होस्टेल रिटर्नस्‌का जुनियरको चर्चा

सुशील पौडेल

काठमाडौं — फिल्म चल्नु अगावै सहायक पात्रकै चर्चा हुनु पक्कै पनि गतिलो संकेत हुन सक्छ। जब कि कतिपय फिल्मका मुख्य कलाकार नै गुमनाम भएका उदाहरण छन्।

यति बेला भदौ ४ मा रिलिज पर्खिरहेको फिल्म ‘होस्टेल रिटर्नस्’ मा पनि सहायक पात्रहरू नै हिट भएका छन्। फिल्ममा निर्माताले प्रचार हतियारमा मुख्य कलाकार सुशील श्रेष्ठ, शशि श्रेष्ठ र स्वस्तिमा खड्कामा ध्यान दिइरहँदा फिल्ममा होस्टेल बस्ने जुनियर ग्रुपका नाजिर हुसेन, सुशील सिटौला र अभय बराल पृथक चरित्रका कारण अहिले नै दर्शकको आँखामा परिसकेका छन्। फिल्मको प्रोमो हेरेका दर्शक जनकपुर धरमपुरबाट आएका रामेश्वर यादवको भूमिकामा देखिएका नाजिरबाट प्रभावित भइरहेका छन्।
नाजिर आफ्नै घटना सुनाउँछन्, ‘नेपाल यातायातमा एकजना केटीले ननस्टप हेरिरहनुभयो। मलाई चाहिँ अप्ठ्यारो फिल भइरहेको थियो। पछि उहाँ मेरो साइडमै आएर सोध्नुभो, ‘तपाई नाजिर हैन?’ हो भन्नेबित्तिकै पूरा चिच्याउनुभयो।
बसभित्रका सबैले के भएछ भनेर हामीलाई नै हेरे। पछि उहाँले साथी मेरो झन् ठूलो फ्यान भएको बताउँदै उसलाई ‘जेलस’ गराउने भन्दै सेल्फी खिचेर लानुभयो।’ नाजिरलाई यस्ता घटनाले खुसी लागेको रहेछ। रामेश्वर फिल्ममा मैथिली लवजमा बोल्ने गर्छ। सोझो पक्कै छ तर साथीका लागि डट्न पछि हट्दैन।
फिल्ममा अर्को पात्र छ, समीर भट्ट। अछामबाट इन्जिनियर पढ्न होस्टेल छिरेको उक्त पात्र तौलेर बोल्छ। तर जब बोल्छ, आगो ओकल्छ। उक्त चरित्रमा खेलेका सुशील सिटौला पनि अछामी लवज र लुक्सका कारण यति बेला चर्चामा छन्।
धनगढीका सुशीलले आफ्नै भेगको भए पनि अछामी लवज निकाल्न खुबै मिहिनेत गर्नुपरेछ। ‘घर त्यतै भए पनि हामी नेपाली नै बोल्थ्यौं। फिल्ममा समीरको रोल गर्नुपर्ने भएपछि साथीको सहयोग लिएँ,’ सुशीलले टोन निकाल्न गाह्रो भएको बताए।
फिल्ममा अर्को बिन्दास पात्र छ, कुमार प्रसार्इं। पूर्वेली ठिटो होस्टेलको छट्टुमध्येमा पर्छ। अरू पात्र घरपरिवारको कडा निगरानीमा बसेर इन्जिनियरिङ पढिरहँदा उसलाई यस्ता कुराले दु:ख दिएको छैन। न उसलाई पढ्नुपर्छ भन्ने नै लाग्छ। ‘कुमार रमाइलो क्यारेक्टर हो।
उसलाई मोजमस्ती र रमाइलो गर्नुबाहेक अन्य कुनै कुरामा बाल छैन। यसको कुनै लक्ष्य छैन। बाउका लागि पढिदिएको छ,’ आफ्नै चरित्रको टिप्पणी गर्दै अभय बरालले भने, ‘जसरी हुन्छ पास भइदिने र बाउको सपना पूरा गर्दिने हो।’ पूर्वेली कुमारको भूमिका गरे पनि अभय भने पश्चिम लमजुङका हुन्। फिल्ममा पूर्वेली खासै लवज नभएकाले पनि उनलाई भने खासै गाह्रो परेन रे।
यी तीन नाजिर, सुशील र अभय फिल्म क्षेत्रमा नाम बनाएका हैनन्। कामकै हिसाबले पनि फाट्टफुट्ट एकाध फिल्ममा देखिने वा नाटकमा आक्कलझुक्कल खेल्नेबाहेक प्रधान चरित्रमा देखिएका थिएनन्। तर यति बेलाको चर्चाले भने सबैलाई पुलकित पारेको रहेछ। नाजिरले यसअघि ‘पुन्टे परेड’ मा पनि खेल्ने मौका पाएका थिए। तर फिल्म नै गतिलो नचलेपछि उनको अभिनयको कुनै लेखाजोखा नै हुन पाएन।
‘अब यहीं फिल्मबाट केही होला कि भन्ने आश छ,’ नाजिर साँच्चै आशावादी देखिए। फिल्मका लागि मैथिली भाषा र लवज उनले मण्डला थिएटरकै आफ्ना सहकर्मी सुरज यादवबाट सिकेका थिए। सुरजसँगको पनि नाजिरसँग रमाइलो कहानी रहेछ। ‘सुरजले मैथिली सिकाएपछि यो फिल्म गरें। पछि मैथिली क्यारेक्टरमै मैले ‘माथापन्चर’ मा पनि खेल्न पाएँ,’ दंग पर्दै उनले थपे, ‘तर त्यो रोल पहिले सुरजलाई नै दिइएको रहेछ। सायद निर्देशकले काम लिन नसकेपछि मैले चान्स पाएँ। जसले मलाई मैथिली लवज सिकायो पछि उसैलाई नै रिप्लेस हान्न पुगें।’
प्लस टु सकेपछि नै अभिनयको भूतलाई शान्त पार्न सुशील भारत छिरेछन्। केही समय एक्टिङ कोर्स गरेपछि टाक्कटुक्क फिल्मको कोरसमा पनि काम गरे। शतीस आनन्दसँग काम गर्न पाएको सुनाउने उनले ‘दामिनी’ ‘वार छोड्ना यार’ जस्ता एकाध फिल्मसहित नेपालमा पनि ‘कोर्टमार्सल’, ‘कथादेश’ जस्ता नाटकमा देखिन पाए। उनी आफैं भन्छन्, ‘तर ती सबै एक्सपेरियन्स काउन्टका लागि मात्रै थिए। चिनाउने चरित्रचाहिं यही समीर नै हुन्छ होला।’ यति बेला पत्रकारिता र अंग्रेजी लिएर स्नातक गरिरहेका सुशील पढाइलाई सोख मान्छन् भने पेसा कलाकारितालाई नै बनाउन चाहन्छन्।
केही समय शैली थिएटरमा आबद्ध रही नाटक देखाउँदै आएका अभय पनि अरूले खासै नोटिस नगर्ने रोलमा फिल्ममा खेलिरहेकै थिए। तर यति बेला फिल्मकै निर्देशक सुरज भुसाल कुमारको भूमिका फिल्ममा अहं मान्छन्।
सुरजले भने, ‘कुमार प्रसाईं होस्टेलमा नहुँदो हो त फिल्म नै हुँदैनथ्यो। ऊ नभए समीरसँगको अट्याचमेन्ट, एलिनासँगको घटना सम्भव नै थिएन।’ क्लाइमेक्ससँग जोडिएका कुमारका बारेमा बाँकी कुरा खोल्न भने निर्देशकले कन्जुस्याइँ गरे।
फिल्ममा झन्डै डेढ महिना संलग्न हुँदा नाजिरलाई रामेश्वरको प्रभावपछिसम्म पनि परेछ। एकपटक टेम्पोमा कतै गइरहेका बेला छेवैको यात्रुले फोनमा रामेश्वरजी भन्दा नाजिर आफैंलाई बोलाएको ठानेर हजुर भनेछन्। ‘झुक्किएछु,’ नाजिरले त्यो घटना तत्कालै निर्देशकसँग साझेदार गरेछन्, ‘पछि उहाँले फोन राखेर भाइको नाम पनि रामेश्वर हो भन्दा पो लाजले के भन्नु भन्नुभयो।’
साथीभाइले रामेश्वरकै जसरी हिँडेको देखेर जिस्काएको त नाजिरलाई पचिसक्यो। जसले पनि रामेश्वर भनी बोलाउन थालेपछि आफ्नै नाम बिर्सिने पनि भयो रे। तर उनलाई रामेश्वर यादवसँग कुनै गुनासो छैन। सोही चरित्रले यति बेला आफूलाई पढ्ने बानी बसालिदिएको जिकिर गर्दै नाजिर भन्छन्, ‘रामेश्वर एकदम धेरै मिहिनेती छ। लक्ष्यमा पुग्न प्रेरणा दिन्छ। रामेश्वरले नाजिरलाई नै पढ्ने बानी बसालिदिएको छ।’
अब उनको चरित्रले दर्शकलाई भने कत्तिको प्रभाव पार्ने हो? उनलाई मज्जै पारिसकेछ, ‘रामेश्वरको पृष्ठभूमिले गर्दा उसले सोच्ने शैली, लवाइखवाइ अन्यको भन्दा विल्कुलै फरक छ। केटीको चक्करमा फस्नुभन्दा पढेर सरकारी जागिर खाने रामेश्वरको गाउँको कल्चरले चरित्रलाई पनि प्रभाव पारेको छ,’ नाजिरले कुरा टुंग्याउँदै भने, ‘रामेश्वरले सबैलाई प्रभाव पार्न नसक्ला तर जो होस्टेलमा बस्दा ऊ जस्तो चरित्रसँग फिल्मको जस्तो घटना घटेको छ भने पिन्चचाहिं पार्छ।’
स्कुलमै शिक्षकको क्यारिकेचर गरेर थुप्रै पटक पिटाइसमेत भेटिसकेका सुशीलको खास स्वभाव बोलक्कड रहेछ। तर चरित्र पर्‍यो अन्तरमुखी। सुशीललाई पनि समीरले बोल्ने बानीलाई स्वाट्टै घटाएको अनुभव रहेछ। त्यसो त सुटिङकै बेला समीरको गेटअप धारण गरेपछि नै सुशील हुँजस्तै नलाग्ने पनि बताए।
फिल्ममा समीर गरिब परिवारबाट इन्जिनियरिङ पढ्न आएको एक पात्र हो। उसका बाबुआमा छोराकै पढाइ खर्च धान्न दैनिक घोटिएका हुन्छन्। ‘त्यसैले समीरको मनमा पनि पढ्ने बाहेक अरू कुरा छैन,’ निर्देशक सुरजले थपिदिए, ‘ऊ धेरै पनि बोल्दैन तर बोल्न पर्‍यो भने सबैलाई चुप लगाउने गरी बोलिदिन्छ।’ फिल्म खेलिसकेपछि सुशीलले कपाल पाल्न सिकेछन्। कारणबारे उनले भने, ‘समीरले कपाललाई एकदमै माया गर्छ। मलाई पनि त्यही प्रभाव पर्‍यो।’