मिथिलामा पान-मखान

श्यामसुन्दर शशि

जनकपुर — माछ (माछा), पान र मखानका लागि चर्चित मानिन्छ मिथिला नगरी जनकपुर । बुधबार यो नगरी यी परिकार साथ बतासा (पारम्परिक मिठाई) मय भयो ।

प्रसिद्ध जानकी मन्दिरमा मात्र होइन, नवविवाहित युवकहरूको दैलोमा समेत यी परिकारहरूको वर्षा गराइयो । दर्शक दीर्घा लुटेर भए पनि यी सुस्वादु परिकारको स्वाद चाखे । शिवचोक, राजदेवी चोक, रामचोक, मिल्स एरिया लगायतका दर्जनौं पानको पसलमा बिहानैदेखि ग्राहकको ओइरो थियो । मिठाईका पसलहरूमा समेत सामान्यभन्दा बढी ग्राहक थिए । जानकी मन्दिर परिसरमै लागेको विशेष बजारमा मखान र बतासा बेच्ने र किन्नेहरूको कमी थिएनन् । उनीहरू पान, मखान, बतासा र अन्य मिठाई खरिद गर्दै आ-आफ्ना गन्तव्यतर्फ फर्किंदै थिए ।
कोजाग्रत पूणिर्माको दिन देवीदेवतालाईर् पान र मखान र बतासा प्रसादको रूपमा चढाउने चलन छ । मैथिल ब्राह्मण जातिका नवविवाहित युवकको घरमा पनि विशेष पूजा हुन्छ । यही कारण यहाँ यी परिकारको मेला लागेको हो । 'नियमित पान खानेहरूको कुरै नगरौं । आजको दिन महिला तथा बालबालिकाहरूले समेत पान खान्छन्,' मिल्स एरियास्थित पान पसले राजेन्द्र भगतले भने । मैथिली संस्कारको प्रतीकको रूपमा रहेको जानकी मन्दिरमा समेत कोजाग्रत पूणिर्माको दिन विशेष मेला लाग्छ । राति राम र सीताको प्रतिमालाई मन्दिरबाहिर निकाली गीत, संगीतको निरझरनीसँगै पान, मखान र बतासाको वर्षा गराइन्छ । सयौं श्रद्धालुहरूमाझ गरिने यो सांस्कृतिक प्रस्तुति अत्यन्तै रोमाञ्चक हुन्छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत पूणिर्माका दिन विगत १ सय १३ वर्षदेखि विशेष कार्यक्रम हुँदै आएको हो । नवविवाहित पुरुषहरूको घरमा पनि यस्तै रौनक हुन्छ । ससुरालीबाट आएको चिउरा, दही, पान, मखान र मिष्ठान्न सबैलाई बाँड्ने चलन छ । यस अवसरमा साला र भिनाजुको बीच कौडा खेलिन्छ ।
पूणिर्माको राति पान, मखान र बतासाको वर्षा गर्नु मिथिलाको पुरानो परम्परा हो । तर, यस अवसरमा जानकी मन्दिरमा हुने विशेष कार्यक्रम भने गत १ सय १३ वर्ष मात्रै पुरानो हो । महोत्तरी रतैली २ का महेन्द्रप्रसाद ठाकुरले सवा एक शताब्दी अघि सांस्कृतिक मेला सुरु गरेका थिए । रतौलीका ठाकुर परिवारले बिहान जानकी मन्दिरमा फलफूल, मिष्ठान्न, कपडा, तरकारी, दही, दाउरा लगायत उपहार ल्याउँछन् । यिनै सामग्रीबाट राति राम-सीताको पूजा तथा विशेष सांस्कृतिक कार्यक्रम हुन्छ । महन्थ वैष्णवका अनुसार अचेल ठाकुर परिवारका तेस्रो पुस्ताले यसलाई निरन्तरता दिएका छन् ।