प्रणय तीर्थ सुनसान

माधव अर्याल

पाल्पा — मान्छे मर्छ, प्रेम मर्दैन । माया प्रेमले मान्छेलाई दु:खी होइन सुखी नै बनाउँछ । मान्छेहरू बाँचुन्जेल प्रेममै डुबुल्की मार्छन् ।

आफ्नो आफन्त वा मायालु गुमाउँदाको पीडा अलग्गै हुन्छ । अनि उसको सम्झनामा केही काम गर्ने सोच कमैमा पलाउँछ ।

तानसेनदेखि १४ किलोमिटर टाढा कालीगण्डकी किनारमा अडिएको ‘रानीमहल’ यस्तै एउटा प्रेमको प्रतीक हो । विगतका वर्षमा प्रेम दिवसका दिनमा निकै चहलपहल हुने यहाँ यस वर्ष त्यस्तो देखिएन ।

अघिल्लो दिन बास बस्न गएका ७ जनाको टिमले दिउँसो अबेरसम्म रानीमहलको मज्जा लियो । त्यसपछि बल्ल फाट्टफुट्ट जोडी प्रवेश पायो । खासमा यस दिवसको रौनक देखिएन ।

तानसेन पछाडिको बराङ्गदी खोलाको किनारैकिनार रानीमहल जाने बाटो खनिएको छ । यस वर्ष मोटरबाटो स्तरोन्नतिको काम चलिरहेकाले सवारीसाधन जान सकेको छैन । यसको असर यहाँको आउजाउमा परेको छ ।

स्थानीय रानीमहल होटलका सञ्चालक अर्जुन पाण्डेय भन्छन्, ‘मायालु जोडी आउने बाटो रोकिएजस्तो छ ।’ कालीगण्डकी नदी किनारमा तत्कालीन पश्चिम कमान्डर खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा विसं. १९५४ मा बनाएका हुन् । १९५० देखि बनाउन सुरु गरेको महल ४ वर्षमा तयार भएको हो ।

पहिला ‘रानीघाट’ अहिले ‘रानीमहल’ बाट चिनिएको छ । बौघागुम्हा, २ मा रहेको यस महल पाश्चात्य शैलीको तीनतले छ । दरबारसँगै हावाघर, तबेला, सत्तल र पालेघरका साथै मन्दिर छन् ।
‘दरबारमा खड्ग शमशेर लेखिएको इँट्टा प्रयोग भएको छ,’ स्थानीय सुरेश पाण्डेयले भने । अहिले संरक्षणको अभाव छ ।

प्रेमको प्रतीक ‘रानीमहल’ मा प्रेम दिवसका अवसरमा आइतबार चहलपहल हुनुपर्नेमा यसपटक भएन । अन्य दिनमा बरु चहलपहल हुन्थ्यो । विगतका वर्षमा भने प्रणय दिवस मनाउन आउनेको भीडकै कारण चहलपहल बढ्ने गरेको पाण्डेयले बताए ।

‘ऐतिहासिक, पुरातात्त्विक महत्त्वको यस स्थललाई पर्यटक आकर्षण गर्न सक्नुपर्ने तर, गरिएको छैन,’ घुम्न गएका देवराज अर्यालले भने । प्रेम प्रतीकका रूपमा परिचित रानीमहलमा प्रणय दिवसको दिन प्रेम पारखीहरू यहाँ घुम्न र मनोरञ्जनका लागि पुग्ने गर्थे ।

त्यस बेलाको अनकन्टार ठाउँमा खड्ग शमशेरले किन दरबार बनाए होलान् ? इतिहासका अध्येता निर्मल श्रेष्ठले आफ्ना लेखमा लेखेका छन्, ‘उत्तरबाहिनी कालीगण्डकी रहेको यस स्थानलाई नेपालको काशी (बनारस) का रूपमा चिनाउनुपर्छ । त्यस्तो भयो भने मात्रै वर्षेनी रानीमहलमा लाखौं तीर्थालुको ओइरो लाग्छ ।’

मनको शान्ति खोज्नेलाई पनि एकान्त रानी महल ठिकै हुने उनले बताए । खड्ग शमशेरले युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनअनुसार महल बनाएका हुन् । यहाँ युवा तथा किशोरकिशोरी बढी जान्छन् ।

वर्षेनी भ्यालेनटाइन डेमा प्रेमिल जोडीको घुइँचो लाग्ने रानी महल परिसर यसपटक सुनसान रह्यो ।