सधैं हात्तीछाप

कृष्ण आचार्य

काठमाडौं — यसै वर्ष सरकारले जुत्ता–चप्पल उद्योगलाई पनि मुलुकको निर्यात सम्भावना भएको वस्तुको सूचीमा राखेको छ ।

जुत्ता–चप्पल पनि निर्यात हुनसक्छ भनेर देखाउने उत्पादन भने गोल्डस्टार जुत्ता हो । तपाई—हामीले गाउँघरमा हिँड्दा सजिलो हुने यो जुत्ता १४ वर्षदेखि निरन्तर निर्यात भइरहेको छ भन्दा अचम्म लाग्न सक्छ । निर्यात हुनुमा ब्रान्ड र गुणस्तरको भूमिका मात्रै थिएन, यो उद्योगमा लगानी गर्ने नूरप्रताप जंगबहादुर राणाको निरन्तर मिहेनत प्रमुख कारण थियो ।

गोल्डस्टार जुत्ता नलगाए पनि पहिले—पहिले रेडियो सुन्नेका लागि ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ ‘उस्तै—उस्तै हो नानु’ भन्ने विज्ञापन सुनेको हुनुपर्छ । हो, त्यो हात्तीछाप चप्पल पनि राणाकै उत्पादन थियो । उक्त चप्पल उत्पादन गर्ने कारखाना राजधानीको धुम्बाराही र नारायण गोपाल चोकको बीचमा स्थापना गरियो । पछि चोकको नाम नै चप्पल कारखाना बन्यो । यो लोकप्रिय उत्पादन गर्ने र विदेशी बजारसम्म पुर्‍याउने उद्यमी राणाको गतसाता फोक्सोसम्बन्धी रोगका कारण निधन भयो । ‘नेपालमा पछिल्लो पुस्ताले जुत्तामा लगानी गर्न प्रेरणाको स्रोत नै उहाँ हुनुहुन्थ्यो,’ फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्याय भन्छन्, ‘कुल निर्यात हुने जुत्तामा राणाले नै स्थापना गरेको गोल्डस्टारको हिस्सा ९८ प्रतिशत छ ।’

२०३८ सालमा चप्पल उद्योग स्थापना गरेका राणालाई बजारमा उत्पादन ल्याउन एक वर्ष लाग्यो । तर उनले हरेस खाएनन् । ‘म एकदमै सानो थिएँ । उहाँ खालि हेटौंडा जानुहुन्थ्यो । पछि थाहा भयो, चप्पल उद्योग स्थापनाका लागि जानुभएको रहेछ,’ उनका छोरा अमिरप्रताप जंगबहादुर राणा सम्झन्छन्, ‘सुरुमा चप्पल बनाउने फर्मुला सेट नभएर उहाँ दिक्क हुनुभयो । वर्ष दिनपछि फर्मुला सेट भयो ।’ हात्तीछाप चप्पलमा सफलता हासिल गर्दै गएपछि उनले गोल्डस्टार उत्पादन सुरु गरेका हुन् । उनको लगानीका किसण सुज म्यानुफ्याक्चरले गोल्डस्टार र मोर्ड स्लिपर इन्डष्ट्रीले हात्तीछाप चप्पल उत्पादन गरिरहेको छ ।

गोल्डस्टारले उत्पादन गरेको केही वर्षमै निर्यातको बाटो खुला गर्‍यो । २०१५ सालदेखिको निरन्तर नूरप्रतापसँंग नजिकको सम्बन्धमा रहेका कांग्रेस नेता प्रकाशमान सिंहका अनुसार उनको मिहेनतले नै जुत्ता निर्यातको बाटोमा पुगेको हो । ‘मलाई उहाँकी श्रीमती गंगा राणाले चिनजान गराइदिएकी हुन् । गंगा महिला संघमा क्रियाशील थिइन्,’ सिंहले भने, ‘पारिवारिक रूपमा उहाँहरूका हरेक सुखदु:खका कुरा हुन्थे । नूरप्रतापले जुन क्षेत्रमा हात हाले, सफल पारेरै छाडे ।’ सिंहले सफल व्यापारीको रूपमा टिप्पणी गर्दै उत्पादनमूलक र बैंकिङ क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा नूरप्रतापले योगदान पुर्‍याएको बताए ।

उनको उद्योगबाट उत्पादित जुत्ता भारतीय सेनादेखि सर्वसाधारणले समेत प्रयोग गरे । सेनाले नै लगाउने भएपछि निर्यात गर्न थप सहयोग पुग्यो । नेपालमा त यो जुत्ताको त्यति धेरै ब्रान्डिङ नै गर्नुपरेन । २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सुरु गरेसँंगै गोल्डस्टारको ब्रान्डिङ झनै बढ्यो । माओवादी सेनाले यही जुत्ता बढी लगाउँथे । गोल्डस्टार जुत्ता लगाएकै कारण नेपाली सेनाले सर्वसाधारणलाई समेत निगरानीमा लिन्थ्यो ।

‘विज्ञापन गरेर र अन्य कारणले मात्रै ठूलो ब्रान्ड भएको हैन,’ छोरा अमिरको दाबी छ, ‘गुणस्तरले नै कहलिएको उत्पादन हो । जसमा बुबाको मिहेनत अधिक छ ।’ उनको मिहेनत जुत्ता/चप्पलमा मात्रै सीमित रहेन । नूरप्रतापकै अगुवाइमा कुमारी बैंकको स्थापना भयो । नूरप्रताप निरन्तर ९ वर्ष अध्यक्ष भए । बीचमा ४ वर्ष अध्यक्षमा बसेनन् । दुई महिना अघिसम्म उनी अध्यक्षमा थिए । जुत्ता र बैंकमा लगानी गर्नुपूर्व उनको व्यवसाय भने यातायात क्षेत्रको थियो । विक्रम संवत् १९९४ सालमा पाल्पामा जन्मिएका नूरप्रताप २४ वर्षको उमेरमा आयातकर्ता व्यापारी बने । २०१८ सालमा लुम्बिनी बससेवा कम्पनी खडा गरे । भारतबाट गाडीको ‘च्यासिस’ ल्याउँथे । सग्लो बस बनाएर आफैं सञ्चालन गर्थे । फाट्टफुट्ट अरूलाई बिक्री पनि गरे ।

पाल्पाको काभ्रेमा जन्मेका नूरप्रतापले लुकेर पढ्ने र उपत्यकामा छिर्न गरेको संघर्ष भने तत्कालीन राणा शासनसँंग जोडिएको छ । राणा शासनकालमा जंगबहादुरका परिवारलाई पढ्न र उपत्यका छिर्न निषेध थियो । पढेको र छिरेको थाहा पाए ज्यानको जोखिम थियो । नूरप्रताप जंगबहादुरको पाँचौं पुस्ता हुन् । उपत्यका छिर्न र पढ्न नपाउने भएपछि नूरप्रताप साक्षर बन्न भारत गए । भारतबाट हजुरबा इन्द्रप्रताप जंगबहादुर राणासँंग लुकेर काठमाडांै आए । ८ कक्षादेखि एसएलसीसम्मको अध्ययन जुद्धोदय विद्यालयमा गरे । २००७ को परिवर्तनपछि स्वतन्त्रपूर्वक हिँड्ने, डुल्ने र व्यवसाय गर्ने अवसर पाए । उच्च शिक्षा त्रिचन्द्र कलेजबाट गरे । ‘ब्याचलर’ गरेर पूर्णरूपमै व्यवसायमा होमिए । केही समयमा नेपालको धनाढ्यमा कहलिए ।

हाल उनले स्थापना गरेका आधा दर्जनभन्दा बढी कलकारखाना छन् । युनिभर्सल फर्मुलेसन फर्मास्युटिकल उद्योग, त्रिशूल ग्यास, थोप्पल खोला हाइड्रो पावर लगायत कृषिमा पनि उनको लगानी छ । ‘प्रत्यक्ष ५ हजार जनाले रोजगारीको अवसर पाएका छन्,’ बाबुसंँगै व्यापारमा संलग्न अमिरप्रताप भन्छन् । केही अघिमात्रै उनले नुवाकोटको ककनीमा अलैंची र स्ट्रबेरी खेती सुरु गरेका थिए ।

यस बाहेक सिमेन्ट उद्योग, एयरलाइन्स कम्पनी, हस्पिटल, होटल खोल्ने योजनामा थिए । ‘उहाँले योजना बुनिरहनुभएको थियो । सफल पार्न भ्याउनुभएन,’ अमिरले भने । उनको मृत्यु ‘आइएलडी’ रोगबाट भएको हो । यो रोग लागेपछि फोक्सो खुम्चँदै जान्छ । कोही डेढ—दुई वर्षसम्म बाँच्छन् । नूरप्रतापको रोग पत्ता लागेको १० औं दिनमा भारतको फोर्टेस हस्पिटलमा निधन भयो । उनका एक छोरा र एक छोरी छन् । छोराले व्यापार सम्हालिरहेका छन् । छोरी रक्षा राणा भने नेपालको पहिलो महिला पाइलट हुन् । उनकी पहिलो श्रीमती गायिका गंगा राणा हुन् । २१ वर्षअघि गंगाको मृत्यु भइसकेपछि उनले अर्को विवाह जानकी राणासँंग गरे ।

उनको बाल्यकाल पाल्पामा बितेको हुनाले सुरुमा सोही जिल्लाका लागि ‘नूरगंगा प्रतिभा पुरस्कार’ स्थापना गरे । हाल राष्ट्रिय स्तरको पुरस्कार भइसकेको छ । उनले परिवारका सदस्यलाई समेत थाहा नदिई कतिपय सामाजिक काम गरिरहेका थिए । त्यसमध्ये एक हो, बूढानीलकण्ठमा सञ्चालित बालगृह । छोरा अमिरले बाबुको मृत्यु भइसकेपछि श्रद्धाञ्जली दिन आउने मध्येबाट थाहा पाए, अनाथ बालगृह सञ्चालन गरेको, जहाँ ४६ जना बच्चा छन् । नूरप्रताप मृत्युको १३ औं दिनमा सबै बालबच्चा उनको घरमा आउँदैछन् ।