सुलोचना मानन्धरको कविता सामूहिक वाचन

काठमाडौ — कवि सुलोचना मानन्धर धिताल स्रष्टाका निम्ती सम्झिइरहने नाम हो । सुलोचनाका कविता छोटा र चोटिला हुन्छन् ।

'रात गर्भिणी आमा हुन्, पर्खि बस, भोलि बिहान, रातो सूर्य जन्माउने छिन्' तिनैमध्येका कविता हुन् ।
सुलोचनाका 'अनुभूतिका थोपाहरु' संग्रहका कवितालाई दसवर्षअघि श्रव्यदृश्यमा ढालिएको थियो । त्यही श्रव्यदृश्य कविता शुक्रबार राजधानीमा स्रष्टामाझ प्रदर्शन गरियो । कवि सुलोचना र साहित्यकार सरोज धितालबीच वैवाहित सम्बन्ध जोडिएको ३३ औं वर्षगाँठको अवसर पारेर स्रष्टा भेटघाट गरिएको हो ।
सुलोचनाको 'रात' कवितासंग्रहबाट कविहरु भीष्म उप्रेती, प्रतिसरा सायमी, राबत, जयन्ता पोखरेल, हरिमाया भेटवालले रचना वाचन गरे । त्यसैगरी कवि र कविता बारेमा अर्का कवि श्रवण मुकारुङ, काठमाडौं विश्वविद्यालयका प्राध्यापक जंगब चौहानले बोले ।