मगरहरूको माघे संक्रान्ति

सुरेन्द्र थापामगर

काठमाडौं — मानवको प्रार्दुभावसँगै जीवनलाई सुखी र सुन्दर बनाउन विभिन्न चाडपर्व, रीतिरिवाज मनाउने प्रचलन चलिआएको छ । यसले जीवनलाई थप पुनर्ताजगी प्रदान गर्छ । नेपाल विविध जातजाति, धर्म सम्प्रदाय भएको देश हो । यिनै विविधता हाम्रो सांस्कृतिक सम्पदा हो ।

मानवको प्रार्दुभावसँगै जीवनलाई सुखी र सुन्दर बनाउन विभिन्न चाडपर्व, रीतिरिवाज मनाउने प्रचलन चलिआएको छ । यसले जीवनलाई थप पुनर्ताजगी प्रदान गर्छ । नेपाल विविध जातजाति, धर्म सम्प्रदाय भएको देश हो । यिनै विविधता हाम्रो सांस्कृतिक सम्पदा हो ।

विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरूको पहिचान हो । नेपालका आदिवासी जनजातिहरूमध्ये मगर, थारु, मैथिली, नेवार र किरात सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । त्यत्तिमात्र होइन, नेपालका आर्यमूलका सम्प्रदायहरूले पनि माघे संक्रान्ति मनाउँछन् । थारुहरूले माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाउँछन् । मगरहरूले ‘माघे संक्रान्ति’ भनी मनाउँछन् ।

आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । उनीहरूको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगरहरू प्रकृतिपूजक हुन् । माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ । वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय पर्छ, माघे संक्रान्तिको बेला । माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा छ ।

मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वका रूपमा मानेका छन् । विशेषगरी गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अघि नै मगरहरूले घर—घरमा जाँड राख्ने गर्छन् । संक्रान्तिको केही दिनअघि मगर महिलाहरू नजिकको पँधेरो, खोलामा गएर रक्सी पार्ने गर्छन् भने पुरुषहरू वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल खन्ने गर्छन् । पुस मसान्तको बेलुकी घर—घरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरूको लागि तयारी गरिन्छ ।

सखरखण्ड, तरुल पनि पुसमा पकाएर माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । भोलिपल्ट अर्थात् माघ १ गते सबै चोखोनितो हुने भनी घर लिपपोत गरिन्छ । सबेरै पुरुष, महिला नजिकको खोला, पँधेरोमा गएर स्नान गर्ने गर्छन् । त्यसमाथि पनि पवित्रधाम गुल्मीको रिडी, पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेती लगायत नदी किनारमा गएर नुहाइ पवित्र बनेर मरेका पुर्खालाई डि डाँके (मुठी दान) गर्ने गर्छन् । नदीमा नुहाएपछि खोला किनारमा केराको पातमा एकमाना चामलमा एकमाना मासको दाल भिजाएर मुछी नौवटा डल्ला बनाएर पुर्खाको प्रतीक बनाइन्छ । त्यसपछि त्यस डल्लालाई पितृ सम्झी अदुवा, बेसार र मर्चा (रक्सी बनाउने मूल औषधी) राखेर आफ्ना दिवंगत पुर्खाको मुहार सम्झेर घ्युको धुप हालेर पूजा गरिन्छ । यसरी हेर्दा माघे संक्रान्ति मगर समुदायको पितृपूजा गर्ने पवित्र दिन पनि हो ।

रोल्पा, रुकुमका मगरहरूले माघे संक्रान्तिलाई अझ मौलिक रूपमा मनाउने गर्छन् । पुस मसान्तको दिन आफ्नो भाइखलकमा सुँगुर काटेर माघे संक्रान्तिको तयारी गरिन्छ । मसान्तकै बेलुकी सुँगुरको मासु, तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाममा चढाउने गरिन्छ । पितृलाई रक्सी अनिवार्य चढाइन्छ । यसैगरी घर—घरमा आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल, तरुल) दिने चलन छ । त्यो चामल, दाल, तरुल लिएर गाउँका युवतीहरू पँधेरा खोलामा गएर पकाउने गर्छन् । यसरी खोला पँधेरा जाँदा कपडाको पुतली बनाएर सँगै लैजाने गरिन्छ । खोलामा युवतीहरूले पकाएको भात, जाँड गाउँका युवाहरू गएर खोसेर खाने चलनसमेत छ । खाना खाएपछि पुतलीलाई मरिन् भनी जलाइ रुँदै खोलामा बगाइदिने गर्छन् । नदी किनारको काम सकेपछि गाउँका युवायुवतीहरू गाउँको पायक पर्ने ठाउँमा जम्मा हुन्छन् । कतिपय ठाउँमा गाउँका युवतीहरू टीका लगाइदिन गाउँ डुल्ने गर्छन् । यसरी डुल्दा उनीहरूले दक्षिणा पाउँछन् । त्यसपछि तारो हान्ने खेल सुरु हुन्छ । गाउँले सबै जम्मा भएर काठको फलेकमा निसाना साँधेर पहिले—पहिले धनुषवाण आजकल बन्दुकले तारो हानिन्छ । यसरी तारो हान्दा फलेकमा गाउँका युवतीहरूले अँगार अथवा अन्य चिजले निसाना बनाई तारो हान्न युवाहरूलाई प्रेरित गर्छन् । फलेक नजिकै बासा (थैली) भित्र इनाम रकम पनि राखिन्छ ।

गाउँका तन्नेरीहरूले तरुनीहरूले राखेको निसानमा तारो मारे भने बासाभित्र राखेको रकम इमानस्वरुप लिन पाउँछन् । यदि निसाना फेल भयो भने बासाभित्र राखिएको रकमको दोब्बर रुपैयाँ दण्ड जरिवाना युवतीलाई दिनुपर्छ । कतिपय बेला तन्नेरीहरूलाई जिस्क्याउन तरुनीहरूले निसानामा तारो हान्नेसँग विवाह गर्ने सर्त राखेर खेल रोमाञ्चक बनाउने गर्छन् । यसैगरी माघे संक्रान्तिकै दिन युवायुवतीबीच पारसी (गाँठो फुकाउने) खेल खेल्ने गरिन्छ । यसरी पवित्र नदी किनारमा तीर्थस्थलमा पूजा गरेपछि घरमा गएर निम्तालु चेलीबेटीलाई बेसारले रंगाएको चालमको टीका लगाई गच्छेअनुसार दान दिने चलन छ । चेलीबेटीले माइती आउँदा रक्सी, सेलरोटी ल्याउने चलन छ । बिहानको यी प्रक्रिया सकेपछि खाली पेटमा सखरखण्ड, तरुल र खिचडी (चामल, दाल, घ्यु राखेर पकाएको विशेष परिकार) खाने गरिन्छ । त्यसपछि दिउँसो सुँगुर, कुखुराको मासुसँग रक्सी खाएर नाचगान गर्ने गरिन्छ । कतिपय मगरबस्तीहरूमा हाट बस्ने चलन पनि छ ।


धौलागिरि भेगका मगरहरूले यो पर्वलाई धनुषवाण हानेर भव्यताका साथ मनाउने प्रचलन छ । म्याग्दीका पुन मगरहरूले काठमाडौंमा विशेष प्रतियोगिताका साथ धनुषवाण हानेर माघे संक्रान्तिको रौनक बढाउने गरेका छन् । मगर समुदायको छाता संगठन नेपाल मगर संघले यो पर्वलाई राष्ट्रिय मान्यता दिन दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा सार्वजनिक बिदा दिने चलन चलेको छ ।

मगरहरू पश्चिम महाकालीभन्दा पर दोधारा—चाँदनीदेखि पूर्व मेचीसम्म हिमालयदेखि दक्षिणी किनारासम्म फैलिएर बसे तापनि सबैतिर माघे संक्रान्ति मनाउने चलन छ । क्षेत्र अनुसार मगरहरूको संस्कार, संस्कृति र जीवनशैली केही फरक भए पनि माघे संक्रान्ति पर्व मनाउने सम्बन्धमा त्यत्ति भिन्नता छैन । दिवंगत आत्मालाई सम्झेर श्रद्धा गर्ने परम्परा सबै भेगका मगरहरूबीच भेटिन्छ । यो पर्व मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्धतिसँग मेल खाने गरी मनाउनुपर्छ । हाम्रा पुराना संस्कार र संस्कृतिहरू इतिहासका विरासत हुन् । माघे संक्रान्ति मगरहरूको पहिचानजनित पर्व हो । त्यसैले तडक—भडक गरी मनाउनुभन्दा यसको परम्परागत सामाजिक संस्कारलाई बुझेर मनाउनु जाती हुन्छ । विविधता हाम्रो सम्पत्ति हो, विपत्ति होइन ।
थापा मगर अधिवक्ता हुन् ।