पृथ्वीनारायण शाहको सान्दर्भिकता

रघु पन्त

पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको भूमिकालाई आलोचना गर्ने र अन्य कतिपयले आफ्नै देशको पुन: एकीकरण गर्ने व्यक्तिलाई विस्तारवादी भन्नेसम्मको अतिवादी र दूराग्रही विचारसमेत देखापर्न थालेको सन्दर्भमा उनको बारेमा गहिरिएर तथ्यपरक ढंगले छलफल गरी उनलाई सही ढंगले बुझ्नु, उनको देनको बारेमा सही मूल्यांकन गर्नु र उनी किन राष्ट्र निर्माता थिए भनेर नयाँ पुस्तालाई बुझाउनु आवश्यक छ ।

पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको भूमिकालाई आलोचना गर्ने र अन्य कतिपयले आफ्नै देशको पुन: एकीकरण गर्ने व्यक्तिलाई विस्तारवादी भन्नेसम्मको अतिवादी र दूराग्रही विचारसमेत देखापर्न थालेको सन्दर्भमा उनको बारेमा गहिरिएर तथ्यपरक ढंगले छलफल गरी उनलाई सही ढंगले बुझ्नु, उनको देनको बारेमा सही मूल्यांकन गर्नु र उनी किन राष्ट्र निर्माता थिए भनेर नयाँ पुस्तालाई बुझाउनु आवश्यक छ । 

पुगनपुग झन्डै दुई हजार वर्ष लामो लिखित इतिहास भएको नेपाल संसारमा निरन्तर स्वाधीन रहँदै आएका थोरै देश मध्येको एक हो । आजभन्दा पन्ध्र सय वर्षअघि नै नेपाल झन्डै आजकै जत्रो अवस्थामा थियो भनेर इतिहासकार र विद्वानहरू भन्छन् । धेरै टाढा जानै पर्दैन, लिच्छवि राजा मानदेव र राजा यक्ष मल्लको पालामा पनि नेपाल बृहत्तर रूपमा फैलिएकै थियो । यक्ष मल्लले मात्रै आफ्नो राज्यलाई व्यक्तिगत सम्पत्तिजस्तो ठानेर छोराहरूमा नबाँडिदिएको भए मल्ल राजवंशकै पालाको नेपाल बृत्तहर नेपालकै रूपमा अझै फैलँदै जान सक्थ्यो र पृथ्वीनारायण शाहले पुन: नेपालको एकीकरण गर्ने अवस्था नआउन सक्थ्यो अथवा नेपालको विस्तार र एकीकरण मल्ल राजवंशको नेतृत्वमा जारी रहन पनि सक्थ्यो ।

काठमाडौं, ललितपुर र भक्तपुर गरेर तीनवटा राज्यमा विभाजित हुँदा पनि अरू राज्यभन्दा उपत्यकाका राज्यहरू नै आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक रूपले सम्पन्न थिए । तर आर्थिक र भौतिक रूपले कमजोर गोर्खामा जन्मिए पनि पृथ्वीनारायण शाहले त्यसबेलाको आन्तरिक र बाह्य परिस्थितिको समेत राम्ररी अध्ययन गरी नेपाल एकीकरणको अभियान थालेका थिए । उनमा एउटा राजामा हुनुपर्ने शासकीय क्षमता, नेतामा हुनुपर्ने जस्तो नेतृत्वकारी गुण, योद्धाको जस्तो वीरता, महत्त्वाकांक्षी र स्वप्नदर्शीमा हुनुपर्ने जस्तो आँट र दूरदर्शिता थियो । उनी आफ्नो शत्रुको पनि यथोचित सम्मान गर्थे र आफ्ना वरिपरि रहेका विभिन्न समुदाय, जाति र जनजातिका व्यक्तित्वहरूलाई उनीहरूको योग्यता–क्षमताअनुसार राम्रोसँग सञ्चालन गर्थे ।कतिपयले नेपालको एकीकरण पृथ्वीनारायण शाहले तरवारको बलमा र राज्य विस्तारको रूपमा गरे, अरू राज्यलाई दबाएर गरे भन्छन् । पृथ्वीनारायणको समय, देश, काल र परिस्थिति नै त्यस्तो थियो । यो त्यो समय थियो, जुन बेला माक्र्सवादको त कुरै छोडिदिऊँ, युरोपमा भर्खर–भर्खर मात्र पुँजीवादी विचारहरू मौलाउन थालेका थिए । फ्रान्समा लुईहरू सम्राटका रूपमा थिए भने आजको शक्तिशाली अमेरिका इङ्गल्यान्डका सम्राटको उपनिवेश थियो । एसिया, अफ्रिका र अमेरिकी महाद्वीपमा युरोपका शक्तिशाली देशहरू साम्राज्य विस्तार गर्दै त्यहाँका जनतामा काटमार मच्चाइरहेका थिए । अर्थात् युरोपमा समेत निरंकुश राजतन्त्रको रजगज चलिरहेको बेला पृथ्वीनारायण शाहले पुन: एकीकरण अभियान थालेका थिए । संसारका देशहरूको निर्माण अधिकांश रूपमा लडाइँहरूकै माध्यमबाट भएको छ । द्वन्द्व नभएको ठाउँ र युद्ध नलडेको कुनै देश कहाँ छ ? त्यसैले हामीले इतिहासलाई समय, देशकाल र परिस्थितिअनुसार द्वन्द्वात्मक रूपमा सही ढंगले बुझ्न सक्नुपर्छ ।आजको विशाल चीन, भारत, रूस र अमेरिकामात्र होइन, जर्मनी, इटाली, स्पेन र ब्रिटेन पनि युद्धकै क्रममा एकीकृत राज्य–राष्ट्र भएका थिए । अनि नेपालमात्र कसरी अपवाद बन्न सक्छ ?

इतिहास अध्ययन गर्दा यसरी विभिन्न देशहरू बन्ने प्रक्रियामा लाखौं मानिस मारिएका र करोडौंले दु:ख पाएको पढ्न पाइन्छ । बरु सकेसम्म कम बल प्रयोग गर्ने, कुराकानी, सम्वाद र सहमतिको माध्यमसमेत अपनाएर एकीकरण अभियान अघि बढाउने कुरामा समेत पृथ्वीनारायण शाहले ध्यान दिएको पाइन्छ । मकवानपुर, दोलखा र पूर्वका केही भूभाग उनले सहमति र सन्धिको माध्यमबाट एकीकरण प्रक्रियामा मिलाएका थिए । पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियानमा मगर, गुरुङ, राई, बाहुन, क्षत्री, ठकुरी, दमाई, कामी, लामा, गिरी लगायत विभिन्न जातजातिको सहयोग र विश्वास जितेर अघि बढेको हुँदा उनी मरेपछि पनि उनका छोरा बहादुर शाहको नेतृत्वमा एकीकरण अभियान अघि बढ्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरण अभियान उनको मात्र थिएन, विभिन्न जनजाति र सबै जनताको साझा अभियान थियो । त्यसैले उनले नेपाललाई चार वर्ण छत्तीस जातको फूलबारी भनेका थिए । सबै नेपालीको साझा फूलबारी बनाउने प्रक्रिया अहिले पनि जारी छ र भविष्यमा पनि निरन्तर रहन्छ । यो निरन्तर चल्ने स्वाभाविक प्रक्रिया हो ।
 
माक्र्सवादी दृष्टिकोणमा पृथ्वीनारायण 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले ‘नेपाली जनआन्दोलन एक समीक्षा’ भन्ने आफ्नो महत्त्वपूर्ण कृतिमा नेपाली इतिहास र समाजको विश्लेषण गर्दै ‘इलाकीय स–साना राज्यको सट्टा भूमिपति, व्यापारी, मध्यमवर्गीय मानिस र विभिन्न तहका किसान जनताले समेत एउटा बलियो केन्द्रीय राज्य बनोस् र त्यसले देशमा शान्ति सुव्यवस्था कायम गर्न सकोस् भन्ने चाहनालाई पृथ्वीनारायण शाहले पुरा गरेको’ उल्लेख गरेका छन् । उनी आफ्नो उक्त पुस्तकमा यस विषयमा चर्चा गर्दै लेख्छन्– ‘पृथ्वीनारायण शाहलाई जसै—जसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो, उसै–उसै उनलाई उक्त वर्गको सहयोग र समर्थन प्राप्त हुँदै गयो ।

एकहत्तर वर्षको लामो संघर्ष मुख्य रूपले दुई विरोधी शक्ति– (१) इलाकीय सामन्ती व्यवस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य तथा तिनका समर्थक र (२) इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरू बीचको संघर्ष थियो । यस्ता संघर्षहरू अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ दि रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील वर्गले समर्थन गरे, त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्त्वहरूले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्राष्ट्रिय कारण पनि छ, जसले नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसताक अंग्रेजी साम्राज्यवादले नेपाल–चीन बीचको व्यापारमा आँखा गाडेको थियो ।

भारत वर्षमा कब्जा जमाउनुका साथै अंग्रेजी साम्राज्यवाद नेपाललाई अधीन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र बन्दव्यापारीहरूको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रीय राज्यसत्ताको निर्माण उनीहरूका निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दव्यापारको स्वार्थ रक्षा हुनसकोस् । नेपालमा यसरी एकहत्तर वर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यको साँध मासिइ एक केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना भएपछि विभिन्न सामन्ती सरदारहरूले आफ्नो निहित स्वार्थको निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताको विरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो । पृथ्वीनारायण शाहले यसै अनुरूपको औद्योगिक र बन्दव्यापारको नीति अपनाए ।’पुष्पलालको माथिको विश्लेषणले चार महत्त्वपूर्ण तथ्य स्थापित गरेको छ । पहिलो, पृथ्वीनारायण शाहले गरेको एकीकरण युगअनुरूप प्रगतिशील कार्य थियो र त्यसलाई त्यसबेलाका जनता र सबै प्रगतिशील वर्गको साथसमर्थन थियो । दोस्रो, एकीकृत राज्यको निर्माण जनताको राष्ट्रिय चाहना थियो र त्यसले राष्ट्रियताको आधार निर्माण गरेको थियो । तेस्रो, ब्रिटिस साम्राज्यवादलाई पृथ्वीनारायण शाहको पुन: एकीकरण अभियानले रोक्ने काम गरेको थियो । चौथो, एकीकरण अभियान त्यसबेला जनताले चाहेको शान्ति सुव्यवस्था र आर्थिक–सामाजिक विकासको मागअनुरूप थियो । नेकपा (एमाले) ले आफ्नो स्थापनाकाल (तत्कालीन नेकपा माले) गठन गर्दा नेपाल राज्यको निर्माण र पृथ्वीनारायण शाहको भूमिकाको विश्लेषण गर्दा त्यसलाई युगको आवश्यकता र जनचाहना अनुरूपको प्रगतिशील कार्यकै रूपमा स्वीकार गरेको थियो । पृथ्वीनारायण शाहलाई शाह भएको कारणले, राजा भएको कारणले मानिएको होइन, नेपालका विभिन्न समुदाय, जाति र जनजातिलाई एकताबद्ध बनाउँदै पुन: एकीकरण गरेर विशाल नेपाल बनाएको कारणले मानिएको र मान्नुपर्ने भएको हो । पृथ्वीनारायण शाहले गरेको नेपालको पुन: एकीकरणलाई आज माक्र्सवादी दृष्टिकोणबाट हेर्दा, बुझ्दा एउटा युगीन आवश्यकता, नेपाल र नेपालीको अस्तित्वको लागि महत्त्वपूर्ण र ऐतिहासिक कार्यका रूपमा स्वीकार्नुपर्ने देखिन्छ । यसो गर्नु हामीले नेपालको ऐतिहासिकता र आफ्नै अस्तित्वको रक्षा गर्नु हो । 

गणतन्त्रमा पनि सान्दर्भिक पृथ्वीनारायण
शाहवंशमा योग्य राजाहरू पनि भए र अयोग्य राजाहरू पनि । कोही—कोही त महासन्काहा पनि भए । तर पृथ्वीनारायण शाह वर्तमान गणतान्त्रिक समयमा पनि सम्मान गर्न, सम्झन र उनका भनाइ र गराइहरूबाट सिक्न योग्य राजा हुन् । कुनै पनि राजा, महाराजा, दार्शनिक, चिन्तक र नेताहरूलाई सम्झने भनेकै उनीहरूले देश र जनताका लागि दिएको देन र उनीहरूका विचार र व्यवहारका लागि हो । पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पढेर गहिरो विश्लेषण गर्दै मनन गर्ने हो भने त्यसको व्यापकता, विशेषता र सामयिकताको बोध हुन्छ । पृथ्वीनारायण शाहको जीवन, काम र दिव्य उपदेशको सार भनेको भ्रष्टाचाररहित शासन, सबै जाति, जनजाति र समुदायको एकता, सम्मिलन र सबैलाई पालोपालो योग्यताअनुसार अवसर, राष्ट्रिय पुँजी, सीप, कला र उद्योगको उन्नति, खेतीयोग्य कृषि भूमिको रक्षा र विकास, आम जनताको सुख–समृद्धि, आत्मनिर्भरता, राष्ट्रियताको सम्बद्र्धन, राष्ट्रिय स्वाभिमानको रक्षा, राष्ट्रिय हितमा समर्पित र सन्तुलित परराष्ट्र नीति र राष्ट्रपति निरन्तर समर्पित रहने प्रतिबद्धता नै हो । पृथ्वीनारायण शाह हिन्दु थिए, त्यसकारण उनले हिन्दु धर्म लादे भनेर आरोप लगाउने गरिन्छ । उनले धर्म प्रचारको नाममा विदेशीको जासुस बनेर आएका र गरिब नेपालीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने काममा लागेका क्रिस्चियन पादरीहरूलाई देश निकाला गरेका थिए र यो त्यसबेला गर्नैपर्ने काम थियो । तर नेपाल भित्रका नेपाली जनताका धर्म—संस्कृतिलाई भने उनले सहयोग र संरक्षण गरे र एकीकरण अभियानमा उनीहरूको साथ र सहयोग लिए । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा मुसलमानहरूले समेत सघाएका थिए । काशी गएको बेला उनीसँगै तीनजना मुसलमान आएका थिए । ती बन्दुक लगायतका हतियार बनाउन सिपालु थिए । तिनलाई उनले संरक्षणमात्र दिएनन्, ‘षान’हरू (अर्थात् मुसलमान खान) हरूको समेत साथ लिएर एकीकरण थालेको बताए ।

गोरखा, तनहुँ लगायत विभिन्न पश्चिमी पहाडी जिल्लामा मुसलमानहरू अझै छन् । सम्भवत: यी मुसलमानहरू पृथ्वीनारायण शाहलाई सघाउने मुसलमानकै सन्तानहरू हुनसक्छन् । यसरी एकीकरणका लागि हिन्दु, बौद्ध र नेपालका विभिन्न धर्म मान्ने जनताका साथसाथै मुसलमानहरूको समेत साथ र सहयोग उनले पाएको देखिन्छ । गणतन्त्रकालमा देशको पुन: एकीकरण गर्ने मान्छे राजा भएकोले उसलाई सम्झनु र सम्मान गर्नु हुँदैन भन्ने विचार कसैले राख्छ भने त्यो अत्यन्त साँघुरो र क्षुद्र चिन्तन हो । राष्ट्रवादको जन्म, व्याख्या र प्रोत्साहन पुँजीवादको उदयसँगै संगठित र व्यापक रूपमा भए पनि पुँजीवाद राम्ररी प्रवेश नगर्दै छिमेकमा भएको साम्राज्यवादी थिचोमिचो र विस्तारसँग जुध्न नेपालमा राष्ट्रवादको आधार र चेतनाको निर्माण हुनथालेको देखिन्छ र त्यसलाई मूर्तरूपमा हुर्काउने, संगठित गर्ने र आधार प्रदान गर्ने कार्यमा पृथ्वीनारायण शाहको एकीकरण अभियानले प्रेरक भूमिका खेलेको पाइन्छ ।नेपाल राष्ट्रको स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारमाथि दक्षिणी छिमेकीबाट निरन्तर भइरहेको नाकाबन्दी र हस्तक्षेपलाई भोग्नु र सामना गर्नु परिरहेको आजको अवस्थामा पृथ्वीनारायण शाहको संघर्ष, विचार, व्यवहार र परिपक्व कूटनीतिबाट अहिले पनि पर्याप्त सिक्न र बुझ्न सकिन्छ । ‘उप्रान्त यो राजे दुई ढुंगाको तरुलजस्तो छ । चीन वादशाहसित ठूलो घाहा राख्नु । दक्षिणको समुद्रका वादशाहसित घाहा त राष्नु तर त्यो महाँ चतुर छ । ...जाई कटक नगर्नु झिकी कटन गर्नु’ भन्ने पृथ्वीनारायण शाहको निर्देश आज पनि सार्थक देखिन्छ र त्यसलाई नेपालका दुई छिमेकी चीन र भारतको व्यवहारबाट पनि मूल्यांकन गर्न सकिन्छ । चीन ऐतिहासिक कालदेखि नै नेपालको मित्र रहँदै आयो । भोट (तिबत) सँग हाम्रो लडाइँ परेको बेलामा मात्र ऊ तिब्बतलाई सहयोग गर्दै एकपल्ट त्रिशूलीको वेत्रावतीसम्म आइपुग्यो र सन्धि भएपछि सरक्क फर्केर गयो र निरन्तर नेपालप्रति मित्रवत् रहँदै आइरहेको छ । तर ब्रिटिसहरूले मुक्त गरिसकेपछि पनि भारतले भने नेपाललाई हेप्न र यहाँ हस्तक्षेप गर्न आजसम्म छोडेको छैन ।

हाम्रो उत्तरी सिमानामा राखिएको भारतीय सेनाको चेकपोस्ट बल्लबल्ल राजा महेन्द्र र प्रधानमन्त्री कीर्तिनिधि विष्टले हटाए, तर अहिले पनि आफ्नो सुरक्षा सैन्यको उपस्थिति नेपालभित्र कुनै न कुनै बहानामा छिराउन खोज्ने र नेपाललाई आफ्नो नियन्त्रणमा पार्ने दाउमा भारत लागिरहेको देखिन्छ । यस्तो अवस्थामा ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’ र दुवैतिर ‘घाहा’ (सन्धि/सम्झौता) गर्दा चीनतिर भर पर्नु तर भारततिर सतर्क हुनु भन्ने भनाइ अत्यन्त महत्त्वपूर्ण छैन र ? पृथ्वीनारायण शाहको यो भनाइले भविष्यमा लामो समयसम्म नेपालको परराष्ट्र नीतिलाई दिशानिर्देश गर्नेछ । पृथ्वीनारायण शाहको दिव्य उपदेश सही ढंगले पढ्न र बुझ्नसकेको भए र जनताको भावना बुझेर समयमै सही पाइला चालेको भए शाहवंश रहिरहन पनि सक्थ्यो होला । जनतालाई पेलेर शासन चलाउन खोज्दा शाह राजतन्त्र गयो । यो वर्तमान तथ्य हो । राजतन्त्र नेपालको इतिहास भइसक्यो । तर पृथ्वीनारायण शाहका देशहित हुने नीति हामी गणतन्त्रवादीहरूले पनि संरक्षण गर्नुपर्छ, पछ्याउनुपर्छ ।

कुनैपनि मानिस कमजोरीरहित हुँदैन र पृथ्वीनारायणका पनि कतिपय मानवीय कमजोरी होलान् । तर पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण अभियानको नेतृत्वकर्ता र नेपाल निर्माण अभियानको नायक भनेर सम्झना र सम्मान गर्नु देशभक्त नेपालीहरूको दायित्व हो । पन्त एमाले पोलिटब्युरो सदस्य हुन् ।