युगकविको राजनीतिक चेतना

सन्दर्भ : सिद्धिचरणको जन्मजयन्ती
डा. माधव सापकोटा

काठमाडौं — युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९—२०४९) आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रवर्तक हुन् । उनले १९९१ मंसिर ८ गतेको गोरखापत्रमा ‘साहित्यिक नेपाल’ शीर्षकको कविता प्रकाशन गरी नेपाली कवितामा स्वच्छन्दतावादी धाराको प्रवर्तन गरेका हुन् ।

हक आफ्नो खुसी साथ हुँदैन है प्राप्ति 
गर्नुपर्छ जनताले आन्दोलनमा
आन्दोलन क्रान्तिबाटै मिल्छ अधिकार
इतिहास सारा गर्छन् यै कुरा स्वीकार
यसै साल मङ्सिर १५ गतेको गोरखापत्रमा लक्ष्मीप्रसाद देवकोटाले ‘पूर्णिमाको जलधि’ कविता प्रकाशन गरी यस धारालाई गति दिने कार्य गरे । 

नेपाली कविताको इतिहासमा १९९१–२०१६ को अवधिलाई स्वच्छन्दावादी काव्यधारा मानिएको छ । यस धाराको प्रारम्भ सिद्धिचरण वा देवकोटा कसले गरे भन्ने कुरा अलि गम्भीर छ । १९९१ सालमा देवकोटाको भन्दा सिद्धिचरणको स्वच्छन्दतावादी कविता एक हप्ता पहिला छापिएकाले सिद्धिचरण प्रवर्तक र देवकोटा सहप्रवर्तक ठहर्छन् । युगकवि सिद्धिचरणको साहित्यिक स्रष्टा व्यक्तित्व जति उल्लेख्य छ, त्यत्तिकै उनको जेलजीवन र राजनीतिक व्यक्तित्व पनि उल्लेख्य छ । सिद्धिचरणले १९९४ सालमा नेपाल भाषामा ‘वर्षा’ शीर्षकको कविता लेखे । यो कविता फत्तेबहादुर सिंहद्वारा सम्पादित ‘नेपाली विहार’ (१९९५) पुस्तकमा छापियो । ‘क्रान्ति विना थन दैमखु स्वच्छ शान्ति’ (क्रान्ति विना यहाँ हुँदैन स्वच्छ शान्ति) भन्ने क्रान्तिकारी विचारको प्रस्तुतिले तत्कालीन शासन व्यवस्थाले ‘नेपाली विहार’ जफ्त गर्‍यो । 

नेपालको साहित्यमा सर्वप्रथम स्पष्ट र सचेत रूपमा क्रान्तिको सन्देश यसै कविताले दिएको छ । सिद्धिचरण १९९७ सालमा जेल पर्नुका कारणहरूमध्ये यो पनि एक थियो । यस कविताको नेपाली अनुवाद नेपाल भाषाका सुप्रसिद्ध कवि वैकुण्ठप्रसाद लाकौलले गरेका हुन् । सिद्धिचरणले ‘विश्व व्यथा’ शोक काव्यको आठौं अनुच्छेदमा ‘हडताल’ शब्दको प्रयोग भएका कारण ‘शारदा’ पत्रिकाबाट उक्त अनुच्छेद निकालियो । ‘हडताल’ शब्दको प्रयोग गर्नु पनि सिद्धिचरण जेल पर्नुको अर्को कारण बन्यो ।यसै क्रममा महावीर स्कुलमा संलग्न भई राजनीतिक क्रियाकलापमा लागेको आरोपमा १९९७ कात्तिक २ गते त्यस स्कुलका संस्थापक चिनियाँलाल सिंह लगायत त्यसमा लसपस भएकाहरूलाई पक्राउ गरियो । सिद्धिचरण पनि त्यस स्कुलमा संलग्न भएकाले पक्राउ परे । १९९२ सालको अन्त्यतिर प्रजापरिषदका पर्चाहरू देखापरे । ती पर्चाहरू महावीर स्कुलबाट प्रसारित भएको आशङ्कामा उनीहरूलाई पक्राउ गरियो ।१९९० सालको महाभूकम्पपछि सिद्धचरणको गङ्गालाल, दसरथ चन्द, टङ्कप्रसाद आचार्य आदिसँग सम्पर्क भएको थियो । १९९३ सालमा नेपाल प्रजापरिषदको स्थापनापछि उनीहरूसँग सिद्धिचरणको राम्रो सम्बन्ध कायम भयो । सिद्धिचरण प्रजापरिषदमा त थिएनन् । तर उनलाई पनि प्रजापरिषदमा रहेको आशङ्का गरियो । उनी साहित्यका माध्यमबाट राणाविरोधी अभियानमा भने लागेकै थिए । 

यिनै विविध कारणले गर्दा १९९७ कात्तिक २ गते उनको घरमा खानतलासी गरियो र घरबाट चार बोरा कागजपत्र र प्राचीन हस्तलिखित सामग्रीसहित उनलाई सिंहदरबार चलान गरियो । ८३ दिनपछि १९९७ माघ ८ गते सिद्धिचरण श्रेष्ठ लगायत त्यहाँ थुनामा परेकाहरूलाई कैद र सजाय यस्तो सुनाइएको थियो ।शुक्रराज– अंश सर्वस्व, ज्यान 
टङ्कप्रसाद– अंश सर्वस्व, मुडी, दामल 
रामहरि– अंश सर्वस्व, मुडी, दामल
दसरथ चन्द– अंश सर्वस्व, ज्यान
धर्मभक्त– अंश सर्वस्व, ज्यान
गङ्गालाल– अंश सर्वस्व, ज्यान
पूर्णनारायण– अंश सर्वस्व, ज्यान
सिद्धिचरण– अंश सर्वस्व, १८ वर्ष कैद सिद्धिचरण जेलमा रहँदा २००१ सालमा बाबुको देहावसान भयो । उनलाई बाबुको काजकिरिया गर्नसमेत छुट्टी दिइएन । उनको सिर्जनशीलता भने जेलभित्र पनि कायमै रह्यो । उनले बाबुको सम्झनामा २००१ सालमा ‘तर्पण’ शीर्षकको कविता रचे । उर्वशीको पहिलो खण्ड र ‘ज्यानमारा शैल’ खण्डकाव्य पनि जेलजीवनकै उपज हुन् । सिद्धिचरणको प्रयास र प्रेरणाको फलस्वरूप जेलमा एउटा साहित्यिक मण्डली बन्यो, जसमा चित्तधर ‘हृदय’, धर्मरत्न यमी, केदारमान व्यथित, हरिकृष्ण श्रेष्ठ आदि थिए । १८ वर्षको जेल सजाय सुनाइए तापनि उनी २००२ सालमा पाँच वर्षपछि जुद्धशमशेरको आदेशअनुसार जेलमुक्त भए ।युगकवि प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा राजनीतिक क्रियाकलापमा संलग्न छन् । उनका केही रचनामा तत्कालीन शासकहरूप्रति विद्रोह गरिएको छ । राणा विरोधी राजनीतिक क्रियाकलापको अभियोगमा १९९७ सालमा उनी जेल परे । उनी राजनीतिक व्यक्तिहरूका प्रेरक पनि हुन् । उनी सहिद गङ्गालाल र गणेशमान सिंहका प्रेरक व्यक्तित्वका रूपमा रहेको तथ्य पनि उल्लेख्य छ । 

सिद्धिचरणले ‘सहिद गङ्गालाल’ शीर्षकको लेखमा गङ्गालाल सिद्धिचरणको ‘चम्क युवक’ शीर्षकको कविताबाट अभिप्रेरित रहेको तथ्य अघि सारेका छन् । उक्त कविताको केही अंश यस प्रकार छ :
चम्क युवक चम्क न चम्क
छाती फुकाई लम्क न लम्क ।
यस कविताले गङ्गालालको क्रान्तिकारी मानसिकतामा अरू ऊर्जा थपिदियो । गङ्गालाल र सिद्धिचरण नजिकका दुई मित्र थिए । गङ्गालाल प्रत्यक्ष रूपमा क्रान्तिमा होमिए भने सिद्धिचरणले साहित्यका माध्यमबाट क्रान्तिकारी गतिविधि प्रस्तुत गरे । गणेशमान सिंहले सिद्धिचरणको ‘कारागारका सम्झना’ (२०५२) पुस्तकको भूमिका लेख्ने क्रममा सिद्धिचरण आफ्नो राजनीतिक जीवनको कठिन परिस्थितिमा मार्गदर्शक र प्रेरक रहेको तथ्य उजागर गरेका छन् । 

जस्तै : ‘मेरो राजनीतिक जीवनको कठिन परिस्थितिमा उहाँ नै मेरो मार्गदर्शक र प्रेरक हुनुभयो । मेरो राजनीतिक जीवनमा गणेशमानलाई गणेशमान बनाउने कार्यमा उहाँको अद्वितीय र अविस्मरणीय योगदान छ । कारागारको जीवनयात्रामा उहाँले मलाई निरुत्साह र पराजित मानसिकताबाट जोगाइ एउटा नयाँ जीवनदान दिनुभएको मेरो मनमस्तिष्कमा अझै पनि ताजै छ । 

यसरी नेपालको राजनीतिक इतिहासको प्रारम्भमै आफ्नो कवित्व शक्तिको माध्यमद्वारा क्रान्तिचेतना भर्ने र क्रान्तिकै प्रेरणाले उकास्ने कविका रूपमा नेपालको राजनीतिक र साहित्यिक इतिहासमा सिद्धिचरण एउटा सिङ्गो अध्याय हुनुहुन्छ ।’

डा. सापकोटाले युगकवि सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा विद्यावारिधि गरेका छन् ।