कुटुम्बको धुनसित नेवारी परिकार

कान्तिपुर संवाददाता

काठमाडौं — साँझ छिप्पिँदै थियो। कोही हातमा परम्परागत नेवारी रक्सी ऐलाको प्याला उठाउँदै थिए, कोही चाखेर मुख मिठ्याउँदै।

‘अहो, क्या कडा’ कोही भन्दै थिए। छेवैमा रहेका सेफ पासाङ लामाले भने मुस्कुराउँदै उपस्थित पाहुनाहरूको अनुहारको भाव पढ्दै थिए। स्टलमा भने नेवारी परिकार छोयला, कचिला, योमरीदेखि साँधेको आलु र बारा लगायत ज्रिबो रसाउने गरी सजिएका थिए। ऐलाको सट्टा विदेशी वाइन पिउने मेसो पनि मिलाइएको थियो। नेवारी परिकारको मौलिकतासँग मिल्ने गरी उता स्टेजमा भने कुटुम्ब ब्यान्डले नेपालीपन झल्कने मिठो सांगीतिक धुन पस्किरहेको थियो। 

कान्तिपुर पब्लिकेसन्सको एमएन्डएस भिडियो म्यागेजिनले शनिबारको माहोल यसरी रोमान्टिक बनाइरहेको थियो, कुपन्डोलस्थित होटल समिटको परिसरमा, जहाँ ‘भीम्याग विकेन्ड्स एपेक्स डिजिटल फुड फेस्ट’ आयोजना गरिएको थियो। हप्ताभरिको कामकाजी थकान मेटाउन उपयुक्त माहोलमा रमाउनेहरूको भीड थियो। म्युजिक र फुडको स्वादसँगै दर्शकले मनोरञ्जन लिएका थिए।फेस्टमा नेवारी स्पेसल परिकार राखेर एकातिर सांस्कृतिक पहिचान झल्काइएको थियो भने अर्कोतिर संगीतको मौलिकता। होटलमा आएका विदेशी पाहुनाले पनि फेस्टको भरपुर आनन्द उठाएका थिए। ‘यस्तो फेस्टले टुरिजमको प्रमोट पक्कै हुन्छ,’ कार्यक्रम उद्घोषक आलोक थापा भन्दै थिए, ‘संगीत र फुड नै हो संस्कृति चिनाउने माध्यम।’ 
एमएन्डएस भीम्याग विकेन्ड्सको उद्देश्य पनि यसरी नै मान्छेको जीवनशैली पस्किनु हो, जसरी म्यागेजिनमा लाइफस्टाइल पढेर पाठकले आनन्द लिन्छन्, उसैगरी प्रत्यक्ष फेस्टिभलमा आएर जीवन शैलीको महसुस गराउन यस्तो कार्यक्रम राखिएको आलोकले सुनाए। कुुटुम्ब ब्यान्डले बाँसुरी, सारंगी, टुङना, मादल लगायतका बाजाको धुनमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेको थियो।संगीत र परिकारको स्वादसँगै होटल डेकोरेसन पनि नेवारी शैलीमै ढालिएको थियो। तोरीको साग, खुर्सानीको माला, फर्सी जस्ता तरकारी झुन्ड्याएर होटलको सौन्दर्य बढाइएको थियो। पूरै स्टेज नै टिपिकल नेपाली घर देखिन्थ्यो। एमएन्डएस भिम्याग विकेन्ड्सले १६ हप्तासम्म यस्तै विभिन्न जीवनशैलीसँग सम्बन्धित कार्यक्रम गर्छ। जसमध्ये, फुड फेस्टिभल तेस्रो हप्ताको कार्यक्रम हो। फुड स्पेसल कार्यक्रमचाहिँ अन्य चार फाइभ स्टार होटलमा प्रदर्शन गरिने बताइएको छ।