मुलुककै लामो पुल सञ्चालनमा

कमल पन्थी

कोठियाघाट (बर्दिया) — बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले बुधबार उद्घाटन गरेका छन्।


राजापुर नगरपालिका र वरपरका पाँचको प्रवेशद्वारका रूपमा रहेको कोठियाघाटमा निर्मित पक्की पुल १ हजार १५ मिटर लामो छ। यो लक्ष्यभन्दा नौ महिनाअघि निर्माण भई सञ्चालनमा आएको हो। यसअघि ७ सय मिटर लामो मेचीको कन्काई लामो पुल मानिएको थियो।
रिबन काटेर पुल उद्घाटनपछि मन्त्री निधिले पुल निर्माणले राजापुर टप्पु मुलुकको यातायात मूलधारसँग जोडिएको बताए। समयभन्दा नौ महिनाअघि नै पुल निर्माण सम्पन्न गरेका निर्माण कम्पनीलाई उच्च सम्मान दिने सोच बनाएको उल्लेख गर्दै भने, 'पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएको छ।'
सडक विभागअन्तर्गत गेरुवा नदी कोठियाघाटमा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो। उक्त पुल उद्घाटन मंगलबार हुने भनिए पनि नेकपा-माओवादीको बन्दले रोकिएको थियो। पुल उद्घाटन कार्यक्रममा सयौं सर्वसाधारण कोठियाघाट पुगेका थिए।
०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको हो। गेरुवामा बग्ने जलस्तर करिब ५० प्रतिशत कर्णाली नदीमा डाइभर्सन भई बगेकाले निर्माण कम्पनीलाई काम गर्न सहज भएको कारण सम्झौता अघि सम्पन्न भएको पुल कम्पनी अनक कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक श्रीराम महर्जनले बताए।
राजापुर १५ का गुरुप्रसाद थारूले पुल निर्माण भएपछि राजापुर टप्पुका एक नगरपालिका र ५ गाविसका करिब २ लाख बासिन्दा लाभान्वित भएको बताए। पुल नहुँदा अस्पताल पुर्‍याउन नसकेर अकालमा मृत्यु हुने नियतिबाट अब सर्वसाधारण मुक्त भएको उल्लेख गर्दै उनले भने, 'वर्षौंदेखि वर्षायाममा यस भेगका बासिन्दाका निकै कष्टकर ढंगले डुंगामा यात्रा गर्नुपर्‍थ्यो। अब ती दुःख सकिएका छन्।'
उनी मात्र हैन, राजापुर टप्पुका हजारौं सर्वसाधारणले व्यग्रतासाथ कोठियाघाट पुल निर्माणको प्रतीक्षा गरिरहेका थिए। पशुपतिनगर निवासी तरुण दलका केन्द्रीय नेता जन्मजय तिमिल्सिनाले पुल निर्माणपछि यस भेगको आर्थिक, सामाजिकलगायत क्षेत्रले चाँडै विकासको फड्को मार्ने बताए।
पि्र-स्ट्रेट प्रविधिबाट निर्माण भईरहेको पुलको २० वटै पिलर र १८ वटा स्ल्याब निर्माण भएको उल्लेख गर्दै निर्माण कम्पनी अनक, लुम्बिनी, जेभी र टुन्डीका प्रबन्धक निर्देशक महर्जनले भने, 'पुलको रेलिङका साथै फुटपाथ निर्माणसँगै पुलको दुईतिर सडक पेटीका साथै दायाँबायाँ सडकमा माटो पटानी गरिएको छ।'
सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख जनता लाभान्वित भएका छन्। पुलको आयु सय वर्षको रहेको निर्माण कम्पनी टुण्डीका प्रबन्धक महर्जनले दाबी गरे। हुलाकी सडकअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुर-सत्ती घाटमा ५ सय २० मिटर लामो अर्को पुल निर्माण भइरहेको छ। १४ पिल्लरको उक्त पुल नदीमा पानीको बहाव तीव्र भएका कारण केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। उक्त पुल रसुवा, कालिका र शर्मा कन्स्ट्रक्सनको साझेदारीमा निर्माण हुँदैछ। दुवैघाटमा पुल नहुदा राजापुर क्षेत्रका बासिन्दाले सास्ती बेहोर्नुपरेको थियो।