'निर्भीक' पत्रकार

पर्वत पोर्तेल

काठमाडौं — मुलुकले यो साता दुईजना आदर्श पुरुष गुमायो । भूविक्रम नेम्वाङ र डिल्लीराम निर्भीक । संयोगले दुवै झापाका परे । नेम्वाङले नेपाली कांग्रेसलाई मलजल गरे । निर्भीकले नेपाली पत्रकारिताको ‘जग’ बसाले । विसं १९९५ माघ २ गते इलामको शान्तिपुरमा आँखा उघारेका थिए, निर्भीकले ।

मुलुकले यो साता दुईजना आदर्श पुरुष गुमायो । भूविक्रम नेम्वाङ र डिल्लीराम निर्भीक । संयोगले दुवै झापाका परे । नेम्वाङले नेपाली कांग्रेसलाई मलजल गरे । निर्भीकले नेपाली पत्रकारिताको ‘जग’ बसाले ।

विसं १९९५ माघ २ गते इलामको शान्तिपुरमा आँखा उघारेका थिए, निर्भीकले । ७८ वर्षपछि राजधानीको बिजुली बजारमा उनले सदाका लागि आँखा चिम्लिए । परिवारका अनुसार उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । सँगसँगै पछिल्लो समय ब्रेन ट्युमरले थलिएका थिए । सफल शल्यक्रिया पनि भयो । तर अन्त्यमा उनको मृत्युको कारण त्यही बन्यो ।

इलाम छाडेर झापा झर्दा निर्भीक ११ वर्षका थिए । २०१३ सालदेखि झापाको धुलाबारी मावि (तत्कालीन त्रिभुवन वीर मिडिल स्कुल) मा पढाइ सुरु गरे । त्यहाँबाट ८ पास गरे । भद्रपुर माविमा ९ कक्षा पढे । शनिश्चरे माविबाट २०२० सालमा एसएलसी गरे । त्यही समयदेखि पत्रकारिता र साहित्यमा उनको रुचि बढ्दै गयो । मेची क्याम्पस भद्रपुर र बनारसको हरिश्चन्द्र कलेजबाट उनले उच्चशिक्षा हासिल गरे ।

निर्भीक उच्च अध्ययनका साथै जीविकोपार्जनका लागि गाउँ पञ्चायतको सचिव हुँदै जिल्ला र अञ्चल पञ्चायतको वर्गीय संगठनको संयुक्त सचिवसमेत बने । पछि राजीनामा दिएर पत्रकारितामा ‘करिअर’ बनाउने निधो गरे । त्यो बेला पत्रकार लगभग थिएनन् । यो पेसाप्रतिको आकर्षण पनि थिएन । सबैको विकर्षणको विषयमै निर्भीकले हामफाले । २०२२ सालबाट उनले औपचारिक रूपमा पत्रकारिता थालेको पाइन्छ । गोरखापत्र दैनिकले उनलाई मेची अञ्चल ‘कभरेज’ गर्नेगरी जिम्मेवारी दिएको थियो । ‘नेपाल सन्देश’ नामको पत्रिकामा पनि काम गरे । राष्ट्रिय समाचार समितिमा सहायक प्रतिनिधि पनि बने । करिब एक दशकजति उनले समाचारदाताका रूपमा काम गरी अनुभव बटुले ।

समाचारदाताको रूपमा धेरै पत्रिकामा काम गरेपछि उनले सोचे, ‘अरुको पत्रिकामा मात्रै कति काम गर्ने ? आफै पत्रिका किन नछाप्ने ?’ त्यो सोचलाई उनले तत्काल यथार्थमा बदले । तसर्थ तत्कालीन राजा वीरेन्द्र शाहको २८ औं जन्मोत्सवको सन्दर्भ पारेर २०२९ पुस १४ गतेको शुभसाइतमा उनले आफ्नै सम्पादकत्वमा ‘सिद्धार्थ’ पाक्षिक पत्रिकाको प्रकाशन थाले भद्रपुरबाट ।

२०३७ सालमा सिद्धार्थलाई साप्ताहिक बनाए । सिद्धार्थ २०४७ मा अर्धसाप्ताहिक बन्यो । अचानक दैनिक पत्रिका सञ्चालन गर्ने सोच आएछ । सिद्धार्थलाई नै दैनिक बनाउन त सकेनन् । तर २०३९ साल असार १३ गते तत्कालीन युवराज दीपेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मेची अञ्चलमै पहिलो दैनिक पत्रिका ‘हिजोआज’ आरम्भ गरे ।

अञ्चलकै जेठो पत्रिकाको नियमित प्रकाशन ५० को दशकपछि ठप्प भो । ‘हिजोआज’ पत्रिका सुरु गर्नु अघिको एउटा रोचक प्रसंग छ । तत्कालीन नेपाल पत्रकार संघको केन्द्रीय सदस्यको हैसियतमा निर्भीक केन्द्रीय महाधिवेशनमा भाग लिन राजधानी गएका थिए । तत्कालीन राजा वीरेन्द्रले महाधिवेशन उद्घाटन गरेका थिए । त्यही मौकामा निर्भीकले राजाको ‘दर्शनभेट’ पाएछन् । अनि विन्ती विसाएछन्, ‘झापाबाट दैनिक पत्रिका प्रकाशन गर्न खोजेको सरकार, एक लाख रुपैयाँ धरौटी राख्ने व्यवस्था छ, धरौटी राख्न नसक्ने भइयो, धरौटी मिनाहा पाऊँ ।’ निर्भीकको विन्तीपछि राजाले तत्काल आफ्ना एडीसीलाई बोलाएर दैनिक पत्रिका प्रकाशन गर्ने व्यवस्था मिलाइदिनु, धरौटी रकम अब नलिनु भनेपछि हिजोआज पत्रिका जन्मिएको रहेछ । ‘राजाले त्यति नगरेको भए झापाबाट दैनिक पत्रिका निस्कने नै थिएनछ’, पुराना पत्रकार घनेन्द्र शर्माले भने ।

निर्भीक धेरै पत्रकारका आदर्श गुरु थिए । निर्भीकसँग पत्रकारिता सिकेकाहरूले अहिले नेपाली पत्रकारितालाई ‘लिड’ गरिरहेका छन् । सिद्धार्थ पत्रिकामा निर्भीकसँगै काम गरेका भद्रपुरका पत्रकार गोपाल गिरीले भने, ‘निर्भीक नेपाली पत्रकारिताको जग बसाउने मध्येका एक हुनुहुन्छ ।’

पञ्चायती व्यवस्थामा पत्रकारिता गर्नु फलामको चिउरा चपाउनु जस्तै थियो । उनले तीन दशकभन्दा लामो समय पञ्चायती व्यवस्थामै गुजारे । निर्भीक आफूलाई सधंै ‘स्वतन्त्र’ ठान्थे । तर उनको भित्री निष्ठा राजतन्त्रप्रति नै थियो । पञ्चायतका शासकहरूसँग उनको राम्रै उठबस पनि थियो भनिन्छ । यद्यपि उनी राजतन्त्रका ‘मतियार’ भने थिएनन् । नेपाल प्रेस इन्ष्टिच्युटका पूर्वअध्यक्ष गोकुल पोखरेलले ‘नेपाली पत्रकारितामा निर्भीक’ अभिनन्दन ग्रन्थमा उल्लेख गरेका छन्, ‘राजतन्त्रप्रति आस्था भए पनि पञ्चायती व्यवस्थाताका हुने गरेका भ्रष्टाचार र विसंगति विरुद्ध उहाँले पत्रकारितामार्फत सधंै खबरदारी गर्नुभयो ।’

समाचार लेखेकै कारण जेल जाने सम्भवत: पहिलो पत्रकार हुन्, निर्भीक । २०३१ सालमा सिद्धार्थ पत्रिकाले छाप्यो, ‘प्रहरीद्वारा महिलाको हत्या’ शीर्षकको समाचार । लगत्तै अञ्चलाधीशको कार्यालयले पक्राउ गर्‍यो । ‘शान्ति सुरक्षा’का कारण देखाए पनि विषय महिला हत्या प्रकरण नै थियो । गुपचुप गर्न खोजिएको हत्या घटनालाई निर्भीकले पत्रिकामार्फत भण्डाफोर गरेका थिए । करिब ५ महिना झापा कारागारमा बिताएपछि राजाकै जन्मोत्सवमा छुटे ।

उनको खास नाम डिल्लीराम शर्मा लुइँटेल हो । पत्रकारितामा प्रवेश गरेपछि डिल्लीराम निर्भीक बनेका हुन् । उपाध्याय बाहुन परिवारका भए पनि उनी जातपात र छुवाछूतको कट्टर विरोधी थिए । मान्छेको दुइटामात्रै जात हुन्छ भन्ने उनको निष्कर्ष नै थियो । त्यो समयमै नेवार समुदायकी पार्वती कर्माचार्य (गोपाल कर्माचार्यकी दिदी) सँग अन्तरजातीय बिहे गरेका निर्भीक यो मानेमा ‘क्रान्तिकारी’ पनि थिए ।

पत्रकारितासँगै निर्भीकको साहित्यिक चेत पनि सशक्त थियो । धुलाबारीमा पढ्दादेखि नै उनले साहित्य लेखन सुरु गरेका थिए । शनिश्चरेमा १० कक्षा पढ्दै गर्दा विद्यालयको मुखपत्र ‘उषा’मा उनको पहिलो कविता छापियो । बनारसबाट निस्कने ‘आमा’मा कविता र पटनाबाट निस्कने ‘नेपाल सन्देश’मा ‘एकै शिरका दुई शरीर’ शीर्षकमा लामो लेख प्रकाशित भो । सिलिगुडीको ‘बाडुली’, दार्जिलिङको ‘आँखा’जस्ता पत्रिकामा पनि उनका साहित्यिक रचना बाक्लै छापिन्थे । वैकुण्ठे कौशिक, डिल्लीराम शर्माका नामबाट साहित्यमा उनले पहिचान बनाएका छन् ।

‘साहित्यबाटै लेखन सुरु गरेका उनले कालान्तरमा पत्रकारितालाई आफ्नो पहिचानको माध्यम बनाउनुभो’, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले भने । कलवलगुडीमा भएको प्रजातान्त्रिक पत्रकारहरूको भेलाले निर्भीककै संयोजकत्वमा नेपाल पत्रकार संघ गठन गरेको थियो । ‘झापाको र समग्र देशकै पत्रकारितामा निर्भीकको योगदान ठूलो छ’, निर्भीकका समकालीन पत्रकार नकुल काजीले भने ।

झापाको प्रेस पत्रकारिता व्यवसायमा एसएल शर्मा, बसन्तकुमार खड्का, श्यामकृष्ण उपाध्याय, स्वयम्भूलाल श्रेष्ठ, डा. ऋषिकेश उपाध्यायहरू ‘जेठा पुस्ता’ थिए । निर्भीक, नकुल काजी, गोविन्दचन्द्र क्षत्री लगायत ‘माइलो पुस्ता’ । निर्भीकका समकालीन काजीले सम्झिए, ‘हाम्रो कार्यशैली फरक भए पनि दृष्टिकोणचाहिँ उहाँसँग लगभग मिल्थ्यो ।’ निर्भीकको आजभोलि र काजीको विवेचनाबीच बेला-बेला जुहारी पनि चल्थ्यो ।

निर्भीक प्रेस काउन्सिल नेपालमा दुई कार्यकाल सदस्य भएका थिए । दर्जनभन्दा बढी मुलुक घुमे । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पनि जिते । नेपाल प्रेस इन्स्टिच्युट लगायतका सञ्चार सम्बद्ध संघ-संस्थामा लामै समय आबद्ध रहे ।

निर्भीक ज्ञानेन्द्रको ‘शाही कू’लाई समर्थन गर्ने पत्रकारको पंक्तिमा उभिएर आलोचित पनि बने । राजतन्त्रप्रति पुरानो सम्बन्धका कारण पनि उनले शाही कदमलाई समर्थन जनाएका होलान् सायद । झापाको भद्रपुर ८ मा निर्भीकको बसोबास थियो । विगत तीन वर्षदेखि उनी स्थायी रूपमै राजधानी बस्दै आएका थिए । राजधानीमै बसे पनि उनको घर र जमिन झापामै छ । पातलै भए पनि आउजाउ गरिरहन्थे । जमिन, घर र पुराना ‘लंगौटिया यार’ सम्झिएर अब कहिल्यै आउने छैनन्, निर्भीक ।