स्वरसम्राटमा पोखिए अंकित

काठमाडौ — स्वरसम्राट नारायण गोपाललाई गायनमा पाइला चाल्दै गरेका अंकित अधिकारीले शनिबार आयोजित एक सांगीतिक साँझमार्फत पुनर्जीवित गर्ने प्रयास गरेका छन्।

पेसाले पत्रकार अंकित एक समयदेखि सोखको रूपमा रहेको गायनलाई समेत पेसामा रूपान्तरण गर्न कस्सिरहेका छन्। त्यसैको पहिलो पाइला स्वरूप उनले गायक नारायण गोपालका चर्चित १५ गीतलाई पस्केर
वाहवाही बटुले।
'मैले पुण्य मन पराएँ या पाप मन पराएँ...' बाट नारायण गोपालका गीतको पोको फुकाएका अंकितले 'तिमीलाई म के भनुँ...' पछि तेस्रो नम्बरको रूपमा 'मेरो बेहोसी आज...' गाउनुअघि टिकट काटेर आफूलाई सुन्न/हेर्न आएका सहभागीलाई सम्बोधन गर्दै उनले भने, 'यो गीत क्रिटिकल छ। एक/दुई नोट तलमाथि पर्न सक्छ, माफ पाऊँ।' तर अंकितले त्यसपछिको झन्डै डेढ घन्टा सहभागीको तालीको हौसला पाइरहे। नौ जनाको वाद्यवादन समूहको सांगीतिक साथ पाएका अंकितलाई दुई युगल गीतमा आरती थापा र एकमा आफ्नै दिदी अल्पनाले सघाएका थिए। अंकितले 'गल्ती हजार हुन्छन्...', 'आखाँ छोपी नरोऊँ भनी...', 'ईश्वर तैंले रचेर फेरि...,' 'केही मिठो बात गर...,' 'प्रियसीका यादहरू...,' 'यति धेरै माया दिई...', 'एउटा मान्छेको मायाले कति...', 'तिमीले भनेका सारा देव छोएर...', 'जीवनको हरेक मोडमा...,' 'म त लालीगुराँस भएछु...', 'पर्खिबसें आउला भनी...' र 'मोहनी लाग्ला है...' ब्याक-टु-ब्याक गाउँदा शिल्पी थिएटरको गोठाले नाटकघरमा खचाखच भरिएका सहभागीले मनोरञ्जन लिए । गायनको अन्त्यमा अंकितले आफूलाई सुन्न उपस्थित हुने सबैमा धन्यवाद दिँदै यस्तो माहोल पछिपछि पनि बन्नेमा आाशा व्यक्त गरे। गायकका रूपमा सम्भावना बोकेका अंकितलाई प्लेटर्फम दिने काम 'जेनी पेन्नी' नामक संस्थाले गरेको थियो।