तमलोपा महाधिवेशन नवलपरासीमा

बसन्त बस्नेत

काठमाडौं — तराई मधेस लोकतान्त्रिक पार्टीले पहिलो राष्ट्रिय महाधिवेशन गौतम बुद्धको मामाघर नवलपरासी रामग्राममा गर्ने भएको छ । असार ६ गते उद्घाटन हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

बुधबार सञ्चारकर्मीसँग संक्षिप्त भेटमा ठाकुरले महाधिवेशनका लागि प्रधानमन्त्री केपी ओलीलगायत सबै दलका नेतालाई निम्तो पठाइनेसमेत बताए । यसअघि फागुनको कांग्रेस महाधिवेशन तथा वैशाखमा भएको फोरम लोकतान्त्रिकको महाधिवेशन भने तमलोपासहित सबै मधेसवादी दलले बहिष्कार गरेका थिए ।

तमलोपा महामन्त्री तथा प्रचारप्रसार तथा सञ्चार समिति संयोजक जितेन्द्र सोनलले बुधबार पार्टी मूख्यालयमा पत्रकारसित छलफल कार्यक्रममा भने, ‘गौतम बुद्धको मामाघर भएको क्षेत्र ऐतिहासिक रूपमा महत्त्वपूर्ण हुँदाहँुदै पनि आर्थिक, सामाजिक दृष्टिकोणले एकदमै पिछडिएको हुनाले सबैको ध्यानाकर्षण गराउने गरी रामग्रामलाई रोजेका हौं ।’

सोनलले चीन, म्यानमारलगायत बुद्ध धर्म मान्ने देशका समेत प्रतिनिधि उक्त महाधिवेशनमा पुग्ने हुनाले त्यसको महत्त्व रहेको उल्लेख गरे । सबै मधेसवादी दलले महाधिवेशनलगायत मुख्य गतिविधि पूर्वी मधेसमा केन्द्रित गर्दैगर्दा तमलोपाले भने मध्य तराईमा आफ्नो गतिविधि बढाउँदै आएको छ ।

तीन दिन चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाका तीनसहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र चार सय पर्यवेक्षक आउने सोनलले जानकारी दिए । भारत, चीन, युरोपेली युनियन, बंगलादेश, चीन, म्यानमारलगायत विभिन्न देशका प्रतिनिधि निम्ता गरिएको दलले जनाएको छ ।

तमलोपाले विधान, नीति कार्यक्रमलगायत दस्तावेज तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ । तमलोपा महाधिवेशनका लागि वृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समिति, वृषेशचन्द्र लालको नेतृत्वमा राजनीतिक दस्तावेज तयारी समिति र सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिले काम गरिरहेका छन् ।

तमलोपाले महाधिवेशनको नारा ‘संघर्ष, समानता और सम्मान का, मधेसी राष्ट्रकी पहचान का’ तयर गरेको छ । २०६४ सालमा स्थापित तमलोपा पहिलो पटक महाधिवेशन तयारीमा जुटेको हो ।  महाधिवेशन तयारीका कारण तमलोपाले राजधानीमा जारी संघीय गठबन्धनको अनशनमा भाग लिन नभ्याएको प्रस्टीकरण दिने गरेको छ । तर मधेसी मोर्चाभित्रको अन्तर्विरोध यसको कारक रहेको बुझिएको छ ।