वाग्मतीमा प्रतिसेकेन्ड पाँच सय लिटर पानी बगाइने

दीपेन्द्र विष्ट

काठमाडौ — सहरी विकास मन्त्रालयले पाँच वर्षपछि वाग्मती नदीमा प्रतिसेकेन्ड पाँच सय लिटर पानी बगाउने महत्त्वाकांक्षी योजना अघि बढाएको छ । वाग्मतीको मुहान धाप र नागमतीमा बाँध निर्माण गरी वर्षायामको पानी जम्मा गरेर हिउँदमा पानीको बहाव बढाउने योजना उसको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार धापमा २४ र नागमतीमा ९० मिटर अग्लो बाँध निर्माण गरी वर्षा पानी संकलन गरिनेछ ।
वाग्मती सुधार आयोजनाका सिँचाइ प्रमुख आशिषभद्र खनालले नदीमा पानीको बहाव बढाउन बाँध निर्माण गरिने बताए । 'पानीको रिचार्ज क्षमता बढाउन यो योजना आवश्यक छ,' उनले भने ।
नदीलाई जीवित अवस्थामा राख्न पानी संकलन महत्त्वपूर्ण भएको उनले बताए ।
'यो योजना सफल भए विष्णुमती र मनोहरामा पनि बाँध निर्माण गर्छौं,' उनले भने, 'सहरीकरण बढ्दो छ । नदीमा पानीको मात्रा छैन । अब सबै नदीमा पानीको बहाव बढाउनै पर्छ ।' विकास समितिका अनुसार हाल गर्मीमा प्रतिसेकेन्ड करिब १३० लिटर पानीको बहाव छ । धाप क्षेत्रको ड्याम निर्माणका लागि अध्ययन कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले भने, 'दुई वर्षभित्र धाप क्षेत्रमा बाँध निर्माण भइसक्छ ।'
 वाग्मती जलाधार एवं शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने भएको भन्दै उनले ड्याम निर्माणका लागि जग्गा अधिग्रहण गर्नु नपर्ने बताए । नागमती ड्यामले ५० र धाप ड्यामले १२ हेक्टर जमिन ओगट्नेछ ।
प्रमुख खनालले धाप क्षेत्रको ड्यामको अध्ययन पूरा भइसकेको बताए । 'आगामी ६ महिनाभित्र निर्माण कार्य सुरु हुन्छ,' उनले भने । नागमती ड्यामको वातावरणीय र भौगोलिक अध्ययन भइरहेको उनले बताए । उनले दुई वर्षभित्र यसको निर्माण प्रक्रिया पनि सुरु हुने बताए ।
एसियाली विकास बैंकको सहयोगमा यी बाँध निर्माण हुने खनालले जानकारी दिए । एसियाली विकास बैंकले ऋण र अनुदान गरी करिब ३ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने उनले बताए । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले पाँच वर्षभित्र वाग्मती नदीको मुहार फेरिने दाबी गरे । वाग्मतीलगायत यसका सहायक नदीको पानीको बहाव बढाउनेबारे छलफल भइरहेको उनले बताए ।