'मेरो धरहरा, म बनाउँछु'

प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने
जगदीश्वर पाण्डे

काठमाडौं — भुकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरुको सहयोगबाट पुनर्निर्माण हुने भएको छ । यसका लागि सरकारले मंगलवार 'मेरो धरहराः म बनाउँछु' अभियान सुरुवात गरेको छ ।

भुकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरुको सहयोगबाट पुनर्निर्माण हुने भएको छ । यसका लागि सरकारले मंगलवार 'मेरो धरहराः म बनाउँछु' अभियान सुरुवात गरेको छ ।

वैशाख १२ को भूकम्पले ढलेर बाँकि रहेको धरहराको ठूटो छेउमा उभिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले 'ऐतिहासिक धरोहर पुननिर्माण संकल्प' अन्तर्गत 'मेरो धरहरा, म बनाउँछु' अभियानमा मुलुक भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गरे । 

प्रभावशाली मन्त्रीहरू र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित काठमाडौंको सुन्धारा पुगेका प्रधानमन्त्री ओलीले भने,'धरहरा सरकार वा अन्य निकायले बनाउने होइन, यो मैले बनाउने हो । सम्पूर्ण नेपालीले बनाउने हो ।' 

सुन्धाराको कार्यक्रमलगत्तै साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण अभियानको औपचारिक निर्णय गर्दै सहयोग गर्न सम्पूर्ण  नागरिकहरुलाई अपिल गर्‍यो । सरकारमा प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार धरहरा निर्माण अभियानमा सबै मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले  औपचारिक कार्यक्रमबाटै आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका थिए । जनतालाई रकम जम्मा गर्न पुरातत्त्व विभाग र पुननिर्माण प्राधिकरण मिलेर बुधबार बैंक खाता खोल्ने भएका छन् । धरहरा निर्माणको औपचारिक शिलान्यास  वैशाख १२  हुने सञ्चारमन्त्री राईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले धरहरा ढले पनि नेपालीहरूको आत्मविश्वास, नेपालीहरुको इतिहास गौरव नढलेको बताए । 'हाम्रो राष्ट्र निर्माणको संकल्प ढलेको होइन । त्यसैले भूकम्पका कारण हाम्रा ऐतिहासिक धरोहर, भवनहरु बनाउन पुननिर्माण गर्नु पर्छ' उनले भने ।  

सरकारले भुकम्प दिवसको अवसर पारेर  गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुननिर्माण महाअभियानको सुरुवात गरेको थियो । बस्ती निर्माणको अभियानको त्यहि दिन खोकनाबाट प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । 'यो अर्को संकल्प हो । अर्को ऐतिहासिक धरोहर पुननिर्माणमा आजबाट फरक तरिकाबाट अघि बढाउन लागेका छौं । हाम्रा धरोहर, म बनाउँछु, हामी बनाउँछौं भनेर हामी सबै लाग्नु पर्छ,' प्रधानमन्त्री ओलीले भने । 

ओलीले विदेशी सहयोग सबै ठाँउमा खर्च नहुने बताए । उनले भने,'केहि हामी आफैले बनाउनु पर्छ, जस्तै अदालत र खास-खास ठाँउमा । विदेशी पैसा खर्च गर्देनौं । धरहरा सरकारी खर्चबाट पनि निर्माण गर्दैनौं । यो जनताको खर्चमा बन्ने हो ।' उनले आफ्नै सम्पदा, आफ्नै सम्पती, आफ्नै निर्माणका आधारमा जाने बताए । 

ओलीले धरहरा नेपालको पहिचान भएको बताए । 'यो नेपालको गौरव हो, नेपालको इतिहास हो । सबै नेपाली जनताले गौरव गर्ने गरि उस्तै बनाउने छौं,' उनले भने ।
उनले अब भन्ने धरहरा हेर्दा पहिलेको जस्तै देखिने तर भूकम्पले नढल्ने बलियो हुने बताए । 'यसका लागि सबै नेपालीहरुको संकल्प गर्नु आवश्यक छ । सबै नेपाली दाजु-भाई दिदी-बहिनीमा धरहरा कसले बनायो भन्दा मैले बनाए भन्ने हुन्छ' उनले भने । धरहरा ढलेर मृत्यु भएको स्मारक सहित नाम राखिने उनले जानकारी दिए ।
सरकारले वैशाख १२ वा २९ गतेलाई स्मृति दिवसको रुपमा रुपमा मनाउन घोषणा गर्ने योजना रहेको जानकारी दिए । ओलीले धरहराको पार्किङका लागि अन्डरग्राउन्ड तीन तला छुट्याईने पनि बताए । धरहरामा बनाउन जम्मा भएको रकम बढी भए अन्य ऐतिहासिक धरोहरका लागि छुट्याइने ओलीले बताए । 

 

धरहराको इतिहास 
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गरेका थिए । त्यस बेला धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो । 

राणकालीन समयमा धरहराको टुप्पोबाट विगुल बजाएर सामाजिक तथा प्रशासनिक सुचना र जानकारी दिन तथा भेला गराउन धरहराको प्रयोग हुन्थ्यो । विगुल बजेको सुनेपछि जंगी निजामति कमचारीहरु टुँडिखेलमा अनिवार्य रुपमा जम्मा हुनु पथ्र्यो । तर १९९० सालको महाभूकम्पले धरहरा भत्कियो । दुई वर्षपछि तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराले साविक बमोजिम नौ तल्ला नै कायम गरि पुनःनिर्माण गरेका थिए । वैशाख १२ मा ढलेको धरहराको सातौ तल्लामा बार्दली थियो । 

पुरातत्त्व विभागका अनुसार धरहराको उचाई ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिंढी र बाहिर २५ सिंढी थियो । धरहराको १८८ सिंढी उक्ले पछि बार्दली आउँथ्यो । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैँग देखिन्थ्यो । तर पछि बनेका ठूला भवनका कारण अवलोकनकर्ताहरुलाई समस्या भएको थियो । धरहराको सबै भन्दा माथिल्लो तलामा शिवलिङ थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । 

धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो । वरिपरिको पर्खाल युरोपेली शैलिमा निर्माण गरिएको थियो । धरहरा मुस्लिम, हिन्दु र क्रिश्चियन तीनै धार्मिक सम्प्रदाय बीच धार्मिक सहिष्णुताको प्रतीक भनेको थियो । धरहराको निर्माण बज्र -सुर्की, चुन, मास र चाकुको मिश्रण) बाट बनेको पुरातत्व विभागले जनाएको छ ।