हिरोको बिदाइ

यज्ञश

सामान्य मानिसका गल्तीलाई गल्ती मानिन्छ, विज्ञानले गर्ने गल्तीलाई परिक्षण र 'भगवान'का गल्तीलाई लिला ! कहिलेकाहीँ बहिखाताको हिसाबमा गल्ती हुन्छ ।

सामान्य मानिसका गल्तीलाई गल्ती मानिन्छ, विज्ञानले गर्ने गल्तीलाई परिक्षण र 'भगवान'का गल्तीलाई लिला ! कहिलेकाहीँ बहिखाताको हिसाबमा गल्ती हुन्छ । सायद, श्रीकृष्ण श्रेष्ठका विषयमा लगाइएको यो हिसाब गल्ती थियो । मृत्यु निश्चित छ भए पनि समय निश्चित छैन । यसैले मृत्युहरु असामयीक मानिन्छन् । विवाह गरेको एक महिनामा ४६ वषिर्य हिरोको यो मृत्यु कुनै पनि अर्थमा सामयीक थिएन ।नेपाली समाजमा फिल्म र कलाकारलाई हल्का रुपमा लिइन्छ । यिनको काम नै मनोरञ्जन भनिने भएकाले होला, कतिपय कलाकारका मृत्युका समाचार पनि मनोरञ्जन पृष्ठमा छापिन्छन् । तर, श्रीकृष्णको अन्तिम यात्रामा जति मानिस स्वतस्र्फूत सामेल भए त्यो कुनै 'जोक' थिएन । रातरातभर आर्यघाटमा बसेर, वागमतिमा हेलिएर मानिसहरु के खोजिरहेका थिए ? शवयात्रा हेर्न चर्कोघाममा छाता ओढेर मानिसहरु किन सडकको छेउमा उभिइरहेका थिए ?२५ वर्षे फिल्म करिअरमा श्रीकृष्णलाई कहिल्यै नम्बर एक वा महानायक मानिएन । उनीपछि आएका दिलिप रायमाझीदेखि विराज भट्टसम्मका हिरोहरु उल्का पिण्डजस्तो छोटो समय चम्किएर बिलाए । तर, श्रीकृष्ण चमक कहिल्यै सेलाएन । उनी न चम्किनका लागि पित्तल बने न पग्लिएर जाने मैन ! आफ्नैखाले फिल्मको छनौट गर्दै उनले नेपाली दर्शकलाई धेरै हिट फिल्म दिए । 'ट्रक ड्राइभर' र 'कसम'का सहायक भूमिका हुन् वा 'आफ्नो मान्छे', 'आफन्त' र 'कहाँ भेटिएला'जस्ता पछिल्लो चरणका हिट फिल्म, श्रीकृष्ण साधारण मानिसका हिरो बनिरहे । आफ्नो मिहिनेत र निरन्तरको समर्पणले सफल हुन सकिन्छ भन्ने उदाहरण उनले कायम गरे ।केहीअघि उनका फिल्मी दुई दशक बारे स्टोरी गर्न भेट्दा श्रीले भनेका थिए- 'म कसैलाई चुरोट रक्सी खुवाउदिन, त्यसैले होला म कहिल्यै नम्बर एक वा सुपरस्टार कहलाइन ।' फिल्ममा अभिनयसँगै निर्माणमा पनि सक्रिय भएका उनी सबैसँग सुमधुर सम्बन्ध बनाउन सिपालु थिए । कुनै विवाद र झैझगडामा उनको नाम कहिल्यै जोडिएको थिएन ।'कहाँ भेटिएला'को सफलतापछिको एक दिन निर्देशक शिव रेग्मी र श्रीकृष्ण एउटा प्रस्ताव लिएर आए । सफल भएको र राष्ट्रिय पुरस्कार पनि पाएको यो फिल्मका निर्माता र निर्देशकको रहर थियो- कहाँ भेटिएलाको मेकिङमाथि पुस्तक निकाल्ने । हलिउड बलिउडतिर सफल फिल्म कसरी बने, यिनको सुटिङ कसरी गरिएको थियो, कलाकार एवं प्राविधिकहरुको काम गराईको अनुभव कस्तो थियो भन्ने विषयमा पुस्तक निकाल्ने चलन छ । उनीहरु आफ्नो फिल्मको त्यस्तै पुस्तक निकाल्न चाहन्थे । पहिले नै यस्तो उद्देश्यका साथ सामाग्रीहरु संकलन नगरिएकाले पुस्तक निकाल्न संभव भएन । शिव र श्रीकृष्णले बनाउने नयाँ फिल्ममा पहिलेदेखि नै किताबको तयारी गर्ने सहमति भएको थियो । नयाँ फिल्म बनाउनुअघि नै दुवै धर्तीबाट विदा भए ।श्रीकृष्णले चेतन कार्कीको फिल्मबाट करिअर सुरु गरेका भए पनि उनको जीवनको दोस्रो खण्डमा आइपुगेका शिव रेग्मी उनका असली 'मेन्टर' थिए । कलाकार केशव भट्टराईले निर्माण गरेका फिल्महरुमा बनेको श्री र शिवको जोडी नेपाली फिल्मको सबभन्दा सफलमध्येको निर्देशक-हिरो जोडी थियो । यी दुई पुरुषहरु मिलेर फिल्मी पर्दामा नेपाली नारीको अलग किसिमको संवेदनाको निर्माण गरेका थिए । जसमा नारीका दःुख र पीडाको मात्रा ज्यादा हुन्थ्यो । नारायणगढमा नाट्यकर्म गरेर फिल्म लेखकका रुपमा काठमाडौं छिरेका शिव रेग्मी आँसुले भिजेका शब्दहरु लेख्न माहिर थिए । पहिले निरुता सिंह र पछि झरना थापासँग मिलेर श्रीले शिवका ती शब्दहरुमा प्राण भरे । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तीन भाई, कहाँ भेटिएला जस्ता हिट फिल्ममा यी दुईले मध्यमवर्गिय नेपाली परिवारका सुख दुखका कथा भनेका थिए ।तनहूँबाट चितवनको नारायणगढ झरेका शिव रेग्मी मूलधारको नेपाली फिल्मको परिभाषा निर्माण गर्ने लेखक निर्देशक थिए । शिवका फिल्मको केन्द्रमा नेपाली समाज र परिवारको मूल्य मान्यताको कुरा हुनेगथ्र्यो । संयुक्त परिवारको विघटनदेखि, बढ्दो व्यक्तिवादिता र अपरिचत बीचको मानवीय नाताजस्ता विषयलाई उनी पर्दामा उतारे । र, यी सबैजसो फिल्ममा शिवले कल्पना गरेको समाजको असल चरित्रका रुपमा श्रीकृष्ण उभिए । प्रकाश थापापछि नेपाली फिल्ममा आएका धेरै निर्देशकले आफ्नो अलग बाटो खन्न सकेनन् । पुरानै बाटोमा हिँड्ने धेरै यात्रीका विपरिति शिव र श्रीकृष्ण नयाँ बाटोमा भेटिन्थे । यिनका साथमा कहिले केशव भट्टराई र निरुता हुन्थे त कहिले सुनिल कुमार थापा र झरना थापा । पछिल्लो समय स्वेता खड्का यो कडीमा जोडिन आइपुगेकी थिइन् ।फिल्मी भाषामा अन्त्यमा हिरोको पराजय वा निधन हुनुलाई 'एन्टी क्लाइमेक्स' भनिन्छ । यस्तै एन्टी क्लाइमेक्स श्रीकृष्णको जीवनमा २०५७ सालमा पनि नजिकै आइपुगेको थियो । त्यतिबेला उनको फोक्सोमा पानी जमेको थियो, आन्द्रामा घाउ भएको थियो । जापान र भारतमा निकै लामो उपचारपछि उनी ठीक भएका थिए ।अन्तर्वार्तामा उनले मलाई त्यतिबेला आफूले दाजुलाई भनेको कुरा सुनाएका थिए- 'भारतमा उपचार भइरहेको बेला सेप्टेम्बर ९ तारिखको विहान मलाई अब बाँच्दिन जस्तो लाग्यो । मैले दाईलाई बोलाएर भने, मलाई केही भइहाल्यो भने मेरो शव नेपाल नलैजानुहोला । मेरो कुराले दाई आत्तिनु भयो । अनि मैले भने, मेरो शव देख्नुभयो भने घर परिवार, आमा, मेरा साथीभाई र दर्शकलाई अब श्री आउँदैन भन्ने हुन्छ । यदि लैजानु भएन भने श्रीकृष्ण विदेशमा होला, कुनै दिन आउँछ भन्ने आशा रहिरहन्छ । दर्शकको आशा मर्न दिनु हुँदैन ।'त्यतिबेला त श्रीकृष्ण सशुकल आएका थिए । त्यसपछि नै उनले आफ्ना सबभन्दा राम्रा फिल्म खेलेका थिए । यसपाली पनि फर्किएर फिल्म बनाउने, खेल्ने उनको योजना थियो । पत्नी स्वेतासँग उनले खेलेको फिल्म 'कोहिनुर' हलमा चलिरहेको थियो । केवल उनको अडियो सन्देश नेपाल आइपुग्यो, उनी उतैबाट विदा भए, अप्रत्याशित रुपमा । उनकी ८२ वषिर्य आमाले आफ्नो कान्छो छोराको पार्थिव शरीरमा जल चढाएको दृश्य फिल्मको सबभन्दा वियोगान्त दृश्यभन्दा बढी वियोगान्त थियो । र, यो दृश्य जत्तिकै वियोगान्त बन्यो, श्रीकृष्णको विदाई ।अरु पेशा व्यवसायका मानिसलाई भन्दा कलाकारलाई एउटा सुविधा विशेष हुन्छ । त्यो हो, एउटै जिन्दगीमा धेरै जीवन बाँच्न पाउने । श्रीकृष्णले पनि फिल्ममा यस्ता धेरै जीवन बाँचे । कहिले विद्यार्थी बने, कहिले खेलाडी बने त कहिले गृहस्थ पुरुष । उनले पर्दामा बाँचेको जीवन सँधै जीवित रहिरहन्छ । यी सबै टुक्रा टुक्रा जीवन मिलाएर एउटा सिंगो श्रीकृष्ण श्रेष्ठ दर्शकका मनमा पनि बाँचिरहन्छ । उडेर जाने चराको आवाज बाँचिरहेजस्तो !