बन्दीपुरबाट कीर्तिपुर हेर्दा...

डा. तारालाल श्रेष्ठ

काठमाडौं — तनहुँको पुरानो सदरमुकाम बन्दीपुर र काठमाडौं सहर नजिकको पुरानो सहर कीर्तिपुरबीच केही समानता छन् । तर, ठूलो असमानता छ– एउटा सहर ब्युँतिइसक्यो, अर्को प्रतीक्षामै छ ।

नयाँ वर्षमा कीर्तिपुरबाट सबेरै उठेर बन्दीपुर बास बस्ने गरी बाटो लागेँ । अनुसन्धान उद्देश्यसँगै घुमफिरको कौतूहल पनि थियो । टुरिस्ट मात्रै बोक्ने बसको गतिमा अवरोध थिएन । बसभरि काठमाडौँ बस्ने बन्दीपुरे थिए, मबाहेक । महिलाको सङ्ख्या झन्डै तीन तिहाई ।

बन्दीपुरे महिलाका वाचालतामा बन्दीपुरको वैभव झल्किन्थ्यो । कुरो जता बहकिए पनि बन्दीपुरमै आएर अडिन्थ्यो । विस्केट जात्रा, विशेष मेला, रैथानेदेखि प्रवासिएका बन्दीपुरे विविध चरित्र चित्रण । बाटोभरि बाहिर नयाँ वर्षको रौनक, बसभित्र बन्दीपुरमय माहोल थियो ।  

ठाउँको प्रभाव बसबाट झर्नेबित्तिकै लाग्यो, संसारमै नभए पनि नेपालकै सबैभन्दा स्वच्छ सहर सायद बन्दीपुर नै हो । मौलिक सहरको नमूना पनि । ठाउँले मान्छेको मनमा मात्रै होइन स्वभावमा पनि प्रभाव पार्दो रहेछ । बन्दीपुर बजार पस्नेबित्तिकै कर्मथलो कीर्तिपुर सम्झिएँ ।  

कीर्तिपुरको सुन्दरतामाथि कुरूपता हावी हुँदै गरेको दृश्य झलझली देखेँ । प्राचीनतम प्राकृतिक सहर हो, कीर्तिपुर । उपत्यकामा सबैभन्दा पछाडि परेको सहर पनि । पर्यटनले पटक्कै नपत्याएको सहर । कीर्तिपुर किन पर्यटकीय गन्तव्य बनेन भन्ने यक्ष प्रश्न उब्जियो, एकाएक ।  

बन्दीपुरको ‘ब्युटी’बारे कीर्तिपुर फोन गरेर वर्णन गर्न थालेँ । परम्परागत पेगोडा शैलीका घरहरू । नेपाली–नेवारी पोसाकमा सजिएका परिचारिका कोही पाहुनालाई स्वागत गर्दै छन् । कोही लगेज गुडाउँदै बसपार्कबाट विदेशी पाहुनालाई ल्याउँदै छन् । कोही पाहुना बिदाइ गर्न बसपार्क जाँदै छन् । बजारभरि न धूवाँ छ, न धूलो । न मोटरको हर्न बजेको सुनिन्छ, न होहल्ला । चहलपहल भने बाक्लो छ । बन्दीपुरबाहिर बसोबास गर्ने बन्दीपुरेहरू मात्रै होइन, विदेशी–स्वदेशी पाहुनाको घुइँचो पनि उत्तिकै छ । लजमा कोठा नपाएर कतिपय पाहुना चिन्तित छन् । होम स्टेको कुरा गर्दै छन् ।  

क्यामेराका लेन्स परम्परागत घरहरूतिर सोभिँmदै छन् । मौलिक परम्परागत सजावट अझ बढी विशिष्ट छन् । मकैका झुत्ता, पाकेका फर्सी, अनाजका अनेक अस्तुहरू । घरभरि भित्रबाहिर झान्द्राङझुन्दु्रङ झुन्डिएका मौलिक नेपाली सरसामानहरू । भूकम्पबाट कत्ति पनि क्षति नपुगेका परम्परागत भवनहरू ।  

बन्दीपुर बजारको बाटोमा पूरै ढुङ्गा बिछ्याइएको छ । जहाँ सवारी साधन प्रवेश पूर्णरूपले निषेध छ । साइकलसमेत गुडेको देखिन्न । सहरभित्र स्वतन्त्र साँढेझैँ सडकभरि मानिस छन् । गोरा, गहुँगोरा, काला वर्णका पर्यटक, सराबरी, बराबरी । पूरै बजार रेस्टुराँका रूपमा स्थापित छ । खुला आकाशमुनि दुवैतर्फ आधा बाटोसम्म परम्परागत काठका कुर्सी–टेबलहरू सजिएका छन् । सडकमै हूलका हूल पर्यटक खानपिन गरिरहेका छन् । बाटामै आधारातसम्म ड्रिङ्क्स पार्टी । सभ्य, शान्त, पाका पर्यटक बढी ।  

विदेशी स्रष्टासँग आधा रातसम्म म पनि गफिएँ । इटालीका कला अनुसन्धाता लारा, लन्डनका लेखक, फ्रान्सकी आख्यानकारसँग गफिएँ । विश्वका अनगिन्ती अन्वेषक र अभियन्ता बन्दीपुरमा बास । आधा रातसम्म तिनका स्वाधीन गफ । विसङ्गत बिम्बभित्र बन्दीपुरको इतिहास खोतल्न थालेँ ।

बक्रिएको बजार बन्दीपुरबाट सदरमुकाम सर्‍यो, २०२५ सालमा । बजार पनि सर्‍यो । बस्ती बिलाउँदै गयो । बत्ती बाल्ने मानिस पनि थिएनन् अरे । केही किसान मात्रै बाँकी बसे । २०३६ सालमा अलिकता चहलपहल बढ्यो । ३७ सालमा बन्दीपुर क्याम्पस खोलियो । अनि नेट्रोडम नामक स्कुल आयो ।

२०४९ सालमा काठमाडौँ बस्ने बन्दीपुरेले चिजकुमार श्रेष्ठको नेतृत्वमा विकास समूह बनाए– बन्दीपुर सामाजिक विकास समिति । २०५८ सालतिर अर्किड ट्रयाक खोलियो । २८ किसिमका बन्दीपुरे अर्किडको संरक्षण कार्य थालियो । अर्किडका फूलको फोटो खिचेर पोस्टकार्ड बनाइयो । २०६३ सालमा बजारभित्र बाटोमा ढुंगा छापियो । नेपाल भ्रमण वर्षमा सरकारले पर्यटकीय प्वाइन्टका रूपमा सूचीकृत गर्‍यो ।  अनि इको कल्चर प्रोजेक्ट आयो । मास्टर प्लान बन्यो, १५ वर्षे कार्ययोजनासहित । १५ वर्षभित्र भित्र्याउने टार्गेट गरेको पर्यटक ५ वर्षमै बन्दीपुर आए । पर्यटकीय बजार विस्तार भयो ।

धौलागिरि, तीनवटै अन्नपूर्ण, फिस्टेल, लमजुङ, मनास्लु, बौद्ध हिमाललगायत १९ हिमचुचुराहरूमात्रै होइन आकाश खुलेका दिन बन्दीपुरबाट लाङटाङको रेन्जसम्म देखिन्छ । वर्षमा अहिले १ लाख २० हजारसम्म पाहुना भित्रिन थालेका छन् । स्वदेशी पाहुनाको आवगमन, शैक्षिक भ्रमण अझ बढी । सिद्धगुफामा ४ सय चानचुन मिटरसम्म भित्र मानिस पस्न थाले । बन्दीपुर बजारबाट भुजेल बस्तीसम्म सवा घन्टे ट्रेकिङ चल्यो । परम्परागत जीवनशैली अवलोकनले पर्यटक आकर्षित गर्‍यो ।  

पश्चिमतर्फ पूरै मगर बस्ती । रामकोटजस्ता नमुना गाउँ । जहाँ परम्परागत बस्ती, संस्कृति जीवित छ, होम स्टे पनि । दक्षिणतर्फ सवा घन्टामा पुगिने, पूरै गुरुङ बस्ती । हिलेखर्क, धरमपानी, झारगाउँमा पनि होम स्टे रहेछन् ।  पर्यटन एकाएक फस्टायो । पहिले निवृत्त वर्गलाई टार्गेट गरिएको थियो ।

बेलायती, अमेरिकी बूढाबूढी आएर वर्षौं बन्दीपुर बस्न थाले । कतिले बन्दीपुर मन परेर अर्काको नाममा घरै किनेर पनि बसेका रहेछन्, विदेशी । कोही विदेशी ४–५ वर्षदेखि बन्दीपुरमै बसिरहेका रहेछन् । केही दिनलाई सोचेर आउने पाहुना, केही हप्तै बस्दा रैछन्, बन्दीपुरमा । अहिले इतिहासको मृत सहर भन्ने शब्द सुन्न नचाहने बन्दीपुरे थुप्रै भेटेँ । उनीहरू भन्छन्, मृत होइन सुतेर उठेको सहर हो, बन्दीपुर । बन्दीपुरको इतिहास पनि उस्तै । मुकुन्द सेन बास बसेको ४ सय वर्ष पुरानो गढी त्यही छ, मुच्चुक बागथल । खड्गदेवी मुकुन्दसेनकै खड्ग राखेर बनेको मन्दिर मानिन्छ । फूलपातीका दिन प्रत्येक वर्ष यहाँ जात्रा लाग्छ, खड्ग प्रदर्शनसहित ।

सारा समुदाय, दलितसहित ९ दिन उपवास बस्छन् । प्रत्येक पर्व तथा मेलामा बन्दीपुर वरिपरिका ३३ गाउँका मानिस सहभागी हुन्छन् । वरपर धेरै थोक (गढी) छन् । त्यसमध्यको ठूलो थोक हो, बन्दीपुर । पहिले भारतसम्म र मनाङ, मुस्ताङ हुँदै तिब्बत पुग्ने व्यापारिक केन्द्र बन्दीपुरै थियो । भोटे कुकुर, जडिबुटी, जनावरको छाला, भालुको पित्त बेच्ने नाका पनि । टोनी हेगेनले पनि काठमाडांैपछि पूर्वमा चैनपुर र पश्चिममा बन्दीपुर सबैभन्दा मिलेको बजार भनेर लेखेको भेटिन्छ । बजार सुहाउँदो बुटिक सेटका होटल हेरिरहुझैं छन्, बन्दीपुरमा । पहिले भताभुङ्ग घरहरूलाई नभत्काईकन जस्ताको तस्तै मोडेलमा रिइन्नोभेट गरिएका घरहरू । सिमेन्टका आधुनिक घरहरू बनाउनै नपाइने नियम । घरमा सटर राख्न पूरै बन्देज । काठकै परम्परागत ढोका हुनुपर्ने नीति ।  

प्याराग्लाइडिङको थप व्यावसायिक उडान, डुम्रेबाट केबुलकार, टुडिखेलबाट जिप फ्ल्यायर मार्फत २–४ मिनेटमै डुम्रे पुर्‍याउने परिकल्पना, फरक उमेर समूहमैत्री पार्क, सङ्ग्राहलय निर्माण, फ्री वाइफाई जोनजस्ता थप योजनाले भविष्यमा बन्दीपुर अझ बढी वैभवशाली बन्ने निश्चित छ ।  

कीर्तिपुर परिकल्पना बन्दीपुरको वैभव देख्दा सायद सबै गैरबन्दीपुरेलाई आफ्नो गाउँ–ठाउँको विकास खट्किन्छ । बन्दीपुरमा बास बस्दा जन्मथलो मकवानपुर र कर्मथलो कीर्तिपुर याद आयो । विशेषत: बन्दीपुर र कीर्तिपुर दाँज्न थालेँ ।  बन्दीपुर र कीर्तिपुरमा धेरै समानता छ । दुवै सहर उचाइमा अवस्थित छन् । प्राकृतिक रूपले स्वत: सफा, स्वच्छ र सुन्दर । जहाँबाट प्राय: सबै हिमालहरू देख्न सकिन्छ ।

कीर्तिपुरमा अझ के छैन ? काठमाडौँबाट जम्मा ५ किमिको दूरी, धेरै गुम्बा र मन्दिरले सुसज्जित प्राचीनतम सहर । नेपाल संवत् २१९–२४६ मा निर्मित बागभैरव मन्दिर । मध्यकालीन चिलन्चो स्तूपा । उमामहेश्वर र मच्छेनारायण मन्दिर । कीर्ति विहार । चम्पादेवी मन्दिर । तिब्बती गुम्बा । थाई विहार । विशाल त्रिभुवन विश्वविद्यालय परिसर । अन्य अनेक वैभव बेवारिसे अवस्थामा छन्, कीर्तिपुरमा ।  बन्दीपुर र कीर्तिपुर दुवै नेवार बाहुल्य बस्ती हुन् । यद्यपि, भिन्नता भनिसाध्य छैन । बन्दीपुरबाट फर्किएपछि कीर्तिपुरको परिक्रमा गरेँ । कीर्तिपुरको फोहोर देखेर आत्महत्या गरौँझै लाग्यो ।

विश्वविद्यालय परिसर पनि लथालिङ्ग छन् । प्लास्टिकको कुरै छाडौँ । प्रयोग गरिएका कन्डमसमेत यत्रतत्र देखिन्छन् । परम्परागत नेवारी बस्ती उस्तै अस्तव्यस्त । डोरबहादुर विष्टले हिजो कीर्तिपुर डाँडामा निकै फोहोर सोहोरे अरे । अहिले पनि कीर्तिपुर डाँडाले थुप्रै डोरबहादुर विष्टहरू खोजिरहेको छ । थुप्रै संस्कृतिविद् खड्किरहेको छ ।

कीर्तिपुर डाँडालाई पनि आधुनिक, प्लास्टविहीन र रङरोगनरहित मौलिकता मास्ने घरहरूले घेरिसकेको छ ।  के छैन कीतिपुरमा ?अति प्रसिद्ध चोभार छ, पूर्वमा । पहिले कीर्तिपुर–चोभार जोडिएको सुरुङ वारपार गर्न पनि एक महिना लाग्ने इतिहास जनबोलीमा भेटिन्छ । भित्र बुद्ध र शिवको मन्दिर छन् अरे । मातातीर्थ छ, पश्चिममा । उत्तरमा अवस्थित छ, विशाल विश्वविद्यालय । पृथ्वीनारायण शाहले युद्ध गरेको स्थल, ऐतिहासिक चिहान पनि (जहाँ लासलाई परालले छोपेर आगो लगाई घर फर्किइन्छ, अर्को दिन हुबहु मान्छेकै आकारमा खरानी मात्रै बाँकी हुन्छ, भाजङ्गलमा) पनि यहीं छन् ।  

कीर्तिपुर डाँडामा पोखरी, कुवा, इनार, ढुङ्गेधाराहरू पनि थुप्रै छन्, संरक्षण छैन । कीर्तिपुरमा बाह्रै महिना बाह्रै किसिमका फरकफरक जात्रा मनाइन्छन् । वाल क्लाइम्बिङका लागि नैकाप र कीर्तिपुरबीच अवस्थित खोंच उपयुक्त छ, जहाँ मिनी बन्जी जम्प गर्न पनि मिल्छ । प्याराग्लाइडिङका लागि चम्पादेवी र चोभारजस्ता स्थान पनि छन्, भस्मेश्वर डाँडासम्म पुग्नु पनि पर्दैन । मौलिक विशेषताको कमि छैन, कीर्तिपुरमा । मात्र परिकल्पना र व्यवस्थापनको कमी छ ।  

जुन बेला काठमाडौँ, भक्तपुर र ललितपुरै अस्तित्वमा थिएनन्, दह मात्रै थियो । कीर्तिपुर भने अस्तित्वमा थियो सायद, स्वयम्भू र चोभारका थुम्कोझैँ । लिच्छवी राजा शिवदेव तृतीयले नेपाल संवत् २१९ मा आफ्नो कृति नगरका रूपमा स्थापना गरी कीर्तिपुर नामकरण गरिदिएको पनि एक हजार वर्षभन्दा बढी भइसक्यो । तैपनि कीर्तिपुर कसरी कमजोर भयो ? यसका पछाडि ऐतिहासिक महाभूल पृष्ठभूमिमा आउलान् । यद्यपि, अब कीर्तिपुरले पर्यटकीय विकासको बाटोमा बुर्कुसी मार्नुको विकल्प छैन ।

मौलिक संस्कृति र परम्परा बचाउ अभियानसँगै कीर्तिपुर डाँडामा सरसफाइ मात्रै गर्ने हो भने विदेशी पर्यटक बढ्न सक्छन् । कीर्तिपुरदेखि थानकोट, दहचोक, मच्छिनारायण, पुष्पलाल पार्क, चोभार, टौदह, बुङमती, खोकना, दक्षिणकालीसम्म ट्रेकिङ । चम्पादेवी, भस्मासुर, चद्रागिरी, चित्लाङसम्म हाइकिङ । थानकोटदेखि दक्षिणकालीसम्म भित्तैभित्ता साइकिलिङ । प्रतियोगिताका लागि चोभार अझ सबैभन्दा उत्तम स्थल । पुष्पलाल पार्कबाट भस्मासुर डाँडासम्म भर्टिकल दौड । चम्पादेवी, भस्मासुर र चन्द्रागिरीमा संसारकै अग्लो हिमाल सगरमाथासमेत हेर्ने पर्यटकको भीड लाग्ने दिन कीर्तिपुरले कुरिरहेको छ ।

कीर्तिपुर डाँडा एउटै ढुङ्गामाथि अवस्थित छ, जहाँ नब्बे सालको भूकम्पमा एउटै घर भत्केनन् । एकजना पनि मान्छे हताहत भएनन् । २०७२ सालको भूकम्पमा पनि नम्बे साल खेपेका घरसमेत भत्किएनन् । जहाँ घरहरू बिनाजगमै पनि बनेका छन् ।

कीर्तिपुर डाँडामा पुराना बाह्र ढोका (गढ) थिए । अहिले एउटा मात्रै अस्तित्वमा छ । यी बाह्र गढ (ढोका) मात्रै बचाउन सके कीर्तिपुरको मौलिक वैभव बच्ने थियो । गढ पर्खाललाई पुनर्निर्माण गर्न सके सुनमा सुगन्ध थपिने थियो । जसका लागि निदाइरहेको नगरपालिका गतिशील भएर मात्र हुन्न नागरिक पनि प्रगतिशील हुनुपर्छ । यो बन्दीपुर ‘भर्सेस’ कीर्तिपुरको कुरा होइन । बन्दीपुरभन्दा बढी पर्यटक आउने सहर बन्न सक्छ, कीर्तिपुर । सरोकारवालालाई चेतना भया ।