‘लू’ ले सम्झाउँछ कञ्चनपुर

सुनीता साखकर्मी

काठमाडौं — नयनराज पाण्डे आख्यानका लागि चर्चित छन् । उपन्यासदेखि कथासम्म उनी उत्तिकै जमेका छन् । पश्चिम तराईको जनजीवनमाथि लेखिएका ‘उलार’ र ‘लू’ उनका मास्टरपिस हुन् ।

पछिल्लो समय हिमाली जनजीवनमाथि ‘सल्लीपिर’ उपन्यास ल्याएका उनको आख्यान यति बेला नाटकका रुपमा आएको छ ।

रंगकर्मी सरिता शाहले उनको चर्चित उपन्यास ‘लु’ माथि नाटक बनाएकी हुन् । उनैको नाट्य रुपान्तरण र निर्देशन रहेको नाटक ‘लु’ यति बेला मण्डला नाटकघरमा मंचन भइरहेको छ । 

पश्चिम नेपालको सीमावर्ती पत्थरपुरवा गाँउको कथालाई लिएर नयनराज पाण्डेले ‘लू’ उपन्यास लेखेका थिए । संयोग के भने, यतिबेला दक्षिणी सीमावर्ती गाउँमै घटित हत्याकाण्डले मुलुकको राजनीतिमा तरंग ल्याइरहेको छ । त्यस्तै सीमावर्ती गाउँका जनताले भोग्नुपरेको पीडाको रंगमंचिय प्रस्तुतिबाट दर्शकको मनमा पनि तरंग पैदा हुन्छ । निर्देशकीय हिसाबले शाहले राम्रो काम गरेकी छन् ।

‘उपन्यास पढदै गर्दा यसभित्रका पात्र र परिवेशले मलाई आफ्नै गाँउको परिवेशमा पुर्‍याइदिए,’ शाहले भनिन्, ‘अनि यसैलाई नाटकका लागि छानें ।’ नाटक तयार हुनुअघि भने उनलाई धेरै अग्रजले ‘लू’ उपन्यास ‘एकदमै भारी कृति’ रहेकोले कठिन हुने सुझाएका थिए । तर, उनी अघि बढिन् र यतिबेला नाटक हेरेपछि मण्डला परिसरमा उनको प्रसंशा गर्ने दर्शकहरु थुप्रै भेटिन्छन् ।

१ घण्टा ४० मिनेट लामो नाटकमा हाँसो र दु:खको समान डोज छ । नाटकमा भारतीय प्रहरीले नेपालीमाथि गरेको दमनको विरोध गर्ने महेश्वरलाई बेपत्ता पारिएको खबरले हालै कञ्चनपुरमा घटेको घटनाको झल्को दिन्छ । टाढा रहेको भारत, १९५० लेखिएको किल्ला बिस्तारै सर्दैसर्दै पत्थरपुरवा गाँउमै आइपुग्ने दृष्यले नेपाल–भारत सीमा विवादप्रति चोटिलो व्यङ्ग्य गर्छ । निजी स्वार्थकै लागि रेडियोलालले हिन्दु र मुसलमानबिच छेडिदिएको द्वन्दले पनि नाटकमा ठुलो अर्थ राख्छ । 

अहिलेको नेपाली समाजमा उठिरहेको द्धन्द्धमा ककसको राजनीतिक स्वार्थ मिसिएको छ ? नाटक हेर्दै गर्दा बौद्धिक दर्शकको मस्तिष्कमा यस्तै प्रश्न उठ्छ । सीमावर्ती क्षेत्रमा हुने घटनाहरुमार्फत नाटकले नेपाली राष्ट्रियताको जर्गेनाप्रति गम्भीर प्रश्न उठाइदिएको छ । 

नाटकमा पात्रहरुको भेषभुषा, संवाद प्रस्तुती र अभिनयले तराईको झल्को दिन्छ । इलैयाकी सौतेनी आमा र कविता पात्रमार्फत समाजमा रहेका महिलाहरुका सकारात्मक र नकारात्मक पक्षलाई दृष्यमा सन्तुलित गर्न निर्देशक शाह सफल छिन् । इलैयाको नुशरतप्रतिको माया र समाजसेवाले सकारात्मकताको वकालत गरेको छ । नयाँ चप्पल पडकाएर हिँड्ने टुटेपण्डितको घरेलु उपचारका उपायहरुले दर्शकलाई जति हसाँउछ, सात वर्षकी मुन्नीलाई सर्कसमा काम गर्न पठाउने बेलाको आमाको वियोगले उत्तिकै रुवाइदिन्छ ।

नाटकमा मिलन डि काप्री, आरजु खरेल, दिपिका ढकाल, शुलभ पाण्डे, अनिल कुर्मी, सुवास नेपाल, विवेक तिवारी, कुन्दन चौधरी, पुष्पा यादव, सुरेश जि.सी, विपुल पाण्डे, विरेन्द्र मुखिया लगायतको अभिनय छ । गोपाल अर्यालको निर्माणमा ताण्डव थिएटरले नाटक प्रस्तुत गरेको हो ।