राजविराज : समृद्ध इतिहास, आन्दोलित वर्तमान

बसन्त बस्नेत, अवधेशकुमार झा

राजनीतिक समस्या समाधान भएन भने विकासको समस्या समाधान हुँदैन । देश जातीय द्वन्द्वतिर बढ्दै जानु चिन्तनीय कुरा छ । हाम्रो संविधानलाई विभेदकारी र नश्लवादी भनिएको छ । दोस्रो चरणको स्थानीय चुनावका लागि संविधान संशोधन पारित गर्नुपर्छ, नत्र द्वन्द्व रहिरहन्छ ।

२००७ सालको क्रान्तिको महत्वपूर्ण विरासत बोकेको सप्तरी जिल्ला राजनीतिक जागरणको एउटा केन्द्र मानिन्छ । रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंह, उपेन्द्र यादवलगायतका राष्ट्रिय नेताहरु जन्माएको यो जिल्ला पछिल्लो समयमा कहिले मलेठ घटना त कहिले तिलाठी प्रकरणका कारण तरंगित भइरह्यो । कुनै बेला काठमाडौंपछि सबभन्दा बढी साक्षरहरु भएको, मुलुककै पहिलो व्यवस्थित सहर रहेको, सन् ५० को दशकमै बिजुली देखेको, पहिलो ठूलो नहर (चन्द्र) बनाइएको सप्तरी विकासमा किन पछाडि पर्‍यो ?

मधेस आन्दोलनको एउटा केन्द्रसरह बनेको यो जिल्लाले आफूलाई, बाँकी देशलाई र राष्ट्रिय राजनीतिलाई कसरी हेरिरहेको छ ? कान्तिपुरले शनिबार राजविराजमा स्थानीय अगुवाहरुसमक्ष अन्तक्र्रिया गरेर यिनै विषयमा जिज्ञासा राखेको थियो । प्रधान सम्पादक सुधीर शर्माद्वारा सञ्चालित उक्त अन्तक्र्रियाको सम्पादित विवरण :

‘जिम्मेवार दलहरूले सोच्नैपर्छ’
अमरकान्त झा
प्राध्यापक

स्थिति गम्भीर छ भनेर सबै पक्षले बुझ्नुपर्‍यो । जनआन्दोलनको मर्म पनि यही हो । आन्दोलनले जुन उचाइमा व्यापकता पायो र विश्व समुदायले ऐक्यबद्धता जनायो, अब संविधान त्यसअनुसार संशोधन भएन भने स्वीकार्य हुँदैन । दक्षिण अफ्रिकाको उदाहरणबाट सिक्नुपर्ने कुरा धेरै छ । हेर्दाखेरि २० वर्षमा स्थानीय चुनाव हुँदै छ, तर यो संविधान कार्यान्वयनसँग पनि सम्बन्धित छ । प्रदेशको सीमा फेर्नुपरे सातै प्रदेशको स्वीकृति लिनुपर्ने विश्वमा कहीं नभएको व्यवस्था यहाँ राखिएको छ । यस्ता कुरा संशोधन हुनैपर्छ भन्नेमा जिम्मेवार दलहरू कांग्रेस, एमाले, माओवादीले सोच्नैपर्छ ।

०००

‘स्थानीय तह प्रदेशमातहत हुनुपर्छ’
खुसीलाल मण्डल
सद्भावना पार्टीका पुराना नेता

तपाईंहरू हुलाकी राजमार्ग हुँदै आउनुभएकोमा खुसी लाग्यो । हुलाकी राजमार्ग खेलौनाजस्तो बनाइएको छ । भारतीय राजदूत शिवशंखर मुखर्जी सात वर्षअघि यहाँ आएर हुलाकी राजमार्ग बनाउने घोषणा गर्नुभयो । सरकारले पनि प्रतिबद्धता जनायो, तर अझै बन्न सकेको छैन । कोसी ब्यारेज देखाउने दाँत हो । त्यो ब्यारेज नबनेको भए विराटनगर यस्तो गुलजार हुने थिएन । भारतीय स्वतन्त्रता संग्रामको सुरुवात यहीं हनुमाननगरबाट भएको थियो । त्यहाँ दुई जनताको मृत्यु भएको थियो । सप्तरी इतिहासमा अगाडि थियो । तर अहिले यहाँबाट हेर्दा देश द्वन्द्वतिर गइरहेको देख्छु । राजा महेन्द्रले विकासको मूल गाउँबाट फुटाउने माओ त्सेतुङले चीनमा दिइसकेको नारा त दिनुभयो, तर व्यवहारमा त्यस्तो भएन । प्रजातन्त्रको जग गाउँबाट सुरु गर्ने भनिए पनि २०६३ को परिवर्तन सहरका नागरिक समाज, मिडियाबाट भएको थियो । अहिले गणतन्त्र संस्थागत गराउन हामी गाउँको चुनाव गराउँदै छौं । जब जनताको माग पूरा हुन्छ, तब गणतन्त्र संस्थागत हुन्छ । स्थानीय तह संघीय प्रदेश मातहत हुनुपर्छ । स्थानीय तहमा दलीय आधारको चुनाव हुनुहुँदैन । संवैधानिक समस्या समाधान गरेर चुनावमा जानु राम्रो हुन्छ । 

०००

‘स्वतन्त्रता र अखण्डतालाई मूलमन्त्र मानौं’
सर्वेशचन्द्र मिश्र
महेन्द्र विन्देश्वरी क्याम्पस प्रमुख

अहिलेसम्म जे भयो, आ–आफ्ना व्याख्याहरू गर्न सकिन्छ । तर, अहिले राष्ट्रिय अखण्डता, स्वाधीनताबारे सबै दलले एक भएर चिन्तन गर्नुपर्ने बेला आएको छ । तराईको समस्याजस्तै पहाड र हिमालतिर पनि कुनै बेला आउन सक्छ । शब्दकोशमा समाधानभन्दा समस्या पहिले आउँछ । अघिल्लो स्थानीय चुनावका बेला जन्मेको बच्चा अब सीधै मतदान गर्न सक्ने उमेरको भइसकेको छ । यस्तोमा एक ठाउँमा चुनाव हुने, अर्को ठाउँमा नहुने हुँदैन । अर्को किसिमको समस्या त्यसले ल्याउन सक्छ । कुनै यस्तो विन्दु नआओस्, जहाँबाट समस्या समाधान नै गर्न नसक्ने हुन पुगोस् । एउटा समस्या होइन, समस्याहरू छन् । यसका लागि एउटा माहोल बनाउनुपर्ने अवस्था छ । पक्ष–विपक्षका दलहरू स्वतन्त्रता, अखण्डता र स्वाधीनतालाई मूलमन्त्र मानेर एक ठाउँ बसे नमिल्ने केही छैन ।


०००

‘दुई छिमेकीको प्रयोगशाला’
आभासेतु सिंह
अधिकारकर्मी

नेपाललाई दुई छिमेकीको प्रयोगशाला बनाउन खोजियो । संक्रमणकाल लम्बिएको त्यसै कारणले हो । अहिले आन्तरिक संवाद र सहकार्य आवश्यक छ, यसलाई बढाउन कान्तिपुरले गरेको प्रयास स्वागतयोग्य छ । मलेठ घटना एमाले र मधेसवादीबीचको लडाइँ होइन । राज्यले विगतमा भएका क्रियाको प्रतिक्रिया हो । विराटनगरमा राजेन्द्र महतोको मञ्च जलाउने निषेधको राजनीति हुँदा त्यसको प्रतिक्रिया यहाँ भयो । यो एमालेमात्रै होइन, तीन ठूला दलबीचको आन्तरिक विवादको कारणले भइरहेको छ । मेरो विचारमा राजनीतिका तीनवटा स्तम्भ राष्ट्रियता, लोकतन्त्र, विकास हुन् । यीमध्ये राष्ट्रियता अलि कठोर हुन्छ । म कुनै पार्टीको कुरा गरिरहेको छैन, तर एमाले राष्ट्रियताको पक्षमा उभिएको छ । म कहिलेकाहीँ सोच्छु, जुन पार्टीले लोकतान्त्रिक विकासमा योगदान गरिरहेको छ, त्यो मधेसविरोधी कसरी हुन सक्छ ? मधेसवादीका विभिन्न मागमध्ये नागरिकता सवाल एउटा हो । अंगीकृत नागरिकताबारे राखेको मागले राष्ट्रियतामाथि प्रश्न उठेको छ । अंगीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा हुनै सक्दैन । भारतमा नरेन्द्र मोदीले सोनिया गान्धी विदेशी मूलको भएकाले राष्ट्र प्रमुख बनाउन हुन्न भने, तर कसरी नेपालमा चाहिँ हुनुपर्छ भन्ने ?

०००

‘मलेठ घटनाको वास्तविकता आएन’
पुनम यादव
राजपा केन्द्रीय सदस्य

मधेसमा राज्यले दोस्रो दर्जाको नागरिक बनाएर राख्ने प्रवृत्ति देखायो । महिला त अझै घरबाट बाहिर निस्कने प्रयासमै छौं । हाम्रा दलहरू, सरकारले गरेका गलत कामलाई मिडियाले राम्ररी ल्याउन चुकेको छ । मलेठ घटनाको वास्तविकता राम्ररी आएन । सत्यतथ्य बुझ्नुपर्‍यो ।

०००

‘सप्तरीको सही विचारलाई ठाउँ’
शिवहरि भट्टराई
सञ्चारकर्मी

मधेसका कुरा मधेसमै आएर बुझ्ने यो प्रयासका लागि धन्यवाद । स्थानीय चुनावको मनोनयनपत्र दाखिला असार २ गते छ । संघीय गठबन्धनभित्र दुई विचार छन् । एउटा पक्षले मतपत्रबाट विचार स्थापित गरौं भनेको छ, अर्कोले संविधान संशोधन प्राथमिक भन्यो । एक थरीले मनोनयनपत्र दिँदा अर्कोले रोक्ने अवस्था नदेखियोस् । स्थानीय तहको स्वरूपमै राजपाको असहमति भइसकेपछि यसैमा भाग लिन उहाँहरूलाई अप्ठेरो परेको छ । रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंहको ठाउँ मात्रै होइन, जयकृष्ण गोइतको ठाउँ पनि हो यो । राज्यले गलत प्रवृत्तिलाई अघि बढाउने होइन, सप्तरीको सही विचारलाई चाहिँ ठाउँ दिनुपर्छ ।

०००

 

‘संविधान संघीयताप्रति अनुदार’
विकास तिवारी
सद्भावना पार्टी (गजेन्द्रवादी) अध्यक्ष

भारतमा अंग्रेजले पनि चुनाव गराउँथे, उत्तर कोरियामा पनि चुनाव हुन्छ । परवेश मुसर्रफ, सद्दाम हुसेनले पनि चुनाव गराए । यहाँ पनि पञ्चायत र ज्ञानेन्द्रका पालामा चुनाव भयो । ९० प्रतिशत बहुमतले ल्याएको भनिएको यो संविधान गणितीय संविधान हुन पुग्यो, राजनीतिक निकास दिने किसिमले आएन । १८ देखि ४० वर्षको युवालाई राजनीतिक समाधानको अनुभूति भएन भने द्वन्द्व जारी रहनेछ । संशोधनपछि चुनाव कि चुनावपछि संशोधन भन्ने विचार छ । जुन संरचना र स्थिति यहाँ छ, चुनावपछि पनि संशोधन होला भन्ने देखिन्न । मधेसको ‘केमिस्ट्री’ मा गडबड भएको छ । मधेससँग मतभेद होला, मतभेद भइसकेको छैन । समृद्ध विगतको यो जिल्ला सप्तरीमै किन अहिले कम विकास भएको ? यसतर्फ पनि हेर्नुपर्छ । समस्या संविधान र यसले बनाएको संरचनामा छ । संविधान लोकतान्त्रिक नै हो, तर जे पनि संघीय संसद्ले गर्ने ठाउँ–ठाउँमा लेखिदिएको छ । लोकतन्त्रको कुरा गर्ने हो भने जनसंख्यालाई उपेक्षा गरेर कुन लोकतन्त्रको कुरा गर्ने ? संविधान संघीयताप्रति अनुदार छ ।

०००

‘प्रचण्डलाई धन्यवाद’
हासिम अन्सारी
मुस्लिम अगुवा

आज शान्तिको आवश्यकता मुख्य हो । ‘तिमीहरू हिन्दु राष्ट्रमा छौ र पनि त्यहाँ कति शान्ति’ भनेर भारतीय मुस्लिमहरूले हामीलाई भन्थे । मुस्लिमहरू राजनीतिमा त्यति सक्रिय हुँदैनन् । मैले मुस्लिम अगुवाका रूपमा काठमाडौंमा काम गरें । त्यतै पढें । सूर्यबहादुर थापादेखि गिरिजाबाबुसँग पनि हाम्रो छुट्टी दिलाइदिन कुरा गरें । चुनाव गराउनुपर्छ । यसका लागि वातावरण बनाएकोमा म प्रचण्डलाई धन्यवाद दिन्छु ।


०००

‘चुनाव नभए अप्ठेरो’
गीता यादव
नेपाल महिला संघ अध्यक्ष

सप्तरीको मलेठमा जे घटना भयो, हामी सबै दु:खी छौं । कांग्रेसले यो देशमा आएका समस्या समाधान गर्न र सबैलाई मिलाउन नै जोड गर्दै आएको छ । कांग्रेस मधेसविरोधी होइन । एमाले अगुवा नेताको रवैया सबैलाई थाहा छ । यस्तोमा कांग्रेस एक्लैले केही गर्न सक्दैन, संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ । आन्दोलन गर्ने साथीहरूले बुझ्नुपर्छ, स्थानीय चुनाव गरिएन भने संविधानमा आँच आउँछ, देशलाई अप्ठेरो पर्छ । कुनै बेला चुनावमा महिलाले भाग लिन पाउँदैनथे, अब त्यस्तो अवस्था छैन । तर हामी आफ्नै पार्टीभित्र पीडित छौं । केन्द्रीय तहका महिला नेता, जिल्लाका नेतासमेत पीडित छन्, किनकि चुनावमा उपप्रमुखमा मात्रै महिलालाई उम्मेदवारी दिइन्छ । किन उपप्रमुखमात्रै भन्दा नेताहरू महिलाले पहिलो पद चलाउन सक्दैनन् भन्छन् । यो त गलत सोच हो । आन्दोलनमा महिला गएर लड्न सक्ने, नेतृत्वचाहिँ गर्न नसक्ने हुन्छ ?

०००

‘शान्तिपूर्ण स्वरलाई उपेक्षा नगरौं’
थानसिंह भन्साली
सामाजिक अगुवा

जनआन्दोलनका बेला कान्तिपुरको ठूलो योगदान छ । नेपालका यसअघिका ठूला परिवर्तनहरूमा मधेसको पनि योगदान छ । तर मधेसका मुद्दामा राज्यले बेइमानी गर्दा अहिले जटिल अवस्था आएको छ । एकातिर तीन जनाले, अर्कोतिर सात जनाले पाउने अधिकार कहीं लोकतान्त्रिक हुन्छ ? शान्तिपूर्ण स्वरलाई उपेक्षा गरियो भने अन्य तत्त्वले ठाउँ पाउँछन्, यसतर्फ पनि विचार पुर्‍याउनुपर्छ । 

०००

‘बजेट कार्यान्वयन भएन’
रामप्रसाद चौधरी
सप्तरी बार अध्यक्ष

अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै क्षेत्र जर्जर भएको छ । हरेक क्षेत्रमा चलखेल गर्न खोज्ने प्रवृत्ति नेतृत्वमा देखियो । तराई–मधेसमा बजेट त आइरहेको छ, तर केन्द्रीय नेता हुँदै चुहिने गर्छ । बजेट कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । अर्कोतर्फ, सप्तरी बारका कोषाध्यक्ष दिगम्बर यादवको कोखामा गोली लागेको छ, अझै पनि राज्यले हेरेको छैन । अस्ति गृहमन्त्री निधि आएर ४ सहिद घोषणासम्म गर्नुभयो । टीकापुरमा पनि थारूले घटना गराएको होइन, लक्ष्मण थारूलगायत कैयौं अगुवालाई गलत ढंगले थुनामा राखियो । यो सबै राज्यले गरेको नाटक हो । छानबिन गर्ने पनि कुरा मात्रै हो । सामान्य कर्मचारीलाई अनुसन्धान अधिकृत बनाइँदो रहेछ, अनि कसलाई फसाउने र उम्काउने भन्ने पनि हुँदोरहेछ ।

०००

‘चुनावविरोधी थिएनौं, होइनौं’
सुनिता साह
संघीय फोरम नेतृ

हामी चुनावविरोधी थिएनौं, होइनौं । तर हामी अहिले पनि संविधान संशोधन मागिरहेका छौं । संशोधन हुनुपर्छ । तर चुनावमा पनि भाग लिनुपर्छ । यो चुनावमा तीन पुस्ताको सहभागिता हुनेवाला छ । स्थानीय विकासको कुरा पनि सँगै लिएर जानुपर्ने भएको छ । त्यसले अधिकार प्राप्तिका लागि सघाउ नै पुर्‍याउँछ । मधेसको अधिकार प्राप्ति होस् । हामी त्यसमै लागिरहेका छौं ।

०००

‘एमाले सबै विकल्पमा तयार’
गोविन्द न्यौपाने
एमाले सप्तरी अध्यक्ष

तीन पुस्ताको त्याग तपस्याले संविधान बनायौं । संविधान कहिल्यै पूर्ण हुँदैन । आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ । यो मात्रै सही, यो मात्रै गलत भन्न हुँदैन । अहिले स्थानीय चुनाव र सीमांकनको कुरा उठेको छ । फुटबल ९० मिनेटको हुन्छ, ४५ मिनेटको खेल भइसकेपछि अब खेल मैदान फेरि नापौं, अलिकति फेरौं भन्न पाइन्छ ? संसारैभरि जनसंख्याका आधारमा प्रदेश हुन्छ भन्ने कुरा आयो, छिमेकी भारतमै त्यो छैन । उत्तरप्रदेश र सिक्किमको जनसंख्या बराबर छैन । तैपनि यसमा मिलाऔं भन्नेमा हामी सकारात्मक नै छौं । विकास निर्माणमा हामी पछि परेका हौं भनेर यत्रो कुरा गरिसकेपछि त्यसको नेतृत्व लिन अघि सर्नुपर्‍यो नि । किन चुनावबाट नेतृत्व नलिने, अनि विकास भएन भनेर रुने ? एमाले सबै विकल्पमा विचार गर्न तयार छ, तर संविधानलाई टेकेर अघि बढ्नुपर्‍यो । संविधानलाई नै नमान्न थालियो भने कहिल्यै नसिद्धिने जटिलतामा फसिन्छ ।

०००

‘विकास मुद्दामा राजनीति नहोस्’
रामआशिष साह
निर्माण व्यवसायी संघ अध्यक्ष

राजनीतिक बहसहरू बढी आएका छन् । हामीले यो पहिलेदेखि सुनिरहेका छौं । विकास निर्माणको प्रतिबद्धतासाथ राजनीतिक दलहरूबाट कुरा आउन थालेका छन् । मधेस विकासमा धेरै पीडित अवस्थामा रहेको छ । माथि बस्ने नेताहरूमा यहाँको विकासलाई लिएर धेरै मतभेद भएको छ । नेताहरूले विकासका मुद्दाहरूमा राजनीति गर्न हुँदैन । राजमार्गदेखि तलको विकासलाई ध्यान दिनुपर्छ ।

०००

‘महिला १६ प्रतिशत पनि छैनन्’
साधना झा
राजपा केन्द्रीय सदस्य

चन्द्रनहर, हुलाकी राजमार्गको निर्माण र मधेसको समृद्धि हुँदा सिंगै नेपाललाई त्यसले धनी बनाउँछ । सयौं वर्षको विभेदले मधेसमा शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने अवस्था ल्यायो । तर शासक वर्ग नरसंहार गराउनेतिर लाग्यो । जे माग छ, त्यसलाई सम्बोधन गर्नुपर्छ । समस्याको बिजारोपण ओली, देउवा, दाहाल जोबाट भए पनि उनीहरू नेपालका शासक नै हुन् । मधेसको कुरा सुन्न सरकार तयार छैन । महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित भयो भन्छन्, तर साढे १६ प्रतिशत पनि छैन । पहाडी टाठाबाठा महिलाले मधेसी महिलाका अवसर लगिहाले । मधेसी महिलालाई ५० प्रतिशत अधिकार दिलाउनुपर्छ । अवसर दिने हो भने मधेसी महिला पनि राष्ट्रपति बन्न सक्छन् । शान्ति, सुव्यवस्थाबिना विकासको कुरा बेकार हो । त्यसका लागि पहिले माग सम्बोधन हुनुपर्‍यो । देउवा सरकारले अब माग सम्बोधन गर्ने भनेको छ, त्यो पूरा हुनुपर्छ । 

०००

‘धर्तीपुत्र हौं हामी’
शैलेश चौधरी
राजविराज पूर्वमेयर

स्थानीय चुनाव दलको चिहन दिइसकेको भए यति अप्ठेरो हुँदैनथ्यो । राष्ट्रिय सभामा मधेसको प्रतिनिधित्व नहुन सक्ने भएकाले जनसंख्याको आधारमा प्रतिनिधित्व हुने सवाल पनि महत्त्वपूर्ण छ । मन्त्रिपरिषद्ले २२ वटा स्थानीय तह जनसंख्याको अनुपातमा थप्ने राजनीतिक निर्णय त लियो, तर अदालतले मानेन । जुन कुरा सरकारले अघि बढाउन खोज्छ, त्यसलाई अदालतले रोक्न खोज्नु राम्रो होइन । कसैको ‘सर्टिफिकेट’ लिनुपर्ने आवश्यकता छैन, तर धर्तीपुत्र हौं हामी । अहिले ३० जेठसम्म हुनेगरी भनेर हस्ताक्षर मिलाउन पाउने प्रावधान राखिएको छ । यसलाई पनि मिल्ने विन्दु मानेर चुनावलाई उपयोग गर्ने, तल्लो तहमा संगठन गर्ने निर्णय उचित हो । यो देशको ठूलो राजनीति गर्ने तह होइन, स्थानीय विकास निर्माणको तह हो । त्यसैले उपयोग गर्नुपर्छ भन्ने धारणा हाम्रो हो । कुनै बेला करोडौंको धान निर्यात गर्ने सप्तरी अहिले किन बिजोग अवस्थामा आइपुग्यो ? २०१६ सालमा नगरपालिका, त्यही सालमा गणेशमान सिंहले उद्घाटन गरेको एयरपोर्ट, नेपालकै पहिलो दर्जाको विकास र शिक्षा भएको यो जिल्लाले अहिले दुर्दशा भोगेको छ ।

०००

‘मैथिली भाषालाई मान्यता दिइयोस्’
करुणा झा
मैथिली भाषाकर्मी

राजनीतिक कुरा साथीहरूबाट आइहाल्यो । सीडीओ कार्यालयमा मैथिली भाषामा निवेदन दिँदा डेढ महिनाअघि स्वीकार गरेनन् । अनुवादक लिएर आउनु भने । संविधानमा बहुभाषी देश भनिसकेपछि प्रदेशको मुख्य भाषामा त बोल्न, लेख्न पाउनुपर्‍यो नि । राज्यले भाषाका आधारमा विभेदको नीति लिनु भएन । ठूला दलहरूको ढुलमूल रवैयाका कारण मधेसमा यो समस्या आएको हो । यी मधेसवादी नेतामध्ये अधिकांश मैथिली बोल्ने छन् । तर मैथिलीलाई राष्ट्रिय भाषा, सरकारी कामकाजको भाषा बनाउनेमा उनीहरूको ध्यान छैन ।

०००

‘विकास जर्जर अवस्थामा’
बन्दना मिश्र
लेक्चरर

राजनीतिक उथलपुथलबीच विकास जर्जर अवस्थामा छ । यसबारे जनतालाई जागरुक गराउनु मिडिया र नागरिक समाजको काम हो । स्थानीय तहको चुनाव गराउने जिम्मा प्रदेशलाई दिनुपथ्र्यो । ग्राम स्वराज गराउने हो भने राष्ट्रियतालाई त्यसले मजबुत बनाउँछ । म गणतन्त्र भारतबाट बिहे गरेर यहाँ आएँ । भाषाको समस्या त मलाई छँदै थियो । रोटीबेटीको सम्बन्ध भएकैले त म यहाँ बिहे गरी आएँ, तर रहनसहन र संस्कृतिमा थुप्रै अन्तर रहेछन् । मैले त्यही भएर नेपाली सिकें । नेपालको मल्लकालमा पनि मैथिली राष्ट्रिय कामकाजको भाषा थियो । त्यसैले यसलाई मान्यता दिनुपर्छ ।

०००

‘देशलाई अप्ठेरो पर्दा मधेस बोल्छ’
देवनारायण यादव
तिलाठी घटनाका अगुवा

जयमधेस, जयनेपाल । यहाँ आएका कुरा सबैले आफ्नो आफ्नो लागि मात्रै भनेको जस्तो लाग्यो, जनताका लागि भन्नुपर्छ । २००७ देखिका कुरा उठ्छ भने कांग्रेसले यही कुनौली र आसपासमा बसेर राजनीतिको बिगुल फुकेको स्मरण गर्नुपर्छ । काठमाडौंमा संसद् अरू बेला नखुल्ने, देउवालाई प्रधानमन्त्री बनाउन खोल्ने ? मधेसवादीले खाली तीनबुँदे सम्झौता गर्नुभयो । मधेसवादी नेताहरूलाई कहिले हिन्दुस्तानको चकलेट, कहिले कहाँको चकलेट दिने क्रम अब बन्द गर्नुहोस् भनी म ठूला दलका नेतालाई भन्न चाहन्छु । म अहिले पनि कांग्रेस हुँ, तर मधेसको कुरा आउँदा म मधेसको हुँ । मधेसीहरू पनि आफ्नो खुट्टामा आफैं उभिएर लिनुपर्ने कुरा लिने, छाड्नुपर्ने कुरा छाड्ने गर्नुपर्छ । अब म सिमानाको कुरा गर्छु । तिलाठीको भावनालाई काठमाडौंसँग जोड्नुपर्छ । जहाँ भारतले बाँध बनाउन खोज्यो, त्यो ‘नोम्यान्सल्यान्ड’ हो । खिलराज रेग्मीका पालाको सरकारले भारतसँग सम्झौता गरेर तिलाठीमा पुल बनाउने भनेको थियो । भारतले बाँध बनाउन खोज्दा यहाँ कुनै पहाडे र मधेसी पार्टी सघाउन आएनन्, केवल केही पत्रकारले सहयोग गरे । हाम्रा ठूलाबडा नेताहरू कोही हेर्न आएनन्, जबकि भारतपट्टिका मुख्यमन्त्री तीनपल्ट आएर हेरिसके । यहाँ एउटा पार्टीको अपराधी कोही मर्‍यो भने राष्ट्रिय सम्मान दिलाउँछन्, तर आफ्नो देशलाई केही पर्‍यो भने बोल्दैनन् । नेपाललाई केही अप्ठेरो पर्‍यो भने मधेसी चुप लागेर बस्दैन ।

०००

‘आउने दिन महिलाका लागि राम्रो’
विन्दु यादव
लोकतान्त्रिक फोरम

म भारतबाट बिहे गरी नेपाल आएकी हुँ । राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताका लागि गर्नुपर्छ । कुनै पनि जनताको सुख–सुविधाका लागि नेताले सोच्नुपर्छ, आफ्नो पकेटका लागि होइन । महिलाका लागि आरक्षणको आवश्यकता छ । राज्य पक्षले यी कुराहरूको नजरअन्दाज गरेको छ । जनसंख्याको 
आधारमा स्थानीय तहको पुन:संरचना नभएमा त्यसले समाधान गर्दैन । आउने दिनमा महिलाका लागि पक्कै राम्रा दिनहरू आउने छन् भन्ने 
आशा गरौं ।

०००

‘राजनीतिमा महिला प्रतिनिधित्व बढाउनैपर्छ’
सुमित्रा साह
स्थानीय अगुवा

राजनीतिमा महिला प्रतिनिधित्व बढाउनै पर्छ, तर शिक्षितलाई दिने कि आंैठाछापलाई दिने ? कतिपय महिलाहरूले शिक्षा पाइरहेका छन्, तर कोही घरबाट बाहिरसमेत निस्कन पाएका छैनन् । राजनीतिक नेतृत्वले यी विषयहरूलाई सोच्नुपर्छ ।