सिड्नीमा गाँठो

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — भिन्न कथावस्तुमा निर्माण गरिएको भनिएको फिल्म ‘गाँठो’ अस्ट्रेलियामा रेड कार्पेट प्रिमियर गरिएको छ ।

फिल्मका कलाकारसहित गरिएको रेड कार्पेट प्रिमियर हाउसफुल भएको थियो । 

सिड्नीमा रहेको कमेरो इभेन्ट्सले अस्ट्रेलिया भित्र्याएको फिल्मको प्रिमियरका लागि आएका अभिनेता नाजिर हुसेन, निर्देशक सुरज भुसाल र निर्माता तिलक क्षत्री यतिबेला अस्ट्रेलियामै छन् । फिल्मको प्रदर्शनीबाट उत्साहित उनीहरूलाई शनिबार मुलुक फिर्दैछन् । उनीहरूको उपस्थितिमा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा कलाकारहरूले दर्शकहरूको मायाका साथै हुटिङ पाएका थिए । कलाकारलाई दर्शकले ताली बजाएर स्वागत गरेका थिए । पछिल्लो समयमा नेपाली फिल्मको रेड कार्पेट प्रिमियर गर्ने क्रम बढ्दै गएको छ । 

सिड्नीमा रहेको इभेन्ट सिनेमामा गरिएको प्रिमियरमा दर्शकको राम्रो उपस्थितिमा प्रदर्शन भएको आयोजक संस्थाका राजीव भुसालले जानकारी दिए । प्रदर्शनमा आएका दर्शकसँग कलाकारहरूले अन्तरक्रियासमेत गरेका थिए भने फोटो खिच्नेको भीड पनि त्यत्तिकै थियो । फिल्मलाई दर्शकहरूले मन पराएपछि बुधबार सिड्नीमै थप शो गरियो । 

फिल्मलाई मेलबर्न र ब्रिसवनमा समेत प्रदर्शन गरिने आयोजक संस्थाका भुसालले जनाए । पहिलोपटक अस्ट्रेलिया आएका अभिनेता हुसेनले अस्ट्रेलियामा दर्शकले दिएको मायाले आफूलाई यस क्षेत्रमा अझ केही गर्न हौसला मिलेको बताए । उनले यहाँका दर्शकले नेपाली फिल्म र कलाकारलाई अत्यन्तै माया गरेको अनुभव सुनाए । फिल्म हेरेर फर्किएका दर्शकले नेपाली फिल्म क्षेत्रमा अत्यन्तै फरक फिल्मको अनुभव गरेको र विदेशमा निर्माण हुने फिल्मकै तुलनाको भएको प्रतिक्रिया दिएका थिए ।