कतारमा नेपाली इन्जिनियरहरू बढ्दै

होम कार्की

दोहा (कतार) — हेटौंडाका सञ्जय दास लन्डनबाट कतारको निर्माणाधीन रेल प्रोजेक्टको नेतृत्व गर्न आएका छन् ।

निकै महत्त्वाकांक्षी योजनाको रूपमा अगाडि सारेका रेल प्रोजेक्टलाई एउटा कन्सल्ट्यान्सी केयुमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनु उनका लागि सुखद हो । 'अब खाडीलाई एउटै टिपिकल तस्बिरको रूपमा हेर्नु हुँदैन,' उनी भन्छन्, 'ठूला मेगा प्रोजेक्टहरू यहाँ छन् । अवसर पनि यतै छन् ।'
कतारले विकासलाई तीव्र गतिमा दौडाइरहेका छ । उसले गगनचुम्बी भवनहरू मात्रै बनाउन खोजेको छैन, नमुना नमुनाका लोभलाग्दो भवनहरू, व्यवस्थित सडकहरूदेखि रेलसम्म आइपुगेको छ । सन् २०३० सम्म 'कतारलाई विश्वको एउटा नमुना देश' बनाउने योजनामा अघि बढिरहेको छ । त्योभित्र सन् २०२२ को विश्वकप खेलाउनु पनि हो । यस्तो स्थितिमा विकासका योजनाकर्ताको रूपमा रहेका इन्जिनियरहरू खाँचो पनि उस्तै छ । जहाँ नेपाली इन्जिनियरहरूले प्रभाव बढाउन खोजेका छन् ।  
करिअर बनाउने ठाउँ
१२ वर्षअघि कतारमा आइपुग्दा सर्लाहीका रविकान्त लाल कर्ण नेपाली इन्जिनियरहरू भेट्न निकै गार्‍हो थियो । उनले सीमित नेपाली इन्जिनियरहरू देख्न पाएका थिए । समयका अन्तरालमा अहिले भर्खरका 'फ्रेस' इन्जिनियरले पनि आफ्नो करियर बनाउने ठाउँको रूपमा यसलाई लिन थालेको छ । 'दिनप्रतिदिन नयाँ नयाँ इन्जिनियरहरूलाई भेटिरहेको छु,' अल रासिद इन्जिनियरिङ एन्ड सिर्भस कम्पनी चलाएका कर्णले भने, 'करिअर बनाउने ठाउँ हो ।'
यहाँ विश्वका धेरै राम्रा प्रविधि नै प्रयोग भइरहेको छ । 'नयाँ प्रविधि, नयाँ वातावरणमा काम गर्नु भनेको क्षमता बढाउनु हो,' उनले भने । कतारमा रहेका इन्जिनियरहरूको साझा संस्था 'नेपाल इन्जिनियर्स एसोसिएसन'का अध्यक्ष श्रवण झाका अनुसार यहाँ कार्यरत सबै इन्जिनियरहरू सम्पर्कमा छैन । 'कम्तीमा ५ सय नेपाली इन्जिनियर रहेको हाम्रो अनुमान छ,' उनले भने, 'अब हामी सबै साथीभाइलाई समेट्ने प्रयासमा छौं ।' नेपाली इन्जिनियरको धेरै मिहिनेती छ भनेर प्रशंसनीय भूमिका नै छ । 'कतारीहरूको पनि चाहना छ कि धेरैभन्दा धेरै नेपाली ल्याउन पाऊँ भन्ने नै छ,' कर्णको अनुभव छ ।  
राम्रो र दक्ष इन्जिनियरले आफ्नो क्षमता देखाउने ठाउँ भएको अनुभवीहरू बताउँछन् । 'यहाँको करियर धेरै राम्रो लाग्यो । सुविधाहरू धेरै छ । आउट एक्पोजर धेरै पाइन्छ । अनुभव मान्छेसँग काम गर्न पाइन्छ,' श्वेता केकेले भनिन्, 'उनीहरूको अनुभवबाट आफूले नयाँ कुरा सिक्न पाइन्छ । यता अनुभवका लागि कतार आएको हो । खाडीको अनुभवले भविष्यमा धेरै काम गर्न सकिन्छ ।'
विदेशीसँग प्रतिस्पर्धा
तुलनात्मक रूपमा नेपाली इन्जिनियरहरूले अरूको तुलनामा कामजोर हुन्छ भन्ने मानसिकतालाई चिर्न धेरै गरेर देखाउनुपर्ने स्थिति छ । जहाँ उनीहरू सफल पनि भइरहेका छन् । 'नेपालीले अरूसँग प्रतिस्पर्धा गर्दा कोहीभन्दा कम छैन । मान्छेको मानसिकतामा मात्रै नेपाली इन्जिनियर कमजोर हुन्छ भन्ने छ,' महोत्तरीका लालेन्द्र महतोले भने, 'मान्छे पढेर, मिहिनेत गरेर डिग्री पाएको हुन्छ । कामको सिलसिलामा डटेर लाग्नुपर्छ । डराएर हँुदैन ।  धेरै ठूला ठूला व्यक्तिसँग प्रतिस्पर्धा गरेर काम गरिरहेको छु ।'
यहाँ जतासुकैको इन्जिनियरहरूको कर्मथलो हो । सबैले आआफ्नो काम र क्षमता देखाउने हो । 'सुरुमा हामी जत्तिकै काम गर्नेलाई माथि राख्ने, हामीहरू अलि तल राख्ने स्थिति रहेछ । तर, आफूले काम गरेर देखाएमा भने माथि गइन्छ । कामले जित्छ,' उत्सव कोइरालाले भने । विदेशीसँग प्रतिस्पर्धा गर्न सकेर नै नेपाली इन्जिनियरको माग पनि बढेको हो ।
अर्कोतर्फ पढेका इन्जिनियरहरूलाई यहाँको रोजगार खोज्नका लागि सहज बाटो छैन । सरकारले इन्जिनियरलाई पनि 'लेबर' सरह नै व्यवहार गरी बाटो रोकिदिन्छ । दक्ष कामदार छ भनेर नेपाली दूतावासले 'सेल' गर्ने भूमिका  भने कमजोर छ । 'दक्ष इन्जिनियरको सप्लाई हुन सकेको छैन । केही प्रशासनिक र अध्यागमनको अवरोधले राम्रा इन्जिनियर आउन सकेको छैन,' कर्णले भने । अमिको कन्स्ट्रक्टिङ कम्पनीमा प्रोजेक्ट म्यानेजरको रूपमा कार्यरत काठमाडौंका उदयशंकर शाह 'इन्जिनियर बढाउन नेपाल सरकारले प्रक्रियालाई अलि सरल गरिदिनुपर्ने,' बताउँछन् ।
पहिचानमै चुनौती
यतिखेर नेपाली इन्जिनियरले पहिचानमै समस्या भोगिरहेका छन् । कतारको शिक्षा काउन्सिललाई नेपालमा इन्जिनियरहरूलाई उत्पादन गर्ने शैक्षिक विश्वविद्यालयको जानकारी छैन । सम्बन्धित विश्वविद्यालयले आफ्नो पाठ्यक्रमसहित जानकारी नहुँदा ती संस्थामा अध्ययनरत इन्जिनियरहरूले यहाँ मान्यता पाउन सकिरहेको छैन । अर्थात् उनीहरूको शैक्षिक योग्यतामाथि विश्वास गरिहाल्ने स्थिति बनेको छैन । 'धेरै इन्जिनियरहरू त्रिविसहितका विश्वविद्यालयबाट उत्पादन भएर आएका छौं,' एसोसिएसनका अध्यक्ष श्रवण झाले भने, 'त्रिविले आफ्नो पाठ्यक्रम नचिनाउँदा काम गर्दै आएका इन्जिनियरहरू अप्ठ्यारोमा परेका छन् ।'
२००५ देखि कार्यरत सर्लाहीका  शम्भु दासका अनुसार पहिचानमै चुनौती छ । 'नेपालमा इन्जिनियरको कलेज नै छैन भन्ने यता भ्रममा छ,' उनले भने, 'कतार सरकार आफैंले नेपाली इन्जिनियर ल्याएको छैन । जति आएको छ, त्यो सबै निजी क्षेत्रका लागि आएको छ ।'
उनका अनुसार कतारले आफ्नो बजार खोज्दा खेरी नेपाललाई दक्ष कामदार पाउने भनेर सूचीमा राखेको छैन । 'यहाँको रोजगारदाताहरूको दिमागमा के छ भने नेपाल भनेको लेबर मात्रै पाउने देश हो ।
त्यही भएर नेपाली इन्जिनियरहरूले धेरै मिहेनत गर्नुपर्छ,' उनले भने, 'आफूलाई दक्ष छ भनेर प्रमाणित गर्नुपर्छ । फिल्डमा त चुनौती छैन । यसले जतासुकै पनि इन्जिनियरहरूको सेवा सुविधामा पनि फरक पारेको छ । एउटै विश्वविद्यायलबाट प्रमाणपत्र हात पारेको छ भने तलबमा ५० प्रतिशतभन्दा कम पाइन्छ ।'

महिलाहरू पनि बढ्दै

दुई वर्षदेखि आर्किटेक्ट लाइटिङ डिजाइनरको रूपमा कार्यरत श्वेता बाँस्कोटा महिलालाई झन् काम गर्ने वातावरण रहेको बताउँछिन् । 'निकै सुरक्षा छ । जुन नेपालमा सोचेजस्तो महिला असुरक्षा छ भन्ने यहाँ छैन,' उनले भने, 'यहाँको जीवन राम्रो छ । एउटा फ्रेस इन्जिनियरलाई पनि गार्‍हो छैन । कुन बिन्दुमा गएर कम्पनीसँग सम्झौता गर्ने हो भन्ने कुरा हो ।'
६ वर्षदेखि कतारमा कार्यरत रोजी थापा अर्किटेक कोअडिनेटरको रूपमा काम गर्छन् । 'रोजगार खोज्न त्यस्तो गार्‍हो भएन । तर, आफूले चोहको जस्तो पाउन भने अलि समय लाग्यो । नेपालमा ५ वर्षको अनुभव भएकाले सहजै भयो । नेपालको अनुभवले यहाँ सजिलो भयो । आफूमा गुणस्तर, क्षमता छ भने प्रतिस्पर्धा गर्न गार्‍हो छैन ।' अल्मुनियम टेक्नोलोजीमा क्वानटिटी सर्भे भएर काम गरिरहेको स्वेता केके श्रीमान् यहाँ इन्जिनियरिङ नै गरिराखेकाले निकै सजिलो भएको बताए । 'महिला साथीहरू पनि बढिरहेको छ,' उनले भने, 'यता लैगिक विभेद छैन ।'