हराउँदै गहना

प्रशान्त माली

ललितपुर — शिरबन्दी, भिम्पुमा:, न्हासिचा:चालगायत नेवारी गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् । सामान्य अवस्थामा पनि लगाइने यी गहना अहिले चाडपर्वमा समेत देखिन छाडेका छन् ।

नेवारीबाहेक अन्य समुदायमा पनि प्रचलित परम्परागत यी गहना अहिले चलचित्र, नृत्यमा बाहेक देख्न सकिँदैन । यस्ता परम्परागत गरगहना जीवित देवी कुमारी, देवी नाचमै सीमित भएका छन् । गलामा लगाउने भिम्पु, तायोमा: लगायत माला पुराना पुस्ताका महिलाले भने छाडेको छैनन् । पञ्चबुद्धको प्रतीकका रूपमा लिइने तायोमा: सुन, नीलो रत्न भिम्पु आदिबाट बनेको हुन्छ । यो बच्चाको पास्नी, इही, बाह्रा (गुफा राख्ने) मा पनि प्रयोग हुन्छ ।

ठेचोकी सरस्वती माली दसैंमा हुने संस्कृतिक पर्व, पूजामा यी गरगहनाले सजिएर ‘पि:सी:’ टोलीको नगर परिक्रमा गर्ने अगुवा महिला हुन् । नेवार समुदायमा यसको ठूलो महत्त्व रहेको उनी बताउँछिन् । ‘गरगहना लगाउने रहर भएर मात्र हुँदैन,’ उनले भनिन्, ‘आर्थिक अवस्थाले पनि भ्याउनुपर्छ । सधैं र सबै लगाउन गाह्रो पर्छ ।’ उनी चाडपर्व र भोजभतेरमा मात्र यी गहना लगाउँछिन् । उपत्यकाका नेवार समुदायका महिलाहरूले केशमा लगाउने सिन्चा, लुस्वाँ:, न्यापुसिख: का साथै निधारमा लुसिन्ह, लुची लगाउँछन् । कानमा ढुङ्ग्री, न्हातिका, माक:सि:, तुकि, तायोतुकि, गसी सिख लगाउँछन् ।गलामा कंथी, तायो:, तायोमा, भिम्पुमा:, हातमा त्व:, सिंहख्वा:, पञ्चरत्नको चुल्या:, कल्या, प्युचा:, क्वय् चुरा त्यसैगरी औंला र खुट्टामा पनि छुट्टाछुट्टै गहना लगाउने चलन छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाइ वज्राचार्यले शिरबन्दी, ढुङ्ग्रीलगायत परम्परागत गरगहनाको प्रयोग कम भए पनि नहराएको बताए । पाटनढोका बालिफस्थित सुन पसलमा यस्ता गरगहना बनाउन आउनेको संख्या घटेको छैन । वज्राचार्य भन्छन्, ‘सुन, रत्नलगायत गरगहना भएकाले पनि जोसुकैले लगाउँदैन ।’

‘चाडपर्व, विवाह भोज र विशेष कार्यक्रममा मात्र यो सीमित छ,’ उनले भने, ‘पुख्र्यौली गरगहना प्राय: महिलाहरूले बनाएर भने राखेका हुन्छन् ।’ उनले नयाँ पुस्ताका युवती परम्परागत गरगहना फेसनका रूपमा कहिले–काहीं लगाउने गरेका बताए ।

पुरुषले कानमा लगाउने न्हासीचा:चा छोरालाई दीघार्युको कामना गरी लगाउने एक प्रकारको गहना हो । यो कानको माथिल्लो भागमा लगाइन्छ । त्यसमा भिंपु र मोतीसमेत राखिएको हुन्छ । अहिले यो पनि हराइसकेको छ ।

‘जंकु चा:चा’ बुढापास्नी सकिसकेका बूढाबूढीहरूले मात्र कानमा लगाउने सुनको रिङ हो । अधिकांश बूढाबूढी (ज्येष्ठ) ले यो गहना भने अझै लगाइरहेको देख्न सकिन्छ । नेवार समुदायमा आयुका हिसाबले ५ पटकसम्म बुढा पास्नी गर्ने चलन छ । यो जतिपटक पास्नी गरिन्छ । त्यति वटै जुंकचा:चा लगाउने गरिन्छ । यो हेरेर कतिपटक पास्नी गरेको भनी सजिलै थाहा पाउन सकिन्छ । तुकी: माला जात्रा, पर्व वा कुनै संस्करमा नभए पनि सधैं लगाइने सादा वा बुट्टा भएको सुनको गहना हो । यो अधबैंसे महिलाहरूले अझै फाट्टफुट्ट लगाएको देख्न सकिन्छ । ढुङ्ग्री, शिरबन्दी, भिम्पुमा, न्हासिचा:चालगायत गहना विभिन्न किसिमको डिजाइनमा बनाइन्छ ।