रायनले ल्याए सीमा गीत

कान्तिपुर संवाददाता

काठमाडौं — एक हातमा गीतका हरफ अर्कोमा माइक । उनीहरूको उमेर ढल्किँदै छ । तर, गीत गाउँदा भने लोभलाग्दो जोसमा उत्रिन्छन्, पञ्चायतकै समयमा जस्तो । कुरा गायक/संगीतकार रामेश र रायनको हो ।

‘देशभक्त नेपालीको
एउटै छ कुरा
महाकालीको मूलशिर
हो लिम्पियाधुरा
होहो लिम्पिीयाधुरा...’

पञ्चायतकालमै जनताको पक्षमा गाउँदै हिँड्ने क्रममा बनेको यो जोडीको सहयात्रा अहिले पनि जारी छ ।

यीमध्ये रायनले बिहीबार राजधानीमा सीमासम्बन्धी गीत सार्वजनिक गरे ।

रायनले विवादमा परेको लिम्पियाधुराबारे गीत धेरैअघि लेखेका थिए । पछिल्लो समय नेताहरूले देखाएको ढिलासुस्ती र बेवास्ताले गर्दा उनको मन अलिन थाल्यो । यसपछि उनले गीत सार्वजनिक गरेर भए पनि सचेतना जगाउन एल्बम ‘लिम्पियाधुरा’ र ‘जहाँबाट सुरु भयो’ बजारमा ल्याए ।

रायनको सिर्जना जब खुल्छ, त्यहाँ रामेशको विशेष महत्त्व हुन्छ । पञ्चायतको बेला ओखलढुंगाका यी दुई जवान उस बेला जनवादी गीत गाएर चर्चामा आएका थिए । रामेशले ओखलढुंगाबाटै रायनको संगत पाएका थिए । उनीहरू दुवै गीत गाउने र लेख्ने गर्थे । गाउमा हरेक पर्व र सांगीतिक कार्यक्रममा यी दुवैजना फिरन्ते कलाकार थिए, जहाँ जसले भन्यो त्यही गाउने । २०१९ मा रेडियो नेपालको लोकगीत सम्मेलनमा सहभागी भएपछि उनीहरूको संगीत यात्राले औपचारिकता पायो । रामेशले रेडियो नेपालका लागि गाउन भनेर लगेको गीत सम्झे–‘गाई चर्नेमा भैंसी चर्‍यो
वनको सेखी झर्‍यो
वनको राजा कुसुन्डालाई
हजुर भन्नुपर्‍यो...’

राजा महेन्द्रलाई संकेत गर्दै ‘कुसुन्डा’ भनेको आरोपमा रेडियो नेपालका कर्मचारीले गीतै संशोधन गर्न लगाएको रामेश सम्झिन्छन् । उनका अनुसार गीतमा सेन्सर लगाएर कुसुन्डाको सट्टा ‘मै हुँ भन्ने सान्नानीले हजुर भन्नुपर्‍यो...’ बनाएको सुनाए । उस बेला अलिक फरक र प्रतीकात्मक गीत गाउनु निकै कठिन थियो । थुपै्र चेतावनी र ज्यान मार्ने धम्कीसमेत खेप्नुपथ्र्यो । तर, रामेश र रायनको यात्रा रोकिएन । पारिजातले रायन र रामेशका सिर्जना नियालिरहेकी थिइन् । उनले रामेश–रायनको प्रतिभाको कदर गर्दै प्रतीकात्मक रूपमा पञ्चायतविरोधी ‘राल्फा’ अभियान चलाइन् ।

रायनले गीत गाउन गाउँ घरमा जाँदा गाउँलेले खुवाएका मकै, कोदोको रोटी, चिउराको स्वाद अझै जिब्रोमै टाँसिएको सुनाए । ‘सायद त्यही स्वादले होला जनताकै गीत गाउँदै छु,’ रायनले भने, ‘थुप्रै गीत एल्बममा निकाल्न बाँकी नै छन् ।’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले रायनको एल्बम ‘लिम्पियाधुरा’ र ‘जहाँबाट सुरु भयो’ एल्बम एकै साथ सार्वजनिक गरेका हुन् ।

उनले गीतमा इतिहासको साँचो दस्तावेज समेटिएको भन्दै लिम्पियाधुराको सीमा नेपालको रहेको दाबी गरे । ‘रायन र रामेशको गीतले राष्ट्रको इतिहास बोकेको छ,’ उनले भने । रायनले संगीतको शक्ति सत्ताभन्दा पनि बलियो हुने हुँदा यस्ता गीतहरू अझै आवश्यक रहेको दाबी गरे । सार्थक जनसंगीत प्रतिष्ठानले गरेको कार्यक्रममा रायन र रामेशले केही गीत गाएका थिए ।