'राता मकै'काे जन्मदिनमा दहीचिउरासँगै सुशासन बहस

कान्तिपुर संवाददाता

काठमाडौं — बर्थ डे मनाउने आ–आफ्नै शैली हुन सक्छ । कोही सेलिब्रेटी अनाथालयमा खुसी साट्न पुग्छन्, कोही सामाजिक सहयोगका लागि अग्रसर हुन्छन् । यस्तै भिन्न बर्थ डे मनाउँदै आएका छन् हास्य कलाकार किरण केसी । ‘ए राता मकै’ थेगोबाट परिचित यिनले हरेक वर्ष आफ्नो जन्मदिनमा केही नौलो गरिरहेकै हुन्छन् ।

बर्थ डे मनाउने आ–आफ्नै शैली हुन सक्छ । कोही सेलिब्रेटी अनाथालयमा खुसी साट्न पुग्छन्, कोही सामाजिक सहयोगका लागि अग्रसर हुन्छन् । यस्तै भिन्न बर्थ डे मनाउँदै आएका छन् हास्य कलाकार किरण केसी । ‘ए राता मकै’ थेगोबाट परिचित यिनले हरेक वर्ष आफ्नो जन्मदिनमा केही नौलो गरिरहेकै हुन्छन् । 

असार पन्ध्रमा जन्मेका यिनले हरेक वर्ष गर्दै आएको दही चिउरा पार्टी र कलाकार सम्मानसँगसँगै यसपटक सुशासनको सन्दर्भ जाडेर बहस चलाए । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्यान्डमा बुधबार ‘सुशासनका लागि हास्यव्यंग्य’ विषयमा बहस चलिरहेको बेला कलाकारहरू कोही दही चिउरा खाँदै थिए, कोही फोटो सेसनमा रम्दै । कला क्षेत्र र सुशासनबीचको अन्तरसम्बन्धबारे बहसमा उत्रिनेहरूमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठदेखि कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा, कलाकारहरू सन्तोष पन्त, धुर्मुस–सुन्तली, मनोज गजुरेल, दीपकराज गिरी, संगीतकार शम्भुजित बाँस्कोटा, साहित्यकार अमर न्यौपाने लगायत ।

‘लोकतन्त्रपछि हराएको शब्द भनेको सुशासन हो,’ सञ्चारकर्मी थापाले भने, ‘र मौलाएको शब्दचाहिँ भागवण्डा । यस्तो अवस्थामा कला क्षेत्रबाट हुने खबरदारीले खास अर्थ राख्न सक्छ ।’ थापाले ‘सहमति’ र ‘पार्टीगत भागवण्डा’ कै कारण मुलुकमा सुशासन गुमिरहेको दाबी गर्दै यसविरुद्ध कला क्षेत्रबाट सचेतना अभियान चलाउन सकिने सुझाए । ‘मैले कुनै समय महजोडीको नाटक ‘विज्ञापन’ हेरेको थिएँ, जसमा २५ मतको तुजुकले निकै हंगामा मच्चाएको थियो,’ थापाले सम्झे, ‘त्यस्तै व्यंग्यात्मक प्रस्तुतिहरू निर्माण हुनु जरुरी छ ।’ पत्रकारितामा पनि सुशासन क्षेत्रमा दख्खल राख्ने थापाले १२ महिना सुस्ताएर बजेट सिध्याउनकै लागि असारमा काम गर्ने प्रवृत्ति अहिले विकासको बाधक बन्दै आएको समेत सुनाए । वरिष्ठ हास्य कलाकार श्रेष्ठदेखि साहित्यकार न्यौपानेसम्मले थापाको मतलाई समर्थन गर्दै कला क्षेत्र सचेतनातिर अझ बढी डोहोरिनुपर्ने बताए ।

स्टेजमा यसरी सुशासनको चर्को बहस भइरहेको भए पनि कार्यक्रममा सहभागी कलाकारहरू भने ‘रमाइलो मुड’ मा बढी उत्रिएका थिए । उनीहरू बहसतिर भन्दा पनि पत्रकारका क्यामेरातिर बढी केन्द्रित थिए । दीपाश्री निरौलादेखि झरना थापासम्मका सेलिब्रेटीहरू फोटो सेसन र सेल्फीमा व्यस्त देखिन्थे । लय संग्रौलाको कार्यक्रम प्रस्तुति शैली पनि बढी नै अनौपचारिक भएकोले हल गम्भीरतातिर मोड्नै सकेन । यस्तै रमाइलोबीच दीपाश्री निरौला हातमा केही कोसेली बोकेर स्टेजतिर लम्किन् । बुधबारदेखि ५९ वर्ष लागेका किरणलाई दीपाश्री, जितु नेपाल र दीपेन्द्र खनियाँ लगायतको टोलीले ३ किलोको काँचो कुखुराको मासु उपहार चढाए । हास्य टेलिसिरियल ‘ब्रेक फेल’ मा किरणले स्थापित गरेको ‘चिकेन चिल्ली’ थेगोसँग मेल खानेगरी उनीहरूले बर्थ डे गिफ्ट दिएका हुन् ।

यसरी रमाइलोतिर मोडिनु अघि भने कार्यक्रममा कलाकार वसुन्धरा भुसाल र कोमल वलीलाई सम्मान गरिएको थियो । चार वर्षदेखि जन्मदिनको अवसरमा कलाकार सम्मान गर्दै आएका किरणले यसपटक भुसाल र वलीलाई छानेका हुन् । प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले दुवैलाई सम्मानपत्र, दोसल्ला र जनही दस हजार रुपैयाँ अर्पण गरे । ‘हुन त जन्मदिन व्यक्तिगत नै हो,’ बर्थ डे ब्वाई किरणले भने, ‘तर केही वर्षदेखि यसलाई सामाजिक बनाउँदै आएको छु । बर्थ डे पार्टीको नाममा हुने फजुल खर्चलाई सामाजिक अर्थसहित प्रयोग होस् भन्ने मेरो ध्येय हो ।’ यसपटक यस्तै अर्को सामाजिक अर्थसहितको कार्य पनि गरे किरणले । उनीसँगै अर्का हास्यकलाकार शिवहरि पौडेलको पहलमा उठेको ५ लाख ५४ हजार रुपैयाँ सम्बन्धित दाताहरूमार्फत नै धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गराए किरणले । काभ्रेको पहरी बस्तीपछि सिन्धुपाल्चोक गिरानचौरमा अर्को नमुना गाउँ बनाइरहेको हास्य जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले स्थापना गरेको फाउन्डेसनको प्राय: वक्ताहरूले प्रशंसासमेत गरे । धुर्मुस–सुन्तलीले आफ्नो कार्यको थप व्याख्या पनि गर्न भ्याए । यसपछि असार १५ को समेत सन्दर्भ पारेर कलाकारहरू दही–चिउरामा रमे ।