नेमकिपा भक्तपुरको घेरा बाहिर आउला ?

महाधिवेशन आजबाट
बालकृष्ण बस्नेत, मकर श्रेष्ठ

काठमाडौं — नेपाल मजदुर किसान पार्टी र नारायणमान विजुक्छे पर्याय जस्तै भइसकेको छ । यसको कारण के होला ? पार्टीको छैंटौं महाधिवेशनको सन्दर्भमा खासगरी नेतृत्व विकासमा केन्द्रीत रही कान्तिपुरले राखेको जिज्ञासामा उनले प्रष्ट्याए-'कम्युनिष्ट पार्टीको पुरानो नेता भएकाले होला ।

नेपाल मजदुर किसान पार्टी र नारायणमान विजुक्छे पर्याय जस्तै भइसकेको छ । यसको कारण के होला ? पार्टीको छैंटौं महाधिवेशनको सन्दर्भमा खासगरी नेतृत्व विकासमा केन्द्रीत रही कान्तिपुरले राखेको जिज्ञासामा उनले प्रष्ट्याए-'कम्युनिष्ट पार्टीको पुरानो नेता भएकाले होला । धेरैले मलाई चिन्छन् । तर, हाम्रो पार्टीमा नयाँ पुस्ता पनि अघि बढिसकेको छ ।'   
स्थापनाको ४ दशक पार गरेको उक्त पार्टीको छैंटौं महाधिवेशन शुक्रबारदेखि ३ दिन राजधानीमा हुँदैछ । फेरि पनि यसको नेतृत्व विजुक्छेले नै गर्ने लगभग पक्का छ । सँगै पार्टीले लिएको विचारको समिक्षा र संगठन विस्तारमा महाधिवेशन केन्द्रीत हुनेछ । राष्ट्रिय राजनीतिमा प्रभाव बढाउन र नयाँ संविधानका लागि संविधानसभामा सक्रिय भूमिकाका लागि समेत महाधिवेशनले पार्टीलाई डोर्‍याउनेछ ।
महाधिवेशनसँगै पार्टीले भक्तपुर-काठमाडौं पैदल र्‍याली समेत गर्ने भएको छ । नेमकिपाको पहिलो राष्ट्रिय सम्मेलन २०४७ सालमा भैरहवामा भएको थियो ।
दोस्रो २०५१, तेस्रो २०५५, चौथो २०६० र पाँचौं महाधिवेशन २०६५ मा सम्पन्न भएको थियो ।
भक्तपुरदेखि बाहिर आउने चुनौती   
किसान र मजदूरलाई संगठनको जग बनाएको पार्टीले पछिल्लो समय संसदीय फाँटमा आकार घटाउँदैछ । २०५१ को संसदीय चुनावमा नेमकिपाले ४ सिट जितेको थियो । त्यतिबेला भक्तपुरका दुवै क्षेत्रमा अध्यक्ष विजुक्छे र अर्का नेता आशाकाजी वासुकलाले चुनाव जितेका थिए । भक्तपुरबाहेक जुम्ला र दैलेखबाट पनि उक्त पार्टीका उम्मेदवारले जितेका थिए । २०६४ को संविधानसभामा भक्तपुरमा अध्यक्ष विजुक्छे र पार्टी सचिव सुनिल प्रजापति विजयी भए । उक्त चुनावमा भक्तपुर बाहिरका जिल्लाबाट भने नेमकिपाको प्रतिनिधित्व भएन । गत मंसिरको दास्रो संविधानसभामा पार्टीले झन् ठूलो हार व्यहोर्नुपर्‍र्यो । यो पटक पार्टी अध्यक्ष विजुक्छेले भक्तपुरको क्षेत्र नं १ बाट जिते पनि क्षेत्र नं २ मा भने पराजय भोग्नुपर्‍र्यो ।    
संसदीय राजनीतिमा लगातारको पराजय पार्टीकै लागि चुनौतीका रुपमा रहेको छ । चुनावी परिणाम र पार्टीका कतिपय क्रियाकलापले नेमकिपालाई भक्तपुर जिल्लाबाट बाहिर आउन नसकेको आरोप समेत लाग्ने गरेको छ । अध्यक्ष विजुक्छे भने संसदीय राजनीतिमा संख्या घटेपनि पार्टीको राजनीतिक उचाई भने नघटेको दावी गर्छन्।  
'हामी संगठन बनाउदै जाने, कांग्रेस र एमालेले भत्काउने गर्दा संसदीय उपस्थिति कम भएको हौं' कमलविनायकस्थित आफ्नै निवासमा उनले छैटौ महाधिवेशनका सन्दर्भमा उनले भने--हाम्रो राजनीतिक उचाई घटेको छैन । विचार र सिद्धान्तमा हामी अडिग छौं ।'
यसपटक महाधिवेशनमा संगठन सुदृढीकरण र विस्तारमा बढी नै छलफल गर्ने तयारीमा नेताहरु जुटेका छन् । पञ्चायतको अन्तिम ताकाजस्तो संगठन विस्तार अहिले हुन नसकेको अनूभूति पार्टी नेतृत्वमा पनि छ । उतिबेला भक्तपुर बाहिर तराईका केही जिल्ला, मध्यपश्चिमका दैलेख, जुम्ला, हुम्ला, कालिकोटमा नेमपकिपाको राम्रो उपस्थिति थियो । त्यतिबेला ती जिल्लाहरुमा पढे लेखेका र माथिल्ला वर्गकै मानिसहरु पार्टीभित्र आकषिर्त भए । 'पछि त्यो परिस्थिति रहेन । तल्ला वर्गका मानिसहरुलाई हामीले समेट्न सकेनौं । माथिल्ला भनिनेहरु पनि स्वार्थ हेर्न लागे', पटक-पटक गरी ५ वर्ष जेल र त्यतिनै समय भूमिगत बसेका विजुक्छेले भक्तपुरबाहिर आफ््नो  फितलो उपस्थितिको कारण खोतले ।
पार्टीको प्रतिनिधित्व गर्दै भक्तपुरबाहिरबाट यसअघि जितेका भक्तबहादुर रोकाय, विनोद शाह र डिल्लीबहादुर महत तिनै जनाले पार्टी परितर्वन गरेका थिए । रोकाय कांग्रेस र शाह र महत एमालेमा प्रवेश गरेका थिए । जुम्ला र  दैलेखबाट विजयी बनाएका ती नेताले छाडे सँगै त्यस क्षेत्रमा नेमकिपाले पराजय समेत भोग्नुपरेको छ ।  
यसपटक महाधिवेशनमा भने ५० जिल्लाका प्रतिनिधि सहभागी हुदैछन्। त्यसमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति र ५० जिल्लाका ३ सय ५० जना प्रतिनिधि हुनेछन्।
चुनावमा भएको हारलाई उनले ठूलो रुपमा लिंदैनन् । 'रुखविरुवा र राजनीति फरक छ । राजनीति शक्तिहरुको संघर्षबाट परिस्थिति बन्ने हो । रुखविरुवा जस्तो बढ्ने, घट्ने होइन', उनले भने ।
सरकारमा सधैँ बाहिर
२०४८ सालदेखि हरेक संसदीय र संविधानसभा चुनावमा उनी भक्तपुर क्षेत्र नं १ बाट चुनिएका छन् । यसविचमा उनको पार्टीले कतिपय सरकारलाई समर्थन पनि गर्‍र्यो । तर, उनी कहिले पनि सरकारमा गएन् ।  
'पूंजीवादी सरकारमा जाने हो भने कम्युनिष्ट पार्टी किन खोल्ने ?' विजुक्छे उल्टै प्रश्न गर्छन् ।
सानै घेरामा बसेका किन नहुन् विजुक्छेले सिद्धान्तनिष्ठ कम्युनिष्ट नेताको परिचय समेत बनाएका छन् । मार्क्सवाद, लेनिनवाद र माओवादलाई अन्य कम्युनिष्ट पार्टीले अवसरवादको रुपमा दुरुपयोग गरेको भनी उनी अरुको आलोचना पनि गर्छन् । 'माक्र्सवाद, माओवादको नारा लगाउदैमा हुदैन । त्यो व्यवहारमा देखिनुपर्छ', चर्को नारा बोक्नेहरु नै पदका लागि सबै विर्सेको उल्लेख गर्दै उनी आरोप लगाउछ् ।
महाधिवेशनमा उनको पार्टीको नारा 'समाजवादी गणतन्त्र कामदार वर्गको प्रजातन्त्र हो । संसोधनवाद र अराजकतावादको विरोध गरौं' भन्ने छ । उक्त नारासहित भक्तपुर र्सूमढीबाट हजारौंको जुलुससहित पदयात्रा काठमाडौंको खुलामञ्चमा पुग्ने कार्यक्रम तय भएको छ । 'यसको सन्देश आफ्नो पार्टी भक्तपुरमा मात्र सीमित हुने छैन भन्ने सन्देश दिनुपनि हो', विजुक्छेले खुलस्त पारे ।
 शिक्षा र भूमिसुधार जग
नेमकिपाले खासगरी भक्तपुर क्षेत्र नं १ मा शिक्षा र भूमिसुधारलाई अभियानकै रुपमा अघि बढाएको छ । भक्तपुर र मध्यपुर नगरपालिकामा अझैपनि उनको पार्टीको संयन्त्रको विशेष उपस्थिति छ । उक्त क्षेत्रमा 'एक घर एक स्नातक' अभियान पनि सुरु भएको छ । त्यसलाई कार्यान्वयन गर्नकै लागि ख्वप कलेज सञ्चालनमा ल्याइएको हो । प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति तयार गर्न उक्त कलेज संचालन भएको हो । त्यसलाई विश्वविद्यालयकै रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
भूमिसुधार मार्फत किसानको पक्षमा काम गरी नेमकिपाले आफ्नो जग बसालेको थियो ।
'पहिले किसानले आफ्नो कमाइको कतै ३ चौथाई र कतै आधा नै जमिन्दारलाई बुझाउनुपथ्र्यो । मोहियानी हक पनि थिएन', भक्तपुरमा आफ्नो पार्टीका सुरुवाती दिन सम्झदै पाका कम्युनिष्ट नेता विजुक्छे भन्छन्-हामीले त्यसलाई घटाएर एक भाग मात्र बुझाउनुपर्ने व्यवस्था कार्यान्वयन गरायौं । मोहियानी पनि दिन थाल्यौं । त्यसपछि किसान हाम्रा पक्षमा भए । धनीमानी चाहिं विरुद्धमा ।'
 त्यसपछि खुशी भएका किसान, मजदूरले पार्टीलाई अन्नपात नै सहयोग गर्न थाले । अझै पनि नेमकिपाले आफ्ना सदस्यबाट सहयोग वापत अन्नपात लिने गरेको छ ।
'यति नै भन्ने छैन । न्यूनतम १५ रुपैयादेखि माथि आम्दानी हेरेर पार्टीलाई सहयोग जुट्छ । त्यसैले पार्टी चलेको छ', विजुक्छेले जानकारी दिए । कतिपय किसानहरुले क्रृतुकालीन अन्न सहयोग गर्ने गरेका छन् ।
'त्यसलाई हामी किसान संघमार्फत जुटाउछौं र बेचेर पार्टीको कोषमा बुझाउछौं' पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले भने ।