सोनीको आकाश यात्रा

नेपालकाे पहिलाे महिला पाइलट
सुरज कुँवर

काठमाडौ — नेपाली आकाशमा उडान भर्न ३१ महिला पाइलट आबद्ध छन् । तिनमा कोही सक्रिय छन्, कोही निष्क्रिय । २०४७ कात्तिक २६ गते यो सूचीमा पहिलो नम्बरमा नाम लेखाउन सफल सोनी राणा झन् सक्रिय बनेकी छन् । अब उनी जेट विमान बोइङको पनि पहिलो महिला क्याप्टेन भएकी छन् ।


राणालाई नेपाल वायु सेवा निगमले २०७१ वैशाखदेखि क्याप्टेन बनाउने प्रक्रियामा सहभागी गराएको हो । उनले नेपाल वायु सेवा निगमको जेट विमान बोइङ सेभेन-फाइव-सेभेनमा २०६२ पुस ८ गतेदेखि को-पाइलट भई उडान भर्न थालेकी थिइन् । यसै प्रक्रियाअन्तर्गतका इन्स्टक्टर पाइलट, लाइन पाइटल, लाइन क्याप्टेन र सहकर्मीसँगै उडान भरेपछि जहाजको पूर्ण क्याप्टेनसिप उनकै 'गि्रप' मा आइपुग्नेछ । यो प्राविधिक चरण अन्तिममा पुगिसकेको छ ।
हिजोआज राणा जहाज कमान्ड गर्दै काठमाडौंबाट चारवटा अन्तर्राष्ट्रिय सहरमा पुगिरहेकी छन् । उनी नेपालको ध्वजाबाहक बोइङ विमानमा हप्तैपिच्छे १ सय ९० यात्रु बोकेर ३५ हजार फिटमाथिको आकाशबाट बैंकक, हङकङ, दोहा र क्वालालम्पुर आउजाउ गरिरहन्छिन् ।
राजधानीको ठमेलमा जन्मे हुर्केकी र ज्ञानेश्वरको महेन्द्र भवन स्कुलबाट एसएलसी गरेकी राणाले सानोमा कहिल्यै पाइलट बन्छु भनेर सोचेकी थिइनन् । बागबजारको पद्मकन्या क्याम्पसमा प्रमाणपत्र र स्नातक तह पढ्ने क्रममा उनको मनमा 'नाम उचो राख्न केही गहकिलो र घतलाग्दो काम गर्नुपर्ने' सोचले पालुवा हाल्दै गइरहेको थियो । त्यही सोचलाई आकार दिए त्यसबेला सञ्चयकोषका जागिरे उनका बुवा ओमनरसिंह राणाले । २०४४ सालमा २१ वर्षकी छोरीलाई १७ हजार अमेरिकी डलर (३ लाख ६० हजार रुपैयाँ तत्कालीन दरअनुसार) को ड्राफ्ट थम्याउँदै थाई विमानबाट अमेरिका पठाइदिए ।
राणा टेक्सासस्थित एभिएसन स्कुल ग्राउन्डमा ७ महिने 'कर्मसियल पाइलट कोर्स' सकेर २०४६ मा नेपाल फर्किइन् । त्यसको अर्को वर्ष निगमको जाँच पास गरेर क्यानडियन टुइनअटर उडाउन थालिन् । यसरी उनी नेपालकै पहिलो महिला पाइलट, सानो जहाजको पहिलो क्याप्टेन हुँदै अहिलेको आधुनिक जहाज बोइङ उडाउने पहिलो महिला क्याप्टेन बन्न सफल भएकी हुन् । लगनशीलता र कामलाई माया गर्ने बानीकै कारण यो उचाइमा पुगेको बताउने राणा यी उपलब्धिहरूबाट जति खुसी छिन् त्यत्तिकै हाराहारीमा मर्माहत पनि छिन्- यी उपलब्धि देख्न/सुन्न नपाई चाँडै संसार त्याग्ने बुवा ओमनरसिंह र पति क्याप्टेन विजय गिरीको अभावले ।  
नेपाली आकाशमा उडान भर्ने पाइलटका लागि छिनछिनमा बदली भइरहने मौसम, एकतर्फी (इस्टल) धावनमार्ग र भूगोल ठूला चुनौती हुन् । यस्तै चुनौतीहरूलाई झेल्दै अघि बढिन् राणा । हिउँदयाममा अबेरसम्म लाग्ने बादल र बर्खायामको 'लो-भिजिविलिटी' को समस्या सामना गर्दै उनले बोङङको ग्लासककपिटमा पस्नुअघि १५ वर्ष टुइनअटर जहाजको स्टिम ककपिटबाट नेपालका ३० बढी सुगम र दुर्गम ठाउँलाई हवाई सम्पर्क गराइएकी थिइन् ।
डेढ दशकमा ताप्लेजुङदेखि दार्चुला, महेन्द्रनगरदेखि भद्रपुरसम्मको उडानमा उनीसँगै जीवनसाथीका रूपमा आइपुगे क्याप्टेन विजय गिरी । गिरीसँग उनको भेट २०४७ सालमा निगम छिरेपछि भएको थियो । त्यसबेला जहाजको को-पाइलट सिटमा बसेर क्याप्टेन गिरीसँगै राणाले कहिले सिमकोट, कहिले मनाङ र कहिले सोलुको उडान भरिन् । ७ वर्षको चिनजानपछि २०५५ सालमा बिहे गरे । २०५७ माघमा राणाले पहिलो सन्तान छोरी जन्माइन् । जसको नाम क्याप्टेन गिरीले दृष्टि राखे भने आमाले पर्ली राखिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियलमा कलाकारको भूमिकामा पनि देखिने बर्मेली पृष्ठभूमिका सानेपा निवासी गिरी हाइटेक पाइलट मानिन्थे । त्यसबेलाको 'एनालग सिस्टम' भएको ककपिटमा उनले आफ्नै पहलमा 'जीपीएस सिस्टम' राखेर जहाज उडाउँथे । निगममा २०५३ मा भएको आन्दोलनपछि जागिर छाडेका गिरीले त्यसपछि निजी विमान कम्पनी स्काइलाइनको जहाज उडाउन थाले । उक्त विमानले धेरैजसो खाद्य संस्थानको कार्गो उडान गथ्र्यो ।
गिरी हप्तौंसम्म सुर्खेतबाट कर्णालीका विकट जिल्लामा खाद्यान्न ओसार्थे । राणा यता निगमको जहाज ३ सय किलोमिटर प्रतिघन्टाको गतिमा उडाउँदै कहिले विराटनगर, कहिले पोखरा कहिले नेपालगन्ज पुग्थिन् । फरक कम्पनीका जहाज उडाउने उनीहरूबीच कहिलेकाहीं रनवेमा पनि जम्काभेट हुन्थ्यो । छोरीसँगै बसेर समय बिताउन दुवै पाइलट जोडीलाई काठमाडौं आर्लिनैपथ्र्यो ।
२०५९ को वर्यायाम । असारको अन्तिमतिर क्याप्टेन गिरी सुर्खेतबाट जुम्लाको कार्गो उडाउनका लागि नेपालगन्ज गए । हरेक दिनजसो उनीहरूबीच कुराकानी भइरहन्थ्यो । साउन १ गते गिरीले सुर्खेतबाट फोन गरी बेलुकी काठमाडौं आउन लागेको खबर सुनाए । खबरले महाराजगन्जस्थित माइतीघरमा बसिरहेकी राणा खुसी भइन् । पानी परेको त्यस दिन उनी १९ महिनाकी छोरीको स्याहारमै थिइन् ।
विडम्बना ! राणालाई फोनमा बेलुकी भेट्ने भनी जुम्ला उडेका क्याप्टेन गिरी त्यहाँबाट फर्किएको १८ मिनेटपछि सम्पर्कविहीन भए । सुर्खेतबाट १० किलोमिटर उत्तरको गर्गरे डाँडामा विमान दुर्घटनामा पर्‍यो । चालक दलका दुई सदस्य र दुई यात्रुसहित चारजनाको घटनास्थलमै मृत्यु भयो ।
नसोचेको भयो । पतिलाई कुशल 'फल्यार' ठान्ने राणाले दुर्घटना खेप्नुपर्ला भनेर कल्पनासम्म पनि गरेकी थिइनन् । यस घटनाको दुई वर्षअघि बुवा ओमनरसिंहले पनि संसार छाडिसकेका थिए ।
.......................
यतिबेला उनको घरका भित्ताभरि तस्बिरका रूपमा टाँसिएका छन्, जीवनसाथीसँगै बिताएका क्षणहरू । घरमा उनीसँग आमा कन्चन पनि छिन् । सुरुका दिनमा १ हजार तलबमा निगम छिरेकी उनको तलब कम्तीमा ४२ हजार रुपैयाँ पुगेको छ । टुइनअटर उडाउँदा जोमसोमबाट स्याउ, जुम्लाबाट ओखर, सिमिकोटबाट दाल, सुन्तला किनेर ल्याउन बानी परेकी उनी आफूलाई पाइलटका साथसाथै गृहणी पनि भन्छिन् ।
आँपको सिजनमा उनको 'डाइनिङ टेबुल' मा यसको अचार हुन्छ जुन उनका लागि पतिलाई सम्झेर 'नोस्टालजिक' बनाउने माध्यम बनिदिन्छ । भन्छिन्, 'विजयलाई आँपको अचार असाध्यै मन पथ्र्यो । बाह्रै महिना चाहिन्थ्यो ।'
भित्ताका तस्बिर र आँपको अचारले भन्दा गिरीको याद उनलाई छोरी दृष्टिले दिलाउँछिन् । १४ वर्षकी दृृष्टिका धेरै बानी, हिँडाइ, शरीरको बनोट बुवासँग मिल्छन् । 'जब मेरो श्रीमान्को याद आउँछ, छोरीलाई हेरेर समय बिताउँछु । यसरी हेर्छु कि एकटकले डुबिरहन्छु छोरीकै हाउभाउमा,' पतिकै नाममा रहेको मोबाइल चलाउँदै आएकी राणाले सुनाइन् ।
बोइङमा उक्लिनुअघि उनी पतिले उडाएको जहाजमा पनि क्याप्टेन भइन् । एक बेला उनी क्याप्टेन बस्ने बायाँ सिटमा भेटिएका विजयसँग उडेकी थिइन् । पछि त्यही बायाँ सिटमा बसेर १८ हजार फिट माथिबाट जहाज उडाइन् । र, थुप्रैपटक नीलो आकाशबाट पतिले देह त्यागेको डाँडालाई हेरिन् । 'नेपालगन्जबाट जुम्ला उड्दा घटना भएको स्थल कता होला भनी सोच्थें, धेरैपटक त्यो भूगोललाई ककपिटबाट हेरें, तर के गर्नु !' उनी भावुक बनिन् ।
राणा बोइङमा उड्न थालेको नौ वर्ष भयो । २०६२ पुसपछि उनले आन्तरिक उडान भरेकी छैनन् । प्रजातन्त्र आएपछिका दिन उनी लुुक्ला, मनाङ, हुम्लाजस्ता हिमाली जिल्लामा जहाज लिई जाँदा मानिसहरू दौडिँदै नजिक आउँथे । प्रतिक्रिया दिन्थे, 'आम्मै केटी मान्छे पो पाइलट रैछ !' केही जिब्रो टोक्दै भन्थे, 'हेर त ! आइमाईले पनि जहाज उडाउँदी रैछ !'
पाइलट पेसालाई 'ग्याल्मर' र 'एडभेन्चर' मान्ने राणाले आकाशबाट जे हेर्छिन्, त्यो सबैले चाहेर पनि पाउँदैनन्, हेर्न सक्दैनन् । उनी हरेक उडानमा प्रकृतिलाई हेर्छिन् । 'नयाँ नयाँ चित्र देखिन्छ,' भन्छिन्, 'धेरैजसो अन्तर्राष्ट्रिय उडान राति हुन्छन् ।  आकाशमा उडिरहेकी हुन्छु । ताराहरू आफू नजिक आएको ठान्छु । अनि आकाशमै बिलाएका पति विजय र पाइलट पढ्न पठाउने बुवालाई सम्झिँदै आफ्नै मनलाई सन्तोष दिन्छु- उहाँहरू मलाई उडिरहेको हेरिरहनुभएको होला । ठूलो जहाज उडाएको देख्न चाहने बुवा र पति मप्रति गर्व गर्दै हुनुहुन्छ होला !'