‘सुनजस्तै महँगो नुन’

आयोडिनयुक्त नुन १ सय २० रुपैयाँ किलो, अधिकांशले तिब्बती ढिके नुन प्रयोग गर्छन्
चाडपर्वको मुखमा चामलको मूल्य पनि अकासियो
वसन्तप्रताप सिंह

बझाङ — तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो ।

ढुवानी भाडाले आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । ‘नुन पनि सुनजस्तै महँगो भयो, आयो नुन त अब हुनेखानेले मात्र प्रयोग गर्छन्,’ काँडा धुली गाउँका लालसिंह बोहराले भने, ‘महँगो भएकाले सबैले त्यो नुन खान सक्ने अवस्था छैन ।’
 
गाउँका केही परिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरिरहेको र अरू बाँकी तिब्बती ढिके नुनकै भरमा बाँचिरहेको उनले बताए । तिब्बतबाट भेडामा ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ छ । आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ । 

खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो भएको यहाँका व्यापारी जयपाल लामाले बताए । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनको भनाइ छ ।

‘भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न जान्छ,’ उनले भने, ‘भाडा नै त्यति तिरेपछि हामीले कतिमा बेच्नु ? यहाँ पोकाको नुन खान सक्ने परिवार नै कम छन् ।’ खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको छ ।  

धुलीमा झन्डै ४ सय परिवारको बसोवास छ । त्यहाँका बासिन्दा सरकारले विभेद गरेको गुनासो गर्छन् । ‘पिच रोड पुगेको सदरमुकाममा ९ रुपैयाँमा नुन पाइन्छ,’ काँडाका मानबहादुर बोहराले भने, ‘तर जिल्लाकै दुर्गम गाविसको हालत यस्तो छ । ढुवानी अनुदान त यस्ता दुर्गम गाविसलाई दिनुपर्ने हो ।’

आर्थिक रूपमा सम्पन्न परिवार बस्ने ठाउँमा सरकारले अनुदान दिएको तर दुर्गमका गरिब र विपन्नले ढिके नुन खानुपर्ने बाध्यता रहेको उनले बताए । काँडा गाविस बझाङ सदरमुकाम चैनपुरबाट ३ देखि ५ दिनसम्मको पैदल दूरीमा पर्छ । सबैभन्दा नजिकको गाउँ धलौन पुग्न चैनपुरबाट झन्डै ३ दिन हिँड्नुपर्छ भने सबैभन्दा टाढाको गाउँ बलौडी पुग्न ५ दिनको पैदलयात्रा गर्नुपर्छ । काँडा गाविस क्षेत्रमा ८० प्रतिशत ढिके नुन नै प्रयोग गर्ने गरेकाले आयोडिनको अभावमा अपांगता (गलगाँड, सुस्तमनस्थिति) को समस्या छ ।

चामलको मूल्य अकासियो 
दसैंको मुखमा चामलको मूल्य पनि अकासिएको छ । ढुवानी भाडा महँगो भएकाले  खाद्य संस्थानले सस्तोमा दिने चामल पनि ४/५ गुणा बढी तिरेर खानुपरेको काँडावासीको गुनासो छ । संस्थानले ३३ रुपैयाँ किलोमा बिक्री गरिरहेको चामलको मूल्य काँडामा पुग्दा १ सयदेखि २ सय रुपैयाँसम्म पर्ने स्थानीय सुनीता बोहराले बताइन् । 

काँडावासीको समस्या समाधान गर्न सरकारले नुन र चामल वितरण डिपो राख्नुपर्ने र यसका लागि गाविसका तर्फबाट पहल भइरहेको गाविस सचिव धनबहादुर घर्तीले बताए । यातायात सञ्जालमा नजोडिएको र जिल्लाकै दुर्गम गाविस भएकाले सरकारले दिने अनुदान सुविधा पाउनुपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी सुनील खनालले काँडामा नुन र चामलको डिपो स्थापना गर्नका लागि आफूले पनि आवश्यक समन्वय गर्ने बताए ।