कँडेलको खण्डकाव्य

कान्तिपुर संवाददाता

काठमाडौं — प्राध्यापक घनश्याम कँडेल तेस्रो खण्डकाव्य ‘धृतराष्ट्र’ सहित आएका छन् । शनिबार राजधानीमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा वासुदेव त्रिपाठीले कृति सार्वजनिक गरे ।

समालोचक डा. रामप्रसाद ज्ञवालीले कँडेलको काव्यिक विशेषता र उनको व्यक्तित्व माथि प्रकाश पारे । चर्चित विषय या पात्रमाथि काव्य लेख्नु सजिलो र कठिनाइ दुवै हुने ज्ञवालीले बताए । कँडेलले भने यस्ता समस्या टारेर उत्कृष्ट कृति ल्याएको दाबी गरे । 

लामो समय प्राध्यापनमा सक्रिय कँडेललाई गुरुको सम्बोधन गर्दै उनको कृतिमाथि बोल्ने सबै वक्ताले सम्मान प्रकट गरेका थिए । ज्ञवालीले सुनिरहेको विषय उठान गरेर त्यसमा मौलिकता झल्काउन सक्नु कँडेल गुरुको अद्भुत काव्यिक क्षमता भएको दाबी गरे । समालोचक डा. ताराकान्त पाण्डेयले परम्परावाद र समसामयिकतालाई समेटेर मौलिक विचार ल्याउन सक्नु नै कँडेलको खण्डकाव्यको विशेषता रहेको सुनाए । साहित्यकार डा. मोदनाथ प्रश्रित, प्रा.डा महादेव अवस्थी, प्रा.डा कुमार कोइराला, प्रा.डा देवीप्रसाद गौतम, डा. यज्ञेश्वर निरौला, देवी नेपाल लगायतले कँडेलको कृतिमाथि विचार राखे । 

त्यस्तै, गायक रामकृष्ण दुवाल, कवि प्रभा भट्टराई र भुवनहरि सिग्देलले खण्डकाव्यका अंश वाचन गरेर सुनाए । कँडेलका यसअघि ‘देवयानी’, र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यसँगै कविता, समालोचना गरी ११ कृति प्रकाशित छन् । ऐरावती प्रकाशनले नयाँ खण्डकाव्य बजारमा ल्याएको हो । अनुष्टुप छन्दमा रचिएको खण्डकाव्यमा ‘कृतज्ञान ज्ञापन’, ‘अन्धत्व चेत’, ‘संवेदनाहीनहरूप्रति’, ‘सत्तास्वप्न’, ‘स्वप्नभङ्ग’, ‘अप्रत्यासी राज्यप्राप्ति’, ‘युद्धको त्रासदीपछि’, ‘समाहार’ शीर्षकका काव्य रचना छन् । कार्यक्रममा भेरी साहित्य समाजले ताम्रपत्र र दोसल्लासहित कँडेललाई सम्मान गरेको थियो ।