शल्यचिकित्सकको कलम

राजेश खनाल

काठमाडौ — 'लेखन अरू केही होइन, मात्र खोज हो ।' -अल्बेयर कामू

'लेखन अरू केही होइन, मात्र खोज हो ।' -अल्बेयर कामू
फ्रान्सेली चिन्तक अल्बेयर कामूको उल्लिखित विचारजस्तै नेपालकै पहिलो वरिष्ठ शल्यचिकित्सक डा. अञ्जनीकुमार शर्मा पेसागत दृष्टिबाट आफ्नो कर्ममा चिन्तनशील एवं सक्रिय रहे पनि त्यसबाट प्राप्त नवीन खोजहरूलाई कलमका माध्यमबाट सबैका लागि सार्वजनिक गरिरहनुहुन्थ्यो ।
त्यसो त चिकित्सा विज्ञानसँग जोडिएका हरेक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विभिन्न समयमा हुने पेसासँग सम्बद्ध सेमिनार तथा गोष्ठीमा आफ्ना कार्यपत्र तथा अवधारणापत्रलाई प्रस्तुत गर्दै आएका नै हुन्छन् । यो उनीहरूको पेसागत कर्म पनि हो । यसरी आफूले भोगेका, अनुभव गरेका तथ्यलाई चिकित्सकहरूकै बीचमा प्रस्तुत गरेर छलफल गर्दै एउटा नयाँ उपचार प्रक्रिया वा पद्धतिलाई प्रतिष्ठापन गर्ने प्रयास गरिँदै आएको हो । शर्मा भने सेमिनारहरूमा आफ्ना विचार मात्रै प्रस्तुत नगरी त्यसबाट प्राप्त आफ्ना अनुभवलाई आम नागरिकका लागि सरल लेख रचनाका माध्यमबाट प्रस्तुत पनि गर्नुहुन्थ्यो ।
अधिकांश चिकित्सकद्वारा अनुसन्धित विषयहरू आम मानिसको स्वास्थ्योपचारका लागि प्रयोग भए पनि आम चेतना र जागरणसँग सम्बन्धित प्रसंगहरू मानिसको पहुँचबाहिरै हुन्छन् । डा. शर्मा भने आफूलाई लागेका कतिपय प्रसंग र भावलाई शब्दहरूसँग खेल्दै सर्वसाधारणका लागि प्रस्तुत गर्नुहुन्थ्यो । उहाँद्वारा लेखिएका लेखहरू शब्दका पुलिन्दा मात्र नभई त्यसमा चेतनाको सन्देश पनि प्रवाहित हुने गरेको स्विकार्नैपर्छ । पाठकले लेख अध्ययन गर्दा सरलतापूर्वक बुझोस् भन्ने ध्येय उहाँको सधैं रह्यो ।
शर्माको विसं २०४३/४४ सालतिर प्रकाशित पुस्तक स्वास्थ्य चेतनमा समाविष्ट कतिपय लेखमा उहाँले आफूले उपचार गरेका रोगीहरूको प्रसंग उठाउनुभएको छ । क्यान्सर भएमा बाँचिन्नँ त ? शीर्षकको आलेखमा उहाँले उपचार गरेका श्रीमती भट्टराई, श्री श्रेष्ठ, प्रधान, कान्छी ढुंगानाको प्रसंग उठान गर्नुभएको छ । सोही पुस्तकको धूमपानसम्बन्धी लेखमा हरि काका, लालाजीका घटना प्रस्तुत गरेर लेखमा जीवन्तता दिनुभएको छ । यसरी उहाँका अधिकांश लेखमा एउटा चिकित्सकका रूपमा भोगेका अनुभवहरू पाउँछौं ।
केही वर्षअगाडि उहाँले पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मीलाई शाही शुक्लाफाँटामा सिकारका क्रममा गोली लाग्दाको प्रसंग उठान गरी तत्कालीन राजा महेन्द्रले नेपालका चिकित्सकहरूलाई दिएको हौसला र प्रेरणाले नै आजको चिकित्सा क्षेत्रले फड्को मार्न सफल भएको तर्कलाई आफ्नो लेखमा उल्लेख गर्नुभएको थियो । सोही लेखका सम्बन्धमा उहाँले पंक्तिकारलाई भन्नुभएको थियो, 'यदि पूर्वराजारानी जंगलबाट सिधै लखनउतर्फ जानुभएको भए के हुन्थ्यो त्यो बेग्लै कुरा हो, तर नेपालमै रहेका चिकित्सकहरूसँग उपचार गराउने महेन्द्र राजाको आँट र अठोटले हामी त्यसबेलाका डाक्टरहरूलाई अथाह ऊर्जा दिएको नै हो ।'
पेसासँग जोडिएका विषयहरू मात्र नभएर स्वास्थ्यइतरका विषयमा पनि डा. शर्माका लेख रचनाहरू आइरहन्थे । पत्रिकामा प्रकाशित समाचार वा लेखहरूमा व्यक्त विचार उहाँलाई चित्त बुझे पनि वा नबुझे पनि कलम चलाउने उहाँको बानी थियो । उहाँले गरेका कतिपय टिप्पणी सम्पादकलाई चिठ्ठीमा प्रकाशित पनि भएका थिए ।
स्वास्थ्यसम्बन्धी फुटकर लेख रचनाहरू एकै ठाउँमा राख्ने उद्देश्यले उहाँले स्वास्थ्य चेतन प्रकाशित गर्नुभएको थियो । यसअगाडि चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूका लागि कोर्स बुकका रूपमा 'पि्रन्सिपल अफ सर्जरी' प्रकाशित भइसकेको थियो । 'पि्रन्सिपल अफ सर्जरी' -सम्पादक ः प्रा.डा. अञ्जनीकुमार शर्मा/प्रा.डा. सुनीलकुमार शर्मा) को चौथो संस्करण हो । करिब ८०० पृष्ठको उक्त पाठ्यपुस्तक चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थी, यस विषयका शोधार्थी तथा नेपालबाहिरका देशमा अध्ययनरतका लागि पनि ज्ञानको भण्डार भएको छ ।
म, मेरा मामा डा. शर्मासँग लेखनका हिसाबले 'स्वास्थ्य चेतना' मा जोडिएको हुँ । उहाँ मलाई लेख्नका लागि हौस्याइरहनुहुन्थ्यो । कहिलेकाहीं लेखिरहेका बेला सम्मुख पर्दा लेखहरू सुनाउनु पनि हुन्थ्यो । त्यसै मेसोमा एकपटक आफ्ना फुटकर रचनाहरूलाई पुस्तकाकार रूपमा प्रस्तुत गर्नुपर्ने कुरो उठाउनुभयो । केही समयपछि आफ्ना केही लेख रचना संकलन गरेर प्रेसको सारा काम गर्ने जिम्मा मलाई लगाउनुभयो । मेरा लागि त्यो भारी काम थियो । वास्तवमा चुनौती नै थियो ।
सितिमिति फुर्सदमा बस्नै नखोज्ने उहाँ बिहानीपख सखारै लेख्न बस्नुहुन्थ्यो । अहिलेको जस्तो इमेलको प्रचलन नभएकाले दैनिक पाँच दस पत्रहरू अंग्रेजी टाइपराइटरमा आफैं टाइप गर्नुहुन्थ्यो । तीमध्ये केही जबाफ हुन्थे त केही आफ्ना कामका पत्रहरू पनि हुन्थे । र, कहिलेकाहीं विषय र सन्दर्भ मिले बिहानै लेख लेख्नुहुन्थ्यो । यसरी बिहानको एक घन्टाको समय उहाँ लेखनका लागि छुट्याउनुहुन्थ्यो ।
लेखका सम्बन्धमा उहाँ एकदमै कडा हुनुहुन्थ्यो । उहाँले लेखोट खेस्रा गरेर दिएपछि त्यसको भाषाशैली मिलाएर लेखका रूपमा बुझाउँदा पटकपटक काट्न लगाउनुभएको पटकपटक अनुभव गरेको छु । उहाँलाई चित्त नबुझुन्जेल लेखलाई काटकुट पारिरहनुहुन्थ्यो । यस अर्थमा मामा कुशल सम्पादक पनि हुनुहुन्थ्यो भन्दा फरक पर्दैन । उहाँका लेखको भाषासम्पादक पहिले कृष्ण उपाध्याय हुनुहुन्थ्यो । पछि मात्रै उहाँका लेखहरूको भाषा मिलाउने जिम्मा मेरो भागमा आएको थियो ।
प्रारम्भमा 'स्वास्थ्य चेतन' पुस्तकमा उहाँका लेखहरूलाई मात्र राख्ने कुरा भएको थियो । पछि आएर त्यसमा शर्माका अतिरिक्त डा.गौरीशंकर लालदास, डा.सञ्जीव ढुंगेल, डा. मणिन्द्ररञ्जन बराल, डा. वीणा कंसाकार, डा. मुक्तिनारायण श्रेष्ठ, डा.सुनीलकुमार शर्माहरूको लेख पनि थपियो ।
शर्मा धूमपानविरुद्धका अभियन्ता नै हुनुहुन्थ्यो । बाहिर
हिँड्दा पनि कसैको हातमा चुरोट, बिंडी वा खैनी देखा परे त्यसको सेवन नगर्नुस् भनेर भन्नलाई उहाँ रत्ति पनि हिच्किचाउनुहुन्नथ्यो । हातमा रहेको सुर्ती या सुर्तीबाट बनेका सामग्री फ्याँक्न लगाई वाचा कसम खुवाउनुहुन्थ्यो । पछि धूमपान लिन्छ ज्यान भन्ने नारा नै उहाँले प्रतिपादन गर्नुभयो । त्यही सन्दर्भमा उहाँको 'धूमपान लिन्छ ज्यान' नामक एक पुस्तिका पनि निस्क्यो, जसलाई लायन्स क्लबले प्रकाशित गरेको थियो । पछि लायन्स क्लबले नै लागू औषध प्रयोगविरुद्धको एउटा अर्को पुस्तिका प्रकाशित गर्‍यो, जसमा शर्माका लेख र मोडेलहरूले अभिनय गरेर खिचिएका तस्बिरहरू राखिएका थिए । आम पाठकलाई बुझ्न सजिलो होस् भनेर उक्त पुस्तिका चित्रकथा शैलीमा प्रकाशित भएको थियो ।
लेखनप्रति सर्वदा सक्रिय रहनुहुने मामा २०६०/६१ सालतिर छ महिना अस्ट्रेलिया जानुभयो । प्रवासमा रहँदा नै 'क्यान्सर चेतन' पुस्तकको खाका कोरिसक्नुभएको थियो, सायद, अथवा हुन सक्छ अस्ट्रेलिया उड्नुपूर्व नै पुस्तक उहाँको मस्तिष्कमा थियो । त्यसैले त अस्ट्रेलियाबाट फर्केको भोलिपल्टै मलाई उहाँले बोलाउनुभयो र करिब पन्ध्रवटा क्यान्सरसम्बन्धी लेखहरूको खेस्रा पाण्डुलिपि मेरो हातमा राख्दै भन्नुभयो 'ल लेऊ, यो अर्को पुस्तकका लागि चाहिने सामग्री । अब तिम्रो काम ।'
मामा अस्ट्रेलिया उड्नुपूर्व केही दिनअगाडिको एउटा प्रसंग मलाई अझै सम्झना छ । उहाँ भन्दै हुनुहुन्थ्यो, 'अस्टे्रलियामा त्यतिका महिना कसरी बिताउने होला ?' म हाँसेँ मात्रै । तर फर्केपछि हातैमा पाण्डुलिपि पाउँदा म उहाँप्रति नतमस्तक भएँ । उहाँको क्रियाशीलताको योभन्दा ठूलो उदाहरण अरू के हुन सक्छ ?
त्यसको करिब एक डेढ वर्षपछि क्यान्सर चेतन पुस्तकका रूपमा प्रकाशित भयो । जसमा २२ वटा क्यान्सर र आहारविहार विषयका लेखहरू समावेश थिए । पुस्तक प्रकाशित भएको दिन मामा औधि खुसी हुनुहुुन्थ्यो, अस्ट्रेलियामा कोरिएको बिउले वृक्षको रूप धारण गरी पाठकका हातहातमा छाएकामा ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालहरूबाट सेवा निवृत्त भए पनि आफ्नो पेसा कर्ममा उहाँ कहिल्यै निवृत्त हुनुभएन । नेपाल मेडिकल कलेज, क्यान्सर केयर सेन्टरहरू, भक्तपुर क्यान्सर अस्पताल, लायन्स क्लब, अर्बुद रोग निवारण संस्थालगायत विभिन्न सामाजिक संस्थामा उहाँको क्रियाशीलता सधैं कायम नै रह्यो ।
पछिल्लो समय उहाँलाई 'लोअर युरेटर' को क्यान्सर भएको जानकारी भइसके पनि लेखनमा उहाँको रुचि यथावत् नै थियो । त्यसउप्रान्त लेखेका कतिपय लेखमा उहाँले क्यान्सर रोगको निदान केन्द्र क्षेत्रीय स्तरमा स्थापना हुनुपर्ने विचार राख्दै आउनुभएको थियो । राजधानीबाहिर मोफसलमा रहेका रोगीहरूको उपचारका लागि सहज हुन्छ भन्दै पाँचै विकास क्षेत्रमा त्यस्ता केन्द्र स्थापना गरिनुपर्ने उहाँको जोड थियो ।
यतिखेर, पेसागत दक्षता प्राप्त गरेदेखि शल्यक्रिया गर्ने छुरा -ब्लेड) र जागरण एवं जनचेतनाका लागि अनेक शब्दहरू कोरिरहनका लागि समाएको कलमले विश्राम लिएको छ । विगत चालीस वर्षदेखि लेखनका माध्यमबाट चेतना अभिवृद्धि र जागरणका लागि गरेको योगदानले कैयौं मानिसको जीवनमा प्रभाव पारेको होला । हजारौं लाखौं रोगीहरूका लागि ती सन्देश जीवन जिउने प्रेरणाका स्रोत भएका होलान् । त्यस दृष्टिबाट उहाँको जीवन सार्थक भएको महसुस हुन्छ । 'आमा पछि मामा' भन्छन्, मामा सधैं मेरो अभिभावक रहनुभयो । प्रेरणापुञ्ज मामाप्रति श्रद्धासुमन ।