मण्डलामा माथा पन्चर

कान्तिपुर संवाददाता

काठमाडौ — नाटकको मौलिक सौन्दर्य त्यसको परिवेश, भाषा, शैली र चरित्रले निर्धारण गर्छ ।

युनिभर्सल भ्यालु एउटै भए पनि त्यही मौलिक सौन्दर्यले चाहिँ दर्शकलाई खास समय र समाजको कथा छुट्टयाउन सघाउँछ । मण्डला थिएटरमा यति बेला यस्तै नाटक मञ्चन भइरहेको छ । तराईको मौलिक सौन्दर्य बोकेको नाटक 'माथा पन्चर' ले स्थानीय निकाय र राजनीतिक विसंगतिपूर्ण समयको कथा भन्छ ।
राजन खतिवडाको लेखन तथा निर्देशन रहेको नाटकमा मोहम्मद नाजिर हुसेनले मुख्य भूमिका गरेका छन् । 'माथा पञ्चर' शब्द तराई भेगमा निकै प्रचलनमा रहिआएको छ । यसको शब्दजस्तै अर्थ पनि रोचक छ । 'माथा पन्चर' अर्थात् 'दिमाग खराब ।' जब कुनै कुरा बिग्रन्छ, समस्या वा तनाव आइपर्छ तब थेगोजस्तै गरी तराईमा बोलिन्छ- 'माथापञ्चर ।' सुन्दा रमाइलो भए पनि नाटकले उठान गर्न खोजेको विषयवस्तु भने निकै गम्भीर लाग्छ । अहिले स्थानीय निकायमा कसरी भ्रष्टाचार मौलाइरहेको छ ? युवाहरू किन विदेश जान बाध्य भइरहेका छन् ? गाउँमा विकास भित्रिन नसक्नुका कारणहरू केके हुन् ? नाटक हेरे पनि नहेरे पनि यी सवाल सम्झिँदा मात्रै पनि सबैको 'माथा पन्चर' हुन्छ । नाटकले स्थानीय निकायका यिनै समस्यालाई गम्भीर रूपमा उठाएको छ । विषय जति गम्भीर छ, प्रस्तुति भने उत्तिकै रोचक लाग्नेछ ।
गरिब परिवारको किशोर गाउँमै दुःखले पढ्छ । शिक्षक बनेर आफ्नै गाउँघरको स्कुल पढाउने र स्वदेशमै बस्ने उसको सपना हुन्छ । तर उनको सपना 'हलुवामा बालुवा' बन्दै जान्छ, राजनीतिक पहुँच र सोर्स फोर्सका कारण । मुलुका अग्र्यानिक प्रतिभाहरू शक्ति र पहुँचको अनियमितताका कारण कसरी विदेशिन बाध्य छन् भन्ने पाटोको पनि नाटकले गम्भीर रूपमा पर्गेल्न खोजेको छ । घटनागत हिसाबले तराईको एउटा स्कुलको शिक्षक नियुक्तिको प्रक्रियालाई उठान गरिएको नाटकले सामान्य पोस्टमा मात्रै हैन, प्राज्ञदेखि प्राध्यापकजस्ता बौद्धिक थलोमा समेत हुने राजनीतिक भागबन्डाको ताजा घटनाहरूको पनि सम्झना गराउँछ ।
 भोजपुरी, नेपाली र मैथिली भाषाको प्रयोगले संवादमा मिठासपन घोलिएको अनुभूति हुन्छ । स्थानीय लवज र भाषिकाको प्रयोगले नाटकको प्रस्तुति र सौन्दर्यमा प्रभाव पार्ने राजनले दाबी गरे । उनले जुन परिवेशको कथा हो त्यहाँकै मौलिक संस्कृति, शैली र आचरणलाई जस्ताको तस्तै उतार्ने प्रयास पनि गरेका छन् । नाटकले उठाएको अर्को पाटो हो वैदेशिक रोजगारीमा नेपाली कामदारहरूले भोग्नुपरेको पीडा । अनेक ऋण काढेर विदेश गएकाहरू महिना दिन नपुग्दै काठको बाकस बनेर आउनुपर्ने नियतिले दर्शकलाई रुवाउँछ । कथा तराईको भए पनि यो सन्दर्भले पहाड, हिमालदेखि पूर्व र पश्चिम नेपालसम्मकै निम्न मध्यम र निम्न वर्गीय समाजको प्रतिनिधित्व गर्छ ।
नाजिरले राम्रै अभिनय गरेका छन् । लक्ष्मी बर्देवा, सुनील मगर, जलन लामिछाने, रियर राई, मुन्ना सर्राफ, आयान
खड्का, संयोग गुरागाई, प्रेमवषर्ा खड्का, शक्ति राई, भाष्कर ओली, प्रकाश दाहाल, अंकित खड्का, दिलजंग गुरुङ, रञ्जना ओली, इगी होपो कोइँच सुनुवार, रेनु योगी लगायतको पनि अभिनय हेर्न सकिन्छ ।