‘चक्कर’ खेल्दै ऋचा र अर्पण

कान्तिपुर संवाददाता

काठमाडौं — नायिका ऋचा शर्मा र नायक अर्पण थापा नयाँ फिल्ममा आउने भएका छन् । राजधानीमा बिहीबार ‘चक्कर’ को शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ ।

उक्त फिल्मलाई अनुष्क रौनियारले निर्देशन गर्दै छन् । यसअघि रौनियारले ‘काठमाण्डू ककटेल’ निर्देशन गरेका थिए । जुन यतिबेला सम्पादनको चरणमा रहेको छ । ‘चक्कर’ सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा र एवानराज उप्रेतीको पनि अभिनय रहनेछ ।

आगामी वर्षको सुरुवातमा रिलिज लक्ष्य राखेर फ्लोरमा उत्रेको ‘चक्कर’ मा पाँच मुख्य पात्रबीच चल्ने र घट्ने संघर्षको कथालाई पस्किइएको छ । फिल्ममा अर्पण पुलिस इन्स्पेक्टरको भूमिकामा देखिनेछन् भने सिर्जना र स्मृति लेस्वियन जोडीका रूपमा अभिनय गर्ने बताइएको छ । फिल्मकै लागि भनेर अस्ट्रेलियादेखि आएकी गायिका स्मृति यसै फिल्मबाट अभिनयमा डेब्यु गर्ने सुरसारमा छिन् । पहिलो फिल्ममा नै लेस्बियनको भूमिका निर्वाह गर्न लागेकी उनले सिड्नीमा छँदा आफ्ना साथी नै लेस्वियन रहेकाले पनि चरित्र चित्रणमा आफूलाई समस्या नपर्ने जिकिर गरिन् । मुहूर्तमा ऋचा भने अनुपस्थित रहिन् । 

राजधानीको गौशालास्थित एक होटलमा सेट लगाएर सुटिङ आरम्भ गरिएको ‘चक्कर’ लाई दावा लामा र किशोर थापामगरले निर्माण गर्न लागेका हुन् । रविन आचार्यको छायांकन, उत्तम न्यौपाने पाश्र्व ध्वनि रहेको फिल्मलाई मूलधार र फेस्टिभल लक्षित गरी बनाउन लागिएको निर्देशक रौनियारले बताए ।