माया त यस्तो होस्

दोहा — कार्यक्रमस्थल परिवर्तन भएर सास्ती खेपेका दर्शकले तब मात्रै राहत महसुस गरे, जब गायक हेमन्त शर्मा 'माया त यस्तो होस्' गाउँदै स्टेजमा उक्लिए ।

कार्यक्रमस्थल परिवर्तन भएर सास्ती खेपेका दर्शकले तब मात्रै राहत महसुस गरे, जब गायक हेमन्त शर्मा 'माया त यस्तो होस्' गाउँदै स्टेजमा उक्लिए ।
त्यसपछि शर्माले उनको लोकप्रिय गीत 'माया साह्रै महंगो' गाए । आफ्नो मायालाई मुलुकमै छोडेका दर्शकले घर सम्झिए, मायालु सम्झिए । 'के माया गर्नु हुन्न र' बोलको गीत गाएर शर्माले उचोनिचो र जातपात नमान्ने आधुनिक दर्शकको वा-वाही लुटे । त्यस्तै 'उकाली जाँदा जाँदै दाइने पर्‍यो बर', 'जाला उडेर मेरो जाली रुमाल' र 'माया गर्छु भन्नेले माया देखाइदेउ' बोलका गीत गाएर दर्शक झुमाए ।
थुप्रैपटक कतारमा आफ्नो नृत्य कमाल देखाइसकेकी नायिका एवं डान्सर डोली सरकारको नाम उद्घोष हुनासाथै माहोल जोसियो । जब उनले मैथिली, भोजपुरीलगायतका गीतमा ठुम्का लगाइन्, दर्शक आफ्नो ठाउँबाट उठेर नाचे । सरकारको नृत्यताल समाउने शैली, आकर्षक हाउभाउ र कलात्कम अभिनयको पारखी दर्शकले मुक्तकण्ठले प्रसंसा गरे ।
लोकगीत रुचाउने दर्शकले पूर्णकला बीसीको स्वरको जादू देखे । उनले आफ्नो लोकप्रिय गीतले दर्शकलाई नचाइन् । बीसीले 'चौतारीमा बर छ', 'ए परदेशी सुन' लगायतका गीत गाएर परदेशी श्रोताको मनलाई घरदेश फर्काइन् । याम थापामगरले पनि विभिन्न लोकगीत गाएर दर्शकको मन जिते ।
नायिका विना थापा, गायिका रेखा घिमिरे, गायक योगेन गुरुङ, गोपीकृष्ण पंगेनी, बीरबहादुर श्रेष्ठ, डीबी लोप्चन, बीबी मल्ल ठकुरी, जितमान बीसी र तिलक रामदामले आ-आफ्ना प्रस्तुतिले दर्शकको ताली पाए ।
यो अवसर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कतारले जुराइदिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली नियोग कतारका कार्यबाहक राजदूत गण्ाेश ढकालले कलाकारिताले देश चिनाउने बताए । नेपालीले आयोजना गरेका कार्यक्रमलाई हरेक नेपालीले सहयोग गर्नुपर्ने ढकालको भनाइ थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष टीबी कार्कीले आफू आबद्ध संस्थाले कला र कलाकारलाई सम्मानित नजरले हेरेको बताए । उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।  
कार्यक्रममा अनेकस ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल, एनआरएनए कतारका अध्यक्ष मक्सुद आलम, युवा समाजसेवी ईश्वर काफ्ले, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तामाङ, महिला समाजकी अध्यक्ष रेखा राईलगायतको उपस्थिति रहेको थियो ।