला उनीसमक्ष पुगेर नेपालको आन्दोलनमा सहयोग र समर्थन माग गरेका थिए। त्यसबखत गान्धीले स्वतन्त्रताका पक्षमा हुने अहिंसात्मक आन्दोलनमा आफ्नो नैतिक समर्थन रहने आश्वासन दिएका थिए। 

संगतको प्रतिफल भन्नुपर्छ, भारतमै रहेर बीपी कोइरालाले नेपालमा प्रजातन्त्रको कल्पना गर्दै नेपाली कांग्रेसको स्थापना गरे। कांग्रेस नेतृत्वले नै नेपालमा ००७ सालको परिवर्तन सम्भव भएको हो। जुन तथ्यबारे हामी सबैलाई अवगत नै छ। समाजवादी चिन्तक प्रदीप गिरीका अनुसार बीपी कोइरालाको राजनीतिक जीवन ४० वर्षको छ। गिरीले उक्त कार्यकाललाई चार खण्डमा विभाजित गरेर चर्चा गरेका छन्। 

पहिलो कालखण्ड सन् १९४६ देखि १९६० सम्म। बीचका दुई खण्ड १९६० देखि १९६८ कारावास कालखण्ड र १९६८ देखि १९७६ बनारस प्रवास, सशस्त्र क्रान्ति कालखण्ड। यस अवधिमा बीपीको वैचारिक चिन्तनमा केही उतार–चढाव आए पनि अन्तिम काल अर्थात १९७६ देखि १९८३ सम्म (मेलमिलापका लागि आगमन) काललाई गान्धी विचारले उनको जीवनलाई पूर्ण प्रभाव परेको उल्लेख गरेका छन्। गिरीका तर्क र तथ्यका आधारमा भन्न सकिन्छ, बीपी कोइरालाको राजनीतिक चिन्तनमा गान्धीको आदर्शले ठूलो प्रभाव पारेको छ।

गान्धी ग्रामीण स्वावलम्बनका पक्षपाती थिए। अन्न, वस्त्र, आरोग्य र शिक्षामा आत्मनिर्भर हुनसके दुनियाँमा कसैको गुलाम वा उपनिवेश हुनपर्दैन भन्ने गान्धीको अनुभव थियो। उक्त भनाइलाई आत्मसाथ गर्दै प्रधानमन्त्री भएका बेला बीपी कोइरालाले ‘हाम्रो कार्यक्रम मुताविक हामी ठूलठूला कारखाना खोल्न जाँदैनौं। हामीले स–साना उद्योगहरूबाट आफ्नो लुगाको आवश्यकता पूरा गर्नुपर्छ। हामीले अहिले अन्न बेचेर आफ्नो पेट काटेर बचेको अन्नबाट लुगा लागउनुपरेको छ। हामी सबैले अहिले लगाएको लुगा बाहिरबाट आएको छ। कहाँबाट आयो, त्यसको निम्ति रुपैयाँ हाम्रो मिहिनेतबाट उव्जेको अन्न बाहिर पठाएर हामीले पाएका छौं, यो लुगा। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ। कपासको समस्या हल गर्न हाम्रो कार्यक्रम गाउँबाट नै लागू हनुपर्छ’ भनेका छन्। गान्धीको सहकारिताको भावनाबाट कोइराला निकै प्रभावित थिए। त्यसैले बीपी कोइराला प्रधानमन्त्री भएका बेला सहकारी ऐन आएको हो। गान्धीको सहकारी मोडलमा सञ्चालित गुजरातको अमुल दुग्ध डेरी भारतमा सहकारीको नमुना कार्य मानिन्छ।

भारतको इतिहास र गान्धी दर्शनका युवा व्याख्यता भारतीय नागरिक डा. प्रेमानन्द मिश्र तथ्यमा आधारित रहेर भन्छ, ‘नेपालको सामाजिक र राजनीतिक चेतनाको जागरण गान्धीको सामिप्यताबाट भएको पाइन्छ। बीपी नेपालमा राजनीतिक परिवर्तनका सारथि हुन् भने तुलसीमेहर श्रेष्ठ सामाजिक सेवा तथा जागरणका अभियन्ता हुन्। जो सन् १९२० मा देशबाट निकाला भएका बेला गुजरातस्थित सावरमती आश्रममा गान्धीसँगै रहेका थिए। दासता विरुद्ध नेपालको राजनीतिक र सामाजिक जागरणको विगुल फुक्नेहरू गान्धीका अनुयायी थिए।

गान्धीको समग्र वैचारिक जगमा नैतिकता छ। कोइराला र श्रेष्ठमा पनि ती गुण पाइन्छ। यतिबेला नेपालको सबै क्षेत्रमा नैतिक मूल्य–मान्यतामा ह्रास आएको छ। र यतिबेला गान्धी जीवनको अनुशरणले मात्र नेपाली समाजमा शान्ति कायम गर्न सक्छ। अहिले निष्ठा र नैतिक आचरणयुक्त नेतृत्वको स्मरण गर्दा गान्धीका अुनयायी बीपीलाई स्मरण गरिन्छ। पुष्पलाल, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, महेन्द्र नारायण निधि लगायत धेरै नेता गान्धी दर्शनबाट प्रभावित थिए। नैतिक संकटको घडीमा स्मरण गरिएका उल्लेखित महानुभावहरू गान्धी युगमा भारत प्रवासमा रहँदा सत्य र निष्ठाको संस्कार र स्कुलिङबाट हुर्किएका थिए। यसलाई नेपाली राजनीतिमा ‘बनारसी पुस्ता’ भनेर पनि चिन्ने गरिन्छ। तर विरासतको दोस्रो पुस्तामा भने ती गुणको अभाव हुँदै गएको छ। 

उच्च आदर्श र नैतिक मूल्य–मान्यतालाई राजनीतिको जग बनाएर अग्रजहरूले गरेको त्याग, तपस्या र बलिदानले गर्दा नै नेपालको परिवर्तन सम्भव भएको हो। त्यसैले ती अग्रहजहरूलाई अप्ठ्यारो परिस्थितिमा आज पनि स्मरण गरिँदै आएको छ। तर दुर्भाग्य, अग्रजहरूको आदर्श र सपनालाई तिलाञ्जली दिँदा जसरी भारतको राजनीतिमा नैतिक दुर्बलता सिर्जना भएको छ, त्यसरी नै नेपालको राजनीतिमा पनि नैतिक दुर्बलता छाएको छ। त्यसले गर्दा राष्ट्र, राष्ट्रियता र नेपालीको राष्ट्रिय स्वाभिमानमा समेत आँच आएको छ। 

सन् २०१७ मा भारतको पहिलो चम्पारण सत्याग्रहको १ सय वर्ष पुगेको छ। त्यस अवसरमा अहिले भारतमा गान्धीको भारत आगमन र सत्याग्रहलाई शताव्दी वर्ष मानेर मूल्यांकन भइरहेको छ। गत जून १७ मा भारतको अहमदवादस्थित सावरमती आश्रममा गान्धीका नाति तथा राजनीतिक विश्लेषक गोपालकृष्ण गान्धीले भारतमा अहिले पनि अन्धकारको युग रहेको निसंकोच चर्चा गरे। अँध्यारोको तात्पर्य थियो, भासिँंदो नैतिक धरातलको पूर्वाग्रही राजनीति। त्यसले भारतीय समाजलाई हिंसातर्फ उन्मुख गरिरहेको छ भन्ने उनको चिन्ता थियो। जति नै ठूला परिवर्तन भएको दाबी गरिए पनि नाति गान्धीले भनेजस्तै नेपालमा पनि ६ दशकमा पनि अँध्यारा पक्ष अझै व्याप्त छन्। ती अँध्यारालाई चिर्न आवश्यक छ। तर विकृत चिन्तनको राजनीतिक संस्कारले त्यसतर्फ ध्यान दिन विरासत बोकेको पुस्तालाई फुर्सदसमेत छैन। 


तिवारी र पन्थी अहिंसा र गान्धी दर्शनका अध्येता हुन् ।