याज्ञवल्क्यमा आचार्य तह

कान्तिपुर संवाददाता

महोत्तरी — स्थापनाको २ सय ७२ वर्षपछि मटिहानीस्थित प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठमा आचार्य तह (एमए) को पढाइ हुने भएको छ । विसं १८०१ मा स्थापित विद्यापीठमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले बिहीबार आचार्य तहको उद्घाटन गरे ।

थप गरिएको तहमा व्याकरण, साहित्य र सिद्धान्त ज्योतिषको अध्ययन हुने जनाइएको छ । मकवानी राजा हेमकर्ण सेनले मटिहानीमा लक्ष्मीनारायण मन्दिरको स्थापना गरेपछि संवत् १८०१ सालमा यस विद्यापीठको स्थापना भएको थियो ।

विद्यापीठका प्राचार्य धु्रव रायका अनुसार गुरुकुल परम्पराबाट शिक्षाध्ययन गराइने मटिहानी विद्यापीठमा नेपाल र भारतबाहेक श्रीलंका, बर्माजस्ता मुलुकबाट पनि विद्यार्थी आएको बताए ।

आचार्य तह थप गरेपछि नयाँ मात्र होइन पुराना विद्यार्थीसमेत उत्साहित छन् । ७५ नाघेका लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास शास्त्रीले आफू आचार्य तहमा भर्ना हुने उद्घोष गरे ।