साइकल चलाउने शुत्र

सौरव दाहाल

नेपालमा अझै पनि साइकल चलाउनुका फाइदाबारे मानिसहरु प्रयाप्तमात्रामा सचेत छैनन् । साइकलका फाइदाबारे जनचेतना जगाउनु आवश्यक छ ।

साइकल सचेतनाको आवश्यकता एकतर्फ छ भने अर्को तर्फ साइकल चलाउनेहरु पनि यसका केही आधारभूत कुराहरुप्रति सचेत देखिँदैनन् । साइकल गाडी चढ्न नसक्ने तर आफ्नो साधन होस् भन्ने चाहनेका लागि सबै भन्दा सहज निजी सवारी साधन हो । साइकलको सबै भन्दा राम्रो कुरा भनेको यसले कुनै प्रकारको कार्वन उत्पादन गर्दैन जुन प्रकृतिका लागि सबै भन्दा राम्रो कुरा हो । साइकल चलाउन लाइसेन्स पनि चाँहिदैन ।  ढाड दुख्ने समस्या हुनेहरुका लागि त साइकल बरदान नै हो भन्दा पनि हुन्छ । सारांसमा भन्दा साइकल जस्तो स्वास्थ्यका लागि लाभदायक कुनै पनि यातायातको माध्यम अहिले सम्म बनेकै छैन ।
म विश्व साइकल यात्रीकोरुपमा विश्वका कुना काप्चामा पुग्दा र वर्षौं सम्म साइकल चलाएको अनुभवबाट केही निष्कर्षमा पुगेको छु जुन कुरा साइकल चलाउनेले भुल्नु हुँदैन । यहाँ आज म आफ्ना अनुभवबाट प्राप्त साइकल सम्बन्धि ज्ञान साट्न गैरहेको छु । यदि तपाइँ पनि साइकलको शौखिन हुनु हुन्छ र साइकल चलाउने गर्नु भएको छ भने यी हुन् मेरा साइकल शुत्रः
•    सँधै हेलमेट सँधै लगाउनुस्
विश्व साइकल यात्रका क्रममा मैले के देखें भने साइकल चलाउन शौखिनहरु हेलमेट लगाउन भने झन्झट मान्छन् । अमेरिका जस्तो विकशित देशमा पनि वर्षमा ६००० भन्दा बढी साइकल चलाउनेहरु टाउकोमा चोट लागेर अस्पतालको आकश्मिक सेवामा आइपुग्छन् । तर हेलमेट लगाउने बानी गर्ने हो भने ९० प्रतिशत सम्भावित दुर्घटनाका खतरा र त्यसका परिणामबाट बँच्न सकिन्छ । नेपालमा ट्राफिक अनुशासन निक्कै कमजोर भएको नेपाल जस्तो देशमा त यो कुरा झनै बढी विचार गरिनु पर्छ ।
•    साइकल र सिटको छनौट
साइकल किन्दै हुनु हुन्छ भने आफ्नो साइज र साइकलको साइजलाई ध्यान दिनुस् । मिल्दो साइज मात्र किन्नुस् । कतिपयले साइकल मिल्दो भएपनि सिट भने अमिल्दो राख्छन् र झन्झट ब्यहोर्छन् ।  बजारमा साइकलमा सिट फरक फरक आकार र सुविधासहितका पाहिने हुँदा मिल्दो साइकल सिट प्रयोग गर्नुस् यसले तपाइँको साइकल यात्रालाई सहज तुल्याउँछ ।
•    मिल्दो पोषाक
साइकल नियमित चलाउनु हुन्छ भने तपाइँले कपडा के लगाउने भन्ने पनि विचार गर्नु पर्छ । लामो यात्रामा जाँदा सके सम्म शरीरको त्वचामा कुनै खालको एलर्जी वा अन्य कुनै संक्रमण पैदा गर्न सक्ने कपडा नलगाउनुस् । साइकल चलाउँदा लगाइने ड्रेस नै किन्नु सबै भन्दा राम्रो । साइकल चलाउँदा पाइडल सुज पनि लागउनुस् ।
•    चम्किलो कपडा
साइकल चलाउँदा जहिले पनि आफूलाई सडकमा अरुले कति देख्छन् भन्ने कुरा विचार गर्नु   पर्छ । साइकल यात्रीहरु तुलनात्मकरुपमा सडकमा असुरक्षित हुने हुँदा जहिले पनि टाढै बाट देखिने र प्रकाशमा चम्किने कपडा लगाउनुस् । रात्रीको समयमा सके सम्म साइकलको प्रयोग गर्दै   नगर्नुस् ।
•    सडकको ज्ञान
सडकमा यात्रा गर्दा सबै भन्दा असुरक्षित मानिने साइकल यात्रीले सडकको सम्पूर्ण ज्ञान राख्नु पर्छ । किन भने कहाँ ट्राफिक बत्ति छ कहाँ चौबाटो छ र कहाँ साँघुरो सडक छ भन्ने कुराको राम्रो ज्ञान नभइकन साइकल चलाउँदा दुर्घटनामा वा झन्झटमा पर्ने खतरा बढी हुन्छ । ट्राफिक जाम भएको समयमा गाडीको पछाडीको भाग जहाँ ड्राइभरले देख्दैन त्यहाँ रोकिनु वा अर्को साइकलिष्टको छेउँ छेउँमा साइकल कुँदाउनु पनि घातक हुन सक्छ ।
•    पोजिसन परिवर्तनः
साइकल चलाउँदा एकै पोजिसनमा चलाउनु हुँदैन । खासगरी लामो साइकल यात्रामा पछाडीको भाग, गर्धन र अन्य मांशपेसीमा ज्यादा भार पर्ने हुन्छ । तसर्थ साइकल चलाउँदा समय मसयमा पोजिसन परिवर्तन गरिरहनु उत्तम हुन्छ । लामो समय सम्म हातको वा अन्य मसलको एकै अवस्थितिमा साइकल चलाउँदा हात बाँउडिने र अन्य समस्या समेत आउँछ ।
•    चिप्लो सडकः
कहिले काँहि साइकल यात्रीहरु सडकमा रहेको चिप्लो पन ख्याल नगर्दा लड्न पुग्छन् । सडकमा पानी वा तेल पोखिएको छ भने विस्तारै ध्यान पूर्वक चलाउनुस् । कहिलेकाँहि सडकमा गरिएको पेन्ट समेत दुर्घटनाको कारण बन्न सक्छ ।
•    रोकिएका गाडीः
साइकल यात्रीले रोकिराखेका गाडीको छेउँमा पुग्दा निक्कै होसियार हुनु पर्छ । कहिलेकाँहि विचबाटोमा रोकिराखिएका गाडीबाट अकस्मात ढोका खुल्ने पनि हुन्छ । त्यस्तो हुँद साइकल यात्रीहरु बाटोमै लड्न पुग्छन् । सके सम्म यस्ता गाडीको नजिकबाट साइकल नचलाउनु राम्रो हुन्छ ।
लेखक विश्व साइकल यात्री हुन् । साइकल यात्री दाहालले अहिले सम्म विश्वका ७० भन्दा बढी देशको साइकल यात्रा गरिसकेका छन् ।
प्रकाशित मितिः माघ १०, २०७० ।