नेपाल–रुस काव्यिक साँझ

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल–रूस मैत्री सम्बन्धको ६० वर्ष पुगेको अवसरमा गत फेब्रुअरीदेखि कमलपोखरीको रूसी सांस्कृतिक तथा विज्ञान केन्द्रमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

सेप्टेम्बर २५ मा केन्द्रको परिसरमा ग्रिगोरी पोतोस्कीद्वारा निर्मित रूसी साहित्यकार पुस्किनको मूर्ति अनावरण गरेसँगै दुई देशका सांस्कृतिक कार्यक्रमलाई तीव्रता दिइएको छ । 

शुक्रबार नेपाल–रूस काव्यिक साँझमा नेपालका दुई कवि मोमिला र विक्रम सुब्बाले आ–आफ्ना रचना वाचन गरे भने रूसी कवि भिक्टर जुएभले पनि आफ्ना दुइटा कविता सुनाए । नेपाल–रूस साहित्य समाजले गरेको कार्यक्रममा भिक्टरका ‘चौबाटो’ र ‘कहानी पहिलो प्रेमको’ लाई समाजका अध्यक्ष प्रा.डा. जंगब चौहानले नेपालीमा उल्था गरिदिएका थिए । 
मोमिलाले दुई दशकअघि लेखेको ‘पैँयु फुल्न थालेपछि’ कविता सुनाइरहँदा कवि भिक्टरले त्यसको रूसी अनुवादित वाचन गरे । कवि सुब्बाको ‘गीत जिन्दगीको’ लाई रूसी लेखक तान्या अस्तासेभाले उल्था गरिदिएकी थिइन् । नेपाली र रूसी स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रममा रूसी सांस्कृतिक केन्द्रका निर्देशक स्तानिस्लभ सिमाकोभले दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक सहकार्यले अझ मजबुत बनाउने बताए । 

सोही बेला आयोजक समाजका उपाध्यक्ष विष्णुबहादुर सिंहको ‘कविताका रङ’, कृष्णप्रकाश श्रेष्ठको ‘सृष्टिवर्णन’ र उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’ नामकका पुस्तक लोकार्पण गरियो । रूसी भाषामा समेत अनुवादित सिंहको ‘मित्रताको गाँठो’ शीर्षकको कवितालाई रूसी पत्रकार एवं लेखक मारिना जामोतिनाले वाचन गरेकी थिइन् । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जुजुकाजी रञ्जितले भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिको एक पंक्ति ‘ईश्वर तैंले रचेर फेरि...’ गुन्गुनाएका थिए । कार्यक्रममा रूसी लेखक संघले प्रा.डा. चौहान र साहित्यकार सिंहलाई पुस्किन पदक प्रदान गरेको थियो ।