ओलीले सम्हाले बागडोर

दुर्गा खनाल

काठमाडौं — नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रपति रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिँदै समर्थनकर्ता दलहरू एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र मधेस समता पार्टीलाई समेटेर कार्यभार सुरु गरेका छन् । उनले ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । त्यसमा दुई उपप्रधानमन्त्री, पाँच मन्त्री र एक राज्यमन्त्री छन् ।

मन्त्रिपरिषद्ले तत्काल काम थाल्दै पहिलो बैठकबाट वर्तमान समस्या समाधान गर्ने तदारुकता देखाएको छ । बैठकले असन्तुष्टहरूलाई वार्तामा आउन आह्वान, चाडपर्वको समयमा आपूर्ति व्यवस्था सहज बनाउन सबै मन्त्रालय तथा निकायलाई निर्देशन र भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने कार्यक्रम पनि बैठकले अघिबढाएको छ ।

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले पनि नयाँ संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिसमक्ष शपथ लिएका छन् । यसअघि मन्त्रीहरूले राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीबाट शपथ लिने व्यवस्था भए पनि नयाँ संविधानमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपतिले शपथ दिलाउने प्रावधान राखिएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छन् । गच्छदारले भौतिक निर्माण तथा यातायात मन्त्रालय र थापाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गच्छदार र थापा दुवैले यी मन्त्रालय यसअघि पनि सम्हालेका थिए । सोमबार गठित मन्त्रिपरिषद्मा एमालेबाट अग्नि खरेल कानुन, न्याय तथा संसदीय व्यवस्था, सोमप्रसाद पाण्डे उद्योगमन्त्री बनेका छन् । एमाओवादीबाट मन्त्री बनेका हरिबोल गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । एमालेका सत्यनारायण मण्डल र राप्रपा नेपालका रामकुमार सुब्बाले दलहरूबीच मन्त्रालयको टुंगो नलागेका कारण बिनाविभागीय मन्त्रीका रूपमा मात्र शपथ लिए । साना दलका तर्फबाट राज्यमन्त्रीमा नियुक्त मेघराज नेपाली निषाधलाई प्रधानमन्त्री ओलीले बिनाविभागीय राज्यमन्त्रीका रूपमा सिंहदरबारमा शपथ गराए ।

पहिलो चरणमा को–को मन्त्री बनाउने भन्ने विषयमा सोमबार बिहान साढे ९ बजे प्रधानमन्त्रीको निजी निवास बालकोटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी भएको थियो । त्यहाँ एमाले नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलसहितले मन्त्रीको नाम टुंगो लगाएका थिए । गृह मन्त्रालय एमाओवादीले लिने टुंगो लागे पनि पार्टीबाट को पठाउने भन्ने निक्र्योल नभएकाले एमाओवादीले गजुरेललाई मात्र सोमबार मन्त्रिपरिषद्मा सहभागी गराएको हो । दलहरूबीच सबै मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो केही दिनभित्रै लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।