भदौमा ‘वीर विक्रम’

कान्तिपुर संवाददाता

काठमाडौं — केही साताअघि मात्रै फस्टलुक सार्वजनिक गरेको फिल्म ‘वीर विक्रम’ ले भदौ ३ लाई प्रदर्शन मिति निश्चित गरेको छ ।

स्टारकास्टका कारण प्रतिक्षित बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन र दीया पुन मुख्य भूमिकामा छन् । दिया यसै फिल्मबाट डेब्यू गर्दैछिन् ।

मिलन चाम्सद्वारा निर्देशित यस फिल्मलाई उनैले निर्माण गरेका हुन् । चाम्सले यसअघि एक्सन फिल्म ‘हँसिया’ पनि निर्देशन गरेका थिए । यसपटक भने उनले कमेडी जानरामा फिल्म तयार पारेको बताएका छन् । देशव्यापी रिलिजअघि नै फिल्मलाई चैत १५ मा हङकङमा प्रिमियर गरिने जनाइएको छ भने लगत्तै चैत २० मा बेलायतमा पनि शो गरिने भएको छ । फिल्मलाई काठमाडौमा गोविन्द शाही र गोपाल कायस्थ तथा मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन् ।

फिल्मका सार्वजनिक गरिएका चार पात्रको लुक्सलाई लिएर दर्शकमा उत्सुकता बढाएको छ । ‘वीर विक्रम’ ले एक गीत समेत युट्युबमार्फत् सार्वजनिक गरिसकेको छ ।