छोरी सम्झिँदै रागिनी

कान्तिपुर संवाददाता

काठमाडौं — भनिन्छ, आमाबाबुको सपना छोराछोरीले पूरा गर्छन् । तर, कहिलेकाहीँ छोराछोरीको सपना आमाबाबुले पूरा गर्नुपर्छ । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले शनिबार राजधानीमा आफ्नी दिवंगत छोरी शिवाताको सपना पूरा गरिन् ।

‘शिवाता लभ फाउन्डेसन’ स्थापनासँगै रागिनीले तीन जनालाई छात्रवृत्ति दिइन् । बालकोटको महेन्द्र शान्ति माविमा अध्ययनरत सृष्टि बोहरा र अविना राई र ललितकला क्याम्पसमा फाइन आर्ट पढ्दै गरेका विक्रम श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरियो । ‘शिक्षाका माध्यमबाट छोरीहरूलाई आत्मनिर्भर बनाउनु शिवाताको ड्रिम थियो,’ उनले भनिन्, ‘आज मैले छोरीको सपना पूरा गरेँ ।’ 

फाउन्डेसनमार्फत मेरी छोरीजस्तै थुप्रै शिवाताहरूलाई छात्रवृत्ति दिएर शिक्षा दिने कोसिस गर्ने रागिनीले बताइन् । नेदरल्यान्डमा पढ्दै गरेकी रागिनीकी छोरी शिवाताको मेनेन्जाइटिस (मस्तिष्क संक्रमण) रोगले गर्दा गतवर्ष अल्पायुमै निधन भएको थियो । छोरीको सपनाका लागि सामाजिक काम गरेकोमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले रागिनीको प्रशंसा गरिन् । शनिबार छोरीकै सम्झनामा रागिनीले आठ वर्ष अगाडि लेखेका गीतहरू समेटिएको गीति एल्बम ‘रङ्गरागिनी’ को समेत लोकार्पण गरियो । माइती नेपालकी अध्यक्ष कोइराला र गायिका लोचन भट्टराईले एल्बमको लोकार्पण गरेका हुन् । 

आठ वर्ष पहिले चरिकोटमा कवि, साहित्यकारहरूले ‘चित्रकला मात्रै नभई साहित्यमा पनि केही लेख्नुस्’ भनेपछि कविता लेखन सुरु गरेको रागिनीले बताइन् । ‘मेरा गीतहरूमा महिला र धर्तीबीचको तुलना छ,’ उनले भनिन्, ‘आमाले सहनुपर्ने पीडा छ ।’ रागिनीले गीतमा प्रयोग गरेको कडा शब्दलाई बुलु मुकारुङको संगीतले कोमल बनाएको गायिका लोचनले सुनाइन् । 

दुई वर्ष अगाडि तयार भइसकेका गीतहरू भूकम्पको कारण पुन: रेकर्ड गर्नुपरेको प्रसंग सुनाउँदै संगीतकार मुकारुङले भूकम्पपछि थप उत्कृष्ट बनेको बताए । एल्बममा ‘म समय हुँ’, ‘गाईजस्तो बिक्छु म’, ‘चरिकोटको चरी हुँ म’, ‘म धर्ती हुँ’ र ‘माटोको टुक्रा हामी’ गरी पाँचवटा गीत छन् । कुन्ती मोक्तान, सत्यराज आचार्य, विश्व नेपाली, निशा देसार, वाणिका प्रधानको स्वर एल्बममा छ । कार्यक्रममा ‘माटो टुक्रा हामी’ गीतको म्युजिक भिडियो पनि देखाइएको थियो ।