फेरि कबड्डी खेलिँदै

कान्तिपुर संवाददाता

काठमाडौं — वर्षको सुरुवातमै 'कबड्डी' खेल्न फिल्म हल छिरेका थिए, निर्देशक रामबाबु गुरुङ। रामबाबुले दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङको त्रिकोणात्मक प्रेमलाई पर्दामा उतारेका थिए।

वर्षको सुरुवातमै 'कबड्डी' खेल्न फिल्म हल छिरेका थिए, निर्देशक रामबाबु गुरुङ। रामबाबुले दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङको त्रिकोणात्मक प्रेमलाई पर्दामा उतारेका थिए। हिमाली भेकका थकाली समुदायबीचको मौलिक रीतिस्थितिमा आधारित फिल्मको कमेडी शैलीलाई दर्शकले रुचाइदिएपछि रामबाबुको टिम पुनः कबड्डी खेल्न आउने भएको छ। अर्थात्, 'कबड्डी' फिल्मकै दोस्रो शृंखलाका रूपमा 'कबड्डी कबड्डी' बन्ने भएको छ।
पात्र, ठाउँ, मायाप्रेम, लडाइँ झगडा, समाज पहिलो फिल्म 'कबड्डी' कै निरन्तरता रहने 'कबड्डी कबड्डी' लाई पनि रामबाबुले नै निर्देशन गर्ने छन् भने लेखनमा उनलाई कवि उपेन्द्र सुब्बाले सघाएका छन्। यसपटक भने निश्चल बस्नेत दोहोरिने छैनन्। सौगात मल्ल थपिने भएका छन्। त्यसबाहेक विजय बराल, बुद्धि तामाङ, शिशिर बाङदेल, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, उपेन्द्र सुब्बा पनि 'कबड्डी कबड्डी' का भरपर्दा खेलाडी हुने छन्।
९५ प्रतिशत सुटिङ मुस्ताङमै खिचिने फिल्ममा यसपालि भने काजी र उसकी मामाकी छोरी मैयाँबीचको प्रेममा राजनीतिको घुसपैठ हुने भएको छ। फिल्मलाई प्रेम र राजनीतिबीचको भिडन्तका रूपमा लगिएको निर्देशक गुरुङले बताए। पहिलो फिल्ममा काजी र मैयाँको बीचमा राजधानीबाट पुगेको अल्लारे केटो भिलेन बनेको थियो भने यस फिल्ममा काजीकै थकाली खानदानबाट बमकाजी फेरि सहरबाट पुगेपछि द्वन्द्व थप जटिल बन्नेछ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टसको संयुक्त ब्यानरमा बन्ने फिल्मलाई शैलेन्द्र डी कार्कीले खिच्नेछन् भने पाश्र्व संगीत रोहित शाक्यको रहेको छ। निमेष श्रेष्ठको सम्पादन रहने फिल्मको द्वन्द्व निर्देशन कुमार महर्जनले गर्ने भएका छन्।
'कबड्डी कबड्डी' को सुटिङ फागुन २५ देखि हुनेछ।