[अपडेट] रामदेवलाई जग्गा दिनेसम्बन्धी प्रस्ताव अस्वीकार गरिसकिएको छ : प्रधानमन्त्री कार्यालय

दुर्गालाल केसी

दाङ — प्रधानमन्त्री कार्यालयले कान्तिपुरमा प्रकाशित रामदेवलाई जग्गा दिन प्रधानमन्त्रीको कसरत समाचारप्रति प्रतिक्रिया जनाउँदै रामदेवलाई जग्गा दिनेसम्बन्धी प्रस्ताव अस्वीकार गरिसकिएको जनाएको छ । प्रधानमन्त्रीका पुत्र एवम् स्वकीय सचिव प्रकाश दाहालले त्यस्तो प्रस्ताव आएको भए तापनि पहिल्यै अस्वीकार गरिसकिएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले कान्तिपुरमा प्रकाशित रामदेवलाई जग्गा दिन प्रधानमन्त्रीको कसरत समाचारप्रति प्रतिक्रिया जनाउँदै रामदेवलाई जग्गा दिनेसम्बन्धी प्रस्ताव अस्वीकार गरिसकिएको जनाएको छ । प्रधानमन्त्रीका पुत्र एवम् स्वकीय सचिव प्रकाश दाहालले त्यस्तो प्रस्ताव आएको भए तापनि पहिल्यै अस्वीकार गरिसकिएको बताएका छन् । 

‘दाङको त्यो जग्गा रामदेवलाई भाडामा दिनेसम्बन्धी प्रस्ताव भीसीबाट आएको कुरा साँचो हो, तर त्यो प्रस्ताव विवादास्पद प्रकृतिको रहेको र त्यति कम भाडामा जग्गा दिनु उचित नहुने ठहर गर्दै पहिल्यै अस्वीकार गरिसकिएको थियो,’ प्रकाशले बिहीबार राति कान्तिपुरलाई भने, ‘अहिले जसरी त्यही पुरानै कुरा मिडियामा आएको छ, त्यो सरासर गलत हो ।’

उनले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा रामदेव या कसैलाई पनि नदिने निर्णय प्रधानमन्त्रीले यसअघि नै गरिसकेको पनि बताए ।

...

नेपाल संस्कृत विश्वविद्यालयको जग्गा बाबा रामदेवलाई भाडामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले पहल थालेको रहस्य खुलेको छ । भदौ २३ मा भएको विश्वविद्यालय सभामा पेस भएको प्रस्तावमा छलफल अगाडि नबढाई कुलपति तथा प्रधानमन्त्री दाहाल आफैंले सबै जिम्मा लिएको स्रोतले जनाएको हो ।

सभामा प्रस्ताव पेस भएपछि विश्वविद्यालयका सभासद् तथा एमाले नेता शंकर पोख्रेलले विरोध जनाएपछि दाहालले यो सरकारको जिम्मा हो भनेर सबै फाइल आफैं लिएको उपकुलपति कुलप्रसाद कोइरालाले बताए । ‘सभामा नेता पोख्रेलले दाङमा प्रादेशिक राजधानी हुँदा जग्गा अभाव हुने भएकाले रामदेवलाई दिन हुँदैन भन्नुभयो । त्यसपछि प्रस्ताव पास हुने अवस्था रहेन,’ उनले भने, ‘सभामा काम रोकिएपछि प्रधानमन्त्रीले नै यसको समग्र काम टुंगो लगाउने कुरा भयो । उहाँले नै सबै जिम्मा लिनुभयो ।’ 

अहिले प्रधानमन्त्री, रामदेव र आफू बसेर टुंगाउने कुरा भए पनि समय नमिलेको कोइरालाले बताए । समय मिलेपछि छलफल अघि बढाइने उनले जानकारी दिए । रामदेवले १०५ बेडको आयुर्वेद अस्पताल, गौशाला, जडीबुटी उद्यान र आचार्य गुरुकुल सञ्चालन गर्न २ सय बिघा जमिन मागेको उनले बताए । त्यसमध्ये सम्भव भएजति जग्गा दिनेबारे छलफल भएको उनको भनाइ छ ।

जग्गा रामदेवलाई दिँदा बाहिर हल्ला भएजस्तो विश्वविद्यालयलाई घाटा नलाग्ने दाबी कोइरालाको छ । ‘आयुर्वेद अस्पताल बन्दा आयुर्वेद उपचारमा टेवा पुग्छ । गौशाला बन्दा स्थानीयले रोजगार पाउँछन्,’ उनले भने, ‘जडीबुटी उद्यानमा जडीबुटी प्रशोधन हुन्छ । गुरुकुलममा वैदिक वेशभूषामा रहेर आधुनिक शिक्षा प्राप्त हुन्छ । रामदेवलाई जग्गा दिँदा घाटा हुँदैन ।’

रामदेवलाई प्रतिबिघा वार्षिक १० हजारका दरले जग्गा भाडामा दिनेबारे छलफल भएको उपकुलपति कोइरालाले बताए । तीन वर्षदेखि स्थानीय तिलक डाँगीले बेलझुण्डीको ३४ बिघाभन्दा बढी जमिन प्रतिबिघा १७ हजार ५ सयका दरले भाडामा लिइरहेका छन् । यसमा प्रतिवर्ष १० प्रतिशत भाडा वृद्धि भइरहेको छ तर रामदेवलाई कुनै पनि भाडा वृद्धि नगरी ४० वर्षका लागि जग्गा दिने तयारी भएको छ । रामदेवले समाजसेवाका भावले जग्गा लिन थालेकाले भाडा कम गर्न थालेको उपकुलपति कोइरालाले बताए । ‘मुनाफा कमाउनेलाई र समाज सेवा गर्नेलाई भाडा फरक भइहाल्छ नि,’ उनले भने, ‘रामदेवले आफ्नो कमाइ नेपालकै लागि लगानी गर्ने भनेका छन् ।’

विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले भने विश्वविद्यालयको जग्गा कुनै पनि हालतमा रामदेवलाई दिन नहुने अडान लिइरहेका छन् । आयुर्वेद अध्ययन संस्थान खोलेर आफैं शैक्षिक भवन बनाइसकेको अवस्थामा रामदेवलाई जग्गा दिनु विश्वविद्यालयको हितमा हुन नसक्ने उनले बताए । ‘विश्वविद्यालयको ३ सय २५ बिघा जमिन अतिक्रमण भएको छ । आयुर्वेद अस्पताल, क्वार्टर, गर्ल होस्टेल, औषधि प्रशोधन केन्द्र हामी आफैंले बनाउने हो,’ उनले भने, ‘यसका लागि जग्गा पुग्दैन । रामदेवलाई जग्गा कुनै पनि हालतमा दिन मिल्दैन । जग्गाप्रति रामदेवले नराम्रो दृष्टिकोण राखेका छन् ।’

बनेका पूर्वाधारको विश्वविद्यालयले नै पैसा तिरेर पाउने गरी ४० वर्षलाई भाडामा दिने तयारी भइरहेको ढकालले बताए । सभामा प्रस्ताव पास नभएपछि त्यसयता कार्यकारी परिषद्मा कहिल्यै पनि यस विषयमा छलफल नभएको उनले बताए । ‘सभामा प्रधानमन्त्रीले जिम्मा लिन्छु भन्नुभयो तर त्यसबारे के भएको छ भन्नेबारे विश्वविद्यालयको आधिकारिक संयन्त्रलाई थाहा छैन,’ उनले भने, ‘दाङको जडीबुटी लिएर वीरगन्जमा लैजाने तर त्यसमा हाम्रा विद्यार्थी, शिक्षक सहभागी हुन नपाउने गरी तयारी भइरहेको छ । संरचनामा पनि विश्वविद्यालयको स्वामित्व नहुने । यो कुरा मान्य हुँदैन ।’

रामदेव नेपालका ९६ प्रकारका जडीबुटीमा आधिपत्य जमाउने योजनाअनुसार विश्वविद्यालयको जग्गामा प्रवेश गर्न खोजेको विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा भागवतप्रसाद शर्माले बताए । ‘रामदेव र प्रधानमन्त्री दाहालबीच छिटै जग्गा दिने मौखिक सहमति भएको कुरा बाहिर आएको छ । यसले संस्कृत विश्वविद्यालयलाई धाराशयी बनाउँछ,’ उनले भने, ‘रामदेवले नेपालका जडीबुटी भारतमा लिएर व्यापार गर्ने योजना बनाएको देखिन्छ । जग्गा दिने काम जसरी पनि रोकिनुपर्छ ।’